निरन्तर विकसीत भइरहेको प्रविधि र पूँजी सञ्चय प्रक्रियाको तीव्र चापले गैरपूँजीवादी देशलाई पनि उपभोक्तामा परिणत हुन र ती देशहरुको विद्यमान प्रणालीहरु छिन्न–भिन्न पार्न जोड दियो ।
ह्यारी म्यागडफ
(ग्लोबलाइजेसनलाई नेपालीमा विश्वव्यापीकरण भन्ने चलन छ । भूमण्डलीकरण शब्द पनि समानार्थीको रुपमा प्रयोग गरिएको पाइन्छ । अहिले विश्वव्यापीकरण सामाजिक विज्ञानका हरेकजसो शाखाहरुमा चर्चा र चासोको विषय बनेको छ । विश्वव्यापीकरणलाई विभिन्न कोण र आयामबाट विश्लेषण गरिएको पाइन्छ । विश्वव्यापीकरणका अनेकन् विश्लेषकमध्ये ह्यारी म्यागडफ पनि एक हुन् । साम्राज्यवादलाई आर्थिक कोणबाट विश्लेषण गरेर संसारभर ख्याती कमाएका म्यागडफ‘मन्थली रिभ्यु’का पूर्व सह‑सम्पादक थिए । उनले ‘Imperialism: From the Colonial Age to The Present’ नामक पुस्तकमा साम्राज्यवादको शुरु, विकास र विस्तारबारे विस्तृतमा विश्लेषण गरेका छन् । सोही पुस्तकमा संग्रहीत Imperialism: A Historical Survey नामक निबन्धमा म्यागडफले विश्वव्यापीकरणलाई साम्राज्यवादकै विस्तारको रुपमाव्याख्या गरेका छन् । उनको निबन्धमा आधारित रहेर रामचन्द्र श्रेष्ठले तयार पारेको यो अध्ययन टिपोट यहाँ प्रस्तुत छ । यो टिपोट तीन भागमा प्रकाशन गरिनेछ ।)
तेस्रो चरण: औद्योगिक
पूँजीको उदय
(अठारौं शताब्दीको उत्तरार्धदेखि १८७०को दशकसम्म)
औद्योगिक क्रान्तिको पूर्वसन्ध्यामा पुराना उपनिवेशका
औचित्य घट्दै थिए । जसका कारण विद्यमान उपनिवेशहरुको पुनर्वितरण र नयाँ उपनिवेशको
खोजका लागि प्रतिद्वन्द्वी साम्राज्यहरु बीच युद्ध हुन थाल्यो । सन् १७६०को दशकमा
बेलायतले एसिया र अफ्रिकामा बजारको खोजी गर्ने अभियान चलायो । दुवै महादेशमा
पोर्चुगल र हल्याण्डले नेतृत्व लिइरहेका थिए । यही समयमा सात वर्षे लडाईं (१७५०–१७६३)का कारण
फ्रान्सले आफ्नो उपनिवेशहरु लगभग गुमायो भने बेलायतले आफ्नो शक्तिलाई विस्तार
गर्दै उत्तर अमेरिकामाथि कब्जा जमायो । त्यस्तै भारतमाथिको प्रभुत्वको बाटो पत्ता
लगायो र हिन्द सागरमा कब्जा जमायो ।
अघिल्लो चरणमा हल्याण्ड र स्पेनमाथि बेलायतले विजय हासिल
गरेको थियो । फलस्वरुप स्पेनियाली उपनिवेशहरुका दास व्यापारमा बेलायतको प्रभुत्व
कायम भएको थियो । यो चरणमा बेलायत र फ्रान्सको संघर्ष भयो जसले नेपालियन युद्धहरुलाई
जन्म दियो । यो युद्धले १९ औं शताब्दी भरि संसारमा बेलायती प्रभुत्व स्थापित गर्यो । यी लडाईंहरु
विजेताहरुबीच साम्राज्यवादी शक्तिको रुपमा उदय हुनका लागि भएका थिए । संमुद्रहरुमा
प्रभुत्वकै कारण बेलायतको विजय निर्विरोध रह्यो । नेपोलियन युद्धको फलस्वरुप
बेलायती साम्राज्यको भविष्य तय भयो । बेलायतले दक्षिण अमेरिका, अफ्रिका, पश्चिमी दक्षिण
एसिया र पूर्वी एसियामा सामुद्रिक सञ्जालको निर्माण गर्यो ।
