युरोपेली देशहरुले व्यापार विस्तार गर्न सैन्य र प्राविधिक स्रोतहरुमार्फत् गैर–पूँजीवादी समाजलाई टुक्राएर र पुनर्संरचना गरेर बजार बनाए ।
ह्यारी म्यागडफ
(ग्लोबलाइजेसनलाई नेपालीमा विश्वव्यापीकरण भन्ने चलन छ ।
भूमण्डलीकरण शब्द पनि समानार्थीको रुपमा प्रयोग गरिएको पाइन्छ । अहिले
विश्वव्यापीकरण सामाजिक विज्ञानका हरेकजसो शाखाहरुमा चर्चा र चासोको विषय बनेको छ
। विश्वव्यापीकरणलाई विभिन्न कोण र आयामबाट विश्लेषण गरिएको पाइन्छ ।
विश्वव्यापीकरणका अनेकन् विश्लेषकमध्ये ह्यारी म्यागडफ पनि एक हुन् ।
साम्राज्यवादलाई आर्थिक कोणबाट विश्लेषण गरेर संसारभर ख्याती कमाएका म्यागडफ ‘मन्थली रिभ्यु’का पूर्व सह‑सम्पादक थिए ।
उनले ‘Imperialism: From the Colonial Age to The Present’ नामक पुस्तकमा
साम्राज्यवादको शुरु, विकास र
विस्तारबारे विस्तृतमा विश्लेषण गरेका छन् । सोही पुस्तकमा संग्रहीत Imperialism: A Historical Survey नामक निबन्धमा म्यागडफले विश्वव्यापीकरणलाई साम्राज्यवादकै विस्तारको रुपमा व्याख्या गरेका छन् । उनको निबन्धमा
आधारित रहेर रामचन्द्र श्रेष्ठले तयार पारेको यो अध्ययन टिपोट यहाँ प्रस्तुत छ ।
यो टिपोट तीन भागमा प्रकाशन गरिनेछ ।)
सामान्यतयाः
विश्वव्यापीकरण वस्तु वा सेवाको विश्व स्तरमा विस्तार हुनु हो । तथापी समकालीन
संसारमा विश्वव्यापीकरणको अर्थ निकै फराकिलो भएको छ ।
कुनै पनि राष्ट्रिय सीमाहरु नाघेर तुलनात्मक लाभका अधारमा पूँजी, मानवीय श्रम, कच्चा पदार्थ, प्रविधि, दर्शन, मूल्य–मान्यता, संस्कृति आदि स्वतन्त्र रुपमा आयात तथा निर्यात हुनु र यही क्रमले
संसारभर हरेक देशहरु एक आपसमा अन्तरनिर्भर हुनु, अन्तरसम्बन्धको जालोमा जेलिंदै एकत्रित हुनु विश्वव्यापीकरण हो । यसलाई चल्तीको भाषामा विश्व एउटा गाउँ बन्नु पनि भनिन्छ । आज हामीले हेर्यौं भने, नेपालको कफी, गलैंचा युरोप र अमेरिकाको बजारमा पुगेको छ भने चिनियाँ सामान, दक्षिण कोरियाली कपडा र अमेरिकी कम्पनीको सफ्टवेयर तथा पेय पदार्थ हाम्रै देशमा लगानी गर्नसक्नु, प्रतिस्पर्धा राष्ट्रिय घेराबाट उठेर अन्तर्राष्ट्रिय तहमा पुग्नु विश्वव्यापीकरणको विशेषता हो । निजीकरण, उदारीकरण र अनियमका प्रक्रियाहरुद्वारा विश्वव्यापीकरणले मूर्त स्वरुप ग्रहण गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ.एम.एफ.), विश्व बैंक, विश्व व्यापार संगठन (डब्लु. टि. ओ.) विश्वव्यापीकरणका हतियार हुन् । त्यस्तै, बहुराष्ट्रिय कम्पनीहरु विश्वव्यापीकरणका तत्त्वहरु सावित भएका छन् ।
