वृत्रहा—कृष्णहा
तल यमुनातटमा कृष्ण र इन्द्रको युद्ध भयो । घैंटोभरि सोमरसका साथ पेटभरि गोरुको मासु खाएका इन्द्रका अगाडि भोका–प्यासा–थाकेका कृष्ण धेरै बेरसम्म टिक्न सकेनन् । तिनी लड्दा लड्दा लखतरान परेर रणभूमिमा ढले । इन्द्रले तिनलाई एउटा रुखको फेदमा बाँध्न लगाएर तिनको छाला काढ्न थाले (त्वचन् कृष्णाम् अरन्धयत्–ऋग्वेद १.१३०.८)। तब कृष्णासुरले चीत्कार गर्दै भने— “क्रुर इन्द्र ! मलाई दुःख नदे । तुरुन्त मारिदे । तसँग बदला लिनका लागि म फेरि जन्मिनेछु र यसै पवर्तले तेरो दर्प–हरण गर्नेछ । सुधीजनले तेरो पूजा गर्नेछैनन् । थू !”
जंगबहादुर शाह
(शाहले लेख्नुभएकाे याे कथा कृष्णकाे प्रचलित कथाभन्दा फरक छ । वेदकालीन कृष्ण असुर थिए । उनकाे सुरहरूका राजा इन्द्रसँग युद्ध भएको थियाे । युद्धमा पराजित भएका अुसर कृष्णकाे इन्द्रले छाला काढेका थिए । हाम्रा मिथहरूकाे विकासक्रमको अध्ययनकाे लागि पनि याे कथाकाे महत्त्व हुनेछ । )
पणि नामक असुरजातिका मानिसहरू व्यापार कुशल थिए । तिनीहरू एक स्थानको सस्तो माल लिएर अर्को ठाउँमा महँगोमा कटाउँदथे । त्यो युग–त्रेतारम्भ–वस्तु विनिमयको युग भएकाले पणि व्यापारीहरू आफ्ना माल शकटमा राखेर टाढा–टाढासम्म यात्रा गर्दथे । मालसहित त्यसरी यात्रा गर्दा लुटिने–मारिने भय भएकोले ती व्यापारीहरू निकै ठूलो जत्था बनाएर, शस्त्रास्तत्र–सज्जित भई यात्रा गर्दथे । त्यस्तै व्यापारीहरूको एउटा समूह–सार्थवाह–एकदिन यमुना नदीतिर पुग्यो र त्यहाँका रैथानेहरूसँग, तिनका मुखिया, कृष्ण बस्ने ठाउँबारे सोधेर त्यतैतिर लाग्यो ।
केही समयपछि त्यो सार्थवाह असुरराज कृष्ण बस्ने ठाउँमा पुग्यो । कृष्णसुरले त्यस सार्थवाहका मुखियालाई स्वागत गर्दै भने— “पणिराज ! धेरै महिनापछि हाम्रो भेटघाट हुँदैछ । हाम्रो क्षेत्रमा तपाईहरूलाई पुनः स्वागत छ । सञ्चै हुनुहुन्छ ? व्यापार त राम्रै होला यहाँ पनि । तपाईंले ल्याएका माल राम्रा र उपयोगी हुन्छन् । तपाईंको सारा माल हामी यतै राख्नेछौं । त्यसरी खाली भएका शकटमा हाम्रो माल भरेर अगाडि वा पछाडि जानुहोला ।”
कृष्णासुरका त्यस्ता कुरा सुनेर हौंसिएका पणिराजले भने— “देवकी पुत्र ! हामी सञ्चै छौं । तपाईहरूलाई पनि स्वस्थ र प्रसन्न देखेर हामीलाई राम्रो लाग्यो । छल–छद्मरहित व्यापार राम्रै हुन्छ । तपाईहरूको मालसँग आफ्नो मालको विनिमय गर्दा हामी कहिल्यै ठगिएका छैनौं...।”
