रामचन्द्र
श्रेष्ठ
सुन्दर किताबहरुले तिमीलाई जीवन संघर्षमा साथ दिनेछन् । जब तिमी दुःखी हुनेछौ, निराशाले तिमीलाई पिरोल्नेछ त्यतिबेला तिमीलाई आँट दिलाउने, उत्साह प्रदान गर्ने र साहसी बनाउने अरु कोही नभएर किताब हुनेछ ।
प्रिय बहिनी प्रमिला
सम्झना ।
तिमीले लेखेको पत्र पढ्दा हर्षले मन पुलकित भयो । तिमीसँगै बसेर तिम्रा मिठा–मिठा कुरा सुनेजस्तै लाग्यो । छेउमा तिमी छौ, आफ्ना मनका भावना र जिज्ञासा पोखिरहेकी छौ । बोल्दा बेला–बेलामा आँखा ठूला हुन्छन् । आवेग र उत्तेजनाले गाला राता हुन्छन् । अनि म बिर्सेर सारा संसार तिम्रो कुरामा मग्न भईरहेछु । तिम्रो मनमा खेलिरहेको भावना र विचारको तंरग महसुस गर्ने कोशिस गरिरहेको छु । साँच्चै कहिलेकाँही कल्पनाले मात्र पनि मनमा आनन्दको लहर सिर्जना हुन्छ । दुरीले त तिमी र म कति टाढा छौ तर तिम्रो सम्झनाले मात्र पनि मन तिमीसँगै पुग्छ । उही गाउँ, त्यो खोलाको सुसाहट, अनि घाँसको भारी बिसाउँदै तिमीले गरेको प्रश्न सबै सम्झन पुग्छु । कति जिज्ञासु थियौ तिमी मलाई अनेक प्रश्न गरेर सताउँथ्यौ । ‘पानी किन बग्छ’, ‘आकाश किन निलो हुन्छ’, ‘चरा कसरी उड्छ’, ‘घामले किन पोल्छ’ जस्ता प्रकृतिबारेका अनेक प्रश्न तिम्रा मनमा खेलिरहेका हुन्थे । झट्ट हेर्दा तिम्रा प्रश्न उरन्ठ्याउला सुनिन्थे । अनि गाउँका अरु मान्छेले तिमीलाई ‘बढी जान्ने भएकी’, ‘उमेरभन्दा पहिल्यै पाकी भएकी’ भनेर गिज्याउँथे । तर, यस्तै जिज्ञासाले नै ज्ञानको विकास हुने हो । प्रश्नले नै मान्छेलाई नयाँ–नयाँ जानकारी दिलाउँछ । प्रश्नले मान्छेलाई सँधै खोज गर्न उत्प्रेरित गर्दछ । हरेक मानिस आफ्नो बाल्यकालमा अति जिज्ञासु हुन्छ । उसलाई आफूले देखेको प्रकृतिका अनेक दृश्य र घटनाले आश्चर्यचकित पार्दछ । अनि तिमीजस्तै जिज्ञासुको जन्म हुन्छ । जिज्ञासाको समाधानको क्रममा ज्ञानको नयाँ–नयाँ क्षितिज उघ्रदै जान्छ । तर, जहाँ जिज्ञासाको हत्या गरिन्छ त्यहाँ ज्ञान मर्दछ । त्यसैले जिज्ञासालाई कहिल्यै नदबाऊ । आज समाधान नभएका प्रश्नले भोलीलाई नयाँ ज्ञानको संभावना बोकेको हुन्छ ।
तिमीले सोध्ने प्रश्नको समाधान गर्ने प्रयत्न गर्दथे म । तर, तिम्रा हरेक जिज्ञासाका उत्तर मसँग हुँदैनथे । थाहा नभएका कुराहरु किताब पढेर पहिल्याउन प्रयत्न गर्दथे । त्यसैले मैले तिमीलाई पनि किताब पढ्न बारम्बार अनुरोध गर्दथे । तर, किन किन तिमी किताब पढ्न अल्छि गर्दथ्यौ । फेरि घरको काम, विद्यालयको गृहकार्य आदिले तिमीलाई खासै समय पनि जुट्थेन । किताब पढ्न भन्दा मैले सुनाएकैले पुग्छ भन्थ्यौ । यो आफ्नो दाजुप्रतिको तिम्रो माया र विश्वास थियो । तर, मैले थाहै नपाई तिमीलाई किताब पढ्न अल्छि बनाउँदै गरेको पछिल्लो चोटि महसुस गर्दैथिए । थप अध्ययन र कामको सिलसिलामा शहर आउँदै गर्दा मैले तिमीलाई बारम्बार किताब पढ्न अनुरोध गरिरहे । शायद यसैले होला, तिम्रो पत्रभरि किताब