त्यसैले, अर्को पक्षबाट
भन्नुपर्दा विश्वव्यापीकरण संसारलाई एउटै बजारमा परिणत गर्ने प्रक्रिया हो । यो
एउटा यस्तो प्रक्रिया हो जहाँ संसारको सिङ्गो बजार केही शक्तिशाली कम्पनीको
मुठ्ठीमा बन्दी हुन्छ । जस्तै, विश्वभरको अटोमोबाइल उद्योग ६ वा ८ कम्पनीमा निर्भर छ ।
संसारको पेय पदार्थको व्यापार जम्मा तीन कम्पनीमा निहित छ । उड्ययन क्षेत्रमा जम्मा
दुईवटा नाम छन् – बोइङ र एयरबस ।
यसरी विश्वव्यापीकरणका कारण सिङ्गो विश्व एउटा बजार बनेको छ । राष्ट्रिय सीमाका
पर्खालहरु ध्वस्त भएका छन् । एकातर्फ प्रत्यक्ष वैदेशिक लगानी बहुराष्ट्रिय
कम्पनीमार्फत् विकासशील देशहरुमा भित्रिइरहेका छन् भने अर्कोतर्फ विकासशील देशका
मानव श्रम पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धारत छन् ।
त्यसैले केइन्डल बर्गरको
भनाई सही साबित हुन्छ । उनले भनेका छन्, विश्वव्यापीकरणको प्रक्रियामा ‘आधुनिक राज्य
एउटा आर्थिक एकाई बन्छ’ ।
सारमा भन्न सकिन्छ, विश्वव्यापीकरण विश्व स्तरमा पूँजीको केन्द्रीकरण र बजारमा अल्पाधिकार (Oligopoly)को स्थिति हो । विश्वलाई एउटै बजारमा परिणत गर्ने क्रममा विश्वभर एउटै खालको संस्कृति, एउटै खालको चिन्तन र एउटै खालको राजनीतिक प्रणाली विश्वव्यापीकरणको आवश्यकता हो । यस अर्थमा विश्वव्यापीकरण साम्राज्यवादको विश्वव्यापी चरण हो ।
पूँजीवाद पूँजीको केन्द्रीकरण हुने व्यवस्था हो । त्यही क्रममा पूँजीवादले साम्राज्यवादको स्तर ग्रहण गर्यो । साम्राज्यवादको निरन्तर विस्तार र वृद्धि नै विश्वव्यापीकरण हो । साम्राज्यवादको विकास र विस्तारलाई क्रमबद्ध गर्ने क्रममा ह्यारी म्यागडफले आफ्नो निबन्ध Imperialism: A Historical Survey (साम्राज्यवादः एक ऐतिहासिक सर्वेक्षण)मा साम्राज्यवादको चरणगत विकासलाई यसरी व्याख्या गरेका छन्ः
ह्यारी म्यागडफ |
पहिलो चरणः विश्व स्तरमा युरोपेली व्यापारको प्रवेश
(पन्ध्रौं शताब्दीको अन्त्यदेखी सत्रौं शताब्दीको शुरुसम्म)
पन्ध्रौं शताब्दीको
अन्त्यतिर आइपुग्दा युरोपेली व्यापारले दुईवटा चुनौतीमाथी विजय हासिल गर्न सफल भयो
। पहिलो चुनौती थियो अट्टोमन साम्राज्यको
नाकाबन्दी । र, अर्को चुनौती
थियो युरोपभन्दा बाहिरको व्यापारमा एशियाली र अफ्रिकालीहरुको कब्जा ।
