क्यान्टिन गफ: जता निरमाया उतै रमाइलो

गीतको तरंगले क्यान्टिनको वातावरण ढाकिदियो । कताकता नस्टाल्जिया बल्झिन थाल्यो । तुफान पनि मौन थियो । मुना दिदी पनि चुप । गीतको लहरमा सबै पौडिरहेथे सायद । अपवाद नस्मामात्रै ।



अर्काइभ

लक्ष्मण श्रेष्ठ

(प्रसंगलेः 
पाँच वर्ष भइसकेछ यो लेख लेखेको पनि । त्यतिबेला साप्ताहिक स्तम्भ लेख्थेँ म । स्तम्भ लेखनको शुरूवात भएको थियो बुटवलबाट  प्रकाशन हुने लुम्बिनी दैनिकबाट । उक्त पत्रिकामा हरेक बिहिबार मेरो स्तम्भ छापिन्थ्यो। त्यतिबेला लुम्बिनी दैनिकका कार्यकारी सम्पादक प्रदिप आचार्यको सल्लाहमा स्तम्भ थालेको थिएँ । स्तम्भको नाम थियो - क्यान्टिन गफ । स्तम्भ २०६७ चैत २४ बाट शुरू भएको थियो ।  त्यो क्रम ७५ हप्ता चलेछ । २०६९ मंसिर ६ मा पत्रिकाका सम्पादक शेर बहादुर केसीको सल्लाहमा यो स्तम्भ बन्द गरेँ र साप्ताहिक रूपमा राजनीतिक टिप्पणी लेख्न थालेँ । तर, क्यान्टिन गफ लेख्ने लतजस्तै भइसकेको थियो । पढ्न पाउनुपर्यो भन्ने थुप्रै पाठक पनि थिए । त्यसैले २०७० जेठ १८ मा भक्तपुरबाट प्रकाशन हुने  मजदूर दैनिकमा फेरि क्यान्टिन गफ शुरू गरेँ । सायद १३ अंक लेखेँ क्यार । त्यसपछि क्यान्टिन गफ बन्द गरेँ र मजदूर दैनिकमै केही पछि अर्को स्तम्भ शुरू गरेँ - खुला आकाश ।  २०७० फागुन ८ बाट शुरू भएको त्यो स्तम्भ ३५ अंक लेखेपछि २०७१ मंसिर २७ मा बन्द भयो । लेख्ने हुटहुटी भने बन्द भएन । फेरी अर्को स्तम्भ थालेँ, बुटवलबाट प्रकाशन हुने अर्को पत्रिका ‘दैनिक पत्र’मा । नाम थियो - संघारबाट । २०७२ जेठ २७ बाट शुरू भएको त्यो स्तम्भ १३ अंकपछि २०७२ भदौ १८ मा बन्द भयो । त्यसपछि अन्नपूर्ण पोस्ट्मा जोडिन पुगेँ । स्तम्भ लेखनको क्रम पनि हरायो । यो लेखोट ‘मजदूर दैनिक’मा प्रकाशित क्यान्टिन गफको एउटा अंश हो । २०७० असारतिर प्रकाशन भएको हुनुपर्छ, मिति राख्न छुटाएको रैछु । क्याम्पसे विद्यार्थी थिएँ । अहिले आफैले पढ्दा धेरै ठाउँमा सच्याउनुपर्ने देख्छु । तर, यो त पाइलाको डोब न हो । कसरी मेट्न सक्छु ? सच्याउन सक्छु ? जस्तो थिएँ, जसरी सोच्थेँ यहाँ पस्केको छु । यो ब्लगमा स्तम्भ लेखनकालका केही लेख बेला-मौकामा प्रकाशन हुनेछन् ।  - लक्ष्मण )


‘गाउँमा बसी भएन मलाई
जान्छु विदेश विदा देउ अबलाई
फूलको बासना 
मनमा पिर भएनी मायालु 
मुसुक्क हाँस न’

“ओहो ! प्रकाश दाई आज त निकै पुरानो गीत बजाउनुभ’छ है” ढोकाबाट छिर्दाछिर्दै कमेन्ट गरिहालिन् मुना दिदीले ।

बिना शब्द मुस्कानले मात्र जवाफ फर्काए प्रकाश दाईले । क्यान्टिनको बीचैतिरको टेबल कुर्सीमा हामी आसन जमाउन पुग्यौं । झ्यालनेर नस्मा, छेवैमा मुना दिदी । तुफान र म ठ्याक्कै अर्कोतर्फ । नस्मा र म आमुन्नेसामुन्ने ।