पढ्नुका फाइदा, किताबबारेका अनेक जिज्ञासा पोखिएको छ । किताबबारे तिमीले अनेक नराम्रो कुरा पनि सुनिछौ । उपन्यास पढेर त बिग्रिन्छ रे । पाठ्यपुस्तकभन्दा बाहिरका किताब पढ्न हुन्न रे । धेरै पढ्यो भने बौलाइन्छ रे । ओहो रे–रेका यस्ता कुरा सुन्दा सुन्दा तिमीमा पनि भ्रमले डेरा गर्न थाल्यो कि भन्ने पीर पनि लाग्यो मलाई । त्यसैले मेरी प्यारी बहिनी यो पत्रमा तिमीसँग किताबबारे नै कुरा गर्न चाहन्छु । हुन त तिमीसँग फोनमा अलि लामो समय कुरा गरेर पनि म केही बताउन सक्थे । तर मनका भावना पत्रमा जस्तो फोनमा व्यक्त गर्न सकिदोरैनछ । शायद पत्र लेख्दै गर्दा तिमीले पनि त्यस्तै महसुस गर्यौ होला । मैले भनेको थिए नि, पत्र लेख्दा नयाँ–नयाँ शब्द खेलाउन सिकिन्छ । भाषा शैलीको विकास हुन्छ । शब्द भण्डार विस्तार हुन्छ । तिमीले पत्रमा उल्लेख गरेका केही शब्दहरुले साँच्चै तिमीले शब्द भण्डारमा प्रगति गर्दैछ्यौ भन्ने अनुमान गरे । हुन त नौ कक्षामा पढ्ने किशोरीको शब्दभण्डार एकैचोटि बलियो हुँदैन । तर, प्रयत्नहरुले जहिल्यै सीमा नाघेको इतिहास छ ।
एकपटक पँधेराबाट पानी बोकेर फर्कदा तिमीसँग मैले म्याक्सिम गोर्की भन्ने लेखकको कुरा गरेको तिमीलाई सम्झना छ कि छैन ? उहीं रुसी लेखक जसको चर्चित पुस्तक ‘आमा’ बारे तिमीसँग पटक–पटक कुरा गर्थे नि ! अनि त्यो आफ्नो मुटु झिकेर उज्यालो पार्ने ‘डोन्को’लाई पनि तिमी बिर्सेकी छैनौ होली । त्यहीं गोर्कीले आफ्नो जीवनबारे तीनवटा आत्मसंस्मरणात्मक उपन्यास लेखेका छन् । ती उपन्यासहरुमा उनले आफ्नो अध्ययनबारे उल्लेख गरेका छन् । उनी सानो छँदा स्कुल जान पनि पाएका थिएनन् । अरुको घरमा काम गर्न बसेका थिए । जीवन निकै कष्टकर थियो । तर, उनको किताब पढ्ने बानी बस्यो । किताबले उनलाई दुःखमय जीवनबाट पर लग्यो । किताबमा सुन्दर जीवनको चर्चा गरिएको हुन्थ्यो । जबकि उनको जीवन नर्कतुल्य थियो । सुन्दर जीवनको चर्चाले गर्दा उनलाई जीवन सुन्दर पनि हुनसक्छ भन्ने आशा जगायो । उनी सुन्दर जीवनको लागि संघर्ष गर्न थाले । उनको जीवन फेरिन थाल्यो । जब जीवन उद्देश्यसँग गाँसिन थाल्छ, जीवनले अर्थ पाउँछ । किताबहरुले गोर्कीको जीवनमा बहार ल्याए । पछि उनी आफै नामुद लेखक भए ।
प्रमिला, दुःखमा भएका मानिसले सुन्दर कथाहरुको सिर्जना गरेका छन् । मान्छेहरुले आदिम समयदेखि कथा कहँदै आए । ती कथाहरुलाई हामी लोककथा भन्छौ । तिमीलाई मैले धेरै लोककथाहरु सुनाएको छु । लोककथाहरुमा परीहरु आएर जीवन सुन्दर बनाएको, गोठालाले दुधको पोखरी र आफै दुध दिने जंगली भैसीहरु फेला पारेको जस्ता प्रसड्ड हुन्छन् । वास्तवमा ती कथाहरु दुखी मानिसहरुले रचेका सुखका कथाहरु हुन् । दुखी जीवन बिताइरहेका मानिसले सुखको आशा गर्छन् । सुन्दर जीवनको कामनामा सुखका कथाहरु सिर्जना गर्छन् । वास्तवमा ती कथा तिनका सपना हुन् । सपनाले मानिसलाई आशा प्रदान गर्दछ । कर्मशील गराउँछ । संघर्ष गरिरहने प्रेरणा दिन्छ । तिमीले लोककथाहरु पढ्नु पर्छ । संसारका विभिन्न देश र समाजका लोककथा पढेर तिमीले उनीहरुका विश्वास र चलनहरुबारे थाहा पाउँछौ ।