अट्टोमन साम्राज्यको नाकाबन्दीका कारण पश्चिम युरोपका देशहरु स्पेन, पोर्चुगल, पोल्याण्ड, फ्रान्स र इंगल्याण्ड नयाँ–नयाँ सामुद्रिक बाटो खोज्न बाध्य भए । यसैक्रममा अमेरिकासम्म पुगे । त्यस्तै, एशिया र अफ्रिकाका देशहरुको आफू सरहको विकसित सामान, व्यापार क्षमताका कारण युरोपेलीहरु हतियारको स्तर विकास गर्न प्रेरित भए । युद्धमा जहाजहरुको श्रेष्ठताका कारणले नै व्यापारमा एशिया र अफ्रिकाको प्रभुत्व तोड्न युरोपेली देशहरु सफल भए । युरोपेली जहाजले एशियाली जहाजलाई पराजित गरे समुद्रमा युरोपेली पडक स्थापित भयो ।
यो अवधिको साम्राज्यवादी
विस्तारका विशेषताहरु निम्न छन्ः
१) युरोपले दक्षिण
अमेरिका माथि विजय हासिल गर्यो ।
२) दक्षिण अमेरिकामा फेला
परेका सुन र चाँदीका स्रोतहरुको दोहन शुरु भयो ।
३) तत्कालीन व्यापार
संरचना परिवर्तन भयो ।
त्यतिबेला दक्षिण
अमेरिकाका उत्पादनका साधनहरु र अतिरिक्त आम्दानी युरोपको तुलनामा निकै न्युन थिए ।
सम्पत्ति संचय गर्न युरोपेली देशहरुले लुटपाट वा डकैती गर्थे । लुटपाट, डकैती र चोरीबाट
जम्मा गरिएको सम्पत्ति दुई तरिकाले पुनर्वितरण गरिन्थ्योः
१) युरोपेली देशमा बाहेक
अन्य देशमा रहेका संचित आम्दानीलाई युरोपेली नियन्त्रणमा ल्याएर ।
२) अरु महादेशका
सम्पत्तिमाथी कब्जा जमाउन मुख्य देशहरु स्पेन, पोर्चुगल, होल्यान्ड, फ्रान्स र इंग्ल्याण्डबीच समुद्री डकैतीसम्मको द्वन्द्व भएर
।
पूर्वी देशहरुको नयाँ
उत्पादन, अमेरिकाका
बहुमूल्य धातुको बाढी, नयाँ–नयाँ बजारको
स्थापना, विभिन्न राज्यमा
बढ्दो माग र उपनिवेशहरुको स्थापनाले पश्चिमा उत्पादनको तिव्र प्रसार र युरोपेली
पूँजीवादीहरुको हैकम स्थापना गर्न प्रेरित गर्यो । तर, समुद्रपारको
विस्तारमा भने एक प्रकारको सिमितता थियो । कैयौं वर्षदेखि जम्मा गरिएको सम्पत्ति
एकपटक मात्र लुट्न सकिन्थ्यो ।
समुद्रपारको विस्तारको यो
पहिलो लहर थियो । यो पहिलो लहरमा विस्तारै मन्दी छाउँदै गयो । यसका निम्न कारण
थिएः
१) आफ्नै व्यापार विस्तार
नगर्दासम्म अरुको व्यापार मार्ग कब्जा गर्दैमा आम्दानी वृद्धि हुँदैनथ्यो । तर, पुरानो ढाँचाको
उत्पादन पद्धतिले व्यापार विस्तार गर्न सक्दैनथ्यो ।
२) प्रतिद्वन्द्वी
देशहरुसँगको चर्कँदो द्वन्द्व र आपूर्तिमा कमीका कारण मसला व्यापारबाट नाफा कम
हुनथाल्यो ।
त्यस्तै, पिछडिएको प्रविधि, सम्पन्न खानीहरु
रित्तिदै जानु र अत्याधिक शोषण कारण स्थानिय आदिवासी (इन्डियन्स) कम हुँदै गएकाले
दक्षिण अमेरिकाबाट बहुमुल्य धातुहरु आउने क्रम घट्दै गयो । फलस्वरुप पुरानो
