कार्ल मार्क्सको जीवनी ३ - संघर्षले भरिएको सफल जीवन

लक्ष्मण श्रेष्ठ


‘जर्मन विचारधारा’मा मार्क्स–एंगेल्सले पहिलोपटक द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अवाधारणा प्रस्तुत गरे । आदर्शवादमा अडिएको हेगेलको द्वन्द्ववादी दर्शन र गतिको प्रक्रिया नबुझ्ने फायरवाखको भौतिकवादलाई मार्क्स–एंगेल्सले सच्चाए ।

सिद्धान्तको पहिलो रुप 


ब्रसेल्स पुग्दा मार्क्सको परिवारसँग फुटेको कौडी पनि थिएन । अभाव र आवश्यकता सँगसँगै पुगेका थिए । तर एंगेल्सको मित्रताले भोकै रहन दिएन । एंगेल्सले आवश्यक सहयोग उपलब्ध गराइदिए । उनी चाहन्थे मानव जातिलाई स्वतन्त्रता र समानताको युगतर्फ डोर्याउन लागिपरेको यो चिन्तकलाई स–साना पारिवारीक र आर्थिक झमेलाले सकस नपुर्याओस् ।

मार्क्स अब आफ्नो अध्ययनको निचोडलाई लिपिबद्ध गर्न चाहन्थे । त्यसैले उनी स्वतन्त्र भएर अध्ययन, अनुसन्धान अगाडि बढाउन चाहन्थे । तर प्रशियाली सरकारले यहाँ पनि लखेट्ने प्रयास गर्यो । बाध्य भएर मार्क्सले प्रशियाली नागरिकता नै त्यागिदिए । ब्रसेल्स आएपछि मार्क्सले लेखेको पहिलो रचना थियो– ‘फायरवाखबारे निबन्ध’ । १८४५ मा लेखिएको यो निबन्ध १८८८ मा मात्रै प्रकाशित भएको थियो । हेगेलको द्वन्द्ववाद कल्पनाको आकाशमा उभिएको थियो । समाजको भौतिक नियममा टेकेको थिएन । फायरवाख हेगेलको आलोचना त गर्दथे । उनी भौतिकवादी थिए । तर उनको भौतिकवादले समाजको विकासबारे एक शब्द बोल्दैनथ्यो । फायरवाख हरेक वस्तुलाई छुट्टाछुट्टै हेर्दथे । तर समाजमा त सबै एक–अर्कोसँग अन्तरसम्बन्धित हुन्छन् । मार्क्सले फायरवाखको कमजोरी औल्याए । त्यतिमात्र होइन उनले अहिलेसम्मको दर्शन र दार्शनिकको खोट पनि फेलापारे । अहिलेसम्मका दार्शनिकहरूले समाजको व्याख्या त गर्दथे तर समाज फेर्न सिन्को पनि भाँच्दैनथे । मार्क्सको निम्ति ज्ञान बुद्धि विलास थिएन । उनी त मानव समाजलाई समानतायुक्त, स्वतन्त्रतायुक्त बनाउन चाहन्थे । त्यसैेले उक्त निबन्धमा लेखे– ‘अहिलेसम्मका दार्शनिकहरूले संसारको व्याख्या मात्र गरेका छन् । मुख्य काम त संसार फेर्नु हो ।’ यो दर्शनको क्षेत्रमा क्रान्तिकारी काम थियो जसले दर्शनको उद्देश्य स्पष्ट पार्यो । मार्क्सको दर्शन र अरुको दर्शनको मूल फरक पनि बतायो ।

