प्रसंग ऋषिपञ्चमीकाेः दासता स्वीकार्ने कि स्वतन्त्रताकाे लागि लड्ने ?

महेश नेपाली

ऋषिपञ्चमीमा दँतिवन गर्दै एक महिला । तस्वीर साभारः राताेपाटी अनलाइन
केहि दिन अगाडी स्कुलमा म्याडमहरूले ऋषिपञ्चमीमा बिदा लिने कुरा गरे। अघिल्ला वर्षहरुमा उक्त दिन महिलाहरूलाई बिदा दिइदै आएको थियो। यो वर्ष काटिएका भारी विदाहरूमा ऋषिपञ्चमी पनि हो। हामीले भनेका थियौं ’अब त विदा काटियो त्यो दिन हजुरहरूले विदा पाउनुहुन्न।’ उनीहरू सबैले भनेका थिए ’विदा नपाए के भयो त? हामी आफूले पाउने विदा सुविधा उपयोग गर्छाैं नी।’ ’ऋषिपञ्चमीको दिनपनि को स्कुल आउला त बाई’ एक जनी म्याडले यस्तै भनेकी थिइन।

म आफैलाई ऋषिपञ्चमी के हो भन्ने बारेमा खास थाहा थिएन। म्याडमहरूले आफ्नो विदा काट मतलव भएन तर हामी आउँदैनौं किन भने? किन यति धेरै महत्वका साथ ऋषिपञ्चमीलाई लिइन्छ? मनमा प्रश्नरू खेलिरहेका थिए।

तीजको दिन विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रापती न्यौपानेसँग बजारमा भेट भयो। उनले हरियो झार ल्याएकी थिइन। के होला? भनी खुल्दुली लाग्यो। साधें के हो? भनेर। उनले त्यस झारको नाम आँफामार्काे बताइन। झारको ठाउँठाउँमा गाँठा परेका थिए। किन प्रश्नको उत्तरमा उनले भनेकी थिइन ’हामी छुई भएको बेला घर भन्दा बहिर बसेपनि कतिबेला थाहै नपाई नछुनु पर्नेलाई पनि छोइएको हुन सक्छ, किरा, कमिलालाई छोईएको हुन सक्छ। यसरी नछुनेलाई छोईने हुनाले पाप लाग्छ। त्यसैले ऋषिपञ्चमीको दिन यो आँफामार्काेका तिन सय पैंसट्ठी गाँठालाई टोकेर फुटाएर पुजापाठ गरी नुहाउने हो भने पाप पखालिन्छ।’ उनले ल्याएको आँफामार्काे उनको टोलका सात आठ जना महिलालाई पुग्ने जतिको थियो।

उनले पछि थपेकी थिइन ’कम झ्याउ छ यहाँ।’ त्यो झार जुम्लाको राना राउत भन्ने ठाउँमा सबभन्दा बढी हुन्छ। आजभोली यही समयमा त्यहाँका मान्छे त्यो घाँस बजारमा बेच्न ल्याउने रहेछन्। तिनसय पैंसट्ठी गाँठा लगभग पुग्ने झार किन्न सय रुपियाँ पर्ने रहेछ। उनीसँगै भएकी अर्की महिला बोलिन ’झ्याउ मान्ने भन्दापनि मनमा शान्ति हुने र चलिआएको परम्परालाई निरन्तरता दिने हो। मान्छे मारेको र पुजा पाठ गरेको एकैनासे कहाँ होला त?’

तीजको भोलिपल्ट गणेश चौथिको दिन एकजना एनजीओकर्मीले त्यही आँफामार्काे एक मुट्ठी किनेर घरतिर आइरहेको थिए। उनलाई पनि सोधें यो के हो? भनेर। उनलाई हिनताबोध भएको हुनुपर्छ सायद। उनले त्यति खुलेर बोलेनन्। ’खै??? यो के हो थाहा छैन घरकिले ल्याइदे भनेपछि ल्याइदिएको हो।’ यत्ति भनेर हिँडिहाले।

