रामचन्द्र श्रेष्ठ
ती फेरि सडकमा आए । अब यो सडक तिनको रहेन । तिनीहरू हिन्हिनाउँदै, रवाफले दौड्न पाएनन् । ती त भौतारिरहे । खानाको खोजीमा, स्पर्शको खोजीमा, बासको खोजीमा ।
नेपालगञ्ज, सुर्खेत राेडमा अटाेरिक्साको ताँतीबीच डाेरीसँगै दाैडिरहेकाे एक खच्चड । |
म निस्केको थिएँ धम्बोजी चोक जान भनेर । रातको ९:३० भइसकेको थियो । थाहा पाइसकेको थिएँ नेपालगञ्ज ११ बजेसम्म खुल्छ भनेर । होटलमा फर्कनलाई समयको कुनै बन्देज थिएन । नेपालगञ्जमा खुलेका क्यासिनोहरूका कारण होटलहरू रातीसम्मै खुला रहँदा रहेछन् ।
निस्केको त थिएँ धम्बोजी जान भनेर । उताबाट एउटा अटो आयो । भरिभराउ थियो । एउटा
सीट रहेछ रोकें । अटोवालाले कहाँ जाने भनेर सोध्दा मुखबाट बागेश्वरी चोक पो आइदियो
। मैले धम्बोजी बिर्सिसकेछु । शायद अटो पर्खिदैं सडकमा हिंड्दा बागेश्वरी
मन्दिरबारे सोचिरहेको पो थिएँ कि ? अटोले बागेश्वरी चोकमा
झारिदियो । म त सेकुवाको खोजीमा पो निस्केको थिएँ । कहाँ मन्दिरको चोक ? कहाँ
सेकुवा ? फुल्की, चाट र बदाम सेकका ठेलाहरू थिए । चोकमा मान्छेहरूको राम्रै उपस्थिति थियो ।
बदाम सेक खाँदै सेकुवा पाउने चोक सोधे । फेरि धम्बोजी सम्झिएँ । अर्को अटो चढें
धम्बोजी जान ।
धम्बोजीमा ठेला थिएन । अटोवाला केटोले बिपी चोकमा पाइन्छ भन्यो । त्यहाँ केही ठेलाहरू
थिए । मेरो अपेक्षाविपरीत सेकुवा भने पनि तेलमा तारेको रोष्ट नै रहेछ । यहाँ आगोमा
सेक्ने सेकुवा नहुँदो रहेछ । केही लिइवरी त्यहीं अटोमा नै होटल फर्किएँ ।
अटोवाला केटो बर्दियाको थियो । ६ महिना अघि नेपालगञ्ज आइपुगेको । एक लाख ३३ हजारमा
सेकेण्ड ह्याण्ड अटो किनेको रहेछ । यो पैसामा उसले अटोसँगै सपना पनि किनेको छ ।
यहीं अटो चलाएर परिवार पाल्ने सपना देखेको छ । र, यो शहरमा यस्तो सपना
११ हजार जतिले देखेका छन् । नगरपालिकाका कर्मचारी भन्दै थिए जम्मा ४ हजारमात्र
दर्ता छन् ११ हजार जति अटो चल्छन् ।
नेपालगञ्जको मुख्य सडक ओगटिरहेका अटोरिक्साहरू |
नेपालगञ्जको अर्को नाम नै अटोगञ्ज हो भन्दा हुन्छ । जहाँ पनि जति बेला पनि अटो रिक्सा पाइन्छन् । बाटोमा ठूला माइक्रो बसहरू हिंडेको दुर्लभ दृश्य रहेछ । अटोको पुरै साम्राज्य चल्दो रहेछ ।
अनि टाँगा नि ? नेपालगञ्जको परिचय त टाँगा पो हो । टाँगा के उही प्रेमललवाको टाँगा जसलाई बसन्तीले तान्ने गर्थी । नेताज्यूको विजय र्यालीमा उलार भएका कारण बसन्तीको निधन भयो । क्षतिपूर्तिका लागि प्रेमललवा काठमाडौंको यात्रा गर्छ । विकृत राजनीतिले उसलाई कहाँ चिन्छ र ? कहाँ उसले क्षतिपूर्ति पाउँछ र ?