उपनिवेश नयाँ उपनिवेशमा बढ्न सकेन बरु त्यो पतन भयो र अर्कोले विस्थापन गर्यो ।
चरण २: व्यापारिक पूँजीको प्रभुत्व
(सत्रौं शताब्दीको मध्यदेखि अठारौं शताब्दीको अन्त्यसम्म)
अघिल्लो चरणभन्दा यो चरण
निम्न राजनीतिक र सैनिक अवस्थाहरुले फरक थियोः
१) स्पेनको श्रेष्ठता
क्षयीकरण/कमजोर भयो ।
२) पोर्चुगलको
फ्रान्समाथिको निर्भरता बेलायतमा सर्यो ।
३) जहाजमाथिको डच
(हल्याण्ड)को काल्पनिक एकाधिकार अन्त्य भयो ।
४) बेलायत र फ्रान्सको
औपनिवेशिक शत्रुतामा वृद्धि भयो ।
५) समुद्र र
अन्तर्राष्ट्रिय बजारमा बेलायतको श्रेष्ठताको प्रादुर्भाव (उदय) भयो ।
१७औं शताब्दीको बेलायती
क्रान्तिको समयमा परिपक्व भएको वर्गसंघर्षमा व्यापारिक स्वार्थको विजय भएपश्चात्
संसारमा बेलायती साम्राज्य वित्त र व्यापारमा सबैभन्दा बलियो भयो । क्रामबेलको
नेतृत्वमा बेलायतले पहिलो पटक राष्ट्रिय र व्यवसायिक युद्धपोत बनायो ।
एकातिर पानीजहाजमा
श्रेष्ठता हासिल गरेर बेलायतले आफ्नो व्यापारलाई एसिया, अफ्रिका र
अमेरिकासम्म फैलायो भने अर्कोतिर युद्धपोत मार्फत् औपनिवेशिक उध्देश्य पूरा गर्यो
। उपनिवेशवादी नीतिको उद्देश्य प्रष्ट थियो– आत्मसक्षम साम्राज्यको निर्माण गर्नु, साम्राज्यवादी
देशलाई आवश्यक पर्ने खाना र कच्चा पदार्थको उत्पादन गर्नु र उत्पादनलाई प्रशस्त
बजार निर्माण गर्नु ।
औद्योगिक क्रान्तिपूर्व
युरोपले वैदेशिक व्यापारका लागि निकै चुनौती सामना गर्नुपर्यो । युरोपेली
देशहरुले व्यापार विस्तार गर्न सैन्य र प्राविधिक स्रोतहरुमार्फत् गैर–पूँजीवादी
समाजलाई टुक्राएर र पुनर्संरचना गरेर बजार बनाए । पूर्वका तुलनात्मक रुपले
विकसित र जनघनत्व बढी भएका देशहरु भारत र चीनमा पश्चिमा उत्पादनहरुप्रति न्यून
आर्कषण थियो । १९ औं शताब्दीसम्म पनि एशियाको ठूलो भूभागमा युरोपले बिक्रीभन्दा
क्रय बढी थियो ।
यी सबै परिस्थितिले
युरोपलाई औद्योगिक क्रान्तितर्फ लाग्न प्रेरणा दियो ।
अर्कोतर्फ, युरोपेली
सम्पन्नताको स्रोतमा सिमितता थियो । जमिनको अत्याधिक दोहन, व्यवस्थापनमा
असक्षमता र श्रमिक समस्याजस्ता विविध कारणले १८औं शताब्दीको अन्त्यमा साम्राज्यमा संकट आउन थाल्यो । यहीबेला
दासताविरोधी आन्दोलन र स्वतन्त्रता संग्रामहरु ल्याटिन अमेरिका, उत्तरी अमेरिका र
आयरल्याण्डमा चर्किन थाल्यो जसको प्रभाव पश्चिमी युरोपमा पनि पर्यो ।
(क्रमशः)
Comments
Post a Comment