लक्ष्मण श्रेष्ठ
‘ओ मेरी सोनी, मेरी तमन्ना, झुट नहीँ है मेरा प्यार
दिवान से हो गई गल्ति, जाने दो यार’
गर्मी याम । ननस्टप घुमिरहेको सिलिङ फ्यान । म्याटमा जथाभावी फिँजारिएका किताब । त्यहीँनेर फिजिक्स बुक, त्यहीँनेर बायोलोजी, छेवैमा केमेस्ट्री । क्यासेट प्लेयरमा बजिरहेको किशोरकुमारको स्वर । साँच्ची कसले ल्याएको थियो यो क्यासेट - duet songs of kishorkumar ?
सुजनमान शाक्यले ? उसको बेस्ट त श्रेया घोसालको ‘सुना सुना’ हो । त्यहीँ क्या फिल्म कृष्ण कटेजको गीत । ‘बेपनाह प्यार है आजा/तेरा इन्तजार है आजा’। तर, उसले पनि त गाउँथ्यो किशोरकुमारको गीत - खुट्टा हल्लाई हल्लाई - आई लभ यु ।
अहिले सोध्न मन छ - सुजन तिमीलाई त्यो अमेरिकाको शहरी जंगल सुना सुना लाग्दैन ? कसैले बोलाइरहेजस्तो लाग्दैन - तेरा इन्तजार है आजा ...?
आह ! त्यो टिचिङ हस्पिटलको फुटपाथ । त्यो बिजुलीको पोल । त्यो तपोवनको यात्रा । त्यो पिपलबोटको खीर । पुराना दिनका डायरी पल्टाएर हेर्दा लाग्छ, ति अरू कसैका कथा हुन् । कुनै उपन्यासको पानाबाट टिपी राखिएका । जिन्दगी सायद यस्तै हुन्छ । बाँच्दा बाँच्दै बाँच्ने चक्करमा हामी जिन्दगी बिर्सिदिन्छौं । बाँच्नुको यो चक्कर किन यति साह्रो बोझिल हुन्छ ?
पुराना दिनका डायरी पल्टाएर हेर्दा लाग्छ, ति अरू कसैका कथा हुन् । कुनै उपन्यासको पानाबाट टिपी राखिएका । जिन्दगी सायद यस्तै हुन्छ । बाँच्दा बाँच्दै बाँच्ने चक्करमा हामी जिन्दगी बिर्सिदिन्छौं ।
साँच्ची कसले ल्याएको थियो त्यो क्यासेट ?
दीपक कुमार गुप्ताले पनि हुनसक्छ । लम्बु दीपकले टाउको हल्लाई हल्लाई गाउँथ्यो त । त्यो पनि आँखा सन्काई सन्काई ।
‘अच्छा मैं सब बातों का हिसाब रखूँगा
यादों और वादों की एक किताब रखूँगा’
हिसाबमा त तिमी ट्यालेन्ट थियौ दीपक । हामी क्यालकुलसका फ्यान । आरसी सरले पढाउने नि । घोचपेच गरीगरी । तर मिलन सरवाला कोर्अडिनेट ज्योमेट्री र म्याट्रिक्स दिमागमा घुसे मरिजाम । तिमी त्यसैको खग्गु । तर जिन्दगीको म्याट्रिक्समा सायद सुत्र हुँदैन । जिन्दगीको म्याट्रिक्समा तिमी सायद कतै रूमल्लिरह्यौ । होइन भने, तिमीले सब बातोंका हिसाब राख्नुपर्ने । यादौं और वादों का किताब राख्नुपर्ने । र, आउनुपर्ने प्लस टुको ट्रान्सक्रिप्ट लिन । तिम्रो ट्रान्सक्रिप्ट अहिले पनि मेरो टेबलको घर्रामा छ दीपक । तर, सायद तिम्रो हिसाब बिग्रिसकेको छ । एक्जामको नजिकै तिम्रो बाबालाई ब्रेन स्ट्रोक हुनु । स्ट्रोकले प्यारालाइसिस गराउनु । तिमी बाबालाई लिएर गोरखपुर जानु । फाइनल एक्जाम दिनमात्र आउनु । अनि एक दिन निलो साइकलमा आएर केही कपि फोटो र सबै मार्कसिटको फोटोकपि छोडिजानु । वादा गरिजानु । सबै सबै अहिले त पुरानो ब्याक एन्ड ह्वाइट फिल्मको टुटेको रिलको अंश जस्तो लाग्छ । बाँच्दाबाँच्दै जिन्दगी सदियौं पुरानो जस्तो लाग्छ ।
साँच्ची कसले दिएको थियो त्यो क्यासेट ?