महिलाकाे प्रजनन क्षमतालाई अपवित्र ठान्ने संस्कृति र चलनहरूलाई सुधार नगरेसम्म समाज अग्रगामी बाटाे तर्फ लम्कने छैन । यसकाे लागि महिलाहरूले मानसिक हिनताबाेधलाई त्याग्नु जरूरी छ । संस्कारकाे नाममा थाेपरिने मानवीय मूल्य, स्वाभिमान  विरूद्धका हरेक प्रचलनलाई  त्याग्नु स्वतन्त्रताकाे लडाईमा लम्कनु हाे । मानसिक दासताकाे जञ्जिर छिनाल्नु हाे 


सोही दिन जुम्ला बहुमुखि क्याम्पसका नेपाली विषयका उप प्राध्यापक विष्णु तिमिल्सिनासँग भेट भयो। प्रसंगवस उनिसँगपनि ऋषिपञ्चमीकै विषयमा छलफल भयो। कुरैकुरामा मैले धर्मशास्त्रमा छाउपडिबारे कँही उल्लेख गरेको छैन भन्ने सुनेको थिए र मेरो बुझाइपनि त्यही बनेको थियो। तर छुई भएको बेलाको पाप कट्टा गर्न भनेर पर्व नै मनाउने चलन नै भएपछि धर्मशास्त्रले त छाउपडिलाई वैधानिकता दिएको प्रष्ट भयो नी भनें। पछि उनले टिप्पणी गरे ऋषिपञ्चमीले महिलाहरूको पक्षमै बोलेको छ। ’दतिवन (सरले आँफामार्काेलाई दतिवन भने। लाग्यो सरले आफ्नो भाषामा भने। सरको घर जुम्ला होइन।)ले दाँत माझ्दा दाँतमा किरा लाग्दैन। खासमा हरेक दिन एउटा दतिवनले दाँत माझ्नु पर्ने हो। त्यो सम्भव नहुने हुनाले अवसर पारेरै एकैपटक यसो गर्नुपर्ने कुरा हो। हामीले पनि दतिवनले दाँत माझ्दा फरक पर्दैन। यो महिलाहरूको विपक्षमा छैन।’ सरले यति भने। उसो भए त्यो झारबाट त गज्जबको मञ्जन बन्ने रहेछ नी। अब लगानीकर्तालाई यसै भनेर फकाउनुपर्ला जस्तो छ सर भनि ठट्टा गरें। त्यसपछि हामी छुट्टियौं।

अब ऋषिपञ्चमी बारे नबुझी भएन भन्ने लागिरहेको थियो। त्यबारे बुझ्न गुगल र केही लेखकहरूको साहारा लिएं। यसबाट बुझियो महिनावारी हुँदा जानीनजानी छोएको पापबाट मुक्त हुन ऋषिपञ्चमीको व्यवस्था गरियो। ३६५ वटा दतिवन टोकेर र गाईको गोबर लगाएर ३६५ पटक नुहाउनुपर्ने संस्कार नै ऋषिपञ्चमी हो भनेर। छुइछाईलगायत कुनै त्रुटि भएको भए अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाउने ’मिथक’, जसले बोकेको ऐतिहासिक महत्त्व भनेकै महिलामाथिको विभेदको वैधानिकता र महिनावारी हुने जस्तो स्वभाविक चक्रमा उमेर प्रवेश गरेसंगै हुने अभौतिक हिंसाको प्रतिक हो, ऋषिपञ्चमी।

सुदूरपश्चिम र मध्यपश्चिमका केही पहाडी तथा हिमाली जिल्लाहरूमा मात्र छाउपडि नामको कुप्रथा ऋषिपञ्चमीको प्रावधानले पुरै देशभरि प्रचलित रहेछ । यसले आम महिलाहरूको मानसिकतामा गम्भिर प्रकृतिले हमला गरेको छ। डरको मनोविज्ञान खडा गरेको छ। जसले महिलाकाे जन्मलाई नै अशुद्ध र अपवित्रकाे रूपमा स्थापित गरेकाे छ ।  पुरुष सत्तालाई निरन्तरता दिने बलियो हतियार बनेकाे छ ।