स्वागत–सत्कारका प्रारम्भिक कुरा सिद्धिएपछि पणिराजले भने— “असुरराज ! तपाईहरूजस्तै हामी पनि, सुर नभएकाले असुर नै हौं (न सुराः असुराः) । पितृहन्ता इन्द्रको नेतृत्वमा सुरहरूको (आर्यहरूको) एउटा ठूलो जत्था बावेल (बेबीलोन)देखि जयलाभ गर्दै सप्तसिन्धुप्रदेशसम्म पुग्न लागेको छ । इन्द्र अत्यन्त धूर्त छन् । आफ्नो कार्यसिद्धिका लागि तिनले आफ्ना पितालाई मात्र मारेनन्, आफ्ना पुरोहित सबेरुलाई मारेपछि, स्वाष्ट्र वृत्रासुरलाई पनि छलपूर्वक मारिदिए । हामी दाताहरूलाई ती घुमन्ते (न आर्य)हरू दास अर्थात् कमारा भन्दछन् कृष्णत्वच् (कालो छाला भएका) भन्दछन्, अनास (नेप्टे नाके) भन्दछन्, वृषशिव्र (गोरुका जस्ता मोटा ओठ भएका) भन्दछन् र भन्दछन्—मृधवाक (विद्वेषपूर्ण भाषा बोल्ने, अनृतभाषी)। यज्ञमा अनेकानेक प्राणीहरूलाई मारेर इन्द्र आफूलाई शतक्रनु भनाउँदछन्...।”
“मैले सुनेअनुसार त ती आर्य (यायावर)हरू यज्ञमा मान्छे पनि काट्दछन् । तपाईं त सदाका शकट यात्री । के वास्तवमा आर्यहरू यज्ञमा मान्छे काट्दछन् ? यज्ञमा काटिएका पशुहरूको मासु (हविशेष) त आर्यहरू खान्छन् तर के तिनीहरू यज्ञमा काटिएका मानिसको मासु पनि खान्छन् ?”
“हो देवकी पुत्र ! तपाईहरू गाई–भैंसी पालेर, खेती किसानी गरेर अहिंस्रक जीवनयापन गर्नुहुन्छ भने तिनीहरू एकदमै हिंस्रक छन् । यज्ञमा गरिने हिंसालाई तिनीहरू— “वैहिकी हिंसा हिंसा न भवति”— भन्दै काटमार गर्दछन् । तिनीहरू यज्ञमा एक–दुई होइन, एकसय चौरासी मानिस काट्दछन् । पशु–माँस खाएको त मैले देखेको छु, तर नरमाँस–भक्षणबारे मलाई थाहा छैन ।”
“तर, यज्ञमा १८४ जना किन काटिन्छन् त ?”
“भागबण्डा असुरेश, भागबण्डा ! पुरोहितको सम्मानका लागि एउटा बाहुन, क्षत्रका लागि एउटा राजन्य (क्षत्रिय), मरुत्का लागि एउटा वैश्य, साधुका लागि शूद्र, अन्धकारका लागि एउटा चोर, नरकका लागि एउटा हत्यारा, पापका लागि एउटा नपुंसक, तृष्णाका लागि एउटी वेश्या, मेघका लागि एउटी रजकी (धोबिनी), इच्छाका लागि एउटी रँगकारी (महिला छिपा वा रञ्जितकार), धरित्रीका लागि एउटा विकलांग, स्वर्गका लागि एउटा खल्वाट्...।”
पणिराजले वाक्य पूरा गर्न नपाउँदै कृष्णासुरले मुख बिगार्दै भने— “भयो मित्र, भयो ! यज्ञमा मारिने यी मान्छेहरूको विवरण सुन्दा ममा ती हत्यारा आर्यहरूप्रति घृणा जागृत भएको छ । बरु मेरो ज्ञानवृद्धिका लागि त्यो छली–कपटी आर्य–सेनापति इन्द्रबारे बताउनुहोस् ।”
“हुन्छ, सुन्नुहोस्—
