तिनाउ किनारमा सामाजिक कक्षा

रामचन्द्र श्रेष्ठ


‘सर’ - मलाई यो शब्द सुन्दा कुरीकुरी लाग्छ । हैट ! म पनि सर । सर अर्थात् गुरु । गुरुमा गुरुत्व हुनुपर्छ । गुरुसँग तान्ने क्षमता हुनुपर्छ । गुरुसँग जीवनदृष्टि दिने चेत हुनुपर्छ । तर, म !



बुटवल राजमार्ग चौराहा । यो चोकमा पूर्व-पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग भेट हुन्छन् । त्यहाँबाट उत्तर लागेपछि पुष्पलाल पार्कनेरको चोकमा पुगेर पूर्व-पश्चिम राजमार्ग पश्चिम लाग्छ । सिद्धार्थ राजमार्ग उत्तर लाग्छ, पोखरा पुग्न । तस्विरः लेखक


कक्षाकोठामा चक, डस्टर, ब्ल्याकबोर्ड र केही नक्साचित्रको सहारामा सामाजिक शिक्षा पढाउँदा पढाउँदा दिक्क लागेपछि ‘सोशल टिचर’ रामचन्द्र श्रेष्ठले विदाको दिनमा खुला आकाश मुनि बिना कापीकिताब, चक, डस्टर पढाउने निधो गर्छन् । पाल्पाको चुरे क्षेत्रबाट बग्दै बुटवलको मैदानसम्म आउने तिनाउको तिरमा लगेर उनले सामाजिक कक्षा पढाउँछन्, गफ गरेरै । घुमाएरै । कविता र गीत सुनाएरै, सुनेरै । एक शिक्षकको निकै रमाइलो अनुभूतीः


बिहानी चिसो बतासले केश सुम्सुम्याइरहँदा म राजमार्ग चौराहा पुगिसकेको थिएँ । देख्छु ‘ब्ल्याक फरेस्ट’को पेटीमा समी लगायतको एउटा टोली आइसकेको छ ।

"सर, हामी त ६ बजे नै आएको ।", पुग्नासाथ उनीहरू भन्छन् । अर्थात्, एक घण्टादेखि यहीं छन् ।

मनमा एक धर्सो आनन्दानुभूति बहेर आउँछ । मैले कक्षामा यिनीहरू नै आउँदैनन् होला भन्ने सोचेको थिएँ । म कति हलुका तरिकाले लिँदोरहेछु ! लाज लागेर आयो। धत्, म पनि । मान्छेलाई अनुहारको भावभंगिमा हेरेर सबै बुझिंदैन । भन्छन् नि, ‘यु क्यान्ट जज अ बुक बाइ इट्स कभर ।’

मान्छे त झन् मान्छे हो । यहीं समीलाई हेर । उसको अनुहारमा मैले भावनाका ससाना छालको कुनै संकेत पाउँदिन । कक्षामा पनि अरूलाई चित्त बुझेको नबुझेको अनुहारबाटै अनुमान लगाइरहँदा उसको अनुहारमा म खासै केही देख्दिन् । कस्तो शान्त अनुहार । निर्दोष मुहार । पढाउन शुरु गरेकै केही दिनमा म यो शान्त अनुहार देखेर चित खाएको थिएँ । सोचेको थिएँ, यस्तो पनि हुन्छ मान्छेको अनुहार ? शान्त, निश्चल तलाउ जस्तो । कुनै डाँडामा कसैले नदेखिसकेको शान्त तलाउ जस्तो।

एकछिनपछि केटाहरू आउँछन् । कसै–कसैको हातमा सेल्फी स्टीक पनि छ । एकछिन पछि फेरि अर्को टोली आउँछ । ओहो हेर्दा हेर्दै ठूलै टोली बन्छ । सरोजले सुटुक्क सोध्छ, “दाई यी सबै तपाईंकै स्टुडेण्ट हुन् ?”

गर्वका साथ भन्छु म, “के अरुका हुन्छन् त ?”

तर, आज मलाई ‘सर’ बनिरहन मन लागेको हुँदैन । मलाई साथी बन्न मन लागेको हुन्छ । उमेरको केही अन्तरालको फरक त हो । उमेरकै हिसाब गर्ने हो भने त्यस हिसाबले दाई हुन मन लागेको हुन्छ । दुरीको लामो क्षितिज मेट्न मन लागेको हुन्छ । जहाँ अनुभुतिका सारा कथा पोख्ने वातावरण बनोस् ।

‘सर’ - मलाई यो शब्द सुन्दा कुरीकुरी लाग्छ । हैट ! म पनि सर । सर अर्थात् गुरु । गुरुमा गुरुत्व हुनुपर्छ । गुरुसँग तान्ने क्षमता हुनुपर्छ । गुरुसँग जीवनदृष्टि दिने चेत हुनुपर्छ । तर, म !