प्रदीप कुमार गुप्ताले पनि हुनसक्छ । उसले पनि त गाउँथ्यो नि किशोरकुमारको गीत । पुरै राजेश खन्ना स्टाइलमा । कपाल छड्के लर्काएर । आँखा सन्काएरः
‘हँसते गाते जहां से गुजर
दुनिया की तू पर्वा न कर
मुस्कुराते हुए दिन बिताना
जिन्दगी एक सफर है सुहाना
यहाँ कल क्या हो किसने जाना’
हो रैछ त । कसलाई पो थाहा हुँदोरैछ र भोली के हुनेछ । तिमी हाम्रो एसएलसीको जिल्ला टप । अग्लो ज्यान । कालो वर्ण । सँगै बसियो । कतिपटक मन मिल्यो । कतिपटक झगडा गरियो । अहिले पनि याद आउँछ - रिक्सामा सामान राखेर तिमीले कोठा सरेको । मुढा झुन्डिरहेथ्यो । हामी छेउछाउमा सामान समाएर सँगसँगै हिँडिरहेथ्यौं । डाक्टर बन्ने तिम्रो सपना । तर, हामीजस्ता निम्नमध्यमलाई कहाँ सपनाले साथ दिनु ? यहाँ कल क्या हो किसने जाना ? प्लस टु पछि तिमी इन्डिया गयौ । त्यहीँ देश जहाँबाट तिम्रा पिता पुस्ता जीवन खोज्दै नेपालको पश्चिमी पहाडी जिल्ला अर्घाखाँची पुगेका थिए । तिमीहरू जन्मिएका थियौ त्यहीँ अर्घाखाँचीमै । अर्घाखाँची आवासीय उच्च मा.वि.का जेहन्दार विद्यार्थी थियौ तिमी । तिम्रा बहिनीहरू त पुरै अर्घाखाँचीका रैथाने भइसकेका थिए । उनीहरूले ‘बाए’, ‘हए’ लगाएर बोलेको सुन्दा लाग्थ्यो मानिसहरू कति छिटो आफू बाँचेको परिवेशसँग सम्मिलित हुँदारैछन् । यहि त हो मानिसको विशेषता । मिलनसार, घुलनशील ।
प्रदीप एकदिन बसेर हिसाब गर्नु छ - हामीले कति पटक हेर्यौँ ‘शोले’ ? कतिपटक सुन्यौं ‘तेरे नैना सावन भादौ’ ? कतिपटक तिमीले पकाएको रोटी र तिम्रो आमाले बनाइपठाएको अम्चुर खाँदै गफ चुट्यौं ? र, गन्नु छ एकदिन ईश्वर पोख्रेल आपूर्तिमन्त्री हुँदा भएको महंगीविरोधी जुलुसमा कति ढुंगा हान्यौं ? कति सिसा हाम्रा कलेज युनिफर्ममा बिझे ? अहिले त लाग्दैछ विगत दिन ती सबै इतिहास भइसके ।
साँच्ची, तिमीले एमबिए गर्यौ रे हो ?
तिमीले अचेल बैंकमा जागिर खान्छौ रे हो ?
तिम्रा बहिनीहरू कहाँ छन् ?
तिमी किन बुटवल आउँदा नपसेको ?
सोध्नलाई प्रश्न धेरै छन् प्रदिप । तर, जवाफमा केवल स्वर छ किशोरकुमारको -
‘चाँद-तारों से चलना है आगे
आसमानों से बढना है आगे
पीछे रह जाएगा ये जमाना’
साँच्ची कसले दिएको थियो त्यो क्यासेट ?