यस चरणमा विकसित पूँजीवादी देशहरु र बाँकि विश्वको आर्थिक
सम्बन्धको आधारभूत रणनीति यसप्रकार परिवर्तन भयो–
१) उत्पादनमा भारी वृद्धि भयो
२) वाणिज्य पूँजीको ठाउँ औद्योगिक पूँजीले लियो
निरन्तर विकसीत भइरहेको प्रविधि र पूँजी सञ्चय प्रक्रियाको
तीव्र चापले गैरपूँजीवादी देशलाई पनि उपभोक्तामा परिणत हुन र ती देशहरुको विद्यमान
प्रणालीहरु छिन्न–भिन्न पार्न जोड
दियो । यस क्रममा मुख्यतयाः बजारको विस्तार भयो र ती क्षेत्रबाट कृषिजन्य उत्पादन
र खानीको वृद्धि भयो । साम्राज्यवादी देशको उद्देश्य सफल गराउने रणनीतिहरु उपनिवेश
अनुसार फरक–फरक थिए । तथापि
आधारभुत रणनीति सर्वव्यापी थिए । ती रणनीति अनुसार, परम्परागत गुजारामुखी समाजलाई ध्वस्त पारियो, जमिनमा निजी
स्वामित्वलाई स्थापित गरियो, मुद्रा विनमियलाई व्यापक पारियो, ज्यालादारी र
बाध्यात्मक श्रम लागु गरियो, साम्राज्यवादी शक्तिसँग सहकार्य गर्ने राजनीतिक र आर्थिक
रुपमा आफूभन्दा कनिष्ठ वर्ग जन्माइयो र हुर्काइयो साथै जातीवाद तथा अन्य मनोवैज्ञानिक
उपायद्वारा शहरिया संस्कृति थोपरियो ।
रेल,
सैन्य शक्ति र
प्रविधीको विस्तारले उपनिवेशवादी रणनीतिलाई अगाडि बढायो । अघिल्ला दुई चरणमा
दक्षिण अमेरिका बाहेक उपनिवेशहरु केवल संमुद्री तट र टापुहरुमा सीमित थियो । यो
चरणमा उपनिवेशहरु महादेशहरुको भित्रसम्मै विस्तार भयो जसअनुसार संयुक्त राज्य
अमेरिका माथिको विस्तार र मध्य एशियासम्म जार (रुसी राजा)को विजय पनि एक उदाहरण हो
। वाणिज्य पूँजीमा आधारित साम्राज्यवाद औद्योगिक पूँजीमा आधारित साम्राज्यवादमा
परिणत हुँदै गर्दा विजेता पूँजीवादी देशका केही राजनीतिक र वैचारिक नेताहरुले
उपनिवेशको विस्तारमाथि प्रश्न उठाए । ‘साम्राज्यवाद विरोधी’ विचराको दुई पक्ष थियो । एक, यसले प्रत्यक्ष रुपमा वाणिज्य पूँजीवादकालदेखि
नै केही वर्गमा केन्द्रित उपनिवेशमाथिको प्रभुत्वको विरोध गर्यो । दुई, यसले संमुद्रमाथि
विजय प्राप्त गरिसकेको, पूँजीको निर्यातकर्ता, वित्तको केन्द्र
बनिसकेको बेलायती साम्राज्यलाई व्यापार र वित्त मार्फत अप्रत्यक्ष ढंगले विस्तार
गर्न वकालत गथ्र्यो ।
प्रत्यक्ष र अप्रत्यक्ष जुनसुकै तरिकाले भए पनि सारमा यो
चरणको साम्राज्यवाद अघिल्ला चरणहरुभन्दा विजेताहरुको उत्पादन प्रणाली विजित
समाजमाथि थोपर्ने मुख्य कारणले फरक छ । यस रणनीति सफल पार्ने दुई उपाय प्रयोग
गरिएः
१) विजेता राष्ट्रको कच्चा पदार्थ, व्यापार र
लगानीलाई स्वीकार गर्न पराजित देशलाई बल प्रयोग वा प्रयोगको धम्की दिइयो ।
त्यसैक्रममा शहरलाई फाइदा हुने गरी श्रम विभाजनलाई संस्थागत गरियो ।
२) पूँजीवादी देशका नागरिक र पूँजीलाई पराजित देशमा लैजान
त्यहाँका आदिवासी जनताको हत्या गरियो र तिनीहरुलाई सीमान्तकृत गरियो ।