“एकदिन इन्द्र आफ्नी पत्नी शची पौलोमी (पुलोमाकी पुत्री)का साथ देवसभामा बसेको बेलामा तिनका गुरु–पुरोहित बृहस्पति त्यहाँ पुगे । तिनलाई आएको देखेर पनि इन्द्रले उठेर तिनलाई प्रणाम गरेनन् । त्यस कारण बृहस्पति केही नबोलीकन त्यहाँबाट बाहिरिए । देवताहरूका राजा भएका इन्द्र, आफ्नो आसनबाट उठ्नु आवश्यक त थिएन तर, त्यहाँ त ब्रह्मवर्चस्वको सवाल थियो ।
पछि इन्द्रलाई अवगत गराइयो कि बृहस्पतिले अब देव पौरोहित्य गर्दैनन् । त्यस्तो समाचार पाएपछि देवताहरूका बाहुन अग्निले इन्द्रसँग भने कि पुरोहित विनाका अपांगजस्ता हुने भएकाले तपाईंले कुनै न कुनै पुरोहित वरण गर्नैपर्छ ।”
“अप्ठेरो परेको बेलामा राम्रो कुरा गर्नुभयो मित्र अग्दिदेव ! देख्नुभएको छ कुनै यस्तो ब्राह्मण जो हाम्रा पुरोहित हुन योग्य होऊन् ?”
“देखेको छु सुरेन्द्र ।”
“को हुन् तिनी ?”
“त्वष्टा पुत्र विश्वरुप–त्रिशिरा ।”
“हुँ ! नाम त मैंले पनि सुनेकै हुँ तर एउटा सामान्य मानिसको नाम त्रिशिरा किन ? के तिनका तीन टाउका छन् ?”
“तिनको टाउको एउटा मात्र भए पनि लोकले भन्दछ कि तिनी एक मुखले सोमपान गर्दछन्, अर्को मुखले सुरापान गर्दछन् र तेस्रो मुखले अन्नभक्षण गर्दछन् । त्यसैकारण एउटै टाउको भएका त्वष्टापुत्र विश्वरुपलाई लोकले त्रिशिरा भन्दछ ।”
“ठीकै छ मित्र ! द्विशिरा–त्रिशिरा जो भए पनि थपनाका लागि तिनलाई नै लिई आउनुहोस् ।”
“देवेन्द्र ! पुरोहितलाई तपाईंले वरण गर्ने हो, मैले होइन । तपाईं जानुपर्छ । बरु हामी साथमा जाउँला ।”
कुरा मिलेपछि अनेक देवताहरूका साथ इन्द्र, विश्वरुपको आश्रममा पुग्दा तिनी ध्यानमा बसेका थिए । आगन्तुकहरूको पदचाप सुनेर तिनले आँखा खोले र अगाडि रहेका अग्निसँग सोधे— “तपाईंहरू को हुनुहुन्छ ? कहाँबाट आउनुभयो । आउने प्रयोजन के हो ?”
“महाभाग ! हाम्रा राजा सम्प्रति पुरोहितविहीन हुनुहुन्छ । तपाईंलाई थाहा नै छ कि पुरोहित नभएका राजाले पराभव भोग्नुपर्छ । तपाईं एउटा सदाचारी ब्राह्मण हुनुहुन्छ । यसकारण हामी तपाईंलाई हाम्रो इन्द्रका पुरोहित भइदिने अनुरोध गर्न आएका हौं । मेरो नाम अग्नि हो ।”
“ओहो अग्निदेव ! मैले सुनेअनुसार त तपाईं परम ज्ञानी हुनुहुन्छ । के तपाईंलाई थाहा छैन कि पौरोहित्यले बाहुनको तेज क्षीण गर्दछ ? त्यसकारण नै लोकले पुरोहितलाई बाहुनचरी भन्दछ । हामी शिलःटिपेर गुजारा गर्नुमा नै सन्तुष्ट छौं भने पुरोहितीजस्तो निन्दनीय कार्य किन गरौं...?”