काठमाडौंबाट फर्कदाँ प्रेमललवासँग उदासी, बेचैनी, निराशा र रित्तो
खल्तीमात्र थिएन । एउटा बोध थियो । यस्तो बोध कि उसले जीवन चिनेको थियो । उसले
एउटा ठूलो पाठ सिकेको थियो । उसले थाहा पाएको थियो कसरी उ र उ जस्ता मान्छेहरू
मेनरोडबाट सुर्खेत रोड, कोरियनपुरवा हँदै परसपुरसम्म धकेलियो । यो बोध नै उसको परिवर्तन हो ।
नेपालगञ्जको मुख्य बजारक्षेत्रको एक गल्लीमा एकपछि अर्काे गेरू र हरियो झण्डा । |
गेरु र हरिया झण्डाहरू घरघरमा टाँगिएका त्रिभुवन चोक वरपरका गल्लीहरूमा डुल्दै गर्दा बि.पी. अस्तु र मैले प्रेमललवालाई सम्झिरहन्छौं । नयनराज पाण्डेको यो फुच्चे उपन्यासिका (लामो कथा) ‘उलार’ केवल सामयिकता वा विकृत राजनीतिको चित्रण मात्र होइन प्रेमललवाको बोध हो । उसमा आएको परिवर्तन हो । उसमा पलाएको विद्रोही चेत हो । यहीं विद्रोही चेतले एकातर्फ उसले यौन कर्ममा बाध्य पारिएकी द्रौपदीलाई अपनाउने र अर्कोतर्फ कुनै नेताको भारीले अब उलार हुन नदिने अठोट गर्छ । पाण्डेको उलार यहीं दार्शनिक उठान कै कारण दीर्घजीवी बनेको हो । जब सामयिक चित्रणले दार्शनिक उचाई प्राप्त गर्छ कृति सामयिकताबाट शास्वतताको यात्रा लम्कन्छ ।
बि.पी.अस्तुलाई म सोध्छु— कहाँ गए ती घोडाहरू ? बि.पी.को जवाफले मन
चस्स पार्छ । टाँगाहरूको बजार सकिँदै गए पछि घोडाहरू घरबाट खेदिए । ती सडकमा आए ।
उसो त ती सडकमा नै थिए । सडकमा नै सकिनसकि यात्रु र सामान तान्थे । तै पनि तिनले
दाना खान पाउँथे । तिनले स्याहार पाउँथे । तिनले प्रेमललवाको मायालु स्पर्श पाउँथे
। ती फेरि सडकमा आए । अब यो सडक तिनको रहेन । तिनीहरू हिन्हिनाउँदै, रवाफले दौड्न पाएनन् ।
ती त भौतारिरहे । खानाको खोजीमा, स्पर्शको खोजीमा, बासको खोजीमा । कतिपय
बेचिए उत्तरतिर भारी बोक्न । तिनको नियति अर्कै भयो । धेरै पुर्याइए काञ्जीहाउसमा
जहाँ नगरपालिकाले अड्कलेर दिएको दाना खाएर जेनतेन जीवन धाने । नेपालगञ्जका अन्तिम
पुस्ताका घोडाहरू वियोग, भोक र अपमानसँगै सकिँदै गए ।
बि.पी.अस्तुले नेपालगञ्जमा घोडा कसरी अस्ताए भनी वर्णन गर्दै थिए । मैले उनलाई
चिंगिज आइतमातेभको उपन्यास ‘बूढो मान्छे र घोडा’ (फेयरवेल गुलसारीको नेपाली
अनुवाद) सुनाइरहेको थिएँ । अनि घोडाको यो दुखद अवसानसँगै प्रेमललवाहरूको हालत के
भयो अस्तु? ती कसरी अस्ताए ? तिनको नियति के भयो ? घोडाको लागि घाँस काट्ने घसियारहरूको नियति के भयो ? यी सबै प्रश्नको
जिम्मा मैले अस्तुकै पोल्टामा छोडेर आएको छु । नेपालगञ्जमा अब प्रेमललवा पनि छैन, बसन्ती पनि छैन, धन्नो पनि छैन । तर, यो देशमा शान्तिराजा र
राजेन्द्रराजहरूको पुनर्उत्पादन भईरहेछ ।
रातीको साढे दश बजेतिर लगभग ४ किलोमिटर यात्रा गरेर होटल पुग्दा अटोवाल उरुवा
चौधरीले मलाई नेपालगञ्जका चोकहरूको नाम बताइरहेको थियो । यो हो बिपी चोक, यो पुष्पलाल चोक, यो गणेशमान चोक...।
रातीमा यो यात्राको उसको भाडा जम्मा २० रुपैयाँ भन्यो । मैले उसलाई ५० रुपैयाँ
दिएँ । उरुवाले भन्यो— ‘सर, तपाईलाई घाटा लाग्छ कि ?’ मलाई उसको माया लागेर
आयो ।
अनि यो निष्ठुर शहरमा, यो साम्प्रदायिकताको बारुदमा सुतेको शहरमा उरुवा चौधरी भनिरहेछ, ‘सर, तपाईलाई घाटा लाग्छ कि ?’ उसको अनुहारमा मलाई
प्रेमललवाको झल्को लागेर आउँछ । म भन्छु, ‘तिमीलाई मायाले दिएको
हो, राख ।’ उ मुस्कुराउँछ ।
मान्छेले मान्छेलाई माया गर्नु यो बारुदको शहरमा दुर्लभ क्षण हो ।
२०८१ जेठ
नेपालगञ्ज एक परिदृश्य |
Comments
Post a Comment