रामचन्द्र श्रेष्ठ
गणतन्त्रको आगमन पछि र देश धर्मनिरपेक्ष भएपछि पनि दशैं त्यत्तिकै लोकप्रिय छ । नेपाली समाजमा दशैं लामो बिदा, कर्मचारीलाई थप पेस्की र घरपरिवारका सदस्यहरूको जमघटको रूपमा आउने गर्दछ । दशैंको सामाजिक र मानवशास्त्रीय पक्षबाट विमर्श गरिनु जरुरी छ । किनकि दशैंले सामाजिक अर्थ बोक्छ । यो केवल उत्सव मात्र होइन यसको पछाडि धार्मिक र मानव सभ्यताका विभिन्न पक्षहरू पनि गाँसिएका छन् । यस लेखमा दशैंका विविध पक्षहरूबारे विमर्श गर्ने प्रयत्न गरिएको छ ।
मानवशास्त्रीय कोणबाट
संस्कृति मानव निर्मित हो । मान्छेको समाज विकाससँगै संस्कृतिको विकास भएको हो । आÇनो विकासको समयक्रमसँगै मान्छेजातिले संस्कृतिको पनि विकास गर्दैआएको छ ।संस्कृतिको बाँच्ने उपाय हो । बाँच्ने उपक्रममा मान्छेले संस्कृतिको निर्माण र विस्तार गर्दै गयो । उत्पादन सम्बन्धमा परिवर्तनसँगै संस्कृतिको विस्तार हँुदै गयो । ढुंगे युगको संस्कृति, मान्यता र विश्वासहरू फलामको औजार प्रयोग गर्दासम्म फेरिदै गएको थियो । अज्ञानताको कारणले जन्मेका विश्वासहरू ज्ञानको विस्तारसँगै अन्धविश्वासमा फेरिदैं गएका छन् । विज्ञानको उन्नतिसँगै पुराना अवैज्ञानिक चिन्तनसँग मान्छेको संघर्ष चालु छ । तर, मान्छे जातिसँगै फेरि एउटा जडता, परिवर्तन सजिलै नस्वीकार्ने स्वभाव पनि कायम नै छ । त्यसैले आज पनि चालचलन, रीतिरिवाज, चाडपर्व र धार्मिक विश्वासबारे सन्तुलित, वैज्ञानिक विश्लेषण र परिवर्तन उत्तिकै आवश्यक छ ।चाड–पर्वहरू संस्कृतिका अभिन्न इकाई हुन् । चाड–पर्व आफैमा उत्सव हुन् । चाड–पर्वले मान्छेको जैविक, मानसिक, सांस्कृतिक आवश्यकता पुर्ति गर्दछन् । खासमा विविध आवश्यकता पुर्तिको लागि नै चाड–पर्वको शुरुवात भएको हो । शिकारी युगमा शिकार जितेपछि आगोको वरीपरी मासुका चोक्टा लुछ्दै नाचगान गरिनु पनि उत्सव थियो । कृषिको विकाससँगै क्यालेन्डरको विकास र त्यसकै आधारमा चाड–पर्वहरू मनाइन थालेको देखिन्छ । चाड–पर्वहरूसँग धार्मिक मान्यताहरू पनि गाँसिदै आएको देखिन्छ । तर, चाड–पर्वहरू केवबल धार्मिक मान्यताका अभिव्यक्ति मात्र होइनन् । सामन्तवादी युगमा राजा, महाराजाको जन्मदिवस मनाइनु पनि चाड–पर्वका स्रोत हुनेलान् । तथापि, हरेक चाड–पर्व भित्र मान्छेको जीवन शैली र उत्पादन पद्धतिको अभिव्यक्ति पाइन्छ । यसैको आधारमा चाड–पर्वको विश्लेषण र औचित्य खोज्नु बढि समीचीन ठहर्छ । दशैं चाडमा प्रयोग गरिने साधनहरूलाई यही दृष्टिकोणबाट विमर्श गरौं ।
धान/जौं
