तस्वीरः गुगलबाट
|
आज साम्राज्यवाद विश्वव्यापीकरणको रूपसम्म विकास भएको छ । यद्यपि विश्वव्यापिकरणकै अध्ययनको शुरूवाती विन्दु लेनिन नै हुनसक्छन् ।
आज साम्राज्यवाद विश्वव्यापीकरणको रूपसम्म विकास भएको छ । यद्यपि विश्वव्यापिकरणकै अध्ययनको शुरूवाती विन्दु लेनिन नै हुनसक्छन् ।
लक्ष्मण श्रेष्ठ
१. प्रेरणाको स्रोत
– लेनिन मेरा लागि प्रेरणाका स्रोत हुन् । – उनी एक मेहनती विद्यार्थी थिए । विद्यार्थी आन्दोलनको क्रममा साइबेरियामा निर्वासित भएपछि लेनिनको क्याम्पस अध्ययन नियमित हुनसकेन । सजायबाट फर्केपछि उनले शिक्षामन्त्रीलाई पत्र लेखि चार वर्षको पाठ्यक्रमको परिक्षा एकै वर्ष दिन पाउँ भनी अनुरोध गरे । उनको अनुरोध स्वीकारियो । उनले चार वर्षको परिक्षा एकै वर्षमा उत्तिर्ण मात्र गरेनन् स्वर्ण पदक नै हासिल गर्न सफल भए । लेनिन कानुनमा स्नातक थिए । उनको सफलताको पछाडि उनको अथक मेहनत रहेको उनकि दिदीले आफ्नो संस्मरणमा उल्लेख गरेकि छिन् । उनका अनुसार, लेनिन बिहानै घर अगाडिको पोखरीनेर आफैले बनाएको बेञ्च डेस्कमा बसी अध्ययन गर्थे । जबजब अल्छि लाग्थ्यो पौडी खेल्थे ।
– लेनिन गम्भिर अध्येता थिए । उनी रात–रातभर पढ्थे । लेख्थे । कुनै पनि निष्कर्षमा पुग्नु अघि उनी तथ्यसँग नजिक पुग्ने हरसम्भव प्रयास गर्थे । यसको सबैभन्दा गतिलो उदाहरण उनले लेखेको पुस्तक Development of Capitalism in Russia हो । यो पुस्तक उनी जेलमा बस्दा लेख्न शुरू गरेका थिए । पुस्तकका लागि करिब ५३० भन्दा बढी पुस्तकको सन्दर्भ लिइएकोबाटै उनको गम्भिर अध्ययन प्रष्ट हुन्छ ।
२. असल शिक्षक
– लेनिन एक असल शिक्षक पनि हुन् । उनका कृतिहरू समाज अध्ययन गर्न चाहनेहरूको लागि नपढी नहुने रचना हुन् ।
– कसै–कसैलाई लेनिन अहिले सान्दर्भिक छैनन् जस्तो लाग्नसक्छ तर, त्यो अपुरो वा पुर्वाग्रही दृष्टिकोण हो ।
– लेनिनका निम्न योगदान कामलाग्दा छन्–
आ) राज्यबारेको वैज्ञानिक दृष्टिकोण विकास गर्ने सन्दर्भमा पनि लेनिन उल्लेख्य छन् । उनको कृति ‘राज्य र क्रान्ति’ एक उत्तम कृति हो । राज्यको वर्गीय दृष्टिकोणबारे यो पुस्तकबाट स्पष्ट हुनसकिन्छ । यसमा अन्टोनियो ग्राम्सीको हेजेमोनीको सिद्धान्त र रोजा लक्जमबर्गका मान्यताहरू पनि जोड्दा सुनमा सुगन्ध हुन्छ ।
इ) द्वन्द्वात्मक भौतिकवादी दर्शनको विकासमा पनि लेनिनको महत्वपूर्ण योगदान छ । तत्कालिन समयमा अल्बर्ट आइन्स्टाइन जत्तिका भौतिकवादी भौतिकशास्त्री माखको दर्शनमा अल्झिरहेको समयमा लेनिनले लेखेको पुस्तक ‘Materialism and Empirio criticism’ले आँखा खोल्ने काम गर्यो । यद्यपि यो पुस्तकको नेपाली अनुवाद झुर छ ।
यी बाहेक अन्य महत्वपूर्ण रचनाहरूबारे छलफल गर्दै गरौंला ।