१८४५को शुरुतिर एंगेल्स मार्क्सलाई भेट्न बेलायतबाट फ्रान्स आए । यतिबेला एंगेल्स मार्क्स परिवारसँग घनिष्ठ भए । दुवै साथी ब्रसेल्सका गल्ली–गल्लीमा अनेक बहस गर्दै हिंडे । बेल्जियमका प्रजातन्त्रवादी र समाजवादी नेताहरूसँग भेटे । उनीहरूका विचार सुने । आफ्ना सुनाए । एंगेल्सले चाल पाए– मार्क्सले इतिहासको भौतिकवादी सिद्धान्तको रुपरेखा फेला पारिसकेछन् । बस्, त्यसमा ज्यान भर्न बाँकी छ । सोही सालको जुलाई १२ देखि अगस्ट २१ सम्म मार्क्स र एंगेल्स दुवैले बेलायतको भ्रमण गरे । यात्राको क्रममा बेलायती अर्थशास्त्र, राजनीति र मजदुर आन्दोलनबारेका पछिल्ला पुस्तकहरूको अध्ययन गरे । मागपत्र आन्दोलनका नेताहरूसँग भेटघाट गरे । ‘न्याय संघ’को लण्डन शाखाका व्यक्तिहरूसँग छलफल गरे । त्यहीं महसुस गरे– सर्वहारा वर्गको आन्दोलन अगाडि बढाउन अन्तर्राष्ट्रिय क्रान्तिकारी संगठनको आवश्यकता छ । बेलायत भ्रमणले उनीहरूको ज्ञानको दायरालाई झनै फराकिलो पार्यो । पूँजीवादी अर्थतन्त्रको जालो र त्यसले सर्वहारा वर्गगलाई गर्ने शोषणबारे सबै स्पष्ट पार्यो । त्यस्तै काल्पनिक समाजवादी र ‘सच्चा समाजवादी’ भनिनेहरूको खोट पनि थाहा भयो ।
बेलायतबाट फर्केपछि मार्क्स–एंगेल्सले संयुक्त रुपमा एक पुस्तक लेख्न शुरु गरे । उक्त पुस्तकको नाम थियो– ‘जर्मन विचारधारा’ । १८४६को अप्रिलसम्ममा यो रचना पूरा भयो । यो पुस्तकमा फायरवाख, ब्रुनो बावेर, श्टीनर जस्ता दार्शनिकहरूको दर्शन र ‘सच्चा समाजवादी’हरूको खोटा विचारहरूको खण्डन गरिएको थियो । यसै पुस्तकमा मार्क्स–एंगेल्सको विचारको सिलसिलाबद्ध रुप देखापर्यो । अर्थात् मार्क्सवादी दर्शन निर्माणको क्रम यहींबाट शुरु भयो । हुन त यो पुस्तक त्यतिबेला प्रकाशित हुनसकेन । तर, यो पुस्तक लेखनले मार्क्स–एंगेल्सलाई आफूले प्रतिपादन गरेको विचारलाई सुसंगत रुपमा प्रस्तुत गर्ने मौका दियो ।



‘जर्मन विचारधारा’मा मार्क्स–एंगेल्सले पहिलोपटक द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अवाधारणा प्रस्तुत गरे । आदर्शवादमा अडिएको हेगेलको द्वन्द्ववादी दर्शन र गतिको प्रक्रिया नबुझ्ने फायरवाखको भौतिकवादलाई मार्क्स–एंगेल्सले सच्चाए । ‘जर्मन विचारधारा’मा प्रस्तुत गरिएको विचारको सार यस्तो थियो–

मानव समाजका दुईवटा स्वरुप छन्– आधार र माथिल्लो संरचना । उत्पादन सम्बन्ध नै समाजको आधार हो । त्यहीं आधारमा समाजको माथिल्लो संरचना बनेको हुन्छ । माथिल्लो संरचना अर्थात् राज्य, कानुन, दर्शन, धर्म, कला, साहित्य आदि । उत्पादन सम्बन्ध भन्नाले उत्पादनका साधन, उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादक शक्तिबीचको सम्बन्ध । यहीं सम्बन्धले नै समाजको हरेक पक्ष निर्धारण गर्दछ । यसरी मार्क्स–एंगेल्सले मानव समाजको भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गरे । भने– ‘चेतनाले जीवन होइन, जीवनले चेतनाको निर्धारण गर्दछ ।’

उदाहरणका लागि, सामन्तवादी समाजमा उत्पादनको साधन भूमि हो । भूमिको तिरोमा अडिएको व्यवस्था नै सामन्तवाद हो । भूमिमाथी जमिन्दार र ठूला–ठूला सामन्तको स्वामित्व हुन्छ । भने उत्पादक शक्ति किसान वा भूदास हुन्छ । किसानले स्थानिय जमिन्दारको खेतमा काम गर्छ अर्धदास वा अधियाँको रुपमा । त्यसबाट आएको करको एक हिस्सा आफूले राखेर स्थानिय जमिन्दारले आफूभन्दा माथिको जमिन्दारलाई पठाउँछ । त्यसैगरी स्थानिय जमिन्दारबाट राजा वा महासामन्तसम्म कर पुग्छ । यहीं नै सामन्तवादको उत्पादन सम्बन्ध हो । यसैको आधारमा शासन प्रणाली बनेको हुन्छ । त्यसलाई टिकाउन कानुन बनाइएको हुन्छ । राजा, महाराजा र सामन्तहरूको पक्ष लिइएको कला, साहित्य र दर्शन बनेको हुन्छ ।