दशैंमा चामलको टिका लगाइन्छ । जौंको जमरा कानमा सिउरिने गरिन्छ । धान मानवजातिको इतिहासमा निकै महत्वपूर्ण आविष्कार थियो । धानमा पाइने प्रशस्त कार्बोहाइडेटले मानव शरीरलाई प्रशस्त शक्ति प्रदान गर्दछ । धानमा ९० प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । एसियाली क्षेत्रमा एसियाली धान (ओरिजा स्याटिभा)को आविष्कार ई.पू. दशहजारतिर भएको थियो भने भारतीय उपमहाद्विपमा यसको खेती ई.पू.६५००तिर भएको पाइन्छ । अर्थात आजभन्दा नौहजार वर्ष अघि हाम्रो भेगतिर धान खेती भएको पाइन्छ । जौं (हर्डियम)को खेती पनि लगभग उही समयमा भएको अनुमान गरिन्छ । निकटपूर्वमा जौंको खेती ई.पू.७०००तिर शुरु भएको पाइन्छ भने भारतीय उपमहाद्विपमा त्यतैबाट आयातित भएको अनुमान गरिन्छ । जौंमा पनि ६७ प्रतिशत जति कार्बोहाइडे«ट र १३ प्रतिशत जति प्रोटिन पाइन्छ ।मान्छे जातिले आफूलाई हित गर्ने वस्तुलाई पूजा गर्दै आएको छ । जस्तो कि वेदका ऋचाहरूमा आगोको वन्दना पाइन्छ । किनकि आगोले मानव जातिलाई हित गर्यो । त्यस्तै पानीको वन्दना पाइन्छ । किनकि पानीले पनि मानव जातिलाई हित गर्यो । वेद भनेको आदिम आर्यहरूको गीत हो । उनीहरूले गाएका गीत र स्तुतिको संग्रह हो । यी ऋचाहरू श्रुति र स्मरणको भरमा पुस्तान्तरण हुँदै आएको थियो । आर्य जाति सिन्धु नदी तिर आएपछि लेखन कार्यतिर लागेको अनुमान गर्न सकिन्छ । जस्तो कि, महाभारतबारे व्यास ऋषिले गणेशलाई लेखाएको प्रसंग छ । व्यास ऋषि आर्य हुन् भने गणेश गैरआर्य । आर्य जाति सिन्धु नदी तर्दैगर्दा यताका गैरआर्यहरू सभ्यताको एउटा चरणमा पुगिसकेका थिए । लिपीको विकास भइसकेको थियो । त्यसैले आर्यहरूले अाफ्नाे कथा पनि ती गैरआर्यबाट लेखाउन थाले भन्ने उदाहरण हो यो ।
ई.पू.२५००देखि २०००सम्ममा ऋग्वेद लेख्न प्रारम्भ गरिएको अनुमान गरिन्छ । एक त आफैमा प्राचिन समयदेखि गाइदै आएका ऋचाहरूको संकलन र अर्कोतर्फ त्यो लेखनी नै हजारौ वर्षसम्म चलेकाले वेदहरूमा एउटै विषय र उही समाजको भन्दा पनि विभिन्न समयक्रमको चित्रण पाइन्छ । त्यसैले वेद प्राचिन सामाजिक मान्यता र चिन्तनको प्रमाण पनि हो । वेदमा आगो, पानी लगायत हितकारी वस्तुको वन्दना पाइनुले पनि प्राचिन मानिसहरू हितकारी वस्तुको पुजा गर्नेरहेछन् भन्ने थाहा हुन्छ ।
