रेडियो, नेपथ्य र ठिक्कको आधुनिकता

‘हामी बिस्तारै बिस्तारै आएका थियौं । बिस्तारै बिस्तारै घर जाम है...’ भन्दै स्टेजबाट अमृत ‘नेपथ्य’ भए । स्रोताको सिंगो पङ्क्ति स्तब्ध भयो । एक्कासी जीवनको कुनै रंगमञ्च छुटेजस्तो मन एकतमासको भयो । एकछिन पछि फेरि होस सम्हालियो । अनि हुस्सुको पातलो धर्सासँगै मान्छेहरू घर फर्किन थाले ।

कन्सर्टकाे एक दृश्य



२०८२ माघ २६ । शनिबार

अनायासै बितिजाने दिन पो हो कि ?
आशामा झुलिरहने झूटो सपना हो कि ?
पीडामा दुःखी हुन्छ, चोट लाग्दा सहिदिन्छ
आगो हुन्छ, कहिले पानी
यो जिन्दगानी, यो जिन्दगानी, यो जिन्दगानी

संयोग जिन्दगानीको । 

यो लेख लेखेको ठ्याक्कै एक वर्षपछि बटौलीका हजारौ युवाहरूको साथमा अमृतको आवाजसँगै म पनि ‘जिन्दगानी’ चिच्याइरहेको थिएँ । नेपथ्यको तालमा सिंगो बटौली झुमिरहेको देख्दा लाग्थ्यो देश एकताको एउटा सूत्रमा बाँधिइरहेको छ । साँच्चै नै अमृत र नेपथ्यले गीत मात्र गाइरहेका छैनन्, देशलाई जोडिरहेका छन् । ‘नेपाली’ भन्ने भावनालाई समृद्ध पारिरहेका छन् । गीतको बीच बीचमा ‘आसन्न निर्वाचनमा मताधिकार प्रयोग गर्न नछोड है...’भन्ने सुझाव दिइरहेका छन् । यो देशको भूगोल र सुन्दरताको चर्चा गर्दै ‘मौका मिल्दा घुम है...’ पनि भनिरहेका छन् । माया, पिरती, जिन्दगी, विभिन्न भूगोलका भेगीय भाषिका र भाका समेटिएका मात्र होइन ‘गाउँ गाउँ बाट उठ’ र ‘रातो र चन्द्र सूर्य’ पनि गाइरहेका छन् । 

‘गाउँ गाउँ बाट उठ’ र ‘रातो र चन्द्र सूर्य’ गाउँदा केही मिनेट अघि ‘मै नाचे छम छम गीत...’मा नाचिरहेको युवा पुस्ता दृढ र गम्भीर सुनिइरहेको थियो । मञ्चको भव्य स्क्रिनमा प्रकट भइरहेको चन्द्र–सूर्य ध्वजाको रक्तिम आलोकमा मैले शुन्य आकाशलाई हेरें— लाग्थ्यो एउटा जीवन्त आवाजले त्यो शुन्यता भरिरहेछ । लाग्थ्यो यो देशका मुटुहरू एउटा ध्वनिले बाँधिइरहेका छन् । संगीतको सुरतालमा एकताबद्ध नाचिरहेका छन् । 

‘हामी बिस्तारै बिस्तारै आएका थियौं । बिस्तारै बिस्तारै घर जाम है...’ भन्दै स्टेजबाट अमृत ‘नेपथ्य’ भए । स्रोताको सिंगो पङ्क्ति स्तब्ध भयो । एक्कासी जीवनको कुनै रंगमञ्च छुटेजस्तो मन एकतमासको भयो । एकछिन पछि फेरि होस सम्हालियो । अनि हुस्सुको पातलो धर्सासँगै मान्छेहरू घर फर्किन थाले । ‘अब घर जाम है...’ अमृतको लय समात्दै मान्छेहरू भन्दै थिए । अलि दिन यो बटौलीको वातावरणमा अमृत शैली छाइरहनेछ । मान्छेको हृदयमा उनको आवाज गुञ्जिरहनेछ । यो नेपालीजनको भावना र स्मरणमा चीरकाल पर्यन्त सुरक्षित हुनेछ । 