इन्द्रलगायत अनेक देवताले निकै अनुनय–विनय गरेपछि विश्वरुप, इन्द्रका पुरोहित हुन माने । मान्न त माने तर तिनले लुकीछिपी असुरहरूलाई पनि यज्ञभाग दिन थाले किनकि तिनकी माता असुरकुलकी थिइन् । तर, तिनको छल–कपट धेरै दिनसम्म चल्न सकेन । थाहा पाएपछि इन्द्रले तिनको टाउको काटिदिए । (त्वाष्ट्रस्य विश्वरुपस्य त्रीणि शीर्षाणि परावर्क—ऋग्वेद १०.८.९)।
इन्द्रले आफ्नो पुरोहित मारेको समाचार सुनेर, विश्वरुपका पिता त्वष्टा सार्है दुखी र क्रुद्ध भए । तिनले इन्द्रलाई मार्न सक्ने, सक्षम, पुत्र–प्राप्तिका लागि— ‘इन्द्रशत्रो विवर्धस्व मरचिर जहि विद्विषम्— हे इन्द्रशत्रो ! तिम्रो अभिवृद्धि होस् र छिटै तिमीले आफ्नो शत्रुलाई मारिदेऊ’ भने ।
त्वष्टाले मन्त्रद्वारा मन्त्रार्थमा बताएजस्तै भन्न चाहेका थिए तर मन्त्रलाई गलत उच्चारणसाथ बोलेकोले त्यसको अर्थ हुनपुग्यो— “तिम्रा शत्रु इन्द्रको अभिवृद्धि होस् र तिनले छिट्टै आफ्ना शत्रुलाई मारिदिउन् ।”
यज्ञ समाप्तिपछि वृत्रासुरको जन्म भयो । कालान्तरमा तिनी एउटा दुर्घर्ष योद्धा हुन पुगे । तिनको शक्ति र प्रचण्डता देखेर देवताहरू (आर्यहरू— “वेदहरूका वास्तविक देव विशिष्टीकृत मानव हुन् जो मानवका जस्तै आकांक्षा र प्रेरणाहरूले ओतप्रोत, मानवहरूजस्तै जन्मिएका तर अमर व्यक्ति हुन्”—वैदिक माइथोलोजी मा ए.ए.म्याक्डौनेल) भयाक्रान्त हुनथाले । वृत्रले आक्रान्ता आर्यहरू मार्न थाले ।
त्यस दिनको युद्ध अनिर्णीत रहेपछि देवताहरूले सल्लाह गरेर, वृत्रलाई छलपूर्वक मार्ने निश्चय गरे । तिनीहरूले देव–बारवधू रम्भालाई वृत्रकहाँ पठाए । आफ्नो रुप र यौवनको वशमा पारेर रम्भाले तिनलाई अत्याधिक सुरापान गराई । तिनलाई राम्ररी मात लागेको अनुभव गरेर, रम्भा त्यहाँबाट भागी र इन्द्रलाई तिनको अवस्थाबारे बताई । यही हो मौका भनेर इन्द्र आफ्ना सहयोगी योद्धाहरू— शक्रज्याति, सत्य, सत्यज्योति, चित्रज्योति, ज्योतिष्मान्, सुतपा, चैत्य, ऋतीजत्, सत्यजित्, सुरमित्र, समित्र, सुतमित आदि उन्पचास मरुद्गणका साथ वृत्रनेर गएर हाँक दिन थाले ।
मात लागेका वृत्र होशमा आउन थालेका थिए । तिनले देखे कि सधैँ एक्लै भिड्न आउने इन्द्रका साथ तिनका योद्धा साथीहरू पनि छन् । तब तिनले पनि उच्च स्वरमा आफ्ना साथीहरूलाई बोलाए— “विप्रचिति, नमुचि, पुलोमा, मय, अनर्वा, शम्बरादि मित्रहरू ! छली इन्द्रले आफ्नी वेश्या बहिनी रम्भालाई मकहाँ पठायो । त्यसले निकै हाउभाउ देखाउँदै मलाई सुरापान गराएर लट्ठ पार्ने प्रयास गरी । त्यो अलि अलि सफल पनि भएकी थिई । मलाई मदमत्त भएको ठानेर इन्द्र मसँग युद्ध गर्न एक्लै आएको भए त ठीकै थियो । त्यसले त आफ्ना योद्धा साथीहरू–मरुद्गण–पनि ल्याएको छ । तिमीहरू तिनीसँग भिड, म इन्द्रलाई ठीक पार्छु ।”