पल्लो घरको कृष्ण दाइले ? होइन क्यारे । उहाँको त हामीले एउटा क्यासेट चोरेका थियौं । फिल्म ‘उमराव जान’का गीतहरूको क्यासेट । तिनै गीत सुनेर त हामी बित्थैमा हुन्थ्यौं उदास - ‘ये किस मुकाम पर हयात, मुझको लेके आ गई/ न बस खुशी पे कहां, न ग़म पे इख्तियार है’(यो कुन ठाउँमा जिन्दगीले ल्याइपुर्यायो मलाई/न खुशी छ रोजेजस्तो, न दुःखलाई गर्नसक्छु अस्वीकार) ।
सायद यस्तै हुन्छ कैशोर्य काल । बिनासित्ती मन उदास हुन्छ । बिनासित्ती मन दुख्छ । बिनासित्ती हैरानी छाउँछ । स्कुलमा पढाएका थिए मास्टरहरूले - आँधीहुरीको उमेर । चलिरहन्छ नानाथरी आँधीहुरी । मन त्यसैत्यसै उदास हुन्छ । अनि किशोरकुमारको त्यो स्वर पनि आफ्नै जस्तो लाग्छ-
‘बात पुरानी है, एक कहानी है
अब सोचूँ तुम्हें, याद नहीं है
अब सोचूँ नहीं भूले, वो सावन के झूले
ऋतु आये ऋतु जाये देके
झूठा एक दिलासा, फिर भी मेरा मन प्यासा
मेरे नैना सावन भादों
फिर भी मेरा मन प्यासा’
मनमा बजिरहेछ अहिले पनि किशोरकुमारको स्वर । मन अहिले पनि उदास भइदिन्छ यत्तिकै-त्यत्तिकै । स्मृतिका छालहरू छचल्किरहन्छन् यताउता । र गमिरहन्छु म - कसले, आखिर कसले दिएको थियो त्यो क्यासेट ?
आरती श्रीसले हो कि ? उनले पनि गाउँथिन् किशोरको गीत । उनले मात्र होइन । उनको दिदीहरूले पनि -
‘प्यासा है दिल सनम, प्यासी ये रात है
होंठों मे दबी दबी, कोई मीठी बात है
इन लम्हों पे आज तू, हर खुशी निसार दे
खिलते हैं गुल यहाँ, खिलके बिखरने को
मिलते हैं दिल यहाँ, मिलके बिछड़ने को’
थाहा छैन किन यहाँ फूलहरू ओइलाउनकै लागि फूल्छन् । किन हरेक जीवन मृत्युकै काखमा मिल्छन् ? अनि यादहरू किन यति धेरै बिझाउने हुन्छन् ? मलाई त यो पनि थाहा थिएन आरती तिमी किन श्वेत परिधानमा बिहानै निस्कन्थ्यौ ? एउटा हातले कुकुरको सिक्री समाएर म चुपचाप तिमी श्वेत परिधानमा हिँडेको हेरिरहन्थेँ । छत्तिसे कुलोको पुल कत्ति न फराकिलो छ र ? तर पनि हामी कहिल्यै बोलेनौं । न मैले बोलाएँ, न तिमीले बोलायौ । न तिमीले सुनायौ, न मैले सुनाएँ । बस्, हरेक बिहान तिमी चुपचाप हिँडिरहेको हेर्थेँ । तिम्रो सपाट अनुहारमा पोतिएको मौनता युग पुरानो लाग्थ्यो । सारा प्रश्नहरू त्यहीँ गएर अडिन्थे ।
कुकुर डोराएर सडकपारी उभिएको म । श्वेत परिधानमा हाते ब्याग समाएर हिँडिरहेकी तिमी । र एउटा लामो मौनता हामी बीच । सोध्न त मन थियो नि - त्यो ब्यागमा लली पप छैन ?