चियाका कपहरु आइपुगे । सँगसँगै रिकापीमा राखेर पोलेका मकैहरु पनि ।

“घरबाट आइपुगेको । गाउँको सम्झना ।”, प्रश्न नगर्दै जवाफ दिए प्रकाश दाईले । क्यान्टिनको वुफरमा अर्कै गीत बज्नथाल्यो ।

‘पिंढीमा बसेर मेरै बाटो हेरेर
मेरी आमा रुँदिहुन् मलाई सम्झेर’

गीतको तरंगले क्यान्टिनको वातावरण ढाकिदियो । कताकता नस्टाल्जिया बल्झिन थाल्यो । तुफान पनि मौन थियो । मुना दिदी पनि चुप । गीतको लहरमा सबै पौडिरहेथे सायद । अपवाद नस्मामात्रै । यस्ता गीत नसुनि हुर्केकी हो नी ऊ ।

“लौ तपाईहरु त सबै टोलाउनुभो त” मकैका दाना चपाउँदै बोली नस्मा ।

“किन के भो ?” सोधि पनि हाली ।

“गीतको प्रभाव” तुफानले स्पष्ट पार्यो ।

“साँच्चै ?” अचम्मै पर्दै सोधी नस्माले, “के छ र यी गीतमा ?”

“के छैन र यी गीतहरुमा ?” मुना दिदीले प्रतिप्रश्न गरिन् । भनिन्, “नेपाली पहाडी गाउँको दुःख, सुख, आँसु र थोरै भए पनि उमंगका दस्तावेज हुन् यी गीत ।”

नस्मा चुप भई । हामी फेरी गीतमै ध्यानमग्न भयौं ।

‘आमा रुँदै गाउँबेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा’

लोकबहादुर क्षेत्रीको आवाज र विरहले भरिएको गीतले मुटुमै घोंच्यो । मनमा गीतले निर्माण गरेको दृश्य चलचित्रजस्तै दौडिन थाल्यो । पुरानो, मैलो र ठाउँठाउँमा टालेको चोलो, त्यस्तै पुरानो सारी लगाएर मेलामा हिंडेकी एउटी बुढी आमा । अनि जिन्दगीका सपनाहरु सबै एउटा पुरानो जिनको झोलामा कोचेर गोरखपुरको रेलमा हिंडेको एक किशोर । उफ् ! नेपाली समाजले भोग्दै आएको पुरानो कथाव्यथा ।

“यो रेल त बुझें गाउँबेसी मेलैमा भनेको के हो नी ?” नस्माले सोधी ।

“पहाडी गाउँहरुमा काममा जानेलाई मेलामा जाने भन्छन्” जवाफ दियो तुफानले ।

“ए हो ?” झनै छक्क परी नस्मा । “मेला त रमाइलो गर्ने ठाउँलाई भन्दैनन् र ?”

“हो भन्छन्” जवाफ दिंदै मुना दिदीले भनिन्, “गाउँमा काममा जानेलाई पनि मेला नै भन्छन् ।”

“त्यही त दिदी किन त्यसो भनेको ?” नस्माले जिद्दी गरि ।

“उमम” सोंचमग्न भइन मुना दिदी । निधार खुम्च्याएर सोंच्दा उनी चिन्तक जस्तै देखिन्छिन् । ओंठ टोकिन् । पर क्षितिज तिर हेरिन् । चियाको कप ओंठमा पुर्याइन । एक घुट्की निलिन् । अनि बोल्न थालिन् ।

“हरेक शब्दको आफ्नै इतिहास हुन्छ । यसको पनि आफ्नै इतिहास छ । के हो ठ्याक्कै मलाई थाहा छैन । बस् म अनुमान गर्नसक्छु ।” हामी चुपचाप सुन्दै थियौँ उनलाई ।

“हाम्रा पहाडि गाउँ अतिसाह्रो पिछडिएको आर्थिक अवस्थामा गुज्रिएका छन् । अहिले रेमिट्यान्सले केही फरक ल्यायो होला त्यो बेग्लै कुरा हो । तर पहिले त्यस्तो हुँदैनथ्यो । मान्छेहरु निकै दुःखको जिन्दगी बाँच्दथे । त्यतिबेला सबैजना मिलेर काम गर्न जाँदा पनि छुट्टै रमाइलो हुन्थ्यो । त्यसैले मेला भनेको हुनुपर्छ । एकहिसाबले त्यो श्रमप्रतिको सम्मान पनि हो ।”

