डोल्पाको दुःख

दशकौंदेखि बाहिरियाहरूको भरमा चलेको वा चल्न बाध्य डोल्पाले कहिले बुझ्ला कि डोल्पाबासी नै डोल्पाका आफ्ना हुन् ! डोल्पाको मुहारमा मुस्कान अवतरित गराउन कसैले सक्छ भने डोल्पाबासीले मात्रै सक्छन् । तर कहाँ छ डोल्पाको मुस्कान ? 


गिरि श्रीस मगर




ऋषि आजादको स्ट्याट्स 


सन् २०१८ अगस्त २८  तद्नुसार विसं. २०७५ भाद्र १२ गते । बिहान ११:३१ मा विश्रुत लेखक, पत्रकार  एवं बुद्धिजीवी ऋषि आजादले सामाजिक सञ्जाल (फेसबुक)मा एउटा स्ट्याट्स पोष्ट गर्नुभयो । सामान्य मानिसको स्ट्याट्स भए ‘गफ देको’ होला भनी वास्ता गरिदैनथ्यो तर मित्र आजादको गम्भीर स्ट्याट्सलाई उपेक्षा गर्न सकिएन । त्यो स्ट्याट्सले मलाई हिमाली जिल्ला डोल्पा सम्झिन बाध्य पार्यो । 

स्ट्याट्सको पेटबोलीले भन्थ्यो– ‘सत्ताधारी नेकपाका वामदेव गौतम नामधारी सत्ताका कामदेवलाई संसदमा गई गाडीमा झण्डा हल्लाउँदै हिड्ने राजसी जङ चल्यो । त्यसैले ती कामरुपी नेता जनताको भारी मत पाएर विजयी भएका डोल्पाका सांसद धन बहादुर बूढालाई राजीनामा गर्न लगाई आफू त्यहाँबाट उपनिर्वाचनमा उठेर जित्ने दुरभिसन्धि गर्दैछन् । त्यो गर्नु जनताप्रतिको गद्दारी हो ।’

                 भेरी किनारमा अवस्थित डोल्पा सदरमुकाम दुनै          सबै तस्विरः लेखक स्वंय

दुःखको परम्परा


अनुहारबाट मानौं कसैले बलात् खोसिलगेको छ मुस्कान ! र, त्यहाँ टाँसिदिएको छ रोइरहेको दुःखको मुखौटा ।

झोला बोकेर स्कूल हिंडिरहेका नानीहरू, दाउराको भारी बोकेर बजार हिंडिरहेका भरियाहरू, काममा हिंडिरहेका कर्मचारीहरू, वनतिर हिंडेका गृहणीहरू, दोकान कुरेर बसेका व्यापारीहरू, भारी बोकेर कुँदिरहेका खच्चरहरू ! कसैको अनुहारमा छैन मुस्कान र उज्यालो ।

दुःखले थिचिरहेको जस्तो यो दृश्य डोल्पाको हो ।

मंसिरको पहिलो साता म डोल्पामा थिएँ । यस अघि जुम्ला घुमिसकेको हुनाले कर्णालीको दुःखसँग थोरै भए पनि परिचित थिएँ म ।

जाडो लागिसकेको थियो । हिमालको काखमा अवस्थित साल्दाङ, तिन्जे, मुर्सी गाउँ, काराङ, छार्का लगायतका गाउँहरूबाट जाडो छल्न सदरमुकाम दुनैतिर झर्ने क्रम सुरु भैसकेको थियो । खच्चड र चौरीका बथान लिएर हिमालका फेंदबाट झरेका मानिसहरू सानो भेरीका किनारमा पाल टाँगेर बस्न सुरु गरिसकेका थिए ।

हामीलाई पुग्नु थियो उपल्लो दुनैस्थित डोल्पा साना जलविद्युत केन्द्रमा । दुई सय किलोवाट क्षमताको यही जलविद्युत् केन्द्रले सदरमुकाम, वरिपरिको क्षेत्र तथा जुफाललाई विद्युत् वितरण गर्दै आइरहेको थियो । तत्कालीन ‘जनयुद्ध’को घानमा दुईपटक विष्फोटमा परेर घिटिक घिटिक हुँदै चलेको ‘पावर हाउस’ दुई वर्षदेखि आधा क्षमतामा चल्दै आएको थियो । एक नम्बर युनिटको जेनेरेटर रिवाइन्डिङ र कन्ट्रोल रिले प्यानलहरू अपग्रेड गरी दुबै युनिटलाई समानान्तरमा चलाउन ओभरसियर भाइ भक्तबहादुर झेंडी मगरलाई लिएर म त्यहाँ पुगेको थिएँ ।