तिम्रो मुहार त्यति सपाट कहाँ थियो र ? तिमी त्यति मौन कहाँ थियौ र ? तिमीलाई त बोलिरहनुपर्ने । केही न केही जवाफ लगाइरहनुपर्ने । एकदमै फरासिली । एकदमै फुर्तिली । एसएलसी एक्जाम दिएर भर्खर आइपुग्दा बुटवल हाम्रो लागि बिरानो शहर थियो । तिमी पनि बुटवलमा कहाँ पुरानी थियौ र ? तिम्रा बुवा कलकत्तामा जागिरे । तिमीहरू हुर्कियौ त्यतै । ९ क्लास पढ्न आइपुग्यौ बुटवल । तिम्रा दिदीहरू र आमा भने अलि पहिले देखि नै यतै बस्नुहुन्थ्यो । तिम्रो जिब्रोबाट कलकत्ते ट्युन निख्रिसकेको थिएन । हिन्दी अल्फाजमा तिम्रो नेपाली हामीजस्ता पहाडियाका लागि रमाइलो लाग्यो । र बन्यौ तिमी हाम्री रमाइली साथी । कलेज पनि एउटै भयो । सेक्सन पनि एउटै । अघिल्लो बेन्चमा तिमी । पछिल्लो हामी । तिमीलाई हरेक दिन नजिस्काई धितै नमर्ने । जबजब तिमीलाई सरले उभ्याउनुहुन्थ्यो केहि सोध्न । हामी पछाडिबाट कराउँथ्यौँ - सर आरती उठेको कि बसेको ?
तिमी रिसले आँखा तर्थ्यौ । घर फर्किँदा रिसले तिमी हामीलाई छोडेर छिटछिटो पाइला सारेको देखेर हामी झनै जिस्काउथ्यौँ । त्यसपछि तिम्रो रिसको नकाब गायब हुन्थ्यो । अनि फेरी गफको सिलसिला चल्थ्यो घर नपुग्दासम्म । तिम्रो घर हाम्रो नजिकै । हामी गेटबाट छिर्दा तिमी हाम्रो घर पार गर्दै हुन्थ्यौ । तिमीलाई याद छ, कलेजबाट फर्किएर चाउचाउ खाएका कैयौं दिनहरू ? प्राक्टिकल रिपोर्ट बुझाउन हतार हतार लेखेको । आज सोध्न मन लागिरहेछ आरती, तिमीले थाहा त पाउँथ्यौ नि तिम्रो ब्यागबाट हरेक दिन इन्टरभलमा लली पप र चकलेट गायब भएको ? अनि किन हरेक दिन फेरी उसैगरी राख्थ्यौ ?
तिम्रा दिदी र आमा निकै मिजासिला । हाम्रो निम्ति तिम्रो घर आफ्नै बराबर । जहिले जान्थ्यौं होहल्ला गरेरै आउथ्यौँ । प्लस टु पछि थाहा छैन हाम्रो मित्रता किन पातलियो । सायद तिमी कलकत्ता गयौ क्यारे । हामीले त धेरै पछि थाहा पायौं - तिम्रो घरमा मृत्युको शृंखला चलेको । वर्षैवर्ष भएका परिवारजनका क्रमिक मृत्युहरूले तिम्रा सारा रहर, उत्साह र उमंग लुटेर लगिदियो । सायद थाक्यौ तिमी जिन्दगीका विषाद्हरूदेखि । र, चाह्यौ भाग्न जीवनका तिता यथार्थदेखि । (आरती प्लिज तिमीले यो टेक्स्ट नपढ ल ! प्लिज ।) र सायद त्यसैले गयौ श्वेत परिधानमा । र एउटा मौनताको तिनाउ नदी बसिदियो तिमी र मेरो बिचमा ।
अहिले पनि झल्झली आउँछ त्यो दृश्य । कुकुर डोराएर सडकपारी उभिएको म । श्वेत परिधानमा हाते ब्याग समाएर हिँडिरहेकी तिमी । र एउटा लामो मौनता हामी बीच । सोध्न त मन थियो नि - आरती त्यो ब्यागमा लली पप छैन ? तर, तिम्रो परिधानले सारा रहरहरू उडाएर लगिसकेको थियो । एक सहपाठी मित्र श्वेत परिधानमा जीवनको आशौच बारेर हिँडिरहँदा प्रश्नले पनि आत्महत्या गर्दोरहेछ । (आरती प्लिज यो टेक्स्ट नपढ ल ?)
