देश


शंकर भण्डारी 


पेन्टिङः गुगल


देश
सिंहदरबारका बन्द बैठकहरुमा
अवान्छित निर्णयहरुको फेहरिस्त बनेर
एकतमास लडिरहेछ बुँइगलमा
तर उसकै छाती कुल्चेर
कुदिरहेछन् योजना, नीति र नियमनहरु

देश सिंहदरबारमा कैद बाँचेको छ
देश कैदको सिहंदरबार भोगेको छ

किन नमान्ने ?
देश कैदी हो सिंहदरबारको
किन नमान्ने ?
सिंहदरबारले कैदी बनाएको छ देशलाई ?
सिंहदरबारको गफमा छ देश
सिंहदरबारको डिनरप्लेट अनि कपमा छ देश
सिंहदरबार देशको नापकाँट गर्छ
देशको बिल्लाबाँट गर्छ
उसकै
हिसाब किताबले
देशको मोलमोलाई हुन्छ
एउटा देश
न आफ्नै नियति फेर्न सक्छ
न यो दूर्दशा हेर्न सक्छ
अभिसप्त वर्तमान बनेर
भोगिरहेछ कैद
सिंहदरबारको कालकोठरीमा ।

बेसहारा बूढी बज्यैको
फाटेको गुन्यूजस्तै च्यातिएको छ
देश,
विधवा वैशको बाँझो
यौवना जस्तै उजाड छ
देश,
यत्र तत्र सर्वत्र
नाङ्गिएको छ देश
हुल, शुल र तुलहरुमा
टाङ्गिएको छ देश

खरिद–बिक्रीमा
फिक्री–निस्फिक्रीमा
सिक्री–सिक्रीमा
कहिले यता, कहिले उता
सिंहदरबारभित्रै
लतारिंदै छ देश
सिंहदरबारको बन्द अदालतभित्र
कहिले कसको, कहिले कसको
इजलासले
आलोपालो निसाफ फरमान चल्छ
देशलाई,
सिंहदरबारभित्रै
सहिछाप हुन्छ देशको,
न कुनै वाद  न प्रतिवाद
न कुनै बहस हुन्छ न फरियाद
सजाय थप पीडा
भोग्दैछ देशले,
बेहिसाब
मन्त्रीका विफ्रकेशहरुमा
टुक्रिदै छ देश,
बेमतलब
नेताका ह्यान्डचेकहरुमा
लुटिदैछ देश

 देश
सिंहदरबारका फाइलहरुबाट
मिसाइल बनेर सल्किनुपर्छ
पर अलि पर अझ पर
यो हाम्रो भूगोलभरि
छताछुल्ल पोखिनुपर्छ ।

Comments