घर फर्किरहँदा मलाई ‘नेपथ्य’ स्मृतिले डसिरह्यो । सानैदेखि ‘छेक्यो छेक्यो’, ‘चरि मर्यो सिसैको गोलीले’ गाएको सम्झना भइरह्यो । अनि पिरोलिरह्यो आखिर किन, किन आखिर हामी नेपथ्यलाई यति साह्रो माया गर्छौ ? किन यति बिध्न प्यारो लाग्छ ड्रमसेट, गितार, किबोर्ड र मादलमा जिनको ज्याकेट र जिनकै पाइन्टमा नाच्दै गाउने त्यो गायक ? 

शायद यो प्रश्नको उत्तर मैले एक वर्ष पहिले यो लेखमा लेख्ने कोशिस गरेको छु । एउटा शोधकार्यको सिलसिलामा दाङ र बर्दियाको यात्रामा मैले बाटोभरि नेपथ्य सुन्दै थिएँ । मेरो हातमा भर्खरै प्रकाशित गिरीश गिरी लिखित ‘नेपथ्यः लोकप्रिय यात्राको अन्तरङ्ग’ थियो । आफ्नो ओठमा झुण्डिरहने गीतका पृष्ठभूमिहरू पढ्दै गर्दा मैले मेरो गीत श्रवण यात्रालाई छिचोल्ने कोशिस गरेको थिएँ । त्यहिक्रममा मैले नेपथ्य किन प्यारो छ भन्ने बुझ्ने प्रयास गरेको थिएँ । त्यहीं प्रयास यहाँ प्रस्तुत छः— 

रेडियो, नेपथ्य र ठिक्कको आधुनिकता 

तोरी फुलेको बारीको डिलमा पारिलो घाम ताप्दै ‘साथीसँग मनका कुरा’ सुन्ने समयको कुरा हो यो ।

शनिबार हाम्रो लागि बेग्लै हुन्थ्यो मात्र यसैले होइन कि त्यो दिन स्कुलको बोझिला पिरियडहरू पर्दैनथे । यसकारणले पनि हो कि त्यो हाम्रो रेडियो सुन्ने दिन थियो । 

बिजुली बत्ती नपुगेको गाउँको कुरा गर्दैछु म । भर्खर भर्खर एफ.एम. रेडियो खुल्न थाल्दै गर्दाको समयको कुरा गर्दैछु म । मन त हामीलाई ‘रेडियो लुम्बिनी’का कार्यक्रम मा पनि थियो तर इलाहाबादको ‘ज्ञानवाणी एफ.एम.’ प्रष्ट सुनिदाँ ‘रेडियो लुम्बिनी’को  तरङ्ग बाटो बिराएरमात्र पुग्थ्यो । त्यसमाथि प्रायः कुहिरोले डम्म ढाक्ने गाउँमा एफ.एम.का तरङ्ग बिराना थिए । ‘ज्ञानवाणी एफ.एम.’ले भने ज्ञानगुनका कार्यक्रममात्र दिन्थ्यो । रेडियो कक्षाका शृंखला नै हुन्थे । बिहान शास्त्रीय संगीत पढाइन्थ्यो । कहिलेकाहीं हामी विज्ञानका कक्षा सुन्थ्यौ तर रेडियो हाम्रो लागि त्यतिबेला मनोरञ्जन र समाचारको साधन नै बेसी थियो । 

यो त्यहिं कैशोर्यकालिन उमेरको कुरा हो । 

शनिबारको दिन खाना खाएपछि हाम्रो रेडियो श्रवण शुरु हुन्थ्यो । त्यसको लागि हाम्रा मिहिनेतहरू कम्ता हुँदैनथे । शुक्रबार नै हामीले साप्ताहिक नुवाई–धुवाई सक्काइसकेका हुन्थ्यौ । पानी बोक्ने घरेलु काम हामी बिहानै सक्काइदिन्थ्यौं । घाँसपात गर्नुपर्ने हाम्रा छिमेकी साथीहरू पनि हतार–हतार सक्काइसकेका हुन्थे । 

हिउँदको पारिलो घाममा तोरीले पहेलपुर बारीको डिलमा हातमा किताब समातेर कान भने रेडियोमा टासीदिन्थ्यौं हामी । 