मध्य तथा सुदूरपश्चिमको छाउपडिलाई निहुँ बनाएर छिरेका एनजिओ र आईएनजिओले धामीझाँक्री र महिलाहरूलाई तालिम दिए। उनीहरूले दिएको तालिम र भत्तामा महिलाहरू केही सक्रिय देखिए। केही ठाउँमा छाउगोठपनि भत्किए पनि।(पछि भत्केका गोठ पुनर्निर्माण गरेका समाचार पनि आए।) पछि एनजीओ र आईएनजीओले रिपोर्ट बनाए। केही मिडियाहरूले त्यसलाई खुबसित प्रचार गरे। महिलाहरूले आफ्नो आवाज दिए ’हामी छुई भएका बेला पनि घरमै सुत्छौं।’ तर उनीहरूले कहिले भनेन् भान्समा बस्छौं, खाना पकाउँछौं, धाराको पानी बोक्छौं, छिमेकीको घरमा निर्बाध आओत जाओत गर्छाैं, पुजा कोठासम्म जान्छौं, मन्दिर पस्छौं, धामीझाँक्रीलाई छुन्छौं, ऋषिपञ्चमीको बेला पाप कट्टाको कर्मकाण्ड पुरा गर्दैनौं।

छाउपडीको विषयमा जति पनि गैरसरकारी तवरबाट गतिविधि भए ती सब सतही छन्। मुल जरोमा प्रहार गरेर छाउपडि उन्मुलन गर्ने प्रयास कहिल्यै भएन। राजनीतिक तवरबाट छाउपडि बिरुद्धको गतिविधि शुन्य प्रायः छ। राजनीतिक पार्टीहरूले नै यसबारे एक शब्द खर्चेका छैनन्। मध्य र सुदूरपश्चिमको छाउपडि जतिको उखरमाउलो छ त्यसरी देशभरको छाउपडि विरुद्धको गतिविधि सरकारी तवरबाट नभएसम्म शासक फेरिए पनि सत्ताको चिरत्र पुरानै भएको प्रमाणित हुन्छ। खासमा राजनीतिक परिवर्तनमात्र क्रान्ति हाेइन । क्रान्तिले सांस्कृतिक परिवर्तन गर्न सक्नुपर्छ । हाेइन भने क्रान्ति वा परिवर्तनकाे उपलब्धि कायम रहँदैन ।

रजस्वला हुनु भनेको पाप हो। पाप पखाल्न सहज हुनेगरी बनाएको महिलामैत्री पर्व ऋषिपञ्चमी हो भन्ने तर्क हिन्दु धर्मका पादरीहरू गर्छन् । उसोभए रजस्वला पछिको प्रजनन परिपक्वतालाई के भन्ने? अहिलेसम्मको मानव सभ्यतालाई के मान्ने? जो रजस्वला पछिमात्र सम्भव छ। किन रजस्वला पछिको सृष्टि पाप भएन? सन्तान प्राप्ति सुख तर रजस्वला किन पाप? रजस्वला जस्तो स्वभाविक चक्रको समयमा किन घर भित्र र बाहिर मानसिक तनाव? दतिवनले दाँतका किरा मार्ने हो भने किन यसको प्रयोग ऋषिपञ्चमी अघिपछि हुन नसकेको? किन पुरुषहरूले यसको प्रयोग नगरेको त? दाँतका किरा हटाउनलाई। यी प्रश्नहरूको उत्तर धर्मग्रन्थले दिएका छैनन् र दिन सक्दैनन् पनि।

महिलाकाे प्रजनन क्षमतालाई अपवित्र ठान्ने संस्कृति र चलनहरूलाई सुधार नगरेसम्म समाज अग्रगामी बाटाे तर्फ लम्कने छैन । यसकाे लागि महिलाहरूले मानसिक हिनताबाेधलाई त्याग्नु जरूरी छ । संस्कारकाे नाममा थाेपरिने मानवीय मूल्य, स्वाभिमान  विरूद्धका हरेक प्रचलनलाई  त्याग्नु स्वतन्त्रताकाे लडाईमा लम्कनु हाे । मानसिक दासताकाे जञ्जिर छिनाल्नु हाे ।

Comments