लाज लागेर आउँछ । खोक्ने निहुँमा मुख छोप्न मन लागेर आउँछ । आफैसँग आफै भाग्न मन लागेर आउँछ ।

माइक्रो आउँछ । केटाहरूको टोली सरोजसँग पठाइदिन्छु । केटीहरूको टोली बाँकी हुन्छ । कताकता भोक जागेजस्तो लाग्छ । एक प्याकेट बिस्कुट ल्याउँछु । बाँड्न भन्छु । उनीहरू दकस मान्छन् म कर गर्छु । थाहा छ, बढ्ने उमेरका केटीहरूलाई असाध्यै भोक लाग्छ । तर, रहर लुकाउने बानी भएकाले ढाँटी दिन्छन् त कसको के लाग्छ र बाबै ! फेरि माइक्रो आउँछ । हामी चढिदिन्छौ । कण्डक्टर यात्रुको भीडले मख्ख हुन्छ । अनुहार उज्यालिन्छ ।

गोलपार्कमा सबै जोडिन्छौ फेरि । अनि लाग्छौ सिद्धबाबातर्फ । सिद्धबाबाको छेड्को पारेर तिनाउको पानीले स्पर्शित बतास आउँछ । हामीलाई चिस्याउँछ । टिसर्टमात्र लगाएका केही शरीरलाई चिमोटेर जान्छ । म आफ्नो विन्डचिटरको लोभ देखाउँछु । सिद्धबाबाको नजिक पुग्न थालेपछि संरक्षित बिरुवा देखिनथाल्छन् । ती बिरुवालाई जोगाएर राखिएको बारमा तिनको वैज्ञानिक नाम पनि अंकित गरिएको छ । म त्यो देखाउन थाल्छु । कसैले फोटो पनि खिच्न भ्याइहाल्छन् । सिसौ, पीपल, वर, राजवृक्ष, गुलमोहर आदि आदि ।

आइन्स्टाइनले अर्को एउटा सत्य भन्न छुटाए । ध्वनी पनि मर्दैन । समयका पलहरू पनि मर्दैनन् । मान्छेको न्यानो हृदयमा ती सुन्दरतम् (कुनै कुनै क्रुरतम् पनि) क्षणहरू कैद भएका हुन्छन् । समय-सन्दर्भले तिनको सुसुप्ततालाई बिथोलिदिन्छ ।  फेरि ब्युँझिएर आउँछन् ति । छाल उर्लिन्छ बाबै छाल ! कसले भन्छ छातीको छाल समुद्रको भन्दा कम शक्तिशाली हुन्छ ?

संसारभर वनस्पतिशास्त्रको अध्ययनमा एकरूपता ल्याउन वैज्ञानिकहरूले यी नाम दिन्छन् । नाम दिने तरिका ल्याटिनीकरण गरिदिनु हो । जीवहरूको नाममा दुईवटा शब्द हुन्छन्, अघिल्लो जिनस र पछिल्लो स्पेसिस । मान्छेको नाम र थर भएजस्तो । बिरुवामा थर अगाडि हुन्छ नाम पछाडि । मार्केन्सिया नेपालेन्सिस् । मार्केन्सिया अल्गीको एउटा थर, नेपालेन्सिस् नेपालमा मात्र पाइने । अलि माथि झुम्सा परको भूतखोलामा यो जिउँदो मार्केन्सिया पाइन्छ ।

सिद्धबाबा नजिक पुग्ने बेलामा भजनको संगीतले मन आल्हादित गराउँछ । म धर्ममा आस्था राख्दिनँ । ढुंगाको ईश्वरप्रति आशा यसैयसै मरेर आउँछ । तर, जब आस्थाले ओतप्रोत भएर गाएको भजन सुन्छु मेरो ओठ चलमलाउन थाल्छ । हृदय नाँच्न थाल्छ । बाल्यकालको त्यो प्रातः फेरि ब्युँझिएर आउँछ । सन्धिखर्कमा बिहानै मन्दिरको माइकमा बज्ने ‘जय अम्बे जय अम्बे जय जय अम्बे जय अम्बे’को स्वर कताकता छातीभित्रै घन्किन थाल्छ । आइन्स्टाइन भन्थे प्रकाश मर्दैन । त्यो अन्तरिक्षमा नै हुन्छ । यदि हामीसँग टाइम मेसिन हुँदो हो त, त्यो प्रकाशको गतिभन्दा ज्यादा कुद्दो हो त पुराना दिन फेरि हेर्न सकिन्थ्यो । भेट्न सकिन्थ्यो । लाग्छ, आइन्स्टाइनले अर्को एउटा सत्य भन्न छुटाए । ध्वनी पनि मर्दैन । समयका पलहरू पनि मर्दैनन् । मान्छेको न्यानो हृदयमा ती सुन्दरतम् (कुनै कुनै क्रुरतम् पनि) क्षणहरू कैद भएका हुन्छन् । समय-सन्दर्भले तिनको सुसुप्ततालाई बिथोलिदिन्छ ।  फेरि ब्युँझिएर आउँछन् ति । छाल उर्लिन्छ बाबै छाल ! कसले भन्छ छातीको छाल समुद्रको भन्दा कम शक्तिशाली हुन्छ ?

