सामयिक टिप्पणीः ओली-प्रचण्डप्रति असहमती, भुसाल-कार्कीलाई प्रश्न

भाद्र २३ गते रूपन्देहीमा आयोजित कार्यक्रम   तस्विरः सिद्धिचरण भट्टराईको फेसबुक वालबाट

जनताका आधारभुत आवश्यकता र मौलिक हकको विषयलाई पूँजी निर्माणको स्रोतको रूपमा लिनु उदारवादी पूँजीवादको मान्यता हो । मार्क्सवादको प्रचार-प्रसार गरिरहेकाले मूल कारकमै प्रश्न गर्न किन डराउने ?


शनिबार रुपन्देहीको तिलोत्तमा  नपामा मार्क्सको दुई शतावार्षिकीको अवसरमा घनश्याम भुसाल नेतृत्वको आयोजक समितिले कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा नेकपाका जल्दाबल्दा युवा नेताहरु घनश्याम भुसाल, राम कार्की, डा. विजय पौडेल लगायतले सम्बोधन गरे । कार्यक्रममा उल्लेखनीय उपस्थिति थियो ।

सरकार हाँकेको पार्टीका युवा नेतृत्वले आयोजना गरेकाले कार्यक्रमको विश्लेषण र परिचर्चा आवश्यक भएको होइन । खासमा यी युवा नेताहरुले पटक–पटक गरेको खबरदारी र आलोचनात्मक चेतनाकै कारण पनि यो कार्यक्रमको विश्लेषण गरिनुपर्छ ।

कार्यक्रमको सकारात्मक पक्ष के छ भने यसले बिर्सदै गएका मार्क्सलाई सम्झेको छ । कम्युनिष्ट नामधारी पार्टीले हाँकेको देशमा मार्क्स, लेनिन, माओ, फिडेल क्याष्ट्रो, चे ग्वेभारा उच्चारणसम्म पनि हुन्नन् । वर्गसंघर्ष कुन चराको नाम हो भन्ने जस्तो भएको छ । कम्युनिष्ट सिद्धान्त मार्क्सवाद, लेनिनवाद त झनै चासोको विषय नै होइन । यो खडेरीको बेलामा भुसाल समूहको कार्यक्रम सिमसिम वर्षा जत्तिकै महत्त्वपूर्ण बनेको छ । यस कार्यक्रमले मानिसमा एकखालको चासो बढाइदिएको छ । फेरि पनि मानिसहरु कम्युनिष्ट सिद्धान्तबारे कुरा गर्न थालेका छन् । कार्यक्रममा भर्खरका विद्यार्थीदेखि साधारण किसानहरुको सहभागिता थियो । तिनीहरुमध्ये धेरैले कम्युनिष्ट घोषणापत्र किनेका थिए । यो नै कार्यक्रमको एउटा सकारात्मक पक्ष हो । यसले कम्तीमा समाजवादप्रति आकर्षण बढाएको छ । मार्क्सवादप्रति चासो बढाएको छ ।

यति हुँदा हुँदै पनि केही प्रश्न बाँकी नै छन् । यदि यी प्रश्न आज उठाइन्नन् भने बहसको यो सिलसिला पनि एकोहोरो हुने सम्भावना उत्तिकै हुन्छ । केही प्रश्न यस्ता छन्:

१) घनश्याम भुसालको प्रसिद्ध कृति ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति’ पढ्दा के महसुस हुन्छ भने उनी सामाजिक जनवादमाथि बढी विश्वास राख्छन् । राज्यको उत्पत्ति र राज्यको प्रकृतिबारे उनी बढी मनोगत लाग्छन् (जसबारे प्रशस्त विमर्शको जरुरी छ) । के आज मार्क्सवादप्रति चासो राख्न थालेका युवाहरु शुरुबाट नै सामाजिक जनवादको बाटो हिँड्दैछन् ? के सामाजिक जनवाद नै आजको मार्क्सवाद हो त ?