तिमीले कस्ता किताब पढ्ने ? उपन्यास पढ्ने कि नपढ्ने ? जस्ता प्रश्न पनि गरेकीछ्यौ । पक्कै पनि किताब पढ्ने चाहना राखेपछि कस्ता किताब पढ्ने भन्ने प्रश्नले पिरोल्छ । किताबको छनौट गर्न जानेन भने समय पनि बर्बाद हुन्छ र राम्रा किताब पनि छुट्छन् । सबै किताब राम्रा हुँदैनन् । समाजलाई नराम्रो असर पार्ने अवैज्ञानिक र अश्लिल किताब पनि छन् । तर ती थोरै छन् । शायद त्यस्तै किताबलाई देखेर होला उपन्यास पढ्नु नराम्रो भनिएको । हरेक कुरामा राम्रो र नराम्रो त हुन्छ नै । राम्रा किताब भनेको जीवनलाई सकारात्मक दिशामा लैजान प्रेरित गर्ने किताब हुन् । राम्रा उपन्यासहरुले सम्रग समाजको चित्रण गरेको हुन्छ । तिमीले राम्रा–राम्रा उपन्यास पढ्न थालेपछि समाजबारे, मान्छेको जीवनमा आइपर्ने उतारचढावबारे थाहा पाउछ्यौ । शुरुशुरुमा तिमी रमाइलोको लागि पढ्नेछौ । विस्तारै तिमी सोच्न थाल्नेछौ । आफुले पढेका कथाहरुका अनेक पक्षबारे विचार गर्नेछौ । यदि तिम्रा साथीहरुले पनि किताब पढेका छन् भने तिमीले छलफल पनि गर्न थाल्नेछौ । अञ्जानमै तिमी चिन्तन गर्न थाल्नेछौ । आफ्ना विचारहरुलाई लेख्न थाल्यौ भने तिमी विस्तारै लेखक पनि बन्नेछौ । जस्तो कि नेपाली सामाजिक उपन्यासहरु ‘बसाई’, ‘माइतघर’, ‘लंगडाको साथी’ बाट शुरु गरेर तिमी ‘सुम्निमा’, ‘शिरीषको फूल’, ‘अनिदो पहाडसँगै’, ‘घामका पाइला’ जस्ता विराट विषय र उच्चकोटिका भाषा शैली भएका किताबसम्म पुग्नेछौ । अंग्रेजी भाषाको ज्ञान बढाउन पनि तिमीलाई उपन्यासहरुले सहयोग गर्नेछ । जोनाथन स्वीफ्टको ‘गुलिभर्स ट्राभल्स’ पढ्दा तिमी छक्क मात्र पर्नेछैनौ । मानिसको लघुतम स्वरुपबारे जानकार पनि हुनेछौ । चार्ल्स डिकेन्सको ‘ओलीभर ट्वीट्स’ पढ्दा तिम्रा आँखाबाट आँशु आउनेछ । शेक्सपीयरका विश्वप्रख्यात किताबहरुले तिमीलाई भावना र विचारको नयाँ क्षितिजतर्फ डोर्याउनेछ ।
कथा, उपन्यास र कविताजस्ता साहित्यका विभिन्न विधाले तिम्रो शब्दभण्डार पनि बलियो गराउनेछ । अभिव्यक्ति कला पनि सुन्दर बनाउनेछ । आफ्ना विचार स्पष्ट र प्रभावकारी ढंगले व्यक्त गर्न सक्नेले मात्र समाजमा अरुलाई प्रभावित गराउन सक्नेछ । यो कला तिमीलाई सबैभन्दा राम्ररी साहित्यले नै सिकाउन सक्छ । कविता भाषाको सबैभन्दा मिठो स्वरुप हो । उचित शब्द उचित स्थानमा राखेर सुन्दर लयमा उनिएपछि उच्चतम कविताको सिर्जना हुन्छ । जब तिमी आत्मकथाहरु पढ्न थाल्छौ मानिसहरुले भोग्ने अनेक दुःखबारे थाहा पाउँछौ र दुःखसँग मानिसले गरेका संघर्षका कथा थाहा पाउँछौ । अनायास तिमीमा पनि साहस भरिनेछ । जीवनमा आइपर्ने अनेक समस्यासँग तिमी जुध्न सक्नेछौ । दुःखको अनेक अवतार हुन्छन् । समस्याहरु अनेक रुपमा जन्म लिन्छन् । तर, सुन्दर किताबहरुले तिमीलाई जीवन संघर्षमा साथ दिनेछन् । जब तिमी दुःखी हुनेछौ, निराशाले तिमीलाई पिरोल्नेछ त्यतिबेला तिमीलाई आँट दिलाउने, उत्साह प्रदान गर्ने र साहसी बनाउने अरु कोही नभएर किताब हुनेछ । जब तिमी सुखी हुनेछौ, आनन्दले भरिनेछौ तिम्रो सुखलाई साथ दिने फेरि किताब नै हुनेछ । किताब दुःख र सुख सबै क्षणको साथी हो ।