दिउँसो १ बजे अँग्रेजी समाचार आउँथ्यो जुन हाम्रो लागि सँधै दिक्कलाग्दो हुन्थ्यो । त्यसपछि बज्थ्यो ‘सुन्नुस् सुनाउनुस्’ । यसमा प्रस्तोताले सडक–सडकमा विभिन्न यात्रुहरूसँग समसामयिक विषयमा धारणा माग्थिन्, अन्तमा कुन गीत सुन्न चाहने र कसलाई फर्माइस गर्ने भनेर सोध्थिन् । हरेक यात्रुलाई उनले भन्थिन्, “तपाईंका साथीभाई इष्टमित्रलाई त हामी सुनाइहाल्छौं कृपया हाम्रो लागि पनि केही सुनाइदिनुस्...”। बेसुरे तालमा यात्रुहरूले गुन्गुनाउँथे र गीत बज्थ्यो । 

रेडियो नेपालको त्यो ध्वनि तरङ्ग ‘सर्ट वेभ’कोे बाटो समातेर हाम्रा रेडियो सेटमा आइपुग्थ्यो । एफ.एम.तरङ्ग हुस्सुमा पटक–पटक बाटो बिराउने हुँदा सर्ट वेभ नै हाम्रो प्रिय थियो । हरेक शनिबार साढे एक बजे आइपुग्थ्यो ‘नाटक’ । बाँसुरीको विरही धुनले हाम्रा किशोर हृदयलाई तीव्र वेगमा उथलपुथल पार्थ्याे । त्यसमाथि प्रतिध्वनि, कलाकारका मधुर स्वर, आवाजले नै निर्माण गरिने एउटा काल्पनिक दुनियाँले हामीलाई कल्पनाको संसारमा पुर्याउँथ्यो । 

हाम्रो सुचनाको सीमा थियो । हामीले देख्ने सपनामा सीमा थियो । हाम्रा रहरहरूमा सीमा थियो । सीमित हाम्रो दुनियाँलाई रेडियो नेपालको ध्वनिले अलिकति फराकिलो पारिदिन्थे । हामीलाई त्यतिबेला मिडियाको राजनीति थाहा थिएन । हामीलाई राज्यकेन्द्रित सञ्चारमाध्यमले निर्माण गर्ने ‘सत्य’बारे थाहा थिएन । हाम्रा कैशोर दिनहरूलाई त्यहीं रेडियो नेपालले नै रोमाञ्चित गरेकोे थियो । 

हरेक शनिबार साढे तीन बजे बज्ने ‘साथीसँग मनका कुरा’ साँच्चै हाम्रो प्यारो साथी थियो । ‘...रमपमपमपरानिधमपिधम..’ धुनसँगै साथीहरू आइपुग्थे । साथी तोया र विनिताका ख्यालठट्टा सुन्दा ती हाम्रै साथी लाग्थे । झन् नाटक त औधी प्रिय । हामीजस्तै देशभरका अनेक साथीहरूले आफ्ना अनेक जिज्ञासाहरू पठाउँथे । जीवन उपयोगी सीपमा आधारित उपायहरू सहित ती समस्याका समाधान हुन्थे । कैयौं समस्या हाम्रा पनि हुन्थे । त्यसैले थाहै नपाई हामीले धेरै सिक्थ्यौं । 

अन्जान आगतप्रति आशा गर्ने ठाउँ नभेटाएपछि विगत स्मृति मान्छेको नियति बनिदिन्छ । अभिसप्त छ मान्छे । निधारमा दोषी घाउ बोकेर हिंडिरहेको अस्वत्थामा बनिरहेछ मान्छे । जोसँग अब केवल विगत छ । ऊ विगत सुम्सुम्याउँछ । मुसार्छ । विगतको काखमा ओल्टोपोल्टो खेल्छ । 

त्यो त्यहिं वैशालु समयको कुरा हो । 

मेरो स्मृतिको धुमिल आकाशमा त्यो साँझ आइपुग्छ । शायद त्यो ‘बुटवल एफ.एम. ९४.४’ हुनुपर्छ । झ्याउँकिरी कराउन शुरु गरिसकेको थियो । लालटिनको सीसा खरानीले मोलेर मैले चम्किलो पारिसकेको थिएँ । रेडियोको मधुर आवाजमा एउटा अन्तर्वार्ता आइरहेको थियो । कुनै गायकले भनिरहेको थियो...