यसरी सन् १८०० सम्म विश्वको ३५ प्रतिशत जमिन नियन्त्रण
गरेको युरोपेली साम्राज्य सन् १८७८ सम्म आइपुग्दा विश्वको ६७ प्रतिशत जमिन कब्जा
गर्ने स्तरमा फड्को मार्यो । त्यसपछि विस्तारको अझै नयाँ ठूलोको छालको शुरुआत भयो ।
प्रथम विश्व्युद्ध शुरू हुने बेलाका साम्राज्यहरू |
चौथो चरण ४: एकाधिकार पूँजी
र नयाँ साम्राज्यवाद
(१८८० देखि पहिलो विश्वयुद्धसम्म)
यो चरणको विस्तारवादी प्रवृत्तिको दुई मुख्य विशेषता छन्ः
१) विदेशी भूमि माथि अतिक्रमण र कब्जामा उल्लेखनिय तिव्रता
।
२) उपनिवेशको खोजी गर्ने देशहरुको संख्यामा वृद्धि ।
सन् १८७८ देखि १९१४ सम्म कब्जा गरिएको भूमि अघिल्लो चरणमा
७५ वर्षमा कब्जा गरिएको भन्दा तीन गुणाले धेरै थियो । विस्तारको आश्चर्यजनक
तिव्रता अफ्रिकामा केन्द्रित रह्यो । त्यसैले, सन् १८८० अघि अफ्रिकामा औपनिवेशिक विस्तार सापेक्षिक रुपमा
साह्रै कम र समुद्री किनारमा सिमित थियो । जबकी त्यसको बीस वर्षपछि लगभग सिंगो
अफ्रिका महादेश युरोपेली देशहरुको छुट्टाछुट्टै सिमानाहरुले टुक्रा–टुक्रा पारिएको
थियो । साम्राज्यवादी शक्तिहरुले सन् १९१४सम्म विश्वको लगभग ८५ प्रतिशत एक–आपसमा विभाजन
गरिसकेका थिए । यदि समयमा जर्मनी, संयुक्त राज्य, बेल्जियम, इटाली र जापान पनि विस्तारवादी जत्थामा सामेल भइसकेका थिए ।
औपनिवेशिक शक्तिरुको वृद्धिले उपनिवेश विस्तारमा पनि तिव्रता दिएको थियो । तर, कसैको
नियन्त्रणमा नभएको भू–भाग लगभग बाँकी
थिएन । त्यसकारण उपनिवेशको खोजी गरिरहेका देशहरुबीच द्वन्द्व एकदमै चुलियो ।
विदेशी भूमिको लागि बौलाहा प्रतिस्पर्धा, स्थापित
साम्राज्यको पुनर्विभाजन,
साम्राज्यवादी
देशहरुको आपसी द्वन्द्व र अन्त्यमा पहिलो विश्वयुद्धको शुरुवात, यी सबैले नयाँ
युग प्रवेशलाई इंगित गर्दथ्यो ।
अघिल्ला चरणहरुभन्दा यस चरणको मौलिक चरित्र बुझ्नका लागि
धेरैले लेनिनको ‘साम्राज्यवादः
पूँजीवादको उच्चतम अवस्था’
उल्लेख गर्छन् ।
यहाँ ‘साम्राज्यवाद’ भन्ने शब्दले
१९औं शताब्दीको उत्तराद्र्ध पछिको अवधिलाई जनाउँछ । यो अवधिको ऐतिहासिक विभाजनका
दुई मुख्य लक्षण छन्ः
क) विकसित
पूँजीवादी देशहरुको अर्थतन्त्रमा मुख्य संरचनागत परिवर्तनहरु ।
(ख) विश्व
मामिलामा बेलायत प्रभुत्वलाई चुनौती दिंदै प्रतिस्पर्धात्मक औद्योगिक र वित्तीय
शक्तिहरुको उदय ।
यो अवधिमा विकसित पूँजीवादी देशको अर्थतन्त्रमा सबैभन्दा
मुख्य संरचनागत परिवर्तन भनेको प्रतिस्पर्धात्मक पूँजीवाद एकाधिकार पूँजीवादमा
रुपान्तरित हुनु हो ।
अघिल्ला चरणहरुमा कुनै एउटा उद्योगमा लगानी गर्ने
कम्पनीहरुको संख्या अत्याधिक थियो । कम्पनीहरुको बजार शक्ति सिमित थियो । तर, यो चरणमा
प्रत्येक उद्योगमा लगानीको प्रतिस्पर्धा बढ्यो । जसकारण पूँजी केही सिमित
