दशैं विशेषः एउटा श्रमिकको आत्मालाप



एउटा श्रमिकको आत्मालाप

Image result for dashain
फाेटाेः गुगल

शंकर भण्डारी



हरेक वर्ष
मलाई तौलेर जान्छ
नाप्छ मेरो गरीबीको आयतन
गिज्याउँछ देखेर मेरो
फैलँदो अभावको क्षेत्रफल
उसलाई लाग्दो हो मजा
जिस्काउन मेरा तमाम
अपुरा सपनाहरुलाई
अधुरा रहरहरुलाई ।

हरेकवर्ष यसैगरि
फर्कन्छु आफैलाई भेटी चढाएर
माईका थानहरुबाट
र, थाप्छु टिका निधारमा
आफ्नै मालिकहरुको हातबाट
हरेक वर्ष उनीहरुकै हातबाट
सिउरिन्छु समृद्धिको जमरा
आफ्ना कानहरुमा

मलाई सँधै लाग्ने गर्थ्याे
यी मालिकहरुका आशिषले कुनै दिन
पक्कै फेरिनेछ मेरो नियति
तर थपिएझैं
मेरो मालिकको घरको तला
फैलिएझैं उनीहरुको व्यापार
कहिल्यै थपिएन
मेरो झुपडीमा
एकधर्सो खुशी
कहिल्यै फैलिएन
मेरो उज्यालो

हरेक वर्ष झन्
उक्लिए झैं लाग्छ
बजारको मूल्यसुचि
टेकेर मेरै टाउकोमा
म आफै भासिए झैं लाग्छ
आफ्नै निर्दोष विश्वासहरूमा
आफ्नै इमानको चिताहरुमा
शायद मैले
ढिला गरेहुँला बुझ्न
मेरा मालिकहरुले हरेकवर्ष
टाँसिदिने रहेछन् निधारमा
मेरै पसिनाले मुछेको टिका
सिउरदिने रहेछन् कानमा
मेरै श्रमले उमारेको जमरा
मैले शायद माग्नुपर्ने थियो उनीहरुसँग,
मेरो पसिनाको हिसाब
मेरो श्रमको मूल्य
मैले केबल थापिरहें हरेकवर्ष
मेरो मालिकको आशिष ।

Comments