बिरुवाहरूको वैज्ञानिक नाम थाहा पाउने हेतुले हामी केही अल्मलिन्छौ । कोही अलि कता कता पुग्छन् । केटाहरू यस्तोमा अगाडि हुन्छन् । किशोरावस्थाका केटाहरूमा एउटा बेग्लै जोश हुन्छ । तिनीहरूलाई संसारमा असम्भव केही लाग्दैन । जून पनि यहीँ भुँइमा झार्न तयार हुन्छन् ती । ताराको खेती नै गर्न तयार हुन्छन् । ‘कर्णाली ब्लुज’मा एक ठाउँमा बुद्धिसागरले यस्तै प्रसंगको चर्चा गरेकाछन् । यहीँ जोशमा नै केटाहरूले आठवटा हाँस चोरेको त्यो प्रसंग सम्झँदा पनि हाँसो लाग्छ ।


चुरे पहाडलाई बिचबाट काट्दै बगेको तिनाउ नदी । तस्विरमा देखिने बाटो बुटवलबाट पाल्पा जाने सडकखण्ड हो । फोटोः फेसबुकबाट ।


एलिनाले सिद्धबाबाका हरेक मुर्तिहरूमा सिक्का चढाउँदैछिन् । म उनलाई हेर्छु । उनी मुस्काउँछिन् । आस्थाले मानिसमा विश्वास जगाइदिन्छ । मान्छेलाई ढुंगाको मुर्तिले केही दिंदैन । तर, ढुंगाको मुर्ति पुजा गर्ने आस्थाले उसमा शक्ति जागृत गराइदिन्छ । त्यो शक्ति उसको अवचेतन मनमा पहिल्यै हुन्छ । तर, सुसुप्त । आस्थाले त्यसलाई ब्युँझाउँछ । गहिरो आस्थाले शक्ति दिन्छ । तर, मानिसले ढुंगामाथिको आस्थालाई त्यागेर ज्ञानप्रतिको आस्थाप्रति मोह जगाउनुपर्छ । ढुंगासँग ढोंग गाँसिएको हुन्छ । सबैभन्दा धेरै ढोंगी धर्मात्मी भनिने पुजारीहरू नै हुन्छन् ।

म मनमनै कल्पिन्छु - त्यतिबेला यी पहाड साना हुँदा हुन् । त्यो रामापिथेकस घुम्दै घुम्दै आएको थियो होला । त्यो यहीँ मर्यो होला कि भीरबाट हाम्फाल्दा त्यसको दाँत झर्यो होला । त्यसलाई पात्र बनाएर कथा लेख्ने हो भने कस्तो होला !

हामी सिद्धबाबाको माथिल्लो मुख्य मन्दिरमा पुग्छौ । केही छुट्छन् तिनलाई बोलाउन म फेरि ओर्लन्छु । फेरि दौड्दै सिढि उक्लन्छु । पुराना दिन ताजा भएर आउँछन् । यहीँ ठाउँमा बसेर मैले पाल्पाको यो ठाडो खोला उर्लेको देखेको छु । बर्खामा यो खहरे त्यतिसाह्रो उर्लेला भन्ने कहिल्यै लाग्थेन । अहिले हेर्दा पनि लाग्दैन । तर, खहरे त खहरे नै हो । लेखनाथ पौड्यालले लेखेका छन्— ‘छोटो बढेपछि भारी फुर्ति ढाँचा लडाउँछ, उर्लदों खहरे हेर कत्तिको गडगडाउँछ ।’ हुन त बुढाले छोटो बढेपछि भनेर आफ्नो सामन्ती चिन्तन देखाएका हुन् ।

हामी सिद्धबाबामा मस्त हुन्छौ । पारी पहाडको धर्साहरू देखाएर म भनिरहेको हुन्छु- "हेर यो सेडिमेन्टेड रक (पत्रे चट्टान) हो । यस्तो चट्टानमा फोसिल (जिवाशेस) पाउने सम्भावना हुन्छ ।  यहाँ ११ लाख वर्ष पुरानो रामापिथेकसको दाँत भेटिएको थियो ।"