समयले यात्रा छोडेन । जिन्दगीले मोडहरू ल्याइरह्यो । म काठमाडौं हिँडे । तिमी फेरि कलकत्ता गयौ । यसपालि तिमीसँग केवल दुई दिदी थिए र एक भिनाजु । न आमा, न बुवा, न दाजु । उफ् !
के तिमीले त्यतिबेला किशोर कुमारको त्यो गीत सम्झेकी थियौ?
‘जिन्दगी एक एहसास है, टुटे दिल की कोही आस है
ज़िंदगी एक बनवास है, काट कर सबको जाना पड़ेगा
ज़िंदगी ग़म का सागर भी है, हंसके उस पार जाना पड़ेगा’
केही वर्षपछि दाईले फोनमा भन्यो - ‘आरती आएकी छन् । भेट्दै छु ट्राफिक चोकमा ।’ खुशीले म फुरूंग भएँ जब दाईले तिमीहरूको भेट प्रसंग सुनायो ।
बुटवलको साँझ ट्राफिकचोकको जमघट । कफिको कप । सिद्धबाबाको बतास । भेटेछौ तिमीहरू । यसपाली तिम्रो परिधान रंगिन थियो । तिमीले सुनाइछौ जीवनका उतारचढाव । दाईले सोधेछ - ‘आरती तिमी ब्रह्मकुमारीमा गएकी थियौ। किन फर्कियौ ?’
त्यतिबेला तिमीले दिएको जवाफ सुनेर मेरा आँखाबाट आँसु खसे । त्यो आँसु पिडा र खुशी दुवैको थियो । जिन्दगीमा यस्तो पनि हुँदोरैछ ।
तिमीले भनिछौ - ‘राम ! त्यहाँ बस्न मरेको हुनुपर्दो रैछ । हामी अझै पूरै मरिसकेका रहेनछौं । आधा जिउँदा रहेछौँ । त्यसैले फर्कियौँ ।’
***
खो गए कैसे मेरे, सपने सुनहरे
ये मेरे सपने, यही तो हैं अपने
मुझसे जुदा न होंगे इनके ये साये, इनके ये साये
कहीं दूर जब दिन ढल जाए
साँझ की दुल्हन बदन चुराए
चुपके से आए
मेरे ख़यालों के आँगन में
कोई सपनों के दीप जलाए, दीप जलाए’
अहँ सकिन सम्झिनँ कसले दिएको थियो त्यो क्यासेट । आज अगस्ट ४, किशोर कुमारको जन्मजयन्ती भनेपछि एकाएक सम्झिएको थिएँ त्यो क्यासेट । स्मृतिले स्मृतिका लहरहरू शुरू गरिदियो । सम्झनलाई सम्झनाको लस्कर त कत्ति कत्ति । अहिले यु ट्युबमा सुनिरहेछु किशोर कुमारको स्वर । साँझ ढलिरहेछ । रात बढिरहेछ । साउने झरी बर्सिएकै छ । कैशोर्यका यादहरू छचल्किरहेछन् । लाग्छ, युग पुरानो दिन सम्झिरहेछु । लाग्छ, सडक छेउको पुरानो पिपल भैरहेछु । गीत बजिरहेछ-
‘नैन आँसू जो लिये हैं
ये राहों के दीये हैं
लोगों को उनका सब कुछ दे के
तू तो चला था सपने ही ले के
कोई नहीं तो तेरे अपने हैं सपने ये प्यार के
ओ राही, ओ राही...
रुक जाना नहीं तू कहीं हार के
काँटों पे चल के मिलेंगे साये बहार के
ओ राही, ओ राही’
राती ११ बजे । २०७५ साउन १९, शनिवार । काठमाडौं ।
Comments
Post a Comment