२) विजय पौडेल र घनश्याम भुसाल मदन भण्डारीकृत जनताको बहुदलीय जनवाद (जबज)को स्कुलिंगबाट आएका हुन् । राम कार्की एक्काइसौं शताब्दीको जनवादबाट । पौडेल र भुसाल माओविचारधारा पनि भन्न रुचाउन्नन् (भुसाल आफ्नो पुस्तकमा लेनिनवाद भन्न नहुने र लेनिनवादी बन्न नहुने तर्क गर्छन्)। कार्की भने माओविचारधारा नभई माओवादलाई स्वीकारेर सशस्त्र संघर्षबाट आएका हुन्  (माओविचारधारा र माओवादबारे कम्युनिष्ट आन्दोलनमा भएको बहस सम्झौं)। नयाँ बाटोको खोजीको क्रममा के यिनीहरु पुराना स्कुलिङका प्रभावबाट मुक्त हुन सक्छन् ?

३) पौडेलले मन्तव्यको क्रममा भनें— ‘क्रान्ति उत्पादन सम्बन्धको हेरफेरको बिन्दु हो ।’ उनको आशय राजनीतिक फेरबदल थियो । उनकै परिभाषालाई स्वीकारेको खण्डमा पनि एउटा गम्भिर प्रश्न खडा हुन्छ । अहिलेको शासनसत्ता कुन वर्गको प्रतिनिधित्व गर्दछ  ? के यसले नवउदारवादलाई नै अंगीकार गरिरहेको छैन र ? अनि कार्यक्रममा पटक–पटक उच्चारण गरेको समाजवादको आकार के हो ? के त्यसले निजी सम्पत्तिको उन्मुलन, शोषणको अन्त्यलाई आफ्नो कार्यक्रम बनाउन सक्छ ? के त्यसले समीर अमीनले भनेजस्तो डिलिंकिङको बाटो हिंड्न सक्छ ? एकातर्फ नवउदारवाद, दलाल वर्गको सत्तापक्षीय समीकरण, आसेपासे पूँजीवाद अर्कोतर्फ कम्युनिष्ट नामको हो–हल्ला, के यसको विकल्पको पक्षमा दह्रो पाइला अडाउन भुसाल-कार्की समुहले बनाएको मैदान पर्याप्त छ ?
के साँच्चै यिनीहरु कम्युनिष्टको नाममा भइरहेको चरम आसेपासे पूँजीवाद अभ्यासको विरोधमा छन् ? के साँच्चै यिनीहरु दलाल पूँजीवादको विरोधमा संघर्ष गर्न तत्पर भएरै आलोचनात्मक भईरहेका छन् ? वा, राज्य सत्ता र पार्टी सत्तामा सहभागी हुन नसकेको वा नपाएको रोषमात्र प्रकट गर्दैछन् ? 

४) कार्कीले शिक्षा र स्वास्थ्यमा नेकपा केन्द्रीय सदस्यहरु र उपसचिवहरुको लगानी हुन नहुने विषय उठान गरे जसले प्रशस्त ताली पनि पायो । तर उनले शिक्षा र स्वास्थ्यको राष्ट्रीयकरणको प्रष्ट उच्चारण गर्न किन सकेनन् ? अहिले शिक्षा र स्वास्थ्यलाई पूँजी निर्माणको एक स्रोतको रूपमा बुझिएको छ । त्यसैले यसमा निजी लगानीलाई छुट दिइएको छ । जनताका आधारभुत आवश्यकता र मौलिक हकको विषयलाई पूँजी निर्माणको स्रोतको रूपमा लिनु उदारवादी पूँजीवादको मान्यता हो । मार्क्सवादको प्रचार-प्रसार गरिरहेकाले मूल कारकमै प्रश्न गर्न किन डराउने ? शिक्षा र स्वास्थ्यलाई पूँजी निर्माणको स्रोतको रूपमा लिइसकेपछि त निजीकरण हुनु स्वभाविक हो । नियन्त्रित पूँजीवादले शिक्षा, स्वास्थ्य वा केही विषयहरू राज्यकाे मातहतमा राख्छ । तर नवउदावादले सामाजिक सुरक्षाका विषय पनि मुनाफाकाे साधन ठान्छ । नवउदारवाद मान्ने तर लगानीमा बन्देज लगाउने कसरी मिल्छ ?  नियन्त्रित पूँजीवादले नै सिन्डिकेट, कार्टेलिङ बढाउने हो । अन्ततः सिमित शक्ति समूहको हातमा स्रोत पुर्याउने हो  । त्यसैले जरोमै प्रहार आवश्यक छ ।  (नेपाली राज्य निर्माणमा पूँजी निर्माणको स्रोतमा कब्जा, स्वामित्वको सिमित वितरण त्यसले जन्माएको वंशीय शासन र हालसम्म त्यसको निरन्तरताबारे विस्तृत चर्चा आगामी लेखमा गरिनेछ- सं.)

