पहाडी कृषिजन्य उत्पादन र अंग्रेज शासनको बजारी सामानबीचको विनिमय केन्द्र तथा लाहुरेहरूले जवानीको प्यास मेट्ने भट्टीहरूको संगमबाट बनेका भैरहवा, बुटवलजस्ता बजारलाई सडक, व्यापार र बसाइँसराइले शहर बनाएको हो । दसवर्षे युद्ध र त्यसपछि रेमिट्यान्सले लाली पाउडर दलेको सहरमा अचाक्ली बसाइँसराइले शहरलाई गुल्जार बनाएको हो । त्यसैले शहरको जरा गाउँमा छ ।
रामचन्द्र श्रेष्ठ
दशैंको नवमीको दिन एफएमको समाचारमा प्रसारण हुँदैथियो- काठमाडौंबाट दशैं मनाउन बाहिरिने मानिसको संख्या २२ लाख नाघ्यो । काठमाडौंबाहेक मोफसलका शहरहरूको स्थिति पनि यस्तै थियो । दशैं मनाउने सिलसिलामा शहरहरू गाउँ फर्केका थिए । शहर रित्ता थिए ।
शहर जनघनत्व बाक्लो भएको बस्ती हो । शहरसँग जीवनयापनका अनेक स्रोतहरू विद्यमान हुन्छन् । शहरले देखाउने सम्भावना, शहरको सुविधा र शहरमा निर्माण, पुनर्निर्माण भइरहने अनेक सपनाहरूले गाउँ शहरप्रति मोहित हुन्छ । त्यसैले गाउँ शहर भासिन्छ । तर, चाडबाडमा भने शहर गाउँ फर्कन्छ । आखिर किन यसरी शहरहरू रित्तिन्छन् ? दशैंमा शहरहरू रित्तिनुको सामाजिक–ऐतिहासिक कारणहरू के–के हुन् ?
शहर
संसारका प्रायः नगर सभ्यताहरू नदीकिनारमा विकसित भएका छन् । प्राकृतिक स्रोतको प्रचुरताको कारणले नै नदीकिनारमा नगर सभ्यता विकसित भएका हुन् । मानव समाजको इतिहास हेर्दा शहरहरूको विकास कृषि युगमै भएको देखा पर्दछ । कृषिको प्रचुर विकास, उत्पादनमा वृद्धि, घरेलु उद्योग–धन्दाको विकास र जनसंख्याको वृद्धिले ठूला–ठूला बस्तीहरूको निर्माण हुँदै नगर सभ्यता तथा नगर राज्यहरूको उद्भव भएको इतिहासमा पढ्न पाइन्छ । कृषिको वृद्धि तथा विस्तारसँगै नयाँ–नयाँ पेसा सिर्जना हुँदै जाने क्रममा समाज श्रेणीगत हुँदै जानु, कालिगढी र कृषिमा भिन्नता आउँदै जानु तथा व्यापारी वर्गको उदय हुनुले नै सहरीकरणलाई तीव्रता दिएको थियो । मानवशास्त्री प्रेमकुमार खत्रीका अनुसार सहरी सभ्यताको विकासका लागि तीन सर्तहरू महत्वपूर्ण हुन्छन् — प्रारम्भिक कृषि, प्रभावकारी खाद्यउत्पादन र सहरीकरण (उत्पत्तिः मानवसभ्यताका केही पक्षको ऐतिहासिक एवम् मानवशास्त्रीय अध्ययन, पे.नं.२३९) । यसरी कृषि युगमै सहरी सभ्यताको अभ्युदय भएको थियो ।