यजुर्वेदमा धानको वन्दना पाइन्छ । यसले पनि धानको पुजा आजभन्दा हजारौं वर्षपहिलेदेखि गरिदै आएको पुष्टि हुन्छ । आफुले सम्मान गर्नेलाई निधार टक्र्याउनु पूर्वीय सभ्यताको चलन हो । जस्तो कि आदर गर्नुपर्ने व्यक्तिको गोडामै ढोग्ने गरिन्छ । त्यसैले धानको सम्मान स्वरूप हुनुपर्छ निधारमा चामलको टिका लगाइने गरेको । अर्कोतर्फ जौको जमरा कानमा सिउरिने गरिन्छ । त्यो शृंगारको पाटो पनि हुनुपर्छ । पूर्वीय सभ्यतामा जीवनको पूजा गरिन्छ । जस्तो कि टुसा उम्रने बीऊको पूजा गरिन्छ । पश्चिमाहरू जन्मदिन मनाउँदा बत्ती निभाउने गर्छन् तर पूर्वीय सभ्यतामा हरेक शुभकार्यको शुरुवात बत्ती बालेर गरिन्छ । अर्थात, आशाको चित्रण पूर्वीय सभ्यताको सौन्दर्य हो । त्यस्तै नयाँ उत्पादन गर्ने जौंको जमरालाई कानमा सिउरिनुको अर्थ पनि जीवनको पूजा हुनुपर्छ । तर, प्रकाशबाट बञ्चित गरेर जमरा उमारिनु सुन्दरताभन्दा अरु होइन होला ।
दशैं आफैमा धानको पूजा भन्दा निकै पछाडिको चाड हो । दुर्गा पूजाको इतिहास पनि पुरानो होइन । तान्त्रिकहरूले ई.पू.बाटै दुर्गा पुजा गरेको मानिए पनि सम्पूर्ण भारतमा मुगल साम्राज्यको उदय पछि १६औं शताब्दीबाट दुर्गा पुजा शुरु भएको अनुमान गरिएको छ । त्यसैले दुर्गा पुजा र धानको वन्दना जोडिएका विषय होइनन् । बरु दुर्गा पुजाको क्रममा धानको वन्दनाको रीतिलाई आत्मसात गरिएको हुनुपर्छ ।
गोर्खा दरबारबाट काठमाडौं दरबारमा फूलपाती ओसार्ने र बढाईं गर्ने चलनले दशैं काठमाडौंका नेवारमाथि गोर्खा विजयको आधिपत्यको संकेत पनि हो । पछि–पछि विशेष गरेर राणा शासनमा दशैं नमनाउनुलाई राजद्रोहको रूपमा लिइनुले दशैं खस ठूलो राष्ट्रिय अंहकारको हतियार बन्यो ।
बलिप्रथा
शिकारी युगको मान्छेले पशुपालन गर्न थालेपछि बलिको पनि सिर्जना भएको हुनुपर्छ । सबैजना जमघट हुने, उत्सव मनाउने र त्यसका लागि पालिएको पशुको बलि चढाउने गरिएको पाइन्छ । उपभोगले नै उत्पादन बढाउने भएकोले उत्पादनसँगै निरन्तर उपभोग पनि हुनु अर्थशास्त्रीय दृष्टिले पनि जरुरी देखिन्छ । तर, उत्पादनसँगै पुनर्उत्पादनलाई पनि ध्यान दिनु जरुरी थियो । मानव जातिले बाख्रापालन ई.पू.७०००तिर शुरु गरेको पाइन्छ । बाख्रा वा खसीको उपभोगबाट पुनर्उत्पादनको सम्भावना नष्ट हुने भएकाले बलि बोकाको हुन्छ । बोकाको बलि चढाइरहँदा पुन उपभोगको लागि नयाँ बोका तयार हुँदै गरेको हुन्छ । यसरी जीवनचक्रलाई पनि ख्याल गरेको पाइन्छ ।त्यस्तै, दशैं शक्तिको पुजा पनि हो । नियमित सेनाको अभ्यास हुनुभन्दा पहिला सेना छनौटको लागि पनि मार हान्ने चलन थियो । जसले एक चोटमा छिनाल्न सक्छ त्यो बलियो र योग्य स्विकारिन्थ्यो । जसरी इण्डोनेशियाको बाली द्वीपमा भाले जुधाइने गरिन्छ र जसको भालेले जित्छ उसलाई सामाजिक प्रतिष्ठा पनि प्रशस्त मिल्छ । त्यसैगरि कृषिमा आधारित समाजमा एकै मारमा बलि छिन्ने मानिसलाई पनि सामाजिक प्रतिष्ठा मिल्ने गर्दथ्यो । यसको अर्थ हो, मार हान्नुको सांकेतिक अर्थ छ । यसको पछाडि शक्ति र सामाजिक हैसियतले अर्थ राख्दछ ।