“...हामीले गीत सबै फाइनल गर्यौं तर पनि के नपुगे नपुगे जस्तो भयो । सबै जना अनेक कोशिस गरिरहेका थियौं, अनेक शब्द र धुन ल्याइरहेका थियौं...एक्कासी एउटा शब्द आइपुग्यो...‘रेशम’...हामीलाई त्यो शब्दले उर्जा प्रदान गर्याे । हामीले दोहोर्याइरह्यौं— रेशम ।”

मेरो धुमिल स्मृतिमा ठ्याक्कै शब्दहरू याद नहुनसक्छन् तर भाव यस्तै थियो ।

यो त्यहिं गीतको प्रसंग थियो जुन मैले केही दिनयता सुन्दै थिएँ । ‘छेक्यो छेक्यो देउराली डाँडा...’ चिच्चाइ चिच्चाइ गाएको पनि कैयौ वर्ष बितिसकेको थियो । गोली सीसाले धेरै चरी मरिसकेका थिए । रेलले धेरैपटक उडाइसकेको थियो । तर पनि ‘रेशम’ हाम्रा ओठमा अलि फरक धुन थियो । हामी धोद्रो स्वरलाई जोड दिँदै चिच्याउन थालिसकेका थियौं— रेशम...सानोमा सानो कोमलको हाँगो...रेशम.. । 

र, मैले बटौली बजारमा कन्सर्ट गर्न आइपुगेका अमृत गुरुङको अन्तर्वार्ता सुनिरहेको थिएँ जतिबेला ‘कन्सर्ट’ शब्दबारे मलाई केही पनि थाहा थिएन । 

यो बटौली शहर ओर्लने साइत हुँदै गर्दाको समयको कुरा हो । 

लोकगीत र दोहोरीलाई किनारमा राख्दै हामी ‘आधुनिक नेपाली गीत’मा लम्किसकेका थियौं । उसो त कक्षा पाँचमा नै भाइले नारायणगोपालको ‘यो सम्झिने मन छ म बिर्सु कसोरी..’ गाईसकेको थियो । भाइको स्वरमा नारायणगोपाल सुनेपछि नेपाली शिक्षकले प्रिन्सिपल र अरु सरहरू खोज्दै हिंडेका थिए । पटक–पटक गाउन लगाएका थिए । 

मावि तहमा आइपुग्दा कक्षामा साथी रामकृष्ण ढकाल उर्फ आकाशले रामकृष्ण ढकालका गीतहरू सुनाइरहन्थ्यो । नामजस्तै उसको स्वर पनि मेल खान्थ्यो । भाइले नारायणगोपाल गाइरहेकै थियो । कक्षामा देवीले नेपाली फिल्मी गीतहरू गाइरहन्थी । थमकला र नारायणले ‘नमुछे आमा दहीमा टीका...’ गाइरहेकै थिए । उसो त केही हिन्दी गीतहरू पनि गाइन्थे तर ती अल्पमतमै थिए । 

यो त्यो समयको कुरा हो जतिबेला बटौलीको दिन यशोधा पराजुलीको अँधेरी रातसँगै ढल्थ्यो र मन निष्ठुरीको यादमा जल्थ्यो । 

यो त्यो समयको कुरा हो रेडियोको मोहग्रस्त हामी बटौली झरेको पहिलो साँझ ‘बुटवल एफ.एम.’को भवन अगाडि पुगेर धिपधिप गरिरहेको टावरको रातो बत्ती हेरेर मख्ख परेका थियौं । र, बुटवल देवीलाल पौडेलको रातो रगतको रापमा पाकिरहेको थियो । त्यो यति कडा राप थियो कालान्तरमा त्यसले राजतन्त्रलाई नै खरानी बनाइदियो । 

त्यस पछि तिनाउमा धेरै पानी बग्यो । अब समय केवल स्मृतिपटको लामो लहरो बन्न पुग्यो । 

