जुम्लाको शिर पिठा



महेश नेपाली

जुम्लाका अधिकांश मन्दिरमा लिंगा फेर्ने काम कार्तिक पूर्णिमासम्म पनि चलिरहन्छ । त्यसैले जुम्लामा लिंगा फेर्ने काम दशैको सुरुवातसँगै जोडिएको छ । जुम्लाको लिंगा फेर्ने चलन काठमाण्डौको नेवार संस्कृति भन्दा फरक छ । जुम्लामा नेवारहरुको आगमनभन्दा पहिला नै यो चलन थियो । बरु यो संस्कृति मष्टो परम्परासँगै जाडिएको छ । पछि मष्टो परम्पराको हिन्दुकरणसँगै संस्कृतीको पनि हिन्दुकरण भएको देखिन्छ ।


जुम्लाकाे लिंगा                           फाेटाेः लेखक स्वयं

दशैं घटस्थापनाको दिनबाट सुरु हुन्छ । जुम्लामा दशैसँग लिंगा जोडिएको छ । प्रसिद्ध मन्दिर चन्दननाथ, भैरवनाथमा चारवटा लिंगा फेरीएसँगै दशैंको औपचारिक सुरुवात हुन्छ । सोही दिन साँझ जिल्लाभरी सबैले आफ्नो खेतमा लगाएको पाक्नै आँटेको धान काटेर आलै धानको चिउरा कुटेर मह, दहीसँग मिसेर खाने चलन छ । त्यस दिने खाने परिकारलाई जुम्लीहरु नगि भन्छन् । त्यसैले जुम्लामा घटस्थापनाको दिनलाई नगिको दिन पनि भन्छन् । त्यही दिन घरमा जमरा राख्ने गरिन्छ ।

नगिको दिन चन्दननाथ भैरवनाथ मन्दिमा लिंगा फेरिएसँगै जिल्लाभरिका थुप्रै मन्दिर र थानहरुमा लिंगा फेर्ने कार्यको श्रीगणेश हुन्छ । कालिका र भगवतिका थानहरुमा नवमीको दिन लिंगा फेर्ने चलन छ भने जुम्लाको सिंजा मोफ्लामा रहेको थानमा कोजगरात पूर्णिमाको दिन जिल्लाकै सबैभन्दा ठुलो लिंगा फेर्ने चलन छ । त्यहाँ हरेक वर्ष लिंगा नफेरेर प्रत्येक दुई वर्षको एक पटक लिंगा फेर्ने गरिन्छ । पहिलो वर्ष फेरेको लिंगा दोस्रो वर्षमा ढलाएर त्यसैमा रंगरोगन गरी, ध्वजा, आलिन नयाँ फेरेर फेरी ठडाइन्छ भने तेस्रो वर्षमा पुरै नयाँ फेर्ने चलन छ ।

जुम्लाका अधिकांस मन्दिरमा लिंगा फेर्ने काम कार्तिक पूर्णिमासम्म पनि चलिरहन्छ । त्यसैले जुम्लामा लिंगा फेर्ने काम दशैको सुरुवातसँगै जोडिएको छ । जुम्लाको लिंगा फेर्ने चलन काठमाण्डौको नेवार संस्कृति भन्दा फरक छ । जुम्लामा नेवारहरुको आगमनभन्दा पहिला नै यो चलन थियो । बरु यो संस्कृति मष्टो परम्परासँगै जाडिएको छ । पछि मष्टो परम्पराको हिन्दुकरणसँगै संस्कृतीको पनि हिन्दुकरण भएको देखिन्छ ।

दशैको दिन साँझतिर फापरको पिठोमा बेसार मिसाएर निधारमा लगाउने र कानमा जमरा सिउरिने गरेकोले दशैंको दिनलाई जुम्लामा शिर पिठाको दिन भनेर चिनिन्छ । जुम्लामा धान खेती भन्दा अगाडी फापर खेती गरेको देखिन्छ । त्यसैले चामलको अभावमा फापरको पिठोलाई प्रयोग गरिएको मान्न सकिन्छ । 

त्यसैले औपचारिक रुपमै दशैं नगिको दिन(घटस्थापना)बाट सुरु हुन्छ । बीचका पाँच छ दिन जमरा ठुला बनाउने र दशैंको लागि तयारी गर्दै वित्छ । हुने खानेलाई दशैको खास तयारी गर्नु पर्दैन । तर दिनभरी मजदुरी गरेर खानेअधिकांश मजदुरहरुलाई तयारी गर्न केही समय लाग्छ । घरकाम गर्ने सिकर्मी मजदुरहरुलाई भने काम गरिसकेपछि पनि साहुका पछि लाग्दै ठिक्क हुन्छ । उनीहरुलाई साहुको आज, आज, भोली भोलीले दशैंको फूलपाती आउन्जेलसम्म आजित बनाइसकेको हुन्छ ।

