लौ फेरी मुस्कुराउँ

फैज अहमद फैज



फैज अहमद फैज कविताका पारखीलाई चिनाइरहनुपर्ने नाम होइन । उनका एक से एक गजल र गीत चर्चित छन् । उनका अनेक कविता प्रसिद्ध छन् । उर्दू काव्य संसारमा आधुनिक प्रगतिवादी रस घोल्ने फैज क्रान्तिकारी र रूमानी कविता तथा गजलका कारण चर्चित छन् । पटकपटक कम्युनिष्ट भएको र गैर-इस्लामको आरोपमा अनेक बाधा अड्चन खेप्नुपरेका फैज थिए नै कम्युनिष्ट । हरेक धर्मलाई समान सम्मान गर्ने आम कविहरूजस्तै उनी पनि कुनै धर्मको मौलोमा बाँधिएका थिएनन् । हुर्काइ र पृष्ठभुमिले इस्लाम परिवारसँग जोडिए पनि उनका कविता, गीत, गजलले सधैँ मानवताको पक्ष लिइरहे । समाज परिर्वतनको उद्घोष गरिरहे । सन् १९११ मा हालको पाकिस्तानको सियालकोट शहरमा जन्मिएका फैजको हुर्काइ रूढिवादी मुस्लिम परिवारमा भएको थियो । उर्दू, अरबी र फारसीमा कुरआन पढेर शिक्षाको यात्रा सुरू गरेका उनले स्कटिश मिशन स्कुल तथा लाहौर विश्वविद्यालयबाट शिक्षा पुरा गरे । अंग्रेजी र अरबीमा दुई-दुईवटा एम.ए. गरे । अमृतसरको एमएओ कलेजमा शिक्षण गरे । मार्क्सवादी विचारबाट प्रभावित भइ ‘प्रगतिवादी लेखक संघ’को सदस्य बने । अंग्रेज समाजवादी महिला एलिस जर्जसँग बिहे गरेर दिल्लीमा बसे । बेलायती सेनामा भर्ती भएर कर्नेलसम्म भए । भारत-पाकिस्तानको समयमा सेनाबाट राजीनामा दिए । त्यसपछि लाहौर गए र इमरोज अनि पाकिस्तान टाइम्सको सम्पादक बने । पछि कहिले पाकीस्तानी सरकारी सेवामा रहे, कहिले सरकार ढलाउने काम गरेकाले जेल बसे । तर, जहाँ गए पनि कविता छोडेनन् । सन् १९८४ मा अन्तिमपटक आँखा चिम्लेका फैजको एक कविताः


लौ फेरी मुस्कुराउँ
पाब्लो पिकासोले सन् १९३६ मा बनाएको ‘वुमन बाइ विन्डो’नामक चित्रकला
लौ फेरी मन जलाउँ
गुज्रेर गए जुन रातहरु
तिनीहरुलाई फेरी जगाएर ल्याउँ
भुलिएका छन् जुन कुराहरु
तिनीहरुलाई सम्झनामा बोलाउँ
लौ फेरी मन लगाउँ
लौ फेरी मुस्काराउँ


यो भेटिएर नभेटिनु
यो खुसी र जलन
जे सहेका छौं प्रहारहरु
जुन गुज्रेर गए रातहरु
जुन बिर्सिएका छौं कुराहरु
कसैले यिनैको धुन बनाउँ
कसैले यिनैको गीत गाउँ
लौ फेरी मुस्कुराउँ
लौ फेरी मन जलाउँ


(अनुवादः लक्ष्मण)

Comments