३. कुशल नेता
– लेनिन उत्तम नेतृत्वक्षमता भएका कुशल नेता थिए । उनकै अगुवाइमा संसारमै पहिलो सफल समाजवादी क्रान्ति भयो । पचास वर्षसम्म टिकेको रूसी समाजवादले संसारभर समाजवादी व्यवस्थाको सुन्दर पक्षबारे मात्रै प्रकाश पारेन । पूँजीवादी राज्यहरूलाई पनि लोककल्याणकारी हुन बाध्य पार्यो ।
– अराजकतावादी नरोद्निकहरूको वर्चश्व रहेको रूसी राजनीति र कुशल संगठन निर्माण गर्न नसकेको छरिएको रूसी कम्युनिष्ट आन्दोलनलाइ लेनिनले कुशल नेतृत्व प्रदान गरी सफल क्रान्तिसम्म डोर्याए । आज कसैलाई लेनिनका योगदानबारे अचम्म लाग्छ भने एकपटक रूसी कम्युनिष्ट पार्टी बोल्शेविकको इतिहास पढ्न अनुरोध गर्नुको अर्को विकल्प मसँग छैन ।
– नेतृत्व वा संगठन निर्माण सम्बन्धमा लेनिनको जनवादी केन्द्रियताको सिद्धान्तको अनुसरण कम्युनिष्टहरूले घोषित र गैर–कम्युनिष्टहरूले अघोषित रूपमा गर्दै आएका छन् । अभ्यासको डिग्रीमा तलमाथी अस्वाभाविक होइन । जनवाद मात्रै सम्झिने वा केन्द्रियता मात्रै बुझ्ने गल्ति कम्युनिष्ट पार्टीमा मात्र होइन गैर–कम्युनिष्ट पार्टीमा पनि हुनेगर्छ ।
४. रमाइला साथी
– लेनिन मेरो निम्ति रमाइला साथी हुन् । उनको हाँस्यविनोदी स्वभाव, साथीहरूप्रति उनले गर्ने ख्याल र बहस वा छलफलको निम्ति उनले दिने प्रेरणा म सधैं मिस गरिरहन्छु ।
५. अनि राष्ट्रियता
– लेनिनको नामसँगै अल्पसंख्यकको आत्मनिर्णयको अधिकार पनि जोडिएर आउँछ । आत्मनिर्णयको अधिकारलाइ बुझ्न लेनिनकै रूस बुझ्नुपर्छ नेपाल वा भारत वा चीन बुझेर हुँदैन । लेनिनको रूस तत्कालिन जारशाहीले साम्राज्य विस्तारको क्रममा निर्माण गरेको रूस थियो । हतियार र शक्तिको बलमा कजाकस्तान, किर्गिजस्तान, उज्वेकिस्तान, पोल्याण्ड, युक्रेन लगायतका राष्ट्र–राज्यहरू जबरजस्त रूसमा गाभिएका थिए । समाजवादी क्रान्तिसँगै लेनिनले ती देशलाइ एउटै समाजवादी संविधान मातहत रहन वा बेग्लै बस्नेगरी रहन प्रस्ताव गरे । किनपनि भने त्यो क्रान्ति ती गाभिएका राष्ट्र–राज्यको स्वाधिनतासँग पनि सम्बन्धित थियो । ती राष्ट्र–राज्यले समाजवादी संविधान अन्तर्गत आत्मनिर्णयको अधिकार सहित रहन स्वीकार गरे । फलस्वरूप सोभियत संघ गठन भयो । tribes, ethnic group, nation आदिको स्पष्ट भिन्नता नछुट्टाइ हाम्रोजस्तो देशमा भुराजनीतिक परिस्थितको पनि ख्याल नगरी आत्मनिर्णयको माग गर्नु र आत्मनिर्णयको अधिकारबारे लेनिनको आफ्नै परिस्थिति नबुझी उनलाइ गाली गर्नु लेनिनलाई नबुझ्नै एउटै तरिका हो ।
(लेनिनकाे १५१ औं जन्मदिवसकाे अवसरमा २०२० अप्रिल २२ गते प्रकाशित)
(लेनिनकाे १५१ औं जन्मदिवसकाे अवसरमा २०२० अप्रिल २२ गते प्रकाशित)
Comments
Post a Comment