त्यति भनेर वृत्र पनि शस्त्रास्त्र–सज्जित भएर रणांगनमा आए । तिनको विकराल रुप देखेर आक्रान्ताहरू त्रस्त हुन थाले । त्यसरी डराउन थालेका साथीहरूलाई उत्साहित गर्न इन्द्रले हुंकार गर्न थाले । इन्द्रको त्यस्तो हाँक सुनेर वृत्रले पनि हुंकार गर्दै, त्रिशूल उचाल्दै भने— “पापी इन्द्र ! तेरो मृत्यु निश्चित छ ।”
“असुर ब्राह्मण ! कसको मृत्यु निश्चित छ त्यो त आजै थाहा होला । मलाई त्रिशुलको त्रास नदेखा ! साहस छ भने प्रहार गर ।”
इन्द्रको दर्पयुक्त हाँक सुनेर औधी रिसाएका वृत्रासुरले त्रिशूल प्रहार गरे । त्यस प्रहारलाई इन्द्रले छले । आफ्नो प्रहार विफल भएको देखेर तिनले एउटा विशाल परिध (फलामे गदा) प्रयोग गरे । परिधले इन्द्रको दाहिने हातलाई चोट पुर्यायो र तिनको हातबाट बज्र छुटेर भुइँमा खस्यो । इन्द्रलाई त्यसरी शस्त्रविहीन भएको देखेर वृत्रासुरले भनें— “इन्द्र ! मेरो पराक्रम देखिस् । तँ आक्रान्ता होस् । तैपनि तँ फर्केर जान्छस् भने म तँलाई शक्तिको स्रोत यजुर्वेद दिनेछु ।”
वृत्रासुरबाट त्यसरी यजुर्वेद पाएपछि इन्द्रले साहस गरेर खसेको वज्र उठाए । वृत्रासुरले रोक्ने प्रयास गरेनन् । वज्र पाइसकेपछि इन्द्रले फेरि त्यसलाई उज्ज्याए । इन्द्रको त्यस्तो कृतध्नता देखेर वृत्रासुरले भने— “इन्द्र ! तिमी घुमन्तेहरू (आर्य) जस्ता हामी हिंसावादी होइनौं । बरु, चाहिए ऋग्वेद र सामवेद पनि लैजा । यो लडाइँ बन्द गर ।”
“ब्रह्मासुर ! पहिले वेद दे । म वचन दिन्छु कि आजको दिनपछि तेरो मेरो युद्ध हुनेछैन ।”
शान्ति पाउने आसमा वृत्रासुरले बाचाअनुसार ऋग्वेद र सामवेद पनि दिए । तिनीबाट तीनोटै वेद पाएपछि इन्द्र अत्यन्त बलिया भए । तिनले वज्र–प्रहार गरेर वृत्रासुरलाई मारिदिए ।”
“देवकीपुत्र ! छोटकरीमा इन्द्र–वृत्रकथा यति नै हो ।”
“पणिराज ! कथा छोटो भए पनि, आफूहरूलाई देव भन्ने आक्रान्ता आर्यहरूको कृतध्नतालाई यसले राम्ररी उजागर गरेको छ ।”
“आफूलाई देव भन्ने यी आक्रान्ताहरूको एउटा समूह आरम्भदेखि नै कपटी र कृतध्न हो । तिनीहरूले सागर–मन्थनमा पनि कपट गरेका थिए । मन्थनपछि प्राप्त सम्पत्तिको बाँडफाँडमा पनि छल गरे । तिनीहरूले हिरण्याक्ष र हिरण्यकशिपुलाई छल गरेर मारेका थिए भने अहिले यी सोझा र उदार वृत्रासुरलाई पनि यिनले विश्वासघात गरेर मारेका हुन् । देवकीपुत्र ! तपाईहरू सावधान रहनुहोला । इन्द्र कपटी मात्र होइन, क्रुर पनि छ । त्यसले कालो मान्छे भेटाए, तिनलाई आफ्नै हातले तिनको छाला काढेर मार्दछ । अति आवश्यक कुरा बताइसकें । अनुमति भए हामी वस्तु विनिमयतिर लागौं !”