नेपालमा सहरी सभ्यताको इतिहासको कोट्याउँदै जाने हो भने ईसा पूर्वको मितिसम्म पुगिन्छ । शाक्यहरूको बस्ती कपिलवस्तु ई.पू. सातौं–छैटौं शताब्दीमा नै नगरको रूपमा विकसित थियो । काठमाडौं उपत्यकासँगै तराईमा जनकपुरजस्ता नगर सभ्यताहरूको वैभव विभिन्न साहित्यमा फेला पर्दछ । तर, कालान्तरमा ती सभ्यताको सिलसिला काठमाडौं उपत्यकामा मात्र सीमित रह्यो । काठमाडौं उपत्यकाको यो अविच्छिन्न विकासक्रमको पछाडि यसको भूगोलको नै भूमिका रहेको छ ।
‘सहरीकरण जीविकाको विविध आयाम’ पुस्तकमा पीताम्बर शर्माले उल्लेख गरेअनुसार बाह्रौं र तेह्रौं शताब्दीमा नै काठमाडौं, पाटन र भादगाउँले सहरी रूप लिन थालिसकेको थियो । उपत्यकाको मलिलो माटोमात्र नभई भारत र तिब्बतसँगको मध्यस्थ व्यापारको फाइदा पनि काठमाडौंको सहरीकरणको मुख्य स्रोत थियो । शर्माका अनुसार अठारौं शताब्दीसम्ममा काठमाडौं उपत्यकामा एउटा विशिष्ट सहरी अर्थतन्त्र विकास भइसकेको थियो । गोर्खा विजयपछि र आधुनिक नेपालको निर्माणसँगै काठमाडौं राजनीतिक केन्द्रको रूपमा पनि विकसित भयो जुन अद्यापि कायम छ।
भिरालो पाखोका कारण कम कृषि उत्पादन, ठूल्ठूला उपत्यकाको अभाव, आर्थिक कठिनाइका कारण बढ्दो बसाइसराइ, जनसंख्याको कमीजस्ता कारणहरूले पहाडी भेगहरू काठमाडौं उपत्यकाको तुलनामा कम विकसित भए । फलस्वरूप घना बस्तीको विकास हुन सकेन । केन्द्रीकृत राज्यप्रणालीको विकाससँगै देशभरको आय र स्रोत काठमाडौंमै केन्द्रित भएका कारण पनि अन्य शहरहरूको विकास हुन सकेन ।
खासमा औद्योगिक क्रान्तिपछि शहरको वास्तविक स्वरूप देखिन थालेको हो । प्रेमबहादुर खत्रीका अनुसार ‘कृषियुगमा साना, मझौला र ठूला बस्ती विकसित भए तर औद्योगिक क्रान्तिपछि नै मानिसले वास्तवमा नगरी–सहरी सभ्यताको विकास ग¥यो ।’ औद्यागिक विकासपछि शहरको आर्थिक आधार नै कृषिभन्दा पनि गैर कृषि रह्यो । पश्चिमा मुलुकहरूको अनुभवको सार शर्माले यसरी खिचेका छन्— ‘कृषिबाट उत्पादन अनि उत्पादनबाट सेवातिरको संरचनात्मक परिवर्तन पुँजीवादको उत्थानका साथै पश्चिमा मुलुकहरूले अनुभव गरेको सहरीकरणको विशिष्टता थियो ।
तर, नेपालले युरोपेली देशहरूको जस्तो कृषिबाट औद्योगिक क्रान्तिसँगै विकसित भएको औद्योगिक शहरको अनुभव गरेन । काठमाडौं उपत्यकापछि नेपालका शहरहरू नेपाल–भारतसीमामा रेलको लिक विस्तार भएसँगै स्थापित भएका हुन् । सन् १९२३ को नेपाल–ब्रिटेन सन्धिपछि नेपाल र ब्रिटिश शासित भारतबीचमा व्यापार वृद्धि भयो । व्यापारका कारण व्यापारिक चौकीका रूपमा नेपालगन्ज, वीरगञ्ज, विराटनगरजस्ता केही बस्तीहरू स्थापित भए । तीमध्ये केही कालान्तरमा शहरमा रूपान्तरित भए ।