कोही टिक्दैनन् डोल्पामा ! सीडीओ, एलडीओ, अन्य सरकारी कार्यालयका हाकिमहरू, इन्जिनियर, डाक्टर र शिक्षकहरू ! यी सबै वर्षमा ६ महिना त ‘तल’तिरै हुन्छन् । छुट्टी बस्नु वा सुगमको काजमा जानु यहाँको परम्परा नै हो ।


हामी पुग्नुभन्दा केही दिन पहिले दुनै पुगेका रहेछन् तत्कालीन उर्जा मन्त्री जनार्दन शर्मा । विद्युत केन्द्रसम्म पुगेर निरीक्षण गर्ने कार्यक्रम पनि तय भएछ । कर्मचारीहरू माला र फूलका गुच्छा लिएर बसेछन् तर काठमाण्डौको लोडसेडिङ हटाउने अभियानमा व्यस्त मन्त्री आखिरीमा ‘पावर हाउस’ गएनन् ।

सदरमुकामको १७ घण्टे लोडसेडिङ ! सदरमुकामबाट चार दिन हिंडेर मात्र पुगिने गाउँहरूमा युगौंदेखि व्याप्त अन्धकार ! त्यो अन्धकारले छुन सकेन मन्त्रीलाई ! स्वभाविक छ– डोल्पाको अँध्यारोभन्दा काठमाण्डौ, दिल्ली, थाइल्याण्ड वा सिंगापुरको उज्यालो चित्ताकर्षक हुन्छ मन्त्री नेताहरूका लागि ।

हो त नि ! कोही टिक्दैनन् डोल्पामा ! सीडीओ, एलडीओ, अन्य सरकारी कार्यालयका हाकिमहरू, इन्जिनियर, डाक्टर र शिक्षकहरू ! यी सबै वर्षमा ६ महिना त ‘तल’तिरै हुन्छन् । छुट्टी बस्नु वा सुगमको काजमा जानु यहाँको परम्परा नै हो । जसोतसो दुई वर्ष कटाउनु यिनलाई ‘महाभारत’ हुन्छ । सक्नेले कटाउँछन् र भाग्छन् । नसक्नेले काठमाण्डौको ‘बल’मा सरुवा माग्छन् ।

कर्णालीका नाममा आइएनजीओ र एनजीओ चलाउनेहरू भने वनभोज हिंडेको शैलीमा डोल्पा पुग्छन् । बेरोजगारीले थङथिलो भएका युवालाई स्थानीय नेताहरूको सिफारिसमा ‘राम्रै’ तलबसहित रोजगारी दिन्छन् । काम सम्झाउँछन् । रिपोर्ट बनाउने तरिका सिकाएर राजधानी फर्किन्छन् ।

कोही छैन डोल्पाको आफ्नै भन्नू ! सबै बाहिरका हुन् । डोल्पाको दुःखसँग तिनको कुनै साइनो छैन । तिनलाई डोल्पाको दुःखभन्दा आफ्नै दुःख अजङ्गको लाग्छ । तिनले त मात्र जागीर खानु छ । ‘राजाको काम, कैले जाला घाम’ नै तिनको मूलमन्त्र हो ।

डोल्पाको छैन आफ्नै सीडीओ ! छैन आफ्नै एलडीओ । छैनन् लेक्चरर, हेडमास्टर र मास्टर ! छैनन् आफ्नै डाक्टर र इन्जिनियर ! न छन् आफ्नै सुडेनी दिदी र नर्स बहिनीहरू !

दशकौंदेखि बाहिरियाहरूको भरमा चलेको वा चल्न बाध्य डोल्पाले कहिले बुझ्ला कि डोल्पाबासी नै डोल्पाका आफ्ना हुन् ! डोल्पाको मुहारमा मुस्कान अवतरित गराउन कसैले सक्छ भने डोल्पाबासीले मात्रै सक्छन् । तर कहाँ छ डोल्पाको मुस्कान ?