दिदीले छोटोमै लामो कुरा गरिन् ।

“तपाईले कस्तो सटिक विश्लेषण गर्नुभो दिदी” तुफानले टिप्पणी पनि गरिहाल्यो । “हो त, गाउँमा काममा जाने भनेपछि कस्तो रमाइलो हुन्छ । आज फलानाकोमा यस्तो काम छ रे भनेपछि सबै जना जान्छन् । गीत गाउँछन् सँगसँगै । सँगसँगै दुःख, सुखको बात मार्छन् । त्यहीं नै नयाँ नयाँ सूचनाको आदानप्रदान हुन्छ ।”

“अनि मलाई लोकगीतबारे पनि बताउनुस् न । मलाई त केही थाहै छैन ।” नस्माले अनुरोध गरी ।

“हो दिदी, लोकगीतबारे केही छलफल गरौं न” तुफानले पनि जोड दियो ।

“लोकगीतबारे त मलाई पनि गफिने मन छ” म पनि के कम ?

“साँच्चै लोकगीत लोकगीत भन्छन् । लोकसँग यसको के सम्बन्ध छ । जानौं न हो ।”

“सुगतले राम्रो प्रसंग उठायौ” फुकाइहालिन् मुना दिदीले । “साँच्चै लोकगीतहरु कसरी जनतासँग जोडिएका हुन्छन् ?”

“लौ यो पनि सोध्ने प्रश्न हो त दिदी ? लोकगीत भनेपछि यसैपनि लोकसँग जोडिइहाल्यो नी ।” बाठी बनी नस्मा ।

“त्यही त कसरी ?” कम छिन र मुना दिदी पनि ? कोट्याइरहिन् । केही विषयबारे पनि छलफल गराउने । मनभित्र गुम्सिएर रहेका धारणाहरु सकेसम्म बाहिर ल्याउन जोड गर्ने त उनको स्वभाव नै हो । एक जमानामा ग्रिकमा प्लेटो भन्ने दार्शनिक थिए रे यस्तै । मान्छेहरुलाई प्रश्न गरीगरी उसको धारणा अभिव्यक्त गर्न लगाउने रे । हाम्री मुना दिदी हाम्रो प्लेटो ।

“अँ, लोकगीतहरुले लोकजीवनका गाथाहरु गाउँछन् त्यसैले नै ती लोकगीत हुन्” तुफानले धारणा राख्न थाल्यो ।

“जस्तै ?” फेरी कोट्याइन मुना दिदीले ।

“जस्तै.......” यसो सोंच्यो तुफानले अनि झ्वाट्ट सम्झेसरी भन्यो, “अघि बजेको गीत नै हेरौं न । के भन्छ ? गाउँमा बसेर अब केही काम पाइएन, अब विदेश जान्छु भनेर केटाले भन्छ । केटाले त्यसो भन्दा उसको मायालुले हुन्छ भनेर सजिलरी भन्ने कुरा त भएन । अनि उसले अनुरोध गर्छ, मनमा पिर भएपनि मुसुक्क हाँस न ।”

“आहा ! कुरा यसो पो ?” मख्खै परि नस्मा पनि ।

“हो त । यसैगरी त जोडिएका हुन्छन् लोकगीतमा लोकका भावनाहरु ।” तुफानले अझै जोड दियो ।

“लोकका भावना मात्रै होइन लोकको वस्तुस्थिती पनि राम्रो चित्रण गरिएको हुन्छ लोकगीतमा” मलाई पनि आफ्ना विचार राख्न मनलाग्यो ।

“जस्तै ?” मुना दिदीले होइन नस्माले कोट्याइ यसपाली ।

“जस्तै आमा रुँदै गाउँबेसी मेलैमा भन्ने गीत हेर न” स्पष्ट पार्ने प्रयास गरें मैले । “के भनेको छ ? आमा छोरो विछोडिएको पिडामा रुँदैरुँदै मेलामा अर्थात् काममा गएकी छिन् । छोरो गोरखपुर अर्थात् भारत गएको छ  । अलि हुनेखाने वर्गका काम गर्न जाँदैनन् । त्यसैले यो काम गरीखाने वर्गको व्यथाको चित्रण हो । यसले नेपाली समाजका तल्लो वर्गको वास्तविक स्थिती चित्रण गर्दछ ।”

“हो, ठिक भन्यौ तुफान र सुगत तिमीहरु दुवैले” प्रशंसा गरिन् मुना दिदीले । भनिन्, “गरिखाने जनताको जीवनबाटै यी गीत सिर्जिएका हुन् । तर त्यतिमात्र होइन । यी गीतमा जीवनका विभिन्न पक्षलाई लोकजीवनका विम्ब र प्रतिक मार्फत् व्यक्त गरिएको हुन्छ ।”