दातृहरुमा केन्द्रीकरण हुँदै गयो । विस्तारै ठूला–ठूला कम्पनीहरुको उदय भयो र उनीहरुले बजारमाथि
प्रभुत्व जमाए । विश्व अर्थतन्त्रमा ठूला उद्योग र कम्पनीहरुले वित्तीय पूँजी
बजारमा कब्जा जमाए । पूँजीको निर्यात राजनीतिक प्रभुत्वको साधन मात्र नभई निर्यात
वृद्धि गर्ने, विदेशी बजार
कब्जा गर्ने र कच्चा पदार्थ नियन्त्रण गर्ने विधि पनि बन्यो ।
एकाधिकारवादी यो चरणमा औद्योगिक देशहरुको संख्या यतिसम्म
विकसित भयो, उपनिवेश
विस्तारको प्रतिस्पर्धा बाहेक बेलायतको औद्योगिक, वित्तिय र वैदेशिक व्यापारमाथि पनि उनीहरुको
चुनौती बढ्दै गयो । १९औं शताब्दीको मध्यसम्म बेलायतको अर्थतन्त्र उसका
प्रतिस्पर्धी भन्दा निकै अगाडि पुगिसकेको थियो । तर, शताब्दीको उत्तराद्र्धतिर (अन्तिम २५ वर्ष)
प्रतिस्पर्धीबाट विश्व बजार र वित्तमा उल्लेखनीय भागबण्डाको चुनौती सामना गर्नुपर्यो । औद्योगिक
क्रान्तिले उनीहरुको पैताला दह्रो बनाएको थियो । साथै रेलमार्गहरुको अत्याधिक
फैलावट भएको थियो जसले राष्ट्रिय बजारहरुलाई एकअर्कामा गाँसेको थियो ।
१९औं शताब्दीको अन्त्य र २०औं शताब्दीको शुरुवातमा आधारभुत
प्राविधिक आवविष्कारहरुले नयाँ औद्योगिक देशहरुको प्रतिस्पर्धात्मक क्षमतामा
परिष्कार गर्यो । पहिलो औद्योगिक क्रान्तिको प्रवर्तकको रुपमा बेलायतका सबै उपलब्धिहरुलाई
उर्जाको स्रोत र नयाँ उत्पादनहरुले ओझेलमा पार्यो । अर्को
अर्थमा, दोस्रो औद्योगिक
क्रान्ति भयो । यो नयाँ औद्योगिककरणका मुख्य विशेषता स्टीलको व्यापक उत्पादन, इञ्जिन र
तेलजस्तो उर्जाको स्रोत, औद्योगिक
रसायनशासत्र र इन्टरनल कम्बसन इन्जिनको विकास थियो । यो औद्योगिकरण पश्चिम युरोप, संयुक्त राज्य
अमेरिका र जापानमा फैलियो ।
नयाँ प्रविधिमा आधारित बृहत उद्योगहरुले एकाधिकार तर्फको
यात्रालाई तीव्रता दिए । लगानी, योजना निर्माण र अनुसन्धानको लागि ठूलो मात्रामा पूँजीको
आवश्यकता पर्यो । त्यसैले, नयाँ र पुराना
उद्योगभन्दा निकै ठूलो उद्योगहरुसँगै पूँजी बजार पनि व्यापक मात्रामा विस्तार भयो
। समृद्ध पूँजी बजार र उद्योगहरुले गर्दा वैदेशिक ऋण र लगानीलाई चलायमान गरायो ।
नयाँ औद्योगिककरणले कच्चा पदार्थ र खानाको असिमित भोक वृद्धि गर्यो ।
१९ औं शताब्दीको अन्त्यतिर दबाब र अवसर दुवै कारणले लगभग
विश्व औद्योगिक देशहरुको लागि प्राथमिक कृषिजन्य र खनिजका उत्पादकमा फेरिए ।
आत्मकेन्द्रित आर्थिक क्षेत्रहरु विश्व अर्थतन्त्रमा घोलिए । जसअनुसार एउटा यस्तो
अन्तर्राष्ट्रिय श्रम विभाजन देखापर्यो जहाँ नेतृत्वदायी औद्योगिक देशहरुले
वस्तुहरु बाँकी विश्वका लागि उत्पादन गर्थे र बिक्री गर्थे भने बाँकी विश्वले
उनीहरुलाई कच्चा पदार्थ र खाना पुर्याउनुपर्थ्यो ।
(क्रमशः)
(यो लेखको पहिलो भाग यहाँ छ।)
Comments
Post a Comment