अनि म मनमनै कल्पिन्छु - त्यतिबेला यी पहाड साना हुँदा हुन् । त्यो रामापिथेकस घुम्दै घुम्दै आएको थियो होला । त्यो यहीँ मरर्यो होला कि भीरबाट हाम्फाल्दा त्यसको दाँत झर्यो होला । त्यसलाई पात्र बनाएर कथा लेख्ने हो भने कस्तो होला ! मोहन मैनालीले १ करोड वर्ष अघिको नेपालको कल्पना गरेर लेख लेखेका थिए । उनले त्यतिबेलाको वातावरण, जलवायुको चर्चा गरेका थिए । उनको लेख हचुवा गफ नभएर वैज्ञानिक तथ्यमा आधारित थियो । उसो त मिजासिलो स्वभावका मैनालीका प्रायः लेख तथ्यपरक नै हुन्छन् । एक कार्यक्रममा उनको पहिलो यात्रा वृत्तान्त ‘उपल्लो थलो’बारे मैले पनि टिप्पणी गरेको थिएँ । दोस्रो यात्रा वृत्तान्त‘मान्ठा डराएको जुग’बारे कार्यक्रम हुँदा म मुस्ताङ थिएँ । तर, केही दिनपछि मैनालीसँग भेट भएको थियो । तिनको निरन्तर लगाव र विषयबारे गहिरो ज्ञान राख्ने स्वभाव लोभ लाग्दो छ । मान्छे भने कुनै घमण्ड नभएका मिजासिला । नरम । स्वर पनि मसिनो । हँसिलो ।

ओहो ! यिनीहरू एकपटक पनि नदी किनार पुगेका छैनन् ? खोलाको सुस्साहट सुनेका छैनन् ? नदीको संगितले आल्हादित भएका छैनन् ? हर्मन हेस्सेको सिद्धार्थ त ‘नदी’को संगीतले नै निर्वाण प्राप्त गरेको थियो । यिनीहरूले नदीको गीत सुन्ने अवसर पाएका छैनन् । साँच्चै माया लागेर आउँछ । रहरको माया । चाहनाको माया ।

केही केटाहरू नदी किनारमा गएर आएछन् । केटीहरू पनि लोभ गर्छन् । मलाई अनुरोध गर्छन् । म भन्छु, “हुँदैन । त्यहाँ तिमीहरू पानीमा खेल्न थाल्छौ । रिस्क हुन्छ ।”

मास्टरगिरी देखाइहाल्छु । तर, कविता र अंकिताले भन्छन्— “सर हामी अहिलेसम्म रिभरब्यांक गएकै छैनौ । जाऔँ न प्लिज ।”

उनीहरूको अनुहार हेर्छु आशाको कत्रो लहर फैलिरहेछ । माया लागेर आउँछ । भक्तराजको गीत जस्तै - ‘हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहरजस्तो फेरि भएर आउँछ ।’

यहाँ त सपना होइन रहरको कुरो हुन्छ । नदी किनार जाने रहर । नदीमा बगीरहेको चिसो पानीसँग खेल्ने रहर । बालुवामा एकपल्ट टेक्ने रहर । ओहो ! यिनीहरू एकपटक पनि नदी किनार पुगेका छैनन् ? खोलाको सुस्साहट सुनेका छैनन् ? नदीको संगितले आल्हादित भएका छैनन् ? हर्मन हेस्सेको सिद्धार्थ त ‘नदी’को संगीतले नै निर्वाण प्राप्त गरेको थियो । यिनीहरूले नदीको गीत सुन्ने अवसर पाएका छैनन् । साँच्चै माया लागेर आउँछ । रहरको माया । चाहनाको माया ।

चिया र समोसा खान थाल्छौ । आआफ्नो खल्तीबाट पैसा निकाल्छौ । केशवले हिसाब गर्न थाल्छन् । समूहमा व्यवस्थापनको आफ्नै उत्तम भूमिका हुन्छ । चिया खाँदै गर्दा सामूहिक कविता लेख्न थाल्छौ । म शुरु गर्छु - शितल हावाले उडाइरहेछ मेरो मन ।

अर्कोले थप्छ - कहाँ गएर रोकिन्छ थाहा छैन

फेरि अर्को -
नदीको चिसो पानी छलछल बगिरहेछ
हरियाली वन जंगलमा उडिरहेछ मन
हराभरा, सुन्दर, शान्त ठाउँमा हरायो मेरो मन........

हुर्रे !

