पेन्सिल






लक्ष्मण श्रेष्ठ
तिम्रो मिड्डीको खल्तीबाट
कहिले कुनबेला
फुत्रुक्क झरेको थियो
ठुटो पेन्सिल
के तिमीलाई सम्झना छ ?

सम्झना त मलाई पनि कहाँ छ र ?
हाफछुट्टीमा स्कुलको ग्राउन्डबाट
होइन कि
सायद तिम्रो हत्केलाबाटै हो
कहिले कतिबेला कुनदिन कुनछिन
चढेको थियो त्यो ठुटो पेन्सिल
मेरो कमिजको बगलीमा
आउ
आएर हेर
त्यही ठुटो पेन्सिलले अहिले म
लेखिरहेछु जिन्दगीको कविता
साह्रै छोटा छोटा लाग्नेछन् तिमीलाई
डर छ नी मलाई
कतै सक्किजाने हो कि
यो ठूटो पेन्सिल ?

Comments