जर्मन विचारधाराको पाण्डुलिपी
तर, समाज गतिशील हुन्छ । मार्क्स–एंगेल्सले गतिको कारक समाजभित्रकै अन्तरविरोध भएको फेला पारे । भने, पुरानो उत्पादनसम्बन्धभित्रै नयाँ उत्पादक शक्तिको विकास हुन्छ । उक्त शक्तिले नयाँ उत्पादन सम्बन्को माग गर्दछ । पुरानो उत्पादन सम्बन्ध र नयाँ उत्पादक शक्तिबीच अन्तरविरोध हुन्छ । त्यसलाई क्रान्ति भनिन्छ । जसले नयाँ उत्पादन सम्बन्धमा आधारित व्यवस्थाको निर्माण गर्छ । जस्तै सामन्त–जमिन्दार–किसान भएको समान्तवादी समाजको गर्भमा नयाँ उत्पादक शक्तिको रुपमा व्यापारीको विकास भयो । उसले स–साना शिल्पशालाहरू खोल्न थालेपछि उद्यमी बन्न थाल्यो । यो उत्पादक शक्ति भूमिमा आधारित थिएन । यो त किसानहरू र स–साना शिल्पशालामा उत्पादित वस्तु बेचेर नाफा कमाउने नयाँ वर्ग थियो । प्रविधिको विकाससँगै यो उत्पादक शक्ति पूँजीपति वर्गको रुपमा विकास भयो । पुरानो उत्पादन सम्बन्धमा यो वर्ग अटाउन नसक्ने भएपछि अन्तरविरोध चर्कियो । महासामन्त राजाहरूका टाउका काटिए । नयाँ उत्पादन सम्बन्धमा आधारित व्यवस्था पूँजीवादको जन्म भयो ।

यसरी मार्क्स–एंगेल्सले समाजको भौतिकवादी र यसको गतिको द्वन्द्ववादी विश्लेषण गरे । तर विश्लेषण गर्नु मात्रै दार्शनिकहरूको काम होइन । समाज फेर्नु झनै महत्वको काम हो । मार्क्स–एंगेल्सले भने– पूँजीवादी समाजमा नयाँ उत्पादक शक्तिको जन्म भइसकेको छ । त्यो हो– सर्वहारा वर्ग । सर्वहारा वर्ग र पूँजीवादी बन्दोबस्तबीचको अन्तरविरोधले नै नयाँ समाजको जन्म गराउनेछ । त्यो हो साम्यवाद । त्यसका लागि सर्वहारा वर्गले राजनीतिक सत्ता प्राप्त गर्नुपर्छ ।


‘जर्मन विचारधारा’ले पहिलोपटक दर्शनलाई मानव समाज रुपान्तरणको निम्ति प्रयोग गर्यो । समाजको वैज्ञानिक विश्लेषण गर्यो । गतिको विज्ञान पत्ता लगायो । तर यो प्राथमिक विचार थियो ।

संगठनको शुरुवात


१८४४ मा पेरिसमा भएको एक बैठक

१८४०देखि १८४२ सम्म बेलायतमा मजदुरहरूले गरेको मागपत्रको पहिलो आन्दोलनमा समाजवादी विचारधाराले स्थान पायो । सर्वहारा वर्गका मागहरू स्पष्ट रुपमा अगाडि आउन थाले । व्यक्तिगत सम्पत्तिको उन्मूलन नहुँदासम्म वास्तविक समानता निर्माण हुन नसक्ने विचार अगाडि आयो । मजदुरहरूले आठ घण्टाको काम, ज्याला वृद्धि लगायतका माग राखे । त्यस्तै लुडाइट आन्दोलन, जर्मनीको सिलेसियाका जुलाहाहरूको आन्दोलन जस्ता युरोपभर देखापर्दै गरेका मजदुर आन्दोलनको मार्क्स र एंगेल्सले गहनतापूर्वक अध्ययन गरे । जसले पूँजीवाद पनि सामन्तवादजस्तै खत्तम हुने देखायो । त्यसको ठाउँमा सर्वहारा वर्गको राज्यसत्ता निर्माण हुने सम्भावना देखायो ।  तर सर्वहारा  वर्गको ठोस राजनीतिक उद्देश्य तयार भइसकेको थिएन । यसको निम्ति लड्ने राजनीतिक दल निर्माण भइसकेको थिएन । मार्क्स र एंगेल्सले  जर्मन विचारधारामै सर्वहारा वर्गको पार्टी निर्माण गर्नुपर्ने आवश्यकता औलाइसकेका थिए । अब दिलो ज्यान दिएर दुवैजना यसैका लागि लागिपरे ।