ओर्लन्छौँ तल । हिँड्छौँ बुटवल पावर हाउसको सुरङतिर । बाटोमा केहीलाई गीत गाउन अनुरोध गर्छु । रमाइलोको लागि ‘सिमसिमे पानीमा’ गाउँछौ ।




तिनाउ नदीमा बनाइएको बाँधबाट छोडिएको पानीले बनाएको सुन्दर दृश्य । यो परियोजनामा नेपालमै पहिलोपटक सुरूङबाट पानी लगेर जलविद्युत निकाल्ने प्रविधि अपनाइएको थियो। तस्विरः लेखक स्वयम्


गीतको चर्चा चल्छ । कोहीकोहीले कुनै कुनै नारायणगोपालको गीत पनि कोट्याउँछन् । फेरि हरेक पुराना सुगम संगीतलाई नारायणगोपाल भन्ने दोष पनि उत्तिकै छ । जबकि नारायणगोपालका गीतहरू साह्रै कम छन् । उनी निकै रोजेर, शब्द हेरेर गीत गाउँथे । केहीले नयाँ गीतहरू सुनाउँछन् । तर, म प्रायः नयाँ गीतमा दम देख्दिनँ । सीधा सीधा प्रस्तुतीले गीतको मर्म मारिरहेको हुन्छ । भावनाका उत्ताल छाललाई विम्बको गहिराईले मात्र व्यक्त गर्न सकिन्छ ।

पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो
मलाई लाग्यो रमाइलो, तिमी र म घुम्न जाउँ न
घामले मलाई सताउँला काली मलाई बनाउला
तिमी पिरतीको छाता ओडाउन

धत् यस्तो पनि गीत हुन्छ ? न भावनाको कुनै वेग छ । न शब्दको आकर्षक प्रस्तुती । न विषयको प्रष्टता । फेरि काली भन्ने शब्दले सौन्दर्यले गलत परिभाषा दिइरहेछ । के काला मानिस राम्रा होइनन् ? को हो राम्रो ? सुन्दरताको मापन छालाको रंग हो ? हरे, सोचाईको संकीर्णता । टीठ लागेर आउँछ । भक्तराजको शैलीमा ‘हजार बिचराहरूमाथि दया जागेर आउँछ ।’

जीर्ण झोलुंगे पुलको कारण पावर हाउसलाई वारीबाटै हेर्छौ । म बताउँछु नर्वेका अड हफ्टनबारे। अनि नेपालको पहिलो सुरुङवाला यो पावर हाउसबारे ।

नविनाले कतिबेला क्लिक गर्छिन् थाहै पाउँदिन । अनि मुस्काउँदै भन्छिन्— “मैले सर सोचिबसेको फोटो खिचें ।” जवाफमा म पनि मुस्काइदिन्छु । मुस्कान जस्तो पवित्र संवाद अरु के पो छ र !

फर्कदाँ हामी सिद्धबाबाबाट खोला किनारमा पुग्छौ । किनारमा पुग्नु के थियो सबै छितरिन थाल्छन् । तराई ओर्लेको शान्त लहरसँग कोही जिस्किन थाल्छन् । कोही बालुवा खेलाउँदै सेल्फी र फोटो खिच्न थाल्छन् । देख्छु सबैजना प्रकृतिसँग खेल्न मस्त छन् । तटनेरको ढुंगामा म सोचिबस्छु - ‘एकछिनलाई भए पनि यिनीहरू प्रदुषणमुक्त छन् । वातावरणको प्रदूषण । समाजको प्रदूषण । भविष्यको चिन्ताको प्रदूषण । एउटा जिन्दगी गुजार्ने प्रदूषण । एकछिनलाई नै सही यहाँ यिनीहरू प्रदुषणबाट मुक्त छन् । र त खुसी छन् । बहिरहेको मन्द बतासजस्तै वर्तमानको यो सानो पलमा यिनीहरू बहिरहेछन् ।’

अनायास मेरो मानसपटलमा कुमार नगरकोटीको कविता ‘आमा ! म जन्मु कि नजन्मूँ ?’को तीव्र स्मरण हुन्छ । कवितामा गर्भमै रहेको शिशुले सोधिरहेछ— ‘आमा, तिमीले पढ्ने पुस्तकहरू किन यति प्रदूषित छन् ? मलाई गर्भमै प्रदूषित पार्दै छन्, ती बकवासहरूले । तिमीले लिने श्वास– जो म ग्रहण गरिरहेछु– त्यसमा किन यति धेरै विराग र विकारहरू छन् ?’

कतै कतै अनुच्छेद भएको यो कविताको एउटा हरफ यस्तो छ-

‘म
आरोपित भइसकेको छु
यो अन्तरिक्षजस्तो
तिम्रो पवित्र पाठेघरमा’

यो कविता पढ्दा मेरो हृदय हल्लिएको थियो । साँच्चै, कति फोहोर छ यो वातावरण । प्राकृतिक र सामाजिक दुवै । अनि जन्मनु अघि नै हामी शिशुलाई आरोपित गरिरहेका हुन्छौ ।

नविनाले कतिबेला क्लिक गर्छिन् थाहै पाउँदिन । अनि मुस्काउँदै भन्छिन्— “मैले सर सोचिबसेको फोटो खिचें ।” जवाफमा म पनि मुस्काइदिन्छु । मुस्कान जस्तो पवित्र संवाद अरु के पो छ र !