अलिकति मुस्कान ‘माननीय’को वरिपरि घुम्दै काठमाण्डौ गएको छ । अलिकति मुस्कान ‘हुने खाने’हरूसँग नेपालगञ्ज वा सुर्खेततिर गएर बसेको छ । अलिकति मुस्कान जाडो छल्न प्लेन चढ्न जुफालमा आएर थुप्रिएको छ । हिमालको काखमा कक्रिएर बसेका गाउँहरूको मुस्कान भने भोक, शोक, पीडा र गरिबीमा पुरिएको छ ।

डोल्पालाई हिमालको सौन्दर्यसँग जोडेर हेरिन्छ । शे–फोक्सुन्डोको कञ्चन सौन्दर्यमा यसको प्रतिविम्व खोजिन्छ । यार्साको ताकतमा यसको शक्ति नापिन्छ । के डोल्पा सुन्दर, सम्पन्न र शक्तिशाली छ ?


देश विदेशका दलालहरूले कमाइरहेछन् अमूल्य यार्साबाट । डोल्पाको स्याउ सुकुटी बनेर प्लास्टिकमा कोचिन बाध्य छ । अलिकति आलु र सिमी, अलिकति जौ र कोदो, ‘हो कि हो कि जस्तो’ अलिकति धान र मकैले केही महिना प्राण धान्न पुगे पनि खाद्य संस्थानमा घण्टौं उभिनु र धेरै जसो रित्तै हात फर्किनुको विकल्प छैन डोल्पासँग !

अझै पनि खच्चरकै पिँठ्युमा


सिजन लागेपछि डोल्पामा हलचल हुन्छ । स्कुले नानीहरूसमेत किरा (यार्सा) टिप्न लगिन्छन् ! किराको खरीद विक्री गर्न व्यस्त हुन्छ डोल्पा ! तर किन त्यो आम्दानीले फेरिरहेको छैन डोल्पाको मुहार ! त्यो आम्दानी वर्षभरिको नुन तेल जोहो गर्न पनि किन पर्याप्त भइरहेको छैन ? किन झनझन कमजोर हुँदै गइरहेछ डोल्पा ?

देश विदेशका दलालहरूले कमाइरहेछन् अमूल्य यार्साबाट । डोल्पाको स्याउ सुकुटी बनेर प्लास्टिकमा कोचिन बाध्य छ । अलिकति आलु र सिमी, अलिकति जौ र कोदो, ‘हो कि हो कि जस्तो’ अलिकति धान र मकैले केही महिना प्राण धान्न पुगे पनि खाद्य संस्थानमा घण्टौं उभिनु र धेरै जसो रित्तै हात फर्किनुको विकल्प छैन डोल्पासँग ! अथाह प्राकृतिक सौन्दर्यले पूर्ण भए पनि डोल्पाको देह भने कुपोषणग्रस्तजस्तै छ ।

शे–फोक्सुण्डोको फोटो खिचेर ‘डोल्पो सौन्दर्य’ को शीर्षकमा अखबारमा छाप्ने वा सामाजिक सञ्जालमा शेयर गर्नेहरूले फोक्सुण्डोजस्तै गहिरो वा सानो भेरीजस्तै नागबेलीयुक्त दुःख बारे नबोलेको देख्दा भने अचम्म लाग्छ !

मुलुकका महानगर र नगर–सभ्यताउन्मुख सहरहरूमा अनेकन आन्दोलन र ‘जनयुद्ध’को सिलसिलामा राजामहाराजाहरूको सालिकहरू तोडिएको, भत्काइएको र उखेलिएको देखिएकै हो तर सदरमुकाम दुनैको केन्द्रमा राजा वीरेन्द्रको सालिक भने साबुत रहेछ । इतिहास भनेको इतिहास नै हो । नानीहरूलाई इतिहासबाट वञ्चित गर्नु हुँदैन भन्नेहरूका लागि त्यो एउटा राहतको विषय हुन सक्छ ।


                                राजा विरेन्द्रको शालिक               
तर सालिक ! सालिक जीर्णताको उत्कर्षमा छ । सालिक घरको छानो पुरानिएको छ ! चौघेरा भत्किएको छ ! वरिपरि खच्चरको मलमूत्र र फोहर थुप्रिएको छ । सालिकको छेउमा मगन्तेहरूले थोत्रा बोराहरू राखेका छन् । मगन्तेहरूले शायद रातभरि संवाद गर्दा हुन् सालिकसँग ! हो, इतिहास भनेको इतिहास नै हो । तर इतिहासको यस्तोे दुर्दशा कमै मात्र देख्न पाइन्छ ।

सदरमुकाम दुनैमा इतिहासको मात्र दुर्दशा देखिदैंन । दुर्दशा वर्तमानको पनि त देखिन्छ ! कारुणिक लागेको एउटा दृश्य हेरौं–