केन्द्रीकृत शासन प्रणालीको सिलसिलामा राजकीय अभ्यासका लागि स्थापित केन्द्रहरू पनि नेपाली सहरी विकासको अर्को एक कारण हो । तर, नेपाली शहर विस्तारको पछिल्लो कडी भनेकै यातायात सञ्जालको वृद्धि हो । पूर्व–पश्चिम राजमार्ग होस् वा सिद्धार्थ राजमार्ग, पछिल्ला नेपाली बजारहरू सडकसँग गाँसिएका छन् । यहीं तथ्यलाई व्याख्या गर्दै टेलिफोन वार्तामा मानवशास्त्री लयप्रसाद उप्रेतीले भनेका थिए— ‘शहर निर्माणको पछिल्लो विश्वव्यापी प्रक्रिया भनेकै यातायात सञ्जालको विस्तार हो । यातायात सञ्जालले नयाँ–नयाँ बिजनेस अवसर सिर्जना गर्दछ साथै कमोडिटी (माल) को विनिमयलाई विस्तारित गर्दछ ।’
राजमार्गको विस्तारसँगै पुराना राजनैतिक केन्द्रहरूले पनि आफ्नो साख गुमाएका कैयौं उदाहरणहरू छन् । बन्दीपुरजस्ता चर्चित बजारहरू कसरी सुक्दै गए भन्ने तथ्य आफैंमा रोचक छ । नेपालका पछिल्ला शहरहरू गाउँ विकसित भएका नगरहरू होइनन् बरु गाउँ बसाइँ सरेर विस्तार भएका बजारहरू हुन्। यातायात सञ्जालसँगै तराईमा औलो उन्मूलनले तराईका शहर निर्माणमा उल्लेखनीय योगदान गरेको छ ।
नेपाल जस्तो अल्पविकसित देशको सहरीकरण विश्व अर्थतन्त्रसँग अभिन्न रूपले गाँसिएको छ । नेपाली शहरको विस्तारमा विश्व अर्थतन्त्रको भूमिका रहेको छ । शर्माका अनुसार गरिब मुलुकहरूको सहरीकरणमा अन्तर्राष्ट्रिय पुँजीको भूमिका रहन्छ । नयाँ बनेका र बन्दै गरेका नेपाली शहरहरूको विकासमा पनि अन्तर्राष्ट्रिय पुँजीको भूमिका छ । भूपी शेरचनको ‘भैरहवा’ कवितामा लाहुरे संस्कृतिले बनाएको शहरको प्रतिविम्ब आउँछ । पोखरा, हेटौंडाजस्ता शहरहरू लाहुरे संस्कृतिसँग नजिकको साइनो राख्छन् । तर, मूलतः नेपाली शहरहरू परनिर्भर शहरहरू हुन् । यी शहर युरोपेली शहरहरूजस्तो उत्पादन क्षमताले बनेका होइनन् । उद्योग, कलकारखानाले बनाउने शहरको चमकधमक यी शहरहरूमा पाइँदैन ।
पछिल्लो समय नेपाली शहरहरू रेमिट्यान्सको परिचालन हुने केन्द्र बनेका छन् । घरजग्गा कारोबार, शिक्षा, स्वास्थ्य व्यापारीकरण, वित्तीय संस्थाहरूको जमघट, विदेशी सामानहरूको थुप्रो नेपाली शहरको आर्थिक आधार हुन् । पहाडबाट घिउ ल्याएर बेची बटौलीबाट नुन, लत्ता कपडा लैजाने विनिमय अब छैन । अचेल गाउँ राष्ट्र बैंकको नोट बोकेर आउँछ र रहर खरिदेर जान्छ । त्यो नोट परदेशमा पसिना, रगत सिँचेर आर्जिएको हुन्छ । शहर अब रहरहरूको भकारी भएको छ । सपनाहरूको कारखाना भएको छ । पराश्रित अर्थतन्त्रमा आधारित शहरको मलिनो अनुहार नै वर्तमान नेपाली शहरको विशेषता हो।