मार्क्सले आफ्ना विचारसँग मेल खाने साथीहरू खोज्न थाले । ब्रसेल्समा भेट भए विल्हेल्म वोल्फ । प्रथम जर्मन सर्वहारा कवि गेओर्ग वेर्बेट, जेनीका भाई एडगर फोन वेस्टफालेन, पत्रकार फर्डीनाण्ड वाल्फ, कवि फर्डीनाण्ड फाइलिग्राथ, प्रशियाली सेनाका भूतपूर्व लेफ्टिनेन्ट  जोसेफ वेडमेयर लगायतका साथीहरू जम्मा भए । १८४६ को शुरुवातमै मार्क्स र एंगेल्सले साथीहरूसँग मिलेर ‘कम्युनिष्ट पत्राचार संघ’ खोले । विभिन्न देशमा भएका समाजवादीहरूसँग सम्पर्क कायम गर्न, उनीहरूमा भएको अनेक खोटा विचारहरूबाट मुक्त भएर वैज्ञानिक तरिकाले समाजको विश्लेषण गर्न र मजदुर आन्दोलनलाई अगाडि बढाउने उद्देश्यले यो पत्रव्यवहार संघ निर्माण गरिएको थियो ।

अब मार्क्सलाई कामको चाप बढ्यो । उनी दिनरात पढ्न थाले । राजनीतिक अर्थशास्त्रको अध्ययनमा उनी व्यस्त थिए । त्यसमाथि हरेक दिन विभिन्न व्यक्तित्वलाई पत्र लेख्दा लेख्दा उनले घडीको सुई घुमेको पनि चाल पाउन छोडे । व्यस्तता यति बढेको थियो, मार्क्स दिनको चार घण्टा सुत्न पनि समय पाउन छोडे । मार्क्सको निवास अब संघर्षको केन्द्र हुन थाल्यो । विभिन्न देशबाट मजदुर र समाजवादी नेताहरू आउन थाले । त्यहींबेलामा केटाकेटीहरू पनि थपिन थाले । १८४५ मा माइली छोरी लाउरा र १८४७ को शुरुमा छोरा एडगरको जन्म भयो । घरव्यवहारले थिच्न थाल्यो । तर मार्क्स गलेनन् । उनी स–साना काममा अल्झिने खालका थिएनन् । त्यतिनैबेला मार्क्सकी सासुले घरव्यवहार सम्हाल्न सहयोग गर्न भनी हेलेना डेमुथ नामकी सहयोगी पठाइन् । घरव्यवहारको बोझ हल्का भयो । हेलेना डेमुथले मार्क्सको परिवारलाई जीवनको अन्त्यसम्म छोडिनन् । मार्क्सलाई मार्क्स बनाउनुमा उनको पनि ठूलो हात छ ।

जोसेफ प्रुधों


मार्क्सले प्रुधोंको खोटो विचारको खण्डन गर्दै मानव समाजको इतिहास वर्गसंघर्षकै शृंखला भएको स्पष्ट पारे । उत्पादनका साधन  फेरिनासाथ समाज फेरिने होइन, न त उत्पादक शक्तिको विकाससँगै एकाएक समाज फेरिने हो । उत्पादक शक्तिको विकास अर्थात् नयाँ वर्गको जन्मसँगै पुरानो शासक वर्ग र नयाँ वर्गबीच वर्गसंघर्ष हुन्छ । त्यहीं वर्गसंघर्षले नयाँ समाज बनाउँछ । 