दुनै पुगेको दिन मध्यान्ह अबेला होटेलमा खाना कुरिरहेका बेला किशोर वयका एक जोडी आए । किशोरीको पिठ्यूमा यौटा बालक थियो र किशोरको हातमा यौटा पुरानो झोला । तिनका अनुहारमा प्रशस्त भोक, प्यास, निराशा र थकान देखिन्थ्यो । बालक बिमारी र कुपोषणले ग्रस्त थियो । उसलाई पोषण र उपचार चाहिएको थियो ।

शायद तिनीसँग खान र उपचार गर्न पुग्ने पैसा थिएन । तिनले एक गिलास चिया र यौटा पाउरोटी मागे । बालक खान सक्दैनथ्यो तर आमाले खुवाइदिने प्रयत्न गर्थी । धेरै प्रयत्न पछि बालकको पेटमा केही घुटको चिया र थोरै पाउरोटीको टुक्रा पर्यो । बाँकी चिया र पाउरोटी आमाले खाई ।

किन त्यो बालकले उपचार पाइरहेको छैन ? भोकप्यासले क्लान्त त्यो जोडीले किन भातदाल माग्न सकेनन् ? तिनको स्वभाविक तेज, मुस्कान र सपना कसले खोसिरहेको छ ? कसले खोसिरहेको छ बालकको अबोध मुस्कान ? कसले लुटिरहेको छ आमाको छातीबाट निसृत हुने दूधको धारा ?

त्यो जोडी र बालकसँगको भेट डोल्पासँगको पहिलो भेट थियो । डोल्पाले आफ्नो पहिलो परिचय त्यसरी दिएको थियो मलाई ।

किशोर वयमा नै अनुहारमा पचास वर्षीय उमेरको पीडा लिएर खानाको विकल्पमा चिया र पाउरोटी रोज्न विवश किशोर जोडी ! चियाले पाउरोटी निल्न बाध्य कुपोषणग्रस्त तिनका शिशु ! डोल्पाको वर्तमानको विम्व !

सन् २००० को २५ सेप्टेम्बर राति तत्कालिन नेकपा (माओवादी) ले सदरमुकाम दुनैमाथि पहिलो ठूलो आक्रमण गर्यो । १४ प्रहरी मारिएका, ४० भन्दा धेरै घाइते भएका र बैंकबाट ६ करोडभन्दा बढी रकम हात पारिएको त्यो घटना तिनका लागि उल्लेखनीय सफलता थियो । त्यो किन पनि महत्वपूर्ण थियो भने तिनले केही घण्टा भए पनि सदरमुकामका सबैजसो अड्डा कब्जा गरेका थिए ।

यसरी नेकपा (माओवादी) लाई डोल्पाले ऐतिहासिक सफलता दिएको थियो । जनयुद्धलाई थप गति दिएको थियो तर दशकौंपछि पनि डोल्पाको मुहार किन फेरिएन ? डोल्पाको प्राण अहिलेसम्म पनि किन खच्चरको पिठ्यूमा नै ओहरदोहर गर्न बाध्य छ ? किन केही घण्टा पनि टिक्न सक्तैनन् मन्त्रीहरू डोल्पामा र उड्न हतारिन्छन् काठमाण्डौ ?

नेकपा (माओवादी) लाई डोल्पाले ऐतिहासिक सफलता दिएको थियो । जनयुद्धलाई थप गति दिएको थियो तर दशकौंपछि पनि डोल्पाको मुहार किन फेरिएन ? डोल्पाको प्राण अहिलेसम्म पनि किन खच्चरको पिठ्यूमा नै ओहरदोहर गर्न बाध्य छ ? 


                                                                                       भेरीको किनारैकिनार                                                  



आवरणमा सौन्दर्य,आत्मा विदीर्ण


जाँदा त नेपालगञ्जमा ५ दिन कुरेरै भए पनि जहाज पाइएको थियो तर फर्किदा समयमै जहाज पाइने कुनै सम्भावना नै थिएन । मौसम बिग्रेकाले केही दिनदेखि जहाज नै आएको थिएन । केही पर्यटकहरू र अधिकांश स्थानीयहरू ‘तल’ झर्न जुफालमा कैंयौं दिनदेखि जहाज कुरेर बसेका थिए ।