दशैं
दशैंलाई सामान्य भाषामा हिन्दुहरूको महान् चाड भनिन्छ । गहिराइमा गएर हेर्दा यो धार्मिक आस्थासँग गाँसिएको चाडमात्र होइन । यो पर्यावरण, जैविक विविधता, नातासम्बन्धसँग अभिन्न रूपले गाँसिएको पर्व हो । दशैंमा चामलको टीका लगाउनुले काब्रोहाइड्रेड प्रदान गर्ने शक्तिदायक चामलको सम्मान जनाउँछ । त्यस्तै प्रोटिन उपलब्ध गराउने हुनाले जौलाई पनि सम्मान प्रदान गरिएको छ । आखिर प्राचिनकालदेखि मानिसले आफूलाई हित गर्नेलाई नै पूजा गर्दै आएको छ । बली प्रथाले उत्पादनको खपत गर्ने अर्थप्रणाली र पोषणको आपूर्तिलाई इंगित गर्दछ । आस्थाहरूलाई हेर्ने हो भने दशैंमा वैष्णवदेखि तान्त्रिक मतसम्म र दब्रिडदेखि आर्यसम्मको मतहरूको समि श्रण भेटिन्छ ।
यीबाहेक पनि दशैंको अर्को सामाजिक अर्थ बडो गहिरो रहेको छ । कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको हुनाले दशैं सामन्ती समाजमा अभ्युदय भएको अनुमान गर्न कठिन छैन । यो चाडले सामन्ती समाजको नातासम्बन्धलाई जीवन्त राख्न मद्दत गर्दछ । सामन्ती समाजको उमेरको विशिष्टता दशैंमा टीका आशीर्वाद थाप्दा प्रष्ट देखिन्छ । त्यसैले समाजशास्त्री चैतन्य मि श्रले ‘बदलिँदो नेपाली समाज’मा उल्लेख गरेका छन्— ‘अन्य कतिपय व्यक्तिगत वा पारिवारिक लाभको उद्देश्य राखी गरिने धर्मकार्यभन्दा फरक दशैं समस्त कुलकुटुम्बको विजय र वैभवका लागि सम्पन्न गरिने र यसैकारण कुटुम्ब आधारित सामाजिकता पुनर्नवीकरण र सबलीकरण सम्भव बनाई दिइरहने चाड पनि रह्यो । कुटुम्बभित्र रहेका पारिवारिक र व्यक्तिगत द्वेषको गहिराइ घटाउने वा पुर्ने मौका पनि दशैंले प्रदान गर्ने भयो ।’
शहर र दशैं
मानवशास्त्री लयप्रसाद उप्रेतीसँग वार्तालाप गर्दा उनले बडो उत्साहित आवाजमा आफ्नो मावल जाने बाल्यकालीन अनुभवसहित भने— ‘दशैंजस्ता चाडहरूले सामाजिक ऐक्यबद्धतालाई बलियो पार्दछन् । चाडपर्वले चलायमान बनाउँछ ।’ उप्रेतीका अनुसार संस्कृतिले जीवनलाई निरन्तरता दिन्छ । र, चाडपर्वहरूले सांस्कृतिक ऐक्यबद्धतालाई बल प्रदान गर्दछ । मानिस सहरीकरणसँगै जीविकाको खोजीमा अनेक दिशा भौतारिरहेको छ । गुजारामुखी कृषिले नथेगेपछि मानिस भौतारिरहेको छ र छरिएको छ । तर, दशैंजस्तो चाडमा केही बढी बिदा, फुर्सद, आर्थिक जोहोका कारण मानिस आफ्नो उद्गमतिर फर्कन्छ । पश्चिमा देशका मानिसहरू पनि क्रिसमस र न्यु इयरमा सकेसम्म आफ्नो गाउँ फर्कन्छन् । यो सम्बन्धको नवीकरण गर्ने तरिका पनि हो र यसको सांकेतिक अर्थ पनि छ ।