म बेलामौकामा त्यहिं लहरो नापिरहन्छु । त्यो मेरो विगत थियो । त्यो परिवर्तित समयको कथा थियो । 



मान्छे विगत चर्चा गर्न रहर गर्छ । यसर्थ कि आगत जहिल्यै अन्जान हुन्छ । अन्जान आगतभन्दा तितो वा मिठो विगत प्रिय बनिदिन्छ । उसो त स्मृतिदंशले डसिरहेको हुन्छ मान्छेलाई । अन्जान आगतप्रति आशा गर्ने ठाउँ नभेटाएपछि विगत स्मृति मान्छेको नियति बनिदिन्छ । अभिसप्त छ मान्छे । निधारमा दोषी घाउ बोकेर हिंडिरहेको अस्वत्थामा बनिरहेछ मान्छे । जोसँग अब केवल विगत छ । ऊ विगत सुम्सुम्याउँछ । मुसार्छ । विगतको काखमा ओल्टोपोल्टो खेल्छ । 

कुनै बेला हामी आगतको व्यापक चर्चा गर्थ्याै‌ । आगत हाम्रा कविताका विषय हुन्थे । साहित्य संगमका मञ्चहरूमा हामी सपनाको कुरा गर्थ्याै‌ । ‘नयाँ नेपाल’को कुरा गर्थ्याै । क्याम्पसको चउरमा युवाहरू रातोपिरो हुँदै आगतबारे बहस गरिरहेका हुन्थे । समय यसरी पनि ओरालो लाग्दो रहेछ हामी सपनाको पनि कुरा गर्न छोडिसकेका छौ । त्यतिबेला हामीसँग अनेक सपनाहरू थिए ।

कैशोर्यको उत्तरार्धमा हामी बटौली बजार झरेका थियौं । बटौली बजारमा हामीले बिजुली पाएका थियौं । अब रेडियोमा ब्याट्री सकिने तनावबाट मुक्त थियौं । बसपार्कमा थुप्रै क्यासेट पसल थिए । तिनमा भने प्रायः लोकदोहोरी बजिरहेका हुन्थे । ट्राफिकचोकका ट्याङ्कीहरूमा पान र क्यासेट दुवै पाइन्थे । त्यहाँ आधुनिक, फिल्मी र हिन्दी गीतहरू बजिरहन्थे । हाम्रो आकर्षण तिनै क्यासेट दोकानले तान्यो । अनि शुरु भयो अनवरत अनेकौं गीतहरूको श्रवण । 

र, अझै पनि हामी बजारमा अस्वीकृत भएको समयको कुरा हो यो । 

एसएलसी पछि विज्ञान पढ्न सजिलो हुन्छ भनेर ब्रिज कोर्स पढेका थियौं । प्रायः शहर बजारका साथीहरू थिए । उनीहरूको लवज, भेषभुषा, सोच र शैली हामीभन्दा फरक थियो । हामी उनीहरूको आँखामा शायद ‘गाउँले’ थियौं । 

यो ‘गाउँले’ शब्दलाई शहरीयाहरू कसरी बुझ्दारहेछन् भन्ने मैले भर्खर–भर्खर थाहा पाउँदै छु । केही हप्ता पहिले शहरका चर्चित युवा व्यवसायीले ‘गाउँले’को परिभाषा सुनाएका थिए । 

“गाउँ भनेको raw हो । गाउँ भनेको प्रकृति हो । प्रकृति त अप्रशोधित हुन्छ । त्यो देख्दा र एकैछिनको लागि सुन्दर हुन्छ तर बाँच्न गाह्रो हुन्छ । गाउँका मान्छे पनि अप्रशोधित हुन्छन् ।” उनको भनाईको अर्थ थियो शहर सभ्य हुन्छ । शहरीया मात्र सभ्य हुन्छन् । अझै नेपाली राजनीतिको लामो विश्लेषण गर्दै उनले मलाई निष्कर्ष सुनाएका थिए— गाउँलेले शासन गर्न थालेपछि यो देश बिग्रिएको हो । 