“पणिराज ! आंगिरस–प्रतिपादित यज्ञ–पद्धति त हामीले पनि स्वीकार गरेका छौं । हाम्रो यज्ञमा धृत अन्नादिको आहुति दिइन्छ । दान–दक्षिणा हामी बाहुनलाई दिदैनौं । दक्षिणाको अर्थ हामी तपश्चर्या, भोकालाई दान, आर्जव (सरलता), अहिंसा र सत्यवचन मान्दछौं । आर्य–आक्रान्ताहरूदेखि सावधान रहने सत्परार्शका लागि साधुवाद । व्यापारीले व्यापार नै गर्ने हो । जानुहोस् ! हाम्रा पुजालाई प्रसन्न पारी वस्तु–विनिमय गर्नुहोस् । शुभ होस् ।”
कृष्णासुरले पणिराजसँग त्यसरी हल्काफुल्का कुरा गरे पनि त्यो गएपछि तिनको मनमा त्रास पस्न थाल्यो । तिनले आफ्नो जनजातिको सुरक्षाका लागि दस हजार योद्धाहरू यमुनाको तटमा एकत्र गराए र तिनलाई शस्त्रास्त्र–संचालन–निपुण बनाउन थाले । शुरुमा त ती गो–महिषपालक यादवहरूलाई त्यसरी एउटै ठाउँमा बस्न गाह्रो भयो तर जब सवाल प्राण र अस्मिता–रक्षाको उठ्दछ तब त्यस्ता असुविधाहरू गौण हुन जान्छन् ।
कृष्णले आफ्ना मान्छेहरू लगाएर, बोक्न सकिनेजति ढुंगा मुढा गोवर्धन पर्वतको शिखरतिर थुपार्न लगाए ।
ग्रीष्म ऋतुमा यमुनाको पानी निकै घटिसकेको समाचार पाएर इन्द्रले सरस्वतिपारि पूर्वतिर अभियान चलाए । दलबलका साथ यमुनातटमा पुग्दा तिनले देखे कि कृष्णासुर आफ्ना दस हजार योद्धाहरूका साथ यमुनाको पूर्वतटमा प्रतिरोध गर्न तयार खडा छन् । इन्द्रले आक्रमण गरे तर सफल हुन सकेनन् किनकि ती आक््रmान्ताहरू लामो यात्राका कारण थाकेका थिए भने आफ्नै क्षेत्रमा बसेका यादवहरू ताजादम थिए । अर्को दिनको युद्धमा कृष्णलाई आभास हुन थाल्यो कि आर्यहरूको तुलनामा तिनका योद्धाहरू धेरै मारिएका छन् । त्यसकारण तिनले युद्धका नाइकेहरूसँग सल्लाह गरेर सबैलाई गोवर्धन पर्वत चढ्ने आदेश दिए । अर्को दिन इन्द्रले यमुनातट अराति–विहीन देखे । कृष्णासुर रात्रिको अन्धकारमा पहाड चढिसकेका थिए । इन्द्रले सरभा र तिनका साथीहरूलाई शत्रुको गतिविधि पत्ता लगाउन पठाए । देवशुनी सरभाले खबर ल्याइन् कि कृष्णासुर आफ्ना भटहरूका साथ गोवर्धन पर्वत शिखरमा जमेका छन् ।