दशैंमा बजारले ल्याउने अनेक अफरहरुले उपभोक्तावादलाई प्रश्रय दिइरहेको हुन्छन् । पूँजीवादले सामन्तवादी उत्पादन प्रणालीमा सिर्जना भएका चालचलन, चाडपर्व, संस्कृतिलाई कि त ध्वस्त पार्दछ कि त बजारको बिक्रीको वस्तु बनाइदिन्छ ।
राजनीतिक दृष्टिकोणबाट
माथि नै उल्लेख गरियो । दशैं अर्थात दुर्गाको विजय वा रामको विजयको खुशियालीमा मनाइने चाड र धानको पुजा फरक छन् । दुर्गा पुजालाई मातृसत्तात्मक समाजको अवशेषको रूपमा लिन सकिन्छ । तर, रामको पुजा फरक विषय हो । राम र रावणको लडाईं आर्य जाति र द्रविण जातिको लडाईं हो । त्यतिबेलाको संघर्षको पछाडि विभिन्न आर्थिक कारण भएको रामायणमै पाइन्छ । आर्य जातिसँग घोडा र फलामको हतियार हुनु र द्रविण जातिसँग हात्ती र तामाको हतियार मात्र हुनुले द्रविण जातिको हार भएको हो । रामको पुजा भनेको आर्य जातिको पुजा हो । आर्य शक्तिको पुजा हो ।विजेताको आधिपत्य
काठमाडौं उपत्यकामा लिच्छविहरूको आगमन पछि हिन्दुकरणले तिव्रता लिएको पाइन्छ । स्थानिय नेवार राष्ट्रका भाषा, देव–देवीको नामाकरण पनि फेरिएको पाइन्छ । त्यो हिन्दुकरणको नयाँ शृंखला काठमाडौं माथि गोर्खाको विजयपछि झनै बढेको पाइन्छ । संभवत दशैंको विस्तार काठमाडौं उपत्यकामा गोर्खा राज्यको विजयपछि भएको हुनुपर्छ । गोर्खा आक्रमण अगाडि काठमाडौंमा दशैं चाडको महत्व कस्तो थियो खोजकै विषय हो । तत्कालिन नेवार संस्कृति भन्दा दशैं फरक संस्कृति थियो । गोर्खा दरबारबाट काठमाडौं दरबारमा फूलपाती ओसार्ने र बढाईं गर्ने चलनले दशैं काठमाडौंका नेवारमाथि गोर्खा विजयको आधिपत्यको संकेत पनि हो । पछि–पछि विशेष गरेर राणा शासनमा दशैं नमनाउनुलाई राजद्रोहको रूपमा लिइनुले दशैं खस ठूलो राष्ट्रिय अंहकारको हतियार बन्यो ।
सामन्तवादी सोंचको प्रतिक
सामन्तवादी चिन्तन अनुसार उमेर नै श्रेष्ठताको मान्यता हो । दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा लिइन्छ । तर, सत्य खस राष्ट्रियता मात्र हो भन्ने सोंच पनि कमजोर छैन । दशैंमा आर्शिवाद थापिने चलन रहेको छ । आर्शिवाद जेठोबाट कान्छोले, राजतन्त्रमा राजाबाट जनताले (अहिले गणतन्त्रमा राष्ट्रपतिबाट जनताले), कथित ठूलो जातिबाट कथित तल्लो जातिले, श्रीमान्बाट श्रीमतीले थापिने चलन रहेको छ । अर्थात् सामन्तवादको झल्को दशैंको टिका–आर्शिवाद थाप्ने चलनमा प्रष्ट झल्कन्छ । आज धर्मनिरपेक्षता घोषणा गरिएको र गणतन्त्र घोषणा गरिएको स्थितिमा आर्शिवाद थाप्ने चलन कत्तिको सान्दर्भिक छ चिन्तनयोग्य विषय हो ।स्तरीकरणको चित्र