आकासमा उड्नुभन्दा जमीनमा हिंड्नुमा मज्जा लाग्छ मलाई । जमीनमा हिंड्दा कहाँ ठेस लाग्न सक्छ भन्ने अनुभव हुन्छ नि ! धरतीमा हिंड्दा नै थाहा हुन्छ नि धरतीको दुःख ! त्यसैले जुफालको कुनै होटेलमा अनिश्चित समयका लागि झिंझिदैं बस्नुभन्दा हिड्नु राम्रो छ भनी भक्त भाइलाई ‘कन्भिन्स’ गरेँ ।

मङ्सिर २० गते हामी हिड्यौं । व्यक्तिगत सामान र टुल्सट्याकल्सहरूले गर्दा भारी गह्रुंगो नै थियो तैपनि त्यो भारीले हामीलाई हतोत्साहित बनाउन सकेन ।

निर्माणाधीन सडक
जुफालको फेंद भित्तीबाट शुरु भयो हाम्रो यात्रा । सानो भेरीको किनारै किनार त्रिपुराकोट, ल्याहा हुँदै ५ घण्टा हिंडेर बास बस्न पुग्यौं डोल्पाको खादाङमा । खादाङदेखि त्रिवेणीसम्म मोटर बाटोको ट्रयाक खोल्ने काम भइरहेछ अहिले । चट्टाने पहाडमा ट्रयाक खोल्ने काम साँच्चै सकसपूर्ण छ तर तिनै पहाडको फेंदबाट बगिरहेको भेरीको अविरल गतिजस्तै बढिरहोस् त्यो काम ! यो बाटो बन्यो भने डोल्पाको आधा दुःख ढलिजानेछ ।

भोलिपल्ट बिहानै हिंडेको हामी चट्टाने पहाडमा खोलिदै गरेको ट्रयाक पछ्याउँदै, कतै चार हात खुट्टाले हिंड्दै त कतै आङ नै सिरिङ्ग पार्ने पहराहरूमा झुण्डिदै नौ बजेतिर पुग्यौं रुकुमको त्रिवेणीमा । त्यसपछि कहिले जीपमा, कहिले पैदल गर्दै गोतामकोट, तल्लु बगर, राडीज्यूला, सीमबजार, छेपारे हुँदै बास बस्न पुग्यौं जाजरकोटको रिम्ना बजार ।

हिमाली चुचुरा, प्राचीन र दुर्गम गाउँहरू ! लोभलाग्दा वन्यप्राणीहरू, मनमोहक बौद्ध गुम्बा र ताल तलैयाहरू ! यिनै हुन् डोल्पो आवरणका सौन्दर्य । यो सौन्दर्य देखेका छन् देशविदेशका धेरैले तर डोल्पाको आत्मा छाम्नु पर्नेहरूले टेकेका छन् यसको माटो ?

डोल्पाली पत्रकार विष्णु बूढाले छाप्दै आएको ‘हिमाली सुस्केरा’ सुनेको छ सिंहदरबारले ?

स्ट्याट्सको अन्तिम दुई वाक्य


हिमाली सिरेटोको अनुभूतिसँगै झण्डै तीन साता तिम्रो न्यानो काखमा बसेर कडा मिहिनेत पछि तिम्रो पोल्टामा अलिकति उज्यालो थपिदिएका थियौं डोल्पा ! त्यो उज्यालो नानीहरूको आँखालाई दियौ ? नानीहरूलाई त्यही उज्यालोमा अक्षरहरू छिचोल्न  सघायौ ?

डोल्पा ! तिम्रा नानीहरूले अक्षरहरू नछिचोलेसम्म, युगौंदेखि तिमीलाई थिचिबसेको दुःखलाई छिचोल्न सकिने छैन । डोल्पा ! नानीहरूलाई आफ्नो माटोलाई प्रेम गर्न सिकाऊ !

सत्ताप्रति अति आसक्त ‘कामदेव’हरूले तिम्रा विरुद्धमा रच्ने दुरभिसन्धिहरूलाई पर्दाफास गर्न यहाँ हजारौं लाखौं ऋषि आजादहरू तैनाथ छन् । तिनका कलम कुनै पनि सत्ताले भाँच्न सक्ने छैन ।

डोल्पा ! हेर त, ऋषि आजादको स्ट्याट्सको अन्तिम दुई वाक्यहरू ! शक्तिशाली छन् ती वाक्य । किनभने त्यहाँ तिम्रै आवाज बोलिएको छ ।

‘बर्दियामा हारेको मान्छेले डोल्पामा जित्छ भन्ने केही छैन ।
डोल्पालीले तपाईंलाई हराउनु पनि पर्छ ।’

Comments