भैलोमा भुलेर


लक्ष्मण श्रेष्ठ



“कहाँ बास्यो भाले मजुर
कहाँ बास्यो भाले मजुर
हो हो सपनीमा पार्वतीलाई देखेथें
उनैलाई भेट्न जान्छु म त हजुर”

अनि घिन्ताङ गर्दै मादल फर्किन्छ । मादलको एउटा लय छोडेर जब घिन्ताङ्गको आवाज आउँछ हो त्यसैलाई मादल फर्काइनु भनिन्छ । अनि नाच्दै गरेका मादले र पुर्सुङ्गे फनक्क घुम्छन् । पुर्सुङ्गेको घाँघर फर्रर बतासिन्छ । वातावरणमै रौनक रन्किन्छ ।

“कति सुभायो कति सुभायो
शिवजीलाई बाघको छाला, नागको माला
कति सुभायो” 

अनि सोरठी रन्किन्छ । जोर मादल, मुजुरा, बाँसुरी र झंकारहरुले भरिएको गीतको मुर्च्छना । आकाश थर्किन्छ । धर्ती हल्लिन्छ । घरकी मूलबज्यैले चामल, चामलमाथी पालामा बत्ती, वरिपरि नयाँ नयाँ कड्कने नोट पैसा र तिहारका रोटीहरुले सजिएको नाँग्लो ल्याएर राखिदिनुहुन्छ । पुर्सुङ्गेले शिरमा राखेर हातले नसमाइ घुमाउँदा पो बल्ल आउँछ तिहार । ठूलो भैलो ननाचेको तिहार के तिहार ?

तिहारको याम । औंसिको अँधेरो रात । र, धर्तीभरी तारा झरेजस्तै आभाष दिनेगरी बलिरहेका दीपहरु । जब समयको सुईमा भैलोको धुन मच्चिन थाल्छ, मनभित्रको आँगनमा मारुनी मच्चिन्छ । मनभरीभरी सोरठी घन्किन्छ । चोलो र घाँघर भिरेर अझ गालामा रातो फा दलेर तरुनीजस्तै बनेका चन्द्र दाइ क्या मज्जाले नाच्छन् । “यो जत्तिको राम्रो पुर्सुङ्गे नाच्ने त यो सात गाउँमा कोही छैन”, बज्यै यसै भन्नुहुन्छ । भैलोमा यही त हुन्छ । गाउँमा अरु पनि थुपै्र भैलो हुन्छन् । कोही कोही त टेपरिकर्डर बोकेर फिल्मका गीतमा पनि नाच्छन् तर मारुनी र सोरठी नाच्ने भैलो गाउँकै ठूलो भैलो हो । अरुले भन्दा थुपै्र पैसा पाउँछ उसले । ठूलो भैलोको शान नै फरक । बाटोमा हिंड्दा पनि जोर मादल घन्काउँदै, मुजुरा बजाउँदै हिंड्छ । ‘उ आयो ठूलो भैलो’ हामी केटाकेटी हल्लाखल्ला गर्दै पछि लाग्छौं ।

“सम्झिन्छस् ? कसरी हिंड्थ्यौं हामी ठूलो भैलोको पछिपछि ?”, दाईले सम्झाउँछ मलाई ।

“हो त, सबैको घरमा दिने रोटी चाख्दै हिंड्थ्यौं नी !”, मेरो मनमा पनि सम्झनाका तस्विरहरु चलचित्रको रिलजस्तै नाच्न थाल्छन् ।

तिहारको याम । साँझको प्रहर । हामी दाजुभाई भैलो हेर्ने भन्दै निस्केका छौं शहरको मूल सडकमा । बिजुलीको शक्तिमा चम्किने लहरे बत्तीहरुले शहरका ठूला–ठूला महलहरु सजिएका छन् । टोलैभरी झल्किएको झिलिमिली हेर्दै हामी भैलोको खोजीमा लाग्छौं । ठाउँ–ठाउँमा भैलोरुपी दृश्यहरु देखिन्छन् । भैलोको दृश्य देखेर हाम्रो अनुहारमा उदेकको तरंग प्रवाहित हुन्छ । के छ यी भैलोमा ? चोकमा नाचिरहेको भैलोमा एउटी सोह्र, सत्र वर्षे किशोरी छोटो–छोटो कपडा लगाएर सकेसम्म पुरै  जिउ हल्लाउँदै नाचिरहिछे । टोलैभरी आवाज दिने स्पीकरबाट गीत बजिरहेछ– “मलाई यो बैंशले पुगेन...”