मलाई थाहा छैन, किन हामीले यस्तो मानविय भावना विकसित गराउने पाठ्यक्रम खोजेनौ ? किनभने सामूहिकताको भावनाले बजारलाई अवरोध गर्छ । एक्लो मानिस बजारको राम्रो हतियार हो मजदूरको हिसाबमा पनि र ग्राहकको हिसाबमा पनि ।

नदी तटमा एउटा ठूलो ढुंगा छ । केही केटाहरू त्यसमा चढिदिन्छन् । केही केटीहरू चढ्न खोज्छन् । म हेरिरहेछु । चढ्न चाहने केटीहरूलाई केटाहरूले साथ दिदैछन् । हात दिदैछन् । तल बगरमा पनि ढुंगा छन् । लडेभने चोट लाग्छ । एक मन भन्छ रोकुँ यिनीहरूलाई । अर्को मनले सोच्छ, "होइन, ठीकै छ । चुनौतीको एउटा ढुंगा स्वीकार्छन् त ठीकै छ । फेरि चुनौती पार गर्न साथ र सहयोगको यो हात आफैमा के शिक्षा होइन र ? साथ साथको हातले नै चुनौती पार गरिन्छ । जिन्दगी चुनौतीको असंख्य शृंखला हो । जहाँ तिमी एक्लै सामना गर्ने चेष्टा गर्छौ भने गाह्रो पर्छ साथले सजिलो गराउँछ । तिमी समूहमा बाँच । समूहमा शक्ति हुन्छ । यसरी सामुहिक भावना जागृत गराउने पाठ कुन किताबको कति पेजमा छ ? मलाई थाहा छैन, किन हामीले यस्तो मानविय भावना विकसित गराउने पाठ्यक्रम खोजेनौ ? किनभने सामूहिकताको भावनाले बजारलाई अवरोध गर्छ । एक्लो मानिस बजारको राम्रो हतियार हो मजदूरको हिसाबमा पनि र ग्राहकको हिसाबमा पनि । त्यसैले सबैथोकलाई बिक्रीको वस्तु बनाइदिने यो समयमा व्यक्तिवाद नै बजारको आवश्यकता हो । तर, मान्छेको मान्छेपनलाई जोगाउने हो भने हामी यो सामुहिकतातर्फ लम्कनै पर्छ । म्याक्सिम गोर्कीले ‘द डिशीन्ट्रीग्रेशन अफ परसनालिटी’मा व्यक्तिवादको चर्को विरोध गरेर मानव जातिलाई गौरवमय सामूहिकतातर्फ लम्कन अनुरोध गरेकाछन् ।"

देख्दादेख्दै केही केटीहरू ढुंगामा चढिसक्छन् । ढुंगामाथिबाट तलको नदी, बालुवाको थुप्रो र हावाको सुम्सुमाहट महसुस गर्दा तिनीहरूलाई कति आनन्द लागेको होला ! बगरको ढुंगाबाट म सोचिबस्छु । महिला स्वतन्त्रताको वकालत गर्ने तसलिमाको नाम लिएर भन्न मन लाग्छ्, “तसलिमा समुद्रको किनारमा लैजाउ अनि खोलिदेउ बुर्काका बन्धन ! पानी छोएर आउने हावा जस्तो नरम संसारमा हुन्न अरु केही...” तर, विचरा तसलिमा आफै भूमिगत हुन बाध्यछिन् । मुक्तिको चाहना राख्नेहरू लुकिबस्नु परेको छ । हातमा हतियार हुनेहरू खुल्ला हिडिंरहेछन् । संसार उल्टो छ । पुरै उल्टो । कहिलेकाँही पृथ्वी सुल्टो घुम्दैन ?