शायद यहीं धारणा हामीप्रति ती शहरिया साथीहरूको थियो । त्यसैले उनीहरूसँग मित्रता कायम गर्न निकै गाह्रो भइरहेको थियो । हामी दुई भाई उनीहरूसँग भिज्न अनेक प्रयत्न गर्दैथियौं । भनौ न बजारिया बन्ने मोहमा थियौं । हामीले ट्राफिकचोकका ट्याङ्कीहरूबाट झोलाभरि क्यासेट किन्न थाल्यौ । गाउँमा रेडियोमा कहिलेकाहीं पप गीतहरू सुन्थ्यौं तर दिल त नारायणगोपाल, रामकृष्ण ढकाल, यम बराल, अरुणा लामामै रमाउँथ्यो । अनेकौं गीतहरू सुन्ने यात्रा नै शुरु भयो । त्यो यात्रामा अनेकन संगीतहरू भेटिए । हार्ड रक म्युजिकले मरिगए मन छोएन । जबरजस्ती सुनेर क्यार्नु । सुन्न त इंगिलिश सङ्ग्स् पनि सुनियो तर भ्याङ्ग्यावाइजको ‘माइ हर्ट गो सललल...सललल इन द मर्निङ’ मात्र ओठमा झुण्डियो । शायद यसको सललल हाम्रै नेपाली जस्तो सुनिएर पो हो कि ! 

एकदिन कक्षामा साथीहरू कुनै टिकट बेचिरहेका–किनिरहेका थिए । सोध्न पुग्यौं— के को टिकट हो ? 

बेवास्ताको गन्ध सहित जवाफ आयो— ‘कन्सर्टको हो । तिमीहरू पनि जान्छौ र ?’ अर्थात्, तिमी ‘गाउँले’हरू पनि कन्सर्ट जान्छौ र !

सत्ते ‘कन्सर्ट’ भन्ने थाहा नभइसकेको समय थियो त्यो । तर, त्यो समय त ‘इज्जत’को थियो । ‘गाउँले’, ‘पाखे’बाट उम्कने समय थियो । त्यसैले अनायास ओठ चिप्लियो त्यो पनि अलिकति शान र दम्भ मिश्रित लवजमा । 

‘किन नजाने । जाने हो । कति हो टिकटको प्राइस ?’

धन्यवाद छ ‘नम्बर वान कण्डमलाई’ । धन्यवाद यसअर्थमा कि त्यसले जम्मा बीस रुपैयाँमा कन्सर्ट लग्दै थियो । ‘नम्बर वान कण्डम’को आयोजनामा भएको उक्त कन्सर्टमा छिमेकी दाजुहरू सहित कालिका माविको मैदानमा हामी उफ्रिदैं थियौं निमा रुम्बासँगै । 

‘ओ ओ ओ आउँ आउँ न 
मसँग गाउन...
हाम्रो यो जीवन अनमोल छ
खेर नफालन न...’

निमा रुम्बा, दिपक बज्राचार्य लगायतका कलाकारहरूको प्रत्यक्ष प्रस्तुतीसँगै हामीले ‘कन्सर्ट’को अर्थ बुझिसकेका थियौं । र, हामी पनि ‘शहरिया’ बन्दै थियौं । 

अब गीतहरूमा विविधता आउन थाल्यो । अब नविन के भट्टराई, सुगम पोखरेल, १९७४ एडी सुनिंदै थियो । तमाम पप र रकका बीचबाट प्रिय भने उहीं ‘छेक्यो छेक्यो देउराली डाँडा...’वाला नेपथ्य नै भइदियो । 

देश माओवादी सशस्त्र सङ्घर्षको आगोमा थियो । त्यो द्वन्द्वको समयमा नेपथ्यले शान्तिका गीत गाइरहेको थियो । हाम्रा लागि ‘टाढा टाढा उडेका रंगिन चरा...’, ‘सम्साझैमा काग कराइरह्यो...’ जस्ता गीतहरू प्रिय भइरहेका थिए । 

अहिले पनि नेपथ्य उस्तै प्रिय छ । नेपथ्य किन म र मजस्ता मान्छेका लागि प्रिय भयो भन्ने प्रश्नको उत्तर भने मैले समाज विज्ञानका किताबहरू पढ्न थालेपछि बुझ्न थालेको छु । 