यता मार्क्स संगठन निर्माणको काममा व्यस्त थिए भने वैचारिक काममा पनि उत्तिकै क्रियाशील थिए । सर्वहारा वर्गको संघर्षको आत्मिक हतियार त विचार नै थियो । वैचारिक रुपमा स्पष्ट नभइकन संघर्ष अगाडि बढ्न कहाँ सक्थ्यो र ? त्यसैले समाजवादी आन्दोलनमा देखापरेका अवैज्ञानिक र आत्मगत चिन्तनहरूलाई खण्डन गरेर वैज्ञानिक चिन्तनको विकास गर्नु आवश्यक थियो । समाजवादी आन्दोलनको वैज्ञानिक स्वरुप पनि स्पष्ट पार्नुपर्ने थियो । मार्क्स यसैमा लागिपरेका थिए । त्यति नै बेला पियरे जोसेफ प्रुधोंले ‘आर्थिक अन्तरविरोधहरूको प्रणाली अथवा दरिद्रताको दर्शन’ नामक पुस्तक लेखे । प्रुधोंलाई १८४४ मा मार्क्सले फ्रान्समा भेटेका थिए । उनी प्रतिभावान किसान पुत्र थिए । १८४० मा ‘सम्पत्ति के हो ?’ नामक पुस्तक लेखेर सम्पत्ति चोरी भएको स्पष्ट पार्ने प्रयास गरेका थिए । मार्क्स र एंगेल्सले पत्राचार संघको माध्यमबाट प्रुधोंलाई सम्पर्कमा ल्याउन कोसिस गरेका थिए । तर उनी वैज्ञानिक समाजवादको विरोधी देखापरे । आफ्ना पत्रहरूमा उनले वैज्ञानिक समाजवादको विरोधी विचार राखे । आखिरमा उनले ‘दरिद्रताको दर्शन’ मा समाज अध्ययनको आफ्नो गलत पद्धति प्रष्ट पारे । मार्क्सले उनको खण्डन गरेर पुस्तक लेखे । १८४७ को जनवरीदेखि जुनसम्ममा लेखिएको पुस्तक जुलाईको शुरुमा ‘दर्शनको दरिद्रता’ नामक पुस्तकको रुपमा प्रकाशित भयो । प्रुधों भन्थे– ‘उत्पादन शक्तिको विकास भएपछि उत्पादन सम्बन्ध आफै फेरिन्छ । सामाजिक व्यवस्था पनि आफै फेरिन्छ । जस्तो झाँतो, ढिकीले सामन्तवादी समाज बनायो भने वाफले चल्ने मेसिनले पूँजीवादी व्यवस्था ।’ अर्थात् उनले उत्पादन सम्बन्ध र उत्पादन सम्बन्धबीचको द्वन्द्वात्मक सम्बन्ध अस्वीकार गर्दथे । वर्गसंघर्षलाई अस्वीकार गर्दथे । प्रुधोंले इतिहासका पानाभरी भएका वर्गसंघर्षका रत्ताम्य तस्विरहरू देख्नै सकेनन् । मार्क्सले उनको दह्रो खण्डन गरे । त्यो खण्डन मात्र थिएन । समाजवादी आन्दोलनको वैज्ञानिक सिद्धान्तको निर्माण पनि थियो । ‘जर्मन विचारधारा’मा देखापरेको विचार यहाँ स्पष्ट रुपमा आयो । परिपक्व भएर देखापर्यो । मार्क्सले पहिलोपल्ट आर्थिक अनुसन्धानको निष्कर्ष पनि यहीं प्रस्तुत गरे ।

मार्क्सले प्रुधोंको खोटो विचारको खण्डन गर्दै मानव समाजको इतिहास वर्गसंघर्षकै शृंखला भएको स्पष्ट पारे । उत्पादनका साधन  फेरिनासाथ समाज फेरिने होइन, न त उत्पादक शक्तिको विकाससँगै एकाएक समाज फेरिने हो । उत्पादक शक्तिको विकास अर्थात् नयाँ वर्गको जन्मसँगै पुरानो शासक वर्ग र नयाँ वर्गबीच वर्गसंघर्ष हुन्छ । त्यहीं वर्गसंघर्षले नयाँ समाज बनाउँछ । त्यसैले पूँजीवादी बन्दोबस्त पनि मरणशील छ तर यो त्यत्तिकै ढल्दैन नयाँ सर्वहारा वर्ग चाहिन्छ । सर्वहारा वर्गको सशक्त पार्टी चाहिन्छ । मार्क्सले ‘दर्शनको दरिद्रता’मा यहीं स्पष्ट पारे । भने– मजदुर वर्गले आर्थिक मागमा सिमित हुनुहुन्न । राज्यसत्ता नै कब्जा गर्नुपर्छ । अर्थात् राजनीतिक आन्दोलन गर्नुपर्छ । प्रुधों भने केवल स–साना सहुलियतमै सम्झौता गर्न चाहन्थे । अर्थात् उनले घुमाउरो तरिकाले पूँजिपति वर्गकै पक्ष लिइरहेथे ।