बगरबाट बाटोमा निस्कनासाथ फोटो खिच्न शुरु हुन्छ । कृतिले आफू र मेरो फोटो क्लिक गर्छिन् । साँच्चै गजबको कैद हुन्छ । क्यामेरा सुक्ष्म क्षणको प्रकाशलाई कैद गर्छ । जीवनका अनेक पलहरूमध्ये यस्तो अति क्षणिक सुक्ष्म पल क्यामेरा कैद गरिदिन्छ । मान्छेको हाउभाउ । उसका आँखा र उसको ओठ, उसको नाक र कपाल, उसको अनुहारमा लहरिरहेको तरंग कैद गर्छ क्यामेराले । डिजिटल क्यामेरा आउनुभन्दा पहिला रिलवाला क्यामेरा थियो । सिमित रिल र धुलाईको खर्चले गर्दा क्यामेराको महत्त्व धेरै थियो । रहर लागेपछि मान्छे नुवाई धुवाई गरेर, चिटिक्क परेर, राम्रो लुगा लगाएर, स्टुडियोमा गएर फोटो खिच्थ्यो । त्यो बेला फोटोको महत्त्व नै अर्को थियो । स्कुलका अन्तिम दिनहरूमा साथीको अटोमा फोटो टाँस्न कञ्जुस्याईं हुन्थ्यो । बिदाईको दिन खिचिएको फोटो अहिले पनि उत्तिकै प्यारो लाग्छ । ती दिन नै अर्कै थिए । शायद आजको यो दिन यिनीहरूको लागि पनि अर्कै लाग्नेछ पछि । यी फोटो हेर्दा पुरानो याद बल्झेर आउनेछ । फर्केर फेरि यो पल एकछिनलाई भए पनि छुन मन लाग्नेछ । काश ! समय मुठ्ठीमा अठ्याउन मिल्दो हो त !

रुखमा स्पीकर छ । भजन घन्किरहेछ । पुराना शास्त्रीय तालका भजन सुनेपछि मेरो मन अनन्तको अनुभुति सयर गर्न थाल्छ । कता–कता अध्याँरो सुरुङतिर बाटो लागेजस्तो लाग्छ । हृदय तरंगित हुन्छ । मन उफ्रिन थाल्छ । नाँचु–नाँचु लाग्छ । तर, नाँच्न भनेपछि खुट्टा हल्लाउन पनि आउँदैन । एकपटक कवि अजम्बरध्वज खातीले भन्नुभएको थियो— ‘मलाई बुढेसकालमा पनि नाँच्न मन लाग्छ । शरीरले साथ पो दिन्न तर मन नाचिहाल्छ ।’

आफूलाई नाच्न नआएपछि म सोधिदिन्छु, “यहाँ कोही छ नाँच्ने ?”

सौगात नाचिहाल्छ । फेरि भावनाको नाम आउँछ । ताली पिट्दै हामी उक्साउँछौ । एकछिन बाटो हाम्रोलागि मेहफिल बनिदिन्छ ।
"क्या मज्जा आयो ।", हामी सबै भन्छौ ।

मनमा बज्छ एउटा पुरानो धुन -  ओ जवानी भी क्या जवानी जिसका कोई कहानी ना हो...।

पारी बुटवल एउटा म्युजियम हो । समाज अध्ययनको । कलाको । पुरानो वैभवको । इतिहासको ।
पारी बुटवल (पुरानो बुटवल)मा रहेको घ्यु खार्ने भाँडा । अहिलेको बुटवल बजार नबन्दै र पूर्व-पश्चिम राजमार्ग नबन्दै बटौली  गण्डक र राप्ती वारीको बजार थियो । पहाडबाट टिनको डब्बाहरूमा घ्यु बोकेर ल्याइन्थ्यो । यस्तै ठूला भाँडामा ती घ्यु खारेर पुनः बिक्रि गरिन्थ्यो । पहाडी गाउँबाट घ्यु बेच्न आउनेहरू बटौली बजारबाट नून, चुरा, पोते, कपडा आदि किनि घर फिर्थे । तस्विरः निर्मल श्रेष्ठ, पाल्पा ।



सिद्धबाबाबाट ओर्लेर पुल्चोकको झोलुंगे पुल तरेर हामी पुरानो बुटवल छिर्छौ । शुरुमै एउटा मन्दिरले हाम्रो स्वागत गर्छ । पुरानो बुटवल हिंड्दा मलाई कुनै आदिम गल्ली हिडेंजस्तो लाग्छ । नगरकोटीको लेखनीमा पटक–पटक दोहोरिने तान्त्रिक गल्लीमा हिडेंजस्तो लाग्छ । हामी पुरानो बुटवलको वैभवको कुरा गर्छौँ, इतिहासको कुरा गर्छौँ, नुन लिनआउने, घिउ बेच्ने पसलको कुरा गर्छौ । कोही जिस्किन्छ— यहीँ हो त्यो पसल । हो त, यहाँका पुराना घरमा अझै पनि ढिक छ । एउटा रुख देखिन्छ । त्यस रुख फेदको ढुंगाको शिलाले उसको जन्ममिति वि.सं. १९८३ बताइरहेछ । तर, रुख हुर्कँदै गर्दा जराले छेकिएकाले र केही अक्षर मेटिएकाले शिलाको सबै शब्द पढ्न सकिँदैन ।

एकजनाको प्रश्न आउँछ, “सर, सबैभन्दा पुरानो घर कुन हो ?”