पञ्चायतकालको अन्त्य र बहुदलको उदयका शुरुवाती दिनहरूमा एकजना अमेरिकी मानवशास्त्री काठमाडौंका सडकहरूमा मान्छेका रहरहरूको अध्ययन गरिरहेको थियो । अनेकौं मान्छेसँग उनीहरूले खाने खाना, लगाउने लुगा, बोल्ने भाषाशैली, प्रयोग गर्ने शब्दहरू, हेर्ने टिभी च्यानल, गाउने र सुन्ने गीतहरूबारे कुराकानी गरिरहेको थियो । द्वन्द्वका शुरुवाती दिनहरूमा पनि उसले यस्तै गतिविधि सञ्चालन गरिरहेको थियो । पहिलो चरणमा ४ वर्ष र पछिल्लो चरणमा ५ वर्ष काठमाडौं खाल्डोका मान्छेहरूको गहिरो अध्ययन गरेपछि उसले नेपालीहरूको ‘आधुनिकता’ तर्फको सङ्क्रमणको महत्त्वपूर्ण प्रवृत्तिलाई फेला पारेको थियो । त्यो अमेरिकी मानवशास्त्रीको नाम हो— मार्क लिक्टी । उसको अध्ययनको सार समेटिएको किताब हो— स्विटेब्ली मोर्डन (Suitably Modern) । 



यो किताबमा मार्क लिक्टीले बडो गहन निचोड निकालेका छन् । नेपालीहरूमा कसरी ‘आधुनिकता’ सङ्क्रमण भयो, उनीहरूले कसरी ‘आधुनिकता’ आत्मसात गर्दै गए । नेपाली परिवेशमा कसरी ‘आधुनिकता’ धेरै हदसम्म पश्चिमीकरण हो जस्ता गहन चर्चा छन् । सबैभन्दा महत्त्वपूर्ण निष्कर्ष हो— नेपालीहरूले ‘आधुनिकता’लाई आफ्नो अनुकुलतामा मात्र ग्रहण गर्न थाले । उनीहरू पश्चिमा सिको पनि गरें तर सबै गरेनन् । ‘कहाँ हामी पश्चिमा जस्तो हो र ?’ पश्चिमी नक्कल गर्दा गर्दै पनि नेपालीले एउटा सीमा कायम गरें । त्यसैलाई लिक्टीले एउटा शब्दावली प्रयोग गरें— ‘स्विटेब्ली मोर्डन’ अर्थात् आफूलाई ठिक्क हुँदासम्मको आधुनिकता । 

हामीलाई किन नेपथ्य मन पर्छ भने यो ‘स्विटेब्ली मोर्डन’को अनुपम उदाहरण हो । यसले एकातर्फ हाम्रा लोकभाकालाई समेटेको छ । लोकभाकाले हामीलाई आफ्नोपन, पहिचान र जरासँग जोडेको छ । अर्कोतर्फ यसले जस्ताको तस्तै लोकभाका प्रयोग गरेको छैन । लोकलाई रकसँग मिश्रण गरेर आधुनिकताको रंग पनि पोतेको छ । त्यसैले हामी यस्तो ठिमाहा विधामा मस्त छौ जसले हामीलाई ‘आधुनिक’ पनि बनाइरहेको छ र ‘अप्रशोधित गाउँलेपन’ पनि जीवित राखेको छ । 

त्यसैले त ड्रमसेटको चर्को आवाजसँगै अहिले हामी पूर्वेली लोकभाका हाकपारे यसरी गाइरहेछौ—

कोशीको पानी यो जिन्दगानी
सललल जाइजाने हौ हजुर 
आमाको कोखमा बास मात्रै लिएँ नि
कुन देशको मरण हौ हजुर 
ओ आमा 
ओ आमा 
माई माई माई 

२०८१ माघ २५ शुक्रबार, नेपालगञ्ज

मार्क लिक्टी र सिके लालसँग केही वर्ष पहिले काठमाडाै‌मा



आभार: नेपथ्यकाे कन्सर्टमा सहभागी हुने जाेडबल र व्यवस्थापनकाे लागि पत्रकार दाजु दिपक ज्ञवालीलाई धेरै धेरै धन्यवाद ।

Comments