नाक खुम्चाउँदै हामी अगाडि बढ्छौं । अर्को चोकमा चारजना किशोरहरु फरक फरक स्टाइलका जुत्ता र कपडा लगाएर नाच्न उभिएका छन् । स्पीकरबाट गीत घन्किन थाल्छ । ती किशोरहरु बुरुक बुरुक उफ्रिएजस्तै गरी नाच्छन् । हामी खुब ध्यान दिएर सुन्छौं र बल्ल चाल पाउछौं स्पीकरमा त अंगे्रजी गीत पो घन्किरहेको रैछ ।

शहरका तीन,चार भैलो हेरेपछि हाम्रो भैलो हेर्ने रहरमा हिउँ पर्छ । उत्साह मरेको भावमा हामी लुरुलुरु सडकको लम्बाइ नाप्न थाल्छौं ।

“यस्तो नी भैलो ! यस्तो पनि भैलो हुन्छ ?”, म गन्गनाउँछु ।

“यो किन भएको थाहा छ ?” अलिबेरको मौनता भंग गर्दै दाईले सोध्छ ।

“किन ?”

“हामीलाई हाम्रो संस्कृतिको महत्वबोध नै भएन । हामीलाई हाम्रो संस्कृति जोगाउनुपर्छ भन्ने नै थाहा भएन ।”, ऊ जवाफ दिंदै भन्छ, “हाम्रो संस्कृतिको विशेषता, यसको गाम्भिर्यता, माटोसँग जोडिएको यसको सुवासबारे बताएको भए नयाँ पुस्ता यसरी विदेशी संस्कृतिको अन्ध नक्कलमा लाग्ने थिएन ।”

“हो नि, हामीलाई आफ्नो मौलिक संस्कृति नष्ट हँुदा सँगसँगै हामीले हाम्रो जीवनशैलीका विशेषताहरु पनि गुमाइरहेका हुन्छौं भन्ने बोध नै भएन । हाम्रा शासकहरु सँधैभरी विदेशीको गुलामीमै लागिरहे । खाली विदेशी संस्कृतिको अन्ध भक्त बनिरहे । संस्कृति भनेको के हो र ? जीवनशैलीको समष्टि त हो । जब संस्कृतिको कुनै पाटो खस्किन्छ बुझ्नैपर्छ जीवनशैली नै संकटमा छ । जीवनशैली संकटमा हुनु भनेको हाम्रो मौलिक उत्पादन प्रणाली नै संकटमा पर्नु त हो नी ।”, म भन्छु ।

“अँ हो, ठीक भनिस्, जीवनशैली आखिर उत्पादन प्रणालीले बनाइदिने हो । जीवनशैली फेरिंदा त्यसै अनुसारको उत्पादनप्रणाली चाहिन्छ । तैले अस्ति मावल जाँदा जीपभरी मिनरल वाटरको बोतल लगेको ख्याल गरिथिस् ?”, ऊ एकाएक सोध्छ ।

“अँ ख्याल गरेथें, किन ?”

