पागल


(महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीको अवसरमा उहाँको चर्चित कविता पागको पूर्ण पाठ प्रकाशित गरिएको छ । महाकविले यो कविता वि.सं. २०१०मा रचना गर्नुभएको हो । यो पूर्ण पाठ ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’ले वि.सं. २०२८ सालमा प्रकाशन गरेको ‘आधुनिक नेपाली कविता’बाट साभार गरिएको हो ।)




महाकवि लक्ष्मीप्रसाद देवकोटा 


जरुर साथी म पागल
यस्तै छ मेरो हाल ।

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संंंंसार जान्दैन ।
म देख्दछु ढुंगालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिंएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागल झैं,
फूल झैं— एक किसिमका चकोर फूल ।
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न !
जुनेली गंगा–किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौंले ।
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्दैनौ,
म उसमा हेलेन र पष्पिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु ।
तिमी जम्दछौं जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो ।
तिम्रो संसार ठोस छ ।
मेरो बाफ ।
तिम्रो बाक्लो, मेरो पातालो !
तिमी ढुंगालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चीसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँढाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी !
मेरो एक नशा ढीलो छ !
यस्तै छ मेरो हाल !

म माघको ठंंडीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरंगी भने ।
भस्मेश्वरबाट फर्कंदा सात दिन
टोल्हाएको देखेर,
भूत लागेको भने ।
एक सुन्दरीका केशमा समयका तुषाराको
पहिला छिर्का परेको देखेर,
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा,
मलाई छटाएको भन्ने !
मैले बसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुलाहा भने !
एक सुनसान औंशीले मलाई निशास भएर
म प्रलयवेदनाल उफ्रें ।
मूर्खहरुले मलाई त्यसबेला ठिंगुरा हालेर राखे ।
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरुले
राँची पठाइदिए ।
म आफूलाई एकदिन मरेको सम्झेर,
लंपसार थिएँ
एक साथीले बेसरी चिमटिदिए ।
र भने, “ए पागल तेरो मासु अझ मरेको छैन ।”
यस्ता कुरा भए साल, साल ।
पागल छु साथी !
यस्तै छ मेरो हाल ।

मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रंडीलाई लास भनेको छु ।
राजालाई गरीब !
सिकन्दरलाई मैले गाली दिएको छु ।
नगण्य व्यक्तिलाईँ, तर,
सातौं आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापंडित, मेरो महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम !
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्दछु तिमीलाई बिलकुल लाटा ।
तिम्रो उन्नति, मेरो अवनति, साथी ।
यस्तै छ मोलमोलाइको उलटपुलट ।
साथी ! तिम्रो विश्व, मेरा बाल ।
जरूर साथी ! म बिलकुल चन्द्राहत छु,
चन्द्राहत ।
यस्तै छ मेरो हाल ।

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफातपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मंञ्च चढेकालाई
काला नटुवा देख्दछु ।
विफललाई सफल देख्दछु ।
प्रगतिलाई अगति देख्दछु ।
या हुँला मै ऐचाताना ।
या हुँला मै दीवाना ।
साथी ! मै दीवाना ।

निर्लज्ज नेतृत्वको नीरस रसनाको
रंडीको नाच हेर ।
जनअधिकारको डँडाल्नोको भाँच हेर ।
जब भँगेरेटाउके छापाको कालो मिथ्याले
मेरो विवेक वीरलाई
जाली झूठले ललकार्छ ।
तब हुन्छन् मेरा गाला राता, साथी ।
सल्केका गोल झैं राता ।
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भी ठानेर,
र मेरो आँखा अगाडि, साथी ।
तब हुन्छन् ठाडा मेरा रौंं, राैं
गर्गनका सर्पकेश झैं, मेरा जिस्काइएका
रौं, रौं ।
जब बाघले मिर्ग खान आँटेको देख्छु, साथी ।
या ठूलो माछाले सानो,
तब मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको
भयंकर बल पसेर, बोल्न खोज्दछ, साथी ।
स्वर्गबाट चट्याङ परेको दिन झैं ।
जब मानवले मानवलाई मानव ठान्दैन, साथी ।
तब कडकडाउँछन् मेरा बत्तीसदन्ते बंगारा ।
दुवै ।
जस्तो भीमसेनका दाँत ।
अनि प्रकोपले लाल, लाल, आँखाका डल्ला,
फनक्क घुमाएर, एक डबलले, म,
यो अमानवको मानव जगतलाई,
एक आगोको लप्काले झैं हेर्दछु, साथी ।
उफ्रिन्छन् मेरा कलपुर्जा,
खलबल ! खलबल !
तूफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बडवानल झैं, बडवानल झैं ।
म वन खाने आगो झैं बहुला हुन्छु ।
बहुला, साथी ।
काचैं निलूँ झैं विश्व विशाल ।
जरुर, साथी ।
म सुन्दर चकोर, असुन्दर–फोर ।
कोमल–क्रर ।
चिडिया, स्वार्गाग्नि–चोर !
तूफानपुत्र !
पागल ज्वालामुखीको उद्गार,
भयंकर व्यक्तित्वपाल ।
जरुर, साथी ।
सन्के मगज छु, सन्के ।
यस्तै छ मेरो हाल ।

Comments