जब तिमी इतिहासका किताबहरुको अध्ययन गर्न थाल्नेछौ विगतका अनेक तीतापिरा कुराहरुले तिमीलाई छक्क पार्नेछ । एकातिर तिमी मानिसले विगतमा गरेका संघर्षका अनेक कथा थाहा पाउनेछौ । आजको दिन सिर्जना गर्न मानिसले बगाएका रगत र पसिनाको अध्ययनले तिमीलाई मान्छेका ती मिहिनेती पुर्खाप्रति गौरव गर्न सिकाउनेछ । अर्कोतर्फ सत्ता र प्रतिष्ठाको निम्ति मानिसले गरेका अनेक जालझेल, स–सानो स्वार्थ र धर्म, जातिका नाममा भएका अनेक युद्धले तिमीलाई मानवजातिको नकारात्मक पाटो पनि अवगत गराउनेछ । यो आफैमा अर्को शिक्षा हुनेछ । फ्रान्सेली राज्यक्रान्ति, बेलायती क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, अक्टोबर क्रान्ति जस्ता अनेक क्रान्तिको इतिहास पढ्दा तिम्रो रगत उम्लनेछ । परिवर्तनको लागि अत्याउनेछ । इतिहास आफै ज्ञानको असीम भण्डार हो । अनि तिमी शायद छक्क पर्नेछौ जब चंगेज खाँको नाति कुब्ला खाँले बेबिलोनको विशाल पुस्तकालय जलाएको पढ्नेछौ । हो त, शासकहरु, तानाशाहहरु जहिल्यै सौन्दर्य र ज्ञानको विरोधी रहँदै आए । किनभने किताबमा तिनको दुष्ट तानाशाही खत्तम गर्ने शक्ति हुन्छ । किताबमा लुकेको ताकतसँग डराएर तिनीहरुले किताबलाई प्रतिबन्ध लगाउँछन् । शायद मैले यसो भनिरहँदा तिम्रो मनमा खुल्दुली जागेको होला । जाबो किताबले पनि तानाशाहको सत्ता हल्लाउन सक्ला र ?
किताब ज्ञानको स्रोतमात्र होइन । ज्ञानले मानिसलाई परिवर्तनको लागि प्रेरित गर्दछ । ज्ञानले उल्टोपाल्टो समाजलाई ठिकठाक पार्न उत्प्रेरित गर्दछ । किताबहरु ज्ञानलाई हस्तान्तरण गर्ने, प्रचार गर्ने साधन हुन् । किताबहरुले परिवर्तनको चाहनालाई विस्तार गरिरहेका हुन्छन् । अनि तिमी सोधौली, केही उदाहरण छन् कि ? पक्कै पनि । भोल्टाएरले लेखेको ‘विश्वकोष’ले फ्रान्सेली क्रान्तिलाई अगाडि बढायो । मार्क्स र एंगेल्सको ‘कम्युनिष्ट घोषणापत्र’ले संसारमा मजदुर आन्दोलन र समाजवादी आन्दोलनलाई दिशानिर्देश ग¥यो । डार्विनको ‘ओरिजिन अफ स्पेसिस’ले जीव विकासको रुढीवादी, धार्मिक चिन्तनलाई च्यातेर विज्ञानको ज्योती फैलाइदियो । यस्ता धेरै उदाहरण छन् ।
किताबले तिमीलाई विवेकी बनाउनेछ । नयाँ–नयाँ जानकारीले तिम्रो ज्ञानको आयतन फराकिलो पार्नेछ । किताबको जगमा नै मानव सभ्यताको निर्माण भएको छ । मलाई आशा छ, अबका पत्रहरुमा तिमीले पक्कै आफुले पढेका किताबहरुबारे चर्चा गर्नेछौ । तिम्रो थप जिज्ञासाको पर्खाइमा यो पत्र यहीं टुंग्याउनेछु ।
तिमीलाई माया गर्ने दाजु ।
Comments
Post a Comment