धत् कैयौं पटक पुरानो बुटवल हिंड्दा ममा कहिल्यै यो प्रश्न पलाएन । मलाई खुशी लाग्यो । प्रश्न पलाएकोमा । इमान्दार भएर भन्छु - "थाहा छैन ।"  सोचें, बुटवल उपमहानगरपालिकाको कार्यालयलाई थाहा होला ? शंका लाग्छ । सबैभन्दा पुरानो घरलाई त संरक्षण गरिनुपर्ने इतिहासको रूपमा । अभिलेखको रूपमा । शायद अझै बाँकी होला र ? फेरि शंका पलाउँछ ।

‘परोपकार भवन’ नजिक पुगेपछि एउटा झ्याल देखिन्छ आकर्षक बुट्टा सहितको । निकै कलात्मक । सं झ्याल जस्तो । मलाई झ्यालको कलाबारे त्यति ज्ञान त छैन । एउटा किताब छ चन्द्र बहादुर जोशीको ‘काठमाडौं उपत्यकाका कलात्मक झ्यालहरू’ । त्यो किताबको पाना पल्टाउँदा सं झ्यालजस्तै लाग्छ । सुनेको छु एकजना विदेशी विद्वानले काठमाडौं उपत्यकाका झ्याल र यस्तै कलाबारे दश वर्ष अनुसन्धान गरेर ठूलै किताब लेखेका छन् रे । त्यो किताबको मूल्य नै ४५ सय पर्छ रे । त्यो सौरभकोमा छ रे । शायद यो बाहेक यस्तो कलात्मक झ्याल यहाँ अरु छैन । फोटो फेरि खिचिन्छ ।

परोपकार भवनको छेउमा बिहार छ । पारी बुटवल छोड्ने बेलामा, तिनाउ पुल निस्कने मुखमै मस्जिद छ । हामी विविधतायुक्त समाजको कुरा गर्छौँ । सद्भावको कुरा गर्छौ । एकअर्काका धर्म र आस्थाको सम्मानको कुरा गर्छौ । सहिष्णुताको कुरा गर्छौ । नेपाली समाजको अनेकतामा एकता किताबी पानाले भन्दा शायद यो सानो भ्रमणले महसुस गराउँला । पारी बुटवल (पुरानो बुटवल) एउटा म्युजियम हो । समाज अध्ययनको । कलाको । पुरानो वैभवको । इतिहासको ।

पारी बुटवलबाट हामी जितगढी किल्ला पुग्छौ । म आफुले थाहा पाएसम्मको किल्लाको इतिहास बताउँछु । विमल शाक्यसरले राख्नुभएको जानकारी उल्लेखित फ्लेक्स पढ्न लगाउँछु । उजीरसिंहको कुरा गर्छौ । त्यतिबेलाको लडाईंको कुरा गर्छौ । सुगौली सन्धिको कुरा गर्छौ । पराधिनताप्रति आक्रोशित हुन्छौँ । आखिर विद्रोह पनि त अनुभुति हो । त्यो अनुभुति सामाजिक, ऐतिहासिक र राजनैतिक चेतले निर्माण हुन्छ । परिवर्तन यथास्थितिप्रतिको असन्तुष्टीले शुरु हुन्छ । यथास्थितिका बन्धनप्रति विद्रोह पलाएपछि नयाँ दिनको उद्घाटन हुन्छ ।

इतिहासचेत नयाँ पुस्ताको लागि निकै आवश्यक छ । किनकि यसले पुरानो गौरवसँग नयाँ भावनालाई जोड्छ । किनकि यसले विगतका दोषलाई मेट्ने प्रयास गराउँछ । के अफिम युद्धको इतिहास थाहा नभएको भए चिनियाँ विद्यार्थीले मई चारको आन्दोलन गर्थे ? के संघर्षका पुराना इतिहास थाहा नभएको भए महात्मा गान्धी कोर्ट, पाइण्ट, टाई फ्याँकेर धोती लगाउँथे ? गान्धीको त्यो विद्रोही भावना इतिहासचेतको उपज हो । तत्कालीन घटना अन्य भए पनि ।

जितगढी किल्ला पछि हाम्रो छोटो पैदल यात्रा टुंगिन्छ । हामी ट्रेकिंग समाप्त गर्छौँ, त्यो पनि बुटवल शहरमा । केटाहरूको टोली फूलबारी घुम्न जान्छ । केटीहरूको टोली ट्राफिकचोक पुग्छ । थकित भएर घर आइपुग्छु । बायाँ खुट्टा दुख्न शुरु गर्छ । पैदल यात्राको परिणाम । 

Comments