साहुले ज्याला दिए ठिक, नदिए ऋण गरेर भएपनि दशैं मनाउने भैरहेको छ दशकौंदेखि । मजदुरहरुका निम्ति हुनेखानेलाई दशैं नहुनेलाई दशा भने जस्तै हुन्छ । नजिकको छरछिमेकमा दशैंका रौनकै फरक हुन्छ । अनि नहुनेले त्यसै बस्न सक्ने अवस्था नै रहँदैन । कति मानिसहरु‘हुनेले खर्च गर्ने हो, नहुनेले नगरेपनि हुन्छ नी’ भन्ने खालको तर्कपनि गर्ने गरेको पाइन्छ । तर त्यसलाई कम्तिमा दशैंको बेला सत प्रतिशत स्वीकार गर्न सकिदैन । कनकी समाजिकीकरण प्रक्रिया नै त्यस्तो प्रक्रिया हो जसले मान्छेहरुको रुची, आनीवानी, मनोविज्ञानको निर्माण गरेको हुन्छ । समाज जस्तो छ मान्छेपनि त्यस्तै खालको हुन्छ ।  त्यसैले पनि फूलपातीको दिन जसरी भएपनि आउछ बिहान काट्नलाई खसी र दिउसो काट्ने राँगो वा भैंसी ।

जुम्लामा उद्योग कल  कारखानाहरु छैनन् । केही भएका उद्योगमा सिमित औलामा गन्न सकिने मजदुरहरु छन् । केही होटल, रेष्टुरामा काम गर्ने मजदुरहरु छन् । त्यसवाहेकका अधिकांश मजदुर भनेको निजी घर बनाउने सिकर्मी नै हुन । त्यसैले उनीहरु सबै साहुका भर पर्छन् । कतिका साहु गतिला हुन्छन् भने कतिका अगतिला । अगतिला साहुका भर पर्ने मजदुरहरुले नै हो ऋण गरेर भएपनि दशैं मनाउनुपर्ने बाध्यता ।

यसरी काम गर्ने मजदुरहरु अधिकांश सार्की, कामी, सिकर्मी, दमाई लगायत जातका मान्छेहरु छन् । नेपालको संविधान २०७२ ले यीनै जातका मान्छेहरुलाई दलित भनेको छ । दलित भन्ने बित्तिकै यिनीहरु तल्लो जातका हुन भन्ने आम मानसिकता छ । लामो समयसम्म कथित माथिल्लो जात भनीएकाहरुले यी सबै जातका मान्छेहरुलाई तल्लो जातका भन्दै हेला होचो गर्दै आइरहेका छन् । यतिमात्र नभई यीनै जातका मान्छेहरुलाई आफ्नो घरको कठिन काम गर्न लगाउने, बालीघरे मजदुर बनाउने तथा लगीमानी मान्न लगाउने वा अधिया खान लगाउने जस्तो गरी बढीधन्दा बढी श्रम गर्न लगाउने गर्दै आएको इतिहास लामो छ । लामो समय कठिन र कष्टसध्य काम गर्नुपर्ने बाध्यताको कारण मजदुरहरुलाई बढी प्रोटिनयुक्त खाना खानुपर्ने हुन्छ । मासु, बढी प्रोटिन हुने खाना हो । खसीको मासु महंगो हुने भएकाले मजदुरहरुले सहज रुपमा उपलब्ध हने र सस्तो राँगोको मासु खाँदै आएको बुझ्न सकिन्छ । त्यसैले दशैंको बेला खसीको साथै राँगो वा भैंसी पनि काट्ने गरिएको छ ।

मलाई याद छ सानो छँदा फूलपातीको दिन बिहानैदेखि मन फुरुंगै भएको । बाले साँझसम्म जसरी पनि घरमा एउटा खसी ल्याएर आउने गरेको । भोलीपल्टा घरमा जतिपनि मासु भएको । जति खाएपनि नसकिने मासु । बिहान खसीको मासु अनि दिउसो राँगोको मासु । जताजतै मासु नै मासु भएको ।