“त्यहीं हो जीवनशैली अर्थात् संस्कृति फेरिनुको परिणाम । अब हाम्रो प्यास पँधेराको पानीले मेटिन थालेको छ । हामीलाई मिनरल वाटरको बोत्तल नभएसम्म आधुनिक भएजस्तो लाग्न छोडेको छ ।”

“हो त, अजिले पनि हामीलाई पुग्नासाथ कोक खुवाउनुभथ्यो नी । पहिले त मोही खुवाउनुहुन्थ्यो । कहिलेकाहीं घरमै बनाएको कोदोको कः खाइन्थ्यो ।” मैले मुस्काउँदै भनें । कः को कुरा सम्झेर ऊ पनि हाँस्यो ।

“त्यहीं त हो नी उपभोक्ता संस्कृतिले गाँज्नु भनेको । हाम्रो मौलिक संस्कृतिलाई उपभोक्तावादी संस्कृतिले विस्थापन गर्दैछ । खासमा यो पूँजीवादी देशहरुले आफ्नो उत्पादन बेच्न बनाएको संस्कृति हो । प्यास लागे कोक खाउ । राम्रो हुन क्रिम दल ।  कपाल यस्तरी काट । कपडा यस्तो लगाउ । यस्तै यस्तै प्रचार त गरिएको छ । हलमा देखाइने फिल्म । टिभीमा देखाइने सिरियल र एरिस्टोक्रेटहरुले निर्माण गरेको संस्कृति यस्तै त हो । सुन्दा त के पो फरक पर्छ र जस्तो लाग्छ । पानीको साटो कोक खाँदैमा के नै हुन्छ र जस्तो लाग्छ । तर जब हामी त्यो कोकको निम्ति हाम्रो खल्तीबाट अझै सिंगो देशबाटै कति पैसा बाहिर जान्छ भनेर हिसाब गर्न थाल्छौं नी बल्ल थाहा हुन्छ समस्या कहाँनेर छ । एकातिर हाम्रो मौलिक उत्पादन प्रणाली ध्वस्त हुँदैछ अर्कोतिर हामी आर्थिक उपनिवेशमा परिणत हुँदैछौं ।”

“तर एउटा कुरा के । हाम्रो संस्कृति भनेको के हो नी फेरी ? त्यहीं बिहान उठ ढिंकिझाँतो गर । टाढाको पँधेरामा गएर पानी ल्याउ । पुरानो जीवनशैली । सुन्दा पनि मनमा ब्ल्याक एण्ड ह्वाइट पिक्चर बन्ने टाइपको ?” म हाँस्दै प्रश्न गर्छु । उ पनि मज्जाले हाँस्छ ।

“खासमा पुरानो संस्कृति नै जोगाइराख्ने होइन के । नयाँ बनाउने हो । काम गरिखाने जनताको श्रमलाई सम्मान गर्ने खालको नयाँ संस्कृति बनाउने हो । तर यो संस्कृति के बाट बन्छ ? कहाँबाट बन्छ ? के नयाँ संस्कृति शुन्यबाट बन्छ ? होइन, यो हाम्रै पुरानो संस्कृतिको मौलिकताबाट बन्छ । बनाइनुपर्छ । साम्राज्यवादी उपभोक्तावादी संस्कृतिलाई परास्त गर्न मौलिकतामा आधारित नयाँ संस्कृतिको निर्माण नै उचित विकल्प हो भनेर एडुवार्डो ग्यालिआनोले भनेका छन् नी ।”, उसले प्रस्ट पार्छ ।

“ए ल्याटिन अमेरिकी लेखक होइन ऊ ? जनताको जोदाहा लेखक ?”, म कोट्याउँछु ।

“हो त ‘ओपन भ्यान्स अव ल्याटिन अमेरिका’ (ल्याटिन अमेरिकाका खुला नसाहरु) भन्ने चर्चित किताब लेख्ने लेखक”, ऊ थप्छ । अनि हामी फेरि ल्याटिन अमेरिकी संस्कृतिको विनाश, त्यसको पुनःनिर्माण र भइरहेका आन्दोलनहरुबारे गफिन्छौं । मार्खेज, चिनुवा अचिबे लगायतका लेखकहरुको नाम दोहोरिन थाल्छ । कतै परको चोकमा भने अघिकै गीत दोहोरिंदै हुन्छ– ‘मलाई यो जवानीले पुगेन...’

(यो निबन्ध मजदूर दैनिकमा प्रकाशित हुने लेखकको स्तम्भ ‘खुला आकाश’मा ०७० कार्तिक १५ मा प्रकाशित भएको थियो ।)

Comments