चाडबाडमा शहर किन रित्तिन्छ भन्ने बुझ्न नेपाली शहरमा कसको बसाइ छ भन्ने पनि बुझ्नुपर्छ । माथि उल्लेख भइसक्यो, काठमाडौं उपत्यकाबाहेकका प्रायः शहर गाउँबाट विकसित भएर बनेका होइनन् । न त यी युरोपेली शहरजस्तो उत्पादकत्वको वृद्धिले नै बनेका हुन् । पहाडी कृषिजन्य उत्पादन र अंग्रेज शासनको बजारी सामानबीचको विनिमय केन्द्र तथा लाहुरेहरूले जवानीको प्यास मेट्ने भट्टीहरूको संगमबाट बनेका भैरहवा, बुटवलजस्ता बजारलाई सडक, व्यापार र बसाइँसराइले शहर बनाएको हो । दसवर्षे युद्ध र त्यसपछि रेमिट्यान्सले लाली पाउडर दलेको शहरमा अचाक्ली बसाइँसराइले शहरलाई गुल्जार बनाएको हो । त्यसैले शहरको जरा गाउँमा छ ।
गाउँबाट बसाइँ सरी आउनेहरूमा दुई प्रवृत्ति देखिन्छ । अधिकांश मानिसहरू विभिन्न स्रोतबाट कमाएको रकम खर्च गरेर शहरमा नयाँ बसाइँ बसाइरहेका हुन्छन् । उनीहरूको पुर्ख्यौली सम्पत्ति गाउँमा कायम नै हुन्छ । नातासम्बन्ध, परिवार पनि गाउँमै हुन्छ । जबजब चाडबाड आउँछ ऊ गाउँ फर्किन हतार गर्छ । तर, गाउँको पुर्खौंली सम्पत्ति बेचेर त्यसैमा थपथाप गरी शहर सर्नेहरू पनि न्युनाधिक पाइन्छन् । यिनीहरूसँग चाडबाडमा गाउँको नस्टाल्जिया त हुन्छ तर फर्किजाने ठाउँ मेटिइसकेको हुन्छ । कपिलवस्तु, नवलपरासीजस्ता तराईका जिल्लामा रहेका राजमार्ग छेउछाउका बजारहरूमा बसाइँ सरी आएका अर्घाखाँची, गुल्मी, पाल्पा, बागलुङ, प्युठान, रोल्पालगायत जिल्लाका अधिकांश गाउँलेहरू यहीँ प्रवृत्तिअन्तर्गत पर्दछन् ।
झट्ट हेर्दा शहर सोलीजस्तो देखिन्छ । अझै केन्द्रीकृत शासनप्रणालीको जबर्जस्त अभ्यास भएको नेपालमा राजधानी सबैभन्दा ठूलो सोली हो । जसले अनेक अवसर, सम्भावना, स्रोतको आडमा मोफसललाई सोहोरेर आफ्नो अँध्यारो गल्लीतिर कैद गर्छ । तर, मोफसलको जरा गाउँमा छ । त्यसैले मानिसहरू दशैंजस्तो चाडबाडमा आफ्ना जराको खोजीमा केही पूर्वस्मृतिले डामिएर गाउँ फर्कन्छन् । दशैं जमिनबाट जरातर्फको यात्राको बिम्ब हो । नारायणगोपालको स्वरमा सजिएको यो गीतले त्यस्तै अनुभुति अभिव्यक्त गर्दछः
‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई सम्झी आउँदै छु फर्की रमाइलो गाउँमा.....’
(श्रेष्ठको यो लेख अन्नपूर्ण पोस्ट्को साप्ताहिक परिशिष्टांक ‘फुर्सद’को २०७३ कार्त्तिक ६ गते शनिवार प्रकाशित भएको थियो । लेखकको स्वीकृतिमा यहाँ साभार गरिएको हो ।)
Comments
Post a Comment