दशैं खाने–पिउने र खर्च गर्ने चाडको रूपमा लिइन्छ । नयाँ–नयाँ लुगा लगाउने र पैसाको रवाफ देखाउने चलन पूँजीवादीकरणसँगै झनै बढ्दो छ । दशैंले हुने र नहुनेको स्तरीकरण झनै बढाएको छ । हरेक वर्षमा बढ्दै जाने महंगीले तल्लो वर्गको लागि दशैं झनै दशामा रूपान्तरण भएको छ । हुने वर्गको मोजमस्तीमा नहुने वर्गको मन झनै कुडिएको छ । सामाजिक विभेद अत्यास लाग्दो गरी बढेको छ । दशैं स्तरीकरणको सग्लो चित्रमात्र बनिरहेको छ । वर्गीय विभेद जनाउने चाडमा चित्रित हुँदैछ । पूँजीवादले सामन्तकालीन उत्पादन सम्बन्धको जगमा निर्मित चाडपर्व, रितिरिवाज, संस्कारलाई कि त ध्वस्त पार्दोरहेछ कि त बिक््रmीको वस्तुमा परिणत गर्दोरहेछ । नेपाल दलाल पूँजीवादमा संक्रमित भइसकेको समाज भएकाले दशैं जस्तो चाड यहाँ उपभोगवादी संस्कृतिको चंगुलमा फसेको छ । त्यसैले के अब दशैं लगायतका चाडहरुले सामन्तकालीन समाजमा बोक्ने विरासत कायम राख्न सफल भएका छन् त ? वा, भित्रभित्र खोक्रो भइसकेको सम्बन्धहरुमा इनामेल लगाएर चम्काउने साधन मात्र बन्दैछन् ?कैयौं सामाजिक भावना बोकेको हुनाले अहिले नै दशैंको विकल्प खोज्नुपर्ने भइसकेको छैन तर सामन्तकालीन दशैं र अहिलेको दशैंमा व्यापक फरकपन छ । नवउदारवादी अर्थतन्त्रमा प्रवेश गरेको तर दलाल अर्थतन्त्रले गाँजेको नेपाली समाज उपभोक्तावादले चुर्लुम्म डुबेको छ । दशैं जस्ता चाडपर्वहरु बजारका साधन बन्दैछन् । मान्छेमा उपभोगको असीमित चाह जगाउने र अरुलाई देखाउनकै लागि खरिद गर्ने प्रचलन उपभोक्तावादको परिचय हो । दशैंमा बजारले ल्याउने अनेक अफरहरुले उपभोक्तावादलाई प्रश्रय दिइरहेको हुन्छन् ।
पूँजीवादले सामन्तवादी उत्पादन प्रणालीमा सिर्जना भएका चालचलन, चाडपर्व, संस्कृतिलाई कि त ध्वस्त पार्दछ कि त बजारको बिक्रीको वस्तु बनाइदिन्छ । तैपनि कैयौं सामाजिक भावना बोकेको हुनाले अहिले नै दशैंको विकल्प खोज्नुपर्ने भइसकेको छैन तर सामन्तकालीन दशैं र अहिलेको दशैंमा व्यापक फरकपन छ । दशैंको बेलामा दशैंको डाइनामिक्सलाई मनन गर्न मात्र खोजे काफी हुन्छ ।
(दशैं विशेष सामग्रीकाे रूपमा याे रचना यहाँ पुनः प्रकाशन गरिएकाे हाे । केही वर्ष अघि नै रचना गरिएकाे याे लेखकाे सामान्य सम्पादन मात्र गरिएकाे छ ।)
Comments
Post a Comment