इन्द्रले चढाइ गर्न थाल्दा पर्वतको माथिबाट ढुंगा–मुढाको वर्षा हुन थाल्यो । परिणामस्वरुप धेरै आक्रान्ताहरू हताहत भए । इन्द्रले आफ्ना सेना पछि फर्काए । अर्को दिन तिनले आफ्ना सैनिकहरूलाई सावधानीपूर्वक पहाड चढ्न लगाए । माथिबाट ढुंगामुढा बर्सिनेछ भनी सावधान रहेका देवहरू पहिलो दिनको तुलनामा कम हताहत भए । तेस्रो दिनको आक्रमणमा माथिबाट बर्सिने ढुंगामुढाको संख्या अत्यन्त न्यून भएकोले इन्द्रले अनुमान लगाए कि वैरीहरूसँग अब त्यस्ता अस्त्र छैनन् । मरुत् नेताहरू आफ्ना योद्धाहरूका समय माथि चढ्न लाग्दा इन्द्रले भने— “मित्र मरुद्गण ! कृष्णासुरका योद्धाहरूसँग ढुंगामुढा नभए पनि धनुष–बाण, खड्ग, परिध भाला आदि त छन् । माथि चढ्दा हामी थाक्दछौं भने तिनीहरू विश्राम गरेका बलिया । यो हमला हाम्रा लागि अनिष्टकर हुनेछ ।”
“त्यसो भए के गरौं त ?”
“चुपचाप बसौं ।” इन्द्रले हाँस्दै भने ।
“कस्तो कुरा देवेश ! चुपचाप बस्नका लागि हामी वुमा–पंचनद गरेर आएका हौं ?”
“कान्छा मरुत् । कुरा बुझेनौ । हामी माथि चढ्दा थाक्छौं भने ती कालाहरू पनि तल झर्दा अलि अलि थाक्लान् नि । तिनीहरू थाकेको बेलामा आक्रमण गर्नुपर्छ ।”
“तर, देवेन्द्र ! तिनीहरू तल किन झर्लान् !”
“खान नपाएपछि तिनीहरू तल झर्नैपर्छ ।”
“पानी नपाए त झन छिटो झरिन्छ ।” एउटा चंखे मरुतले भन्यो ।
“पानी खान नपाए छिट्टै मरिन्छ भन्ने कुरा एकदमै ठीक हो, तर पर्वतमा पानीको मूल पनि हुन सक्छ ।”
“त्यसो भए हामी यतै बस्ने ?” अर्को मरुत्ले सोध्यो ।
“अहँ ! यहाँ बसेर हुँदैन । कालाहरू अर्कोतिरबाट भाग्न सक्छन् । हामीले दिनकै उज्यालोमा, तिनीहरूले देख्ने गरी पर्वतको घेराबन्दी गर्नुपर्छ ।”
निर्णयअनुसार गोवर्धन पर्वतको घेराबन्दी गरियो । अन्ततः भोका कालाहरू तल झर्नैपर्यो ।
तुमुल युद्ध भयो । आक्रान्ताहरू मारिए । कालाहरू धेरै मारिए किनकि तिनीहरू भोका–प्यासा र थाकेका थिए । तल यमुनातटमा कृष्ण र इन्द्रको युद्ध भयो । घैंटोभरि सोमरसका साथ पेटभरि गोरुको मासु खाएका इन्द्रका अगाडि भोका–प्यासा–थाकेका कृष्ण धेरै बेरसम्म टिक्न सकेनन् । तिनी लड्दा लड्दा लखतरान परेर रणभूमिमा ढले । इन्द्रले तिनलाई एउटा रुखको फेदमा बाँध्न लगाएर तिनको छाला काढ्न थाले (त्वचन् कृष्णाम् अरन्धयत्–ऋग्वेद १.१३०.८)। तब कृष्णासुरले चीत्कार गर्दै भने— “क्रुर इन्द्र ! मलाई दुःख नदे । तुरुन्त मारिदे । तसँग बदला लिनका लागि म फेरि जन्मिनेछु र यसै पवर्तले तेरो दर्प–हरण गर्नेछ । सुधीजनले तेरो पूजा गर्नेछैनन् । थू !”