“जस्तै ?” यसपाली कोट्याउने पालो हाम्रो । सोध्यौं तीनैजनाले ।

“जस्तै यो गीत सुन न” वुफरमा बजिरहेको गीततिर ध्यान लगिदिइन उनले ।

‘कता बिसाउँ पिरैको भारी 
मायो हो उकालीमा भेटिन चौपारी
डाँडैको देवी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झि झल्झली’

“यो गीतमा जीवनको अप्ठेरोलाई चित्रण गरिएको छ ।  गीतले भन्छ, जिन्दगी उकालो बाटो जस्तै अप्ठेरो छ । उकालो बाटोमा भारी बोक्ने भरियालाई भारी बिसाउने चौपारी चिनिएको हुन्छ । तर अफसोस् ! जिन्दगीको उकालीमा त्यस्तो चौपारी त कतै छैन । तैपनि आफ्नो मायालुलाई भने सकेसम्म जीवन सजिलो बनाउन अनुरोध छ । त्यसलाई ओरालीको प्रतिक दिइएको छ ।”

“ए यस्तो पो !” नस्माले टिप्पणी गरी ।

“लोकगीतहरुले यसैगरी आम जनताका दैनिक जीवन चित्रण गरेका हुन्छन् ।” मुना दिदीले थप व्याख्या गरिन्, “त्यतिमात्र होइन प्रकृतिको मानवीयकरण गरेर प्रस्तुत गर्ने काम पनि लोकगीतले गर्छन् । तिमीहरुले झलकमान गन्धर्वको डाँफे चराको गीत सुनेका छौ ?”

हामीले टाउको हल्लाएरै नसुनेको बतायौं ।

“ल म तिमीहरुलाई सुनाउँला । करिब बीस मिनेट लामो त्यो गीतमा कसरी लेकको डाँफे चरा जन्मियो, हुर्कियो र मधेसको चरासँग बिहे गर्न आयो अनि बाटैमा अर्कैको कोदो बालीमा पस्दा मर्नुपर्यो भन्ने उल्लेख छ । गजब त त्यो गीतमा प्रयोग भएका विशेषण र क्रियात्मक शब्दहरुले नेपाली भाषा आफैमा कति धनी छ भन्ने जानकारी दिन्छ । हिमालमा हुने डाँफे चरा मधेसमा बिहे गर्न आएको प्रसंगले हिमाल, पहाड र मधेसको आदिकालदेखिको अभिन्न सम्बन्धको चर्चा गर्छ ।”

“हो है ?” हामी छक्क पर्यौं । त्यो गीत त सुनेकै थिएनौं । मुना दिदीले के–के सुन्न, पढ्न भ्याउँछिन् हँ ? ”

“तर दिदी अचेलका लोकगीत भनिने गीतहरुमा त त्यस्तो भाव पाईंदैन त ?” नस्माले जायज प्रश्न गरी ।

“पहिले लोकगीत जनताको माझबाट जनतामै प्रसार हुन्थे । प्रसार गर्ने माध्यम पनि जनस्तरको नै थियो । गन्धर्व जातिले गाउँगाउँमा सारंगीसँगै विभिन्न समाचार, दुःखको गीत, सुखको कथा सुनाउँदै हिंड्थे । जस्तै झलकमान गन्धर्वको चर्चित गीत ‘आमैले सोध्लिन् नी खै छोरा भन्लिन्’ भन्ने गीत पनि त्यसैगरी संकलन गरिएको थियो । तर रेडियो नेपालजस्ता सञ्चारमाध्यमहरुको विकास हुन थालेपछि रेडियो नेपालमा बज्ने मात्रै गीत हुन थाले । गाउँ–गाउँमा गन्धर्वहरुले गाउने मौलिक गीतहरु हराउन थाले । हुँदाहुँदा ‘आमाभन्दा छोरी तरुनी जस्ता’ गीत बनाइए । सञ्चारमाध्यमलाई मध्यम र उच्च वर्गले गरेको दुरुपयोग थियो यो । अहिले त झन् मल्टिनेसनल कम्पनीसँग भित्रिएको उपभोक्तावादी चिन्तनले लोकगीतलाई लोकबाट टाढा पुर्याएको छ ।” मुना दिदीले सटिक टिप्पणी गरिन् । मनमा केही प्रश्न त सिंगै थिए । तर घडीले निस्किन भन्दैथियो ।

निस्कियौं हामी । क्यान्टिनको वुफरमा भने झलकमानको गीत बज्दैथियो–

‘घाँसै काँट्यौ दुई खोली दोभान
हाँसी खेली बिताउँला जोवन 
तानसेन घमाइलो 
जता निरमाया उतै रमाइलो ।’






Comments