निकैपछि मात्र घरको आर्थिक अवस्था थाहा हुन गयो । बाले दशैंको बेला जसरी पनि डोर्याएर ल्याउने खसी प्राय ऋण गरेर ल्याउने रहेछन् । यसरी दशैमा सँधैजसो बाले घरपरिवारलाई खुसि बनाउन ऋण गरेर ल्याएको राँगो र खसिको मासुको बदलामा पछि लामो समय अन्य उपभोगलाई त्याग गर्नुपरेको अनुभुत गर्दै ठुलो भइयो । मेरो बाको जस्तै अवस्था यहाँका लगभग सबै मजदुरहरुको हो ।

दशैंमा शक्तिपिठहरुमा बली चढाउने परम्परा धर्मसँग जोडिएको छ । जिल्लाका लागभग पुरै गाँउमा कालीका मन्दिर छन् । यी सबै मन्दिरहरुमा बली चडाउने गरिन्छ । कालीका पुराणमा कलि युगमा कालीको पुजा गर्नु उपयुक्त हुन्छ भनि लेखिएको छ । त्यसैले मानिसहरु दशैंको बेला बोका, राँगो, हाँस वा माछाको बलि चडाउने गर्दछन् ।

जुम्ला सिंजाको कनका सुन्दरी मन्दिरमा नवमीको दिन सयौं खसी बोकाको बली चडाइन्छ भने एउटा राँगोलाई घाइते बनाएर छोडिन्छ । त्यो राँगो जहाँजहाँ पुग्छ त्यहाँ त्यहाँ अर्को वर्ष बाली सप्रिन्छ भन्ने जनविश्वास पनि छ ।अन्तिममा मारेर त्यहाँका कथित तल्लो जातका मान्छेलाई खान दिइन्छ । राणा कालसम्म जुम्ला खलंगामा सरकारी तवरबाटै राँगो घाइते बनाएर छोड्ने गरिएको थियो । हरेका वर्ष कोही न कोही मान्छे बिच्किएको राँगोबाट घाइते हुने गरेकोले यहाँका नागरिकले त्यसबेला श्री ३ सरकारलाई बिन्ति चडाएर यस्तो काम नगरिदिन आग्रह गरेपछि यस्तो कार्य रोकिएको संस्कृति सम्बन्धिका जानकार रमानन्द आचार्य बताउँछन् ।

दशैंको बेला खेलिने पिङ, उडाउने चंगा र निधारमा लगाउने चामलको टिका जुम्लाको लागि आयातित हुन । अरु सबै लगभग देशभर मनाउने शैली प्रायः एउटै हो । नगिको दिन राखेको जमरा दशमीको दिनसम्म ठुलो भैसक्छ । त्यसैले दशैको दिन साँझतिर फापरको पिठोमा बेसार मिसाएर निधारमा लगाउने र कानमा जमरा सिउरिने गरेकोले दशैंको दिनलाई जुम्लामा शिर पिठाको दिन भनेर चिनिन्छ ।

जुम्लामा धान खेती भन्दा अगाडी फापर खेती गरेको देखिन्छ । त्यसैले चामलको अभावमा फापरको पिठोलाई प्रयोग गरिएको मान्न सकिन्छ । यतातिर गौं, जौ, कोदो मकै आदिको पिठोलाई धुलो भनिन्छ भने फापर एउटाको पिठोलाई मात्र पिठो भनिन्छ । त्यसैले पिठो भन्नेवित्तिकै फापरको भन्ने आम बुझाई रहेको छ ।

धानखेती भन्दा अगाडीको समयमा भएको चामलको अभावलाई फापरले पुर्ती गरेको देखिन्छ । अध्ययनले भन्छ एक सय ग्राम फापरमा ७१ दशमलव ५ ग्राम कार्वोहाइडेड, दश ग्राम फाइबर, ३ दशमलव ४ ग्राम फ्याट र १३ दशमलव २५ ग्राम प्रोटिन पाइन्छ । त्यही सय ग्राम फापरले मात्र मान्छेलाई ३ सय ४३ क्यालोरी प्रदान गर्ने भएकाले पनि फापरलाई धानजतिकै महत्वपूर्ण मानिएको र फापरले मानव शरिरलाई प्रशस्त शक्ति प्रदान गर्दछ ।

त्यसैले पिठो भनेर फापरलाई चिनिएको र फापरलाई नै पुजास्वरुप निभारमा सिउरिने गरेको खेदिन्छ भने फापरलाई नै जोडेर दशैंको दिनलाई शिर पिठा भन्ने गरेको देखिन्छ ।

Comments