५)  त्यस्तै कार्कीले पटक-पटक कम्युनिष्ट पार्टीको क्रान्तिकरणको आवश्यकता रहेको धारणा राखे तर उनले क्रान्तिकरणको प्रस्थान बिन्दु के हो भन्ने खुलाउन सकेनन् वा चाहेनन् । नक्सै बिनाको अमूर्त यात्राले कुनै पनि बेला बाटो मोड्न सक्छ, आशंका वा प्रश्न किन नगर्ने ?

६) घनश्याम भुसालको मन्तव्यको सार पार्टी भित्रको आन्तरिक लोकतन्त्र थियो । भुसाल, कार्की र पौडेलको मन्तव्यको सार नै पार्टी र सरकार जनताबाट टाढिन हुँदैन, एउटा स्वार्थ समूहबाट बन्दी बन्नुहुँदैन, हिजो हामीले चुनाव जित्नकै लागि पैसा खर्च गर्यौं त्यो प्रवृत्ति हटाउनुपर्दछ भन्ने थियो । खासमा के कारणले यी युवा नेताहरु यति बिध्न असन्तुष्ट र आलोचनात्मक भइरहेका छन् ? के साँच्चै यिनीहरु कम्युनिष्टको नाममा भइरहेको चरम आसेपासे पूँजीवाद अभ्यासको विरोधमा छन् ? के साँच्चै यिनीहरु दलाल पूँजीवादको विरोधमा संघर्ष गर्न तत्पर भएरै आलोचनात्मक भईरहेका छन् ? वा, राज्य सत्ता र पार्टी सत्तामा सहभागी हुन नसकेको वा नपाएको रोषमात्र प्रकट गर्दैछन् ? (माफ गर्नोस्, यहाँ आक्षेप लगाउन खोजिएको ह्वैन, प्रश्न मात्र गरिएको हो । प्रश्न सचेतना, विवेचना र निष्कर्ष निर्माणको पहिलो विन्दु हो ।)

यदि उनीहरु साँच्चै आलोचनात्मक छन् भने केन्द्रीय कमिटिको बैठकमा कति नोट अफ डिसेन्ट लेख्छन्, कति वैकल्पिक कार्यक्रमहरु पेश गरेर सरकारलाई खबरदारी र सचेत पार्छन् भन्ने आगामी दिनले नै पुष्टि गर्लान् । खासमा कति सघन अन्तरपार्टी संघर्ष चलाउँछन् भन्नेले यी युवा नेताको परीक्षण हुनेछ ।
एकोहोरो बगेको केपी ओली मार्काको समय खोलाको विपरीत जाँगरका साथ उभिएकामा धन्यवाद तर तपाईहरु पनि प्रश्न, आशंका र अवलोकनबाट टाढा हुनुहुन्न ।

मार्क्सको जीवनी पढ्न, पढाउन र प्रकाशन गर्न खासै अप्ठ्यारो छैन । अप्ठ्यारो त पूँजीवादका सबै स्वरूपबाट अलग्गिएर समाज परिवर्तनको बाटो खन्नु हो । त्यसो त जर्मन विचारधारामा मार्क्सले भनेकै छन् - अहिलेसम्मका दार्शनिकहरूले समाजको व्याख्या मात्र गरेका छन् तर मुख्य काम त समाज बदल्नु हो ।


Comments

  1. विचारधारामा मार्क्सले भनेकै छन् - अहिलेसम्मका दार्शनिकहरूले समाजको व्याख्या मात्र गरेका छन् तर मुख्य काम त समाज बदल्नु हो ।

    ReplyDelete

Post a Comment