कृष्णको थूक आफ्नो मुखमा परेपछि इन्द्रले अन्यन्त क्रुद्ध भएर एकै झट्कामा तिनको टाउको काटिदिए । त्यसपछि तिनले कृष्णका सबै गर्भवती पत्नीहरूका पेट पनि काटिदिए ।
... ... ...
वैदिक साहित्यको इतिहास पढेकाले वृत्रासुरले इन्द्रलाई तीन वेद दिएका थिए भन्ने कुरा यस कथामा पढेर मुख बिगार्दै सोच्नेछन् कि द्वापरान्ततिर निषादीपुत्र कृष्ण द्वैपायनले तीन भागमा विभक्त वा क्रमबद्ध (क्रमबद्धानकरोत्) गरेको वेद, वृत्रासुरले त्रेतारम्भमा कसरी एक–एक गरी इन्द्रलाई दिए !
हाम्रा गुरुजीहरूले यस विषयमा बहुतै गडबड गर्नुभएको छ । बाहुनष्यक अनुसार एक–एक युग लाखौं वर्षका छन् । तिनको भनाइ मान्ने हो भने वेद रचना आजभन्दा लाखौं वर्ष पूर्व भइसकेको हुनुपर्छ । यस विषयमा धेरै नामी बाजे स्वामी दयानन्द सरस्वती (मूलशंकर)ले त वेदको आयु एक अर्ब छ्यानब्बे करोड वर्षभन्दा धेरै बताउनुभएको छ भने अर्का बाजे महापण्डित राहुल सांकृत्यायन (केदारनाथ पाण्डे)ले वेदको आयु पैतीस–छत्तीस सय वर्षभन्दा माथि मान्न तयार हुनुहुन्न । वेदको बारेमा कमसेकम बीसजना विद्वान्हरूले कलम चलाएका छन् । सबैले आ–आफ्नो राग अलापेका छन् । आधुनिक विद्वान् पाण्डरंग वामन काणेसँग लगभग सहमत छन्, जसअनुसार वेद–रचनाकाल ईसापूर्व लगभग ४००० वर्ष हो । जे होस्, महाभारतकालमा वेद तीन थिए भने त्रेतारम्भमा ! म जान्दिनँ । तर, अपौरुषेय वेद त गलत हुन सक्दैन होला !
“मन्त्रब्राह्मणयोर्वेदनामधेयम्” अनुसार त ब्राह्मण ग्रन्थहरू पनि वेद नै हुन् र शतपथ ब्राह्मण (५.५.५.१)मा दिइएको कथा अनुसार त त्रेतायुगीन वृत्रासुरले नै इन्द्रलाई तीन वेद दिएका थिए अथवा भनौं कि त्रेतारम्भमा नै तीन वेद विद्यमान थिए । तब कृष्ण द्वैपायनले कुन वेद विभाजित गरे ?
पाठक–पाठिका मित्रहरू ! तपाईहरू वेदको आयु ठम्याउनतिर लाग्नुहोस्, म लाग्छु अर्को कथाको स्रोत–सामग्री एकत्र गर्नतिर । तर, जाँदाजाँदै— ऋग्वेदमा कृष्ण नामक असुरलाई अंशुमतीतीरको बताइएको छ । त्यो अंशुमती नै यमुना हो । नपत्याए सोधौं सायणसँग ।
(शाहकाे प्रकाशाेन्मुख पुस्तक ‘वेदायन’बाट)
Comments
Post a Comment