कम्युनिष्ट लिग


पत्राचार समितिको काम प्रभावकारी भयो । बिस्तारै मजदुर आन्दोलनमा प्रतिबद्ध व्यक्तित्वहरूले मार्क्स र एंगेल्सका विचारहरू बुझ्न थाले । समर्थन गर्न थाले । १८४७ को जनवरीमा ‘न्याय संघ’को लण्डन शाखाका प्रतिनिधीले ब्रसेल्समा मार्क्सलाई भेटे । पेरिसमा एंगेल्सलाई । संघमा आबद्ध हुन, त्यसको पुनसंरचना गर्न र कार्यक्रम बनाउन सहयोगका लागि अनुरोध गरे । मार्क्स र एंगेल्स सदस्य बने । १८४७ को जुन महिनासमा संघको पहिलो अधिवेशन भयो । पैसाको समस्याले मार्क्स जान सकेनन् । एंगेल्स गए । मार्क्सकै विचार अनुरुपकै पुनसंरचना भयो । नियम फेरियो । नाम फेरियो । ‘न्याय संघ’को नाम ‘कम्युनिष्ट लिग’ राखियो । नारा पनि फेरियो । ‘न्याय संघ’को नारा थियो– ‘सबै भाई भाई हुन् ।’ नयाँ नारा राखियो– ‘संसारका मजदुर एक हौं ।’ लिगको जिल्ला शाखा ब्रसेल्समा खोलियो । मार्क्स त्यस शाखाको अध्यक्ष बनाइए । त्यस्तै मार्क्स र एंगेल्सको सक्रियतामा ब्रसेल्समा निर्वासित जीवन बिताइरहेका जर्मन मजदुरहरूको ‘जर्मन मजदुर समाज’ पनि गठन भयो । समाजवादी विचारको प्रचारकै निम्ति मार्क्सले अनेक आर्थिक कठिनाइ हुँदहुँदै पनि ‘ड्युत्ये ब्रसेलर जाइटुंग’ नामको पत्रिका पनि निकाले । त्यहीं समयमा ‘जर्मन मजदुर समाज’को बैठकहरूमा पूँजीवादको व्याख्या गरे । त्यसभित्रका अन्तरविरोधहरूलाई साह्रै मसिनोसँग सरल शब्दमा व्याख्या गरे । कसरी पूँजीवादमा मजदुरको शोषण हुन्छ र कसरी पूँजिपतिले मजदुरको श्रम शोषण गरेर फाईदा लिन्छ भनेर स्पष्ट पारे । त्यो व्याख्यान पछि ‘ज्यालादारी श्रम र पूँजी’ नामक पुस्तिकाको रुपमा निस्कियो ।



१८४७ को नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म लण्डनमा ‘कम्युनिष्ट लिग’को दोस्रो अधिवेशन भयो । त्यसमा मार्क्स र एंगेल्स दुवैजनाले भाग लिए । अधिवेशनमा विविध विषयमा छलफल भयो । समाजवादी आन्दोलनलाई दिशानिर्देश गर्न एक कार्यक्रमको खाँचो पर्यो । सबै मागहरू समेटेको घोषणापत्रको आवश्यकता खट्कियो । अन्ततः अधिवेशनले मार्क्स र एंगेल्सलाई ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ लेख्ने जिम्मेवारी दियो । अधिवेशनकै बीचमा पनि मार्क्स र एंगेल्सले विभिन्न देशका कम्युनिष्टहरू र प्रजातान्त्रिकहरूसँग भेटघाट गरे । १३ डिसेम्बरतिर मार्क्स ब्रसेल्स फर्के । ब्रसेल्समा मार्क्सको जीवनमा फुर्सद भन्ने थोरै पनि थिएन । ‘ड्युत्ये ब्रसेलर जाइटुंग’ पत्रिकाको सम्पादन । स्थानिय संगठनहरूको सञ्चालन । ‘जर्मन मजदुर समाज’मा राजनीतिक अर्थशास्त्रका प्रशिक्षण । कामको चापाचापको बिचमा पनि उनले कम्युनिष्ट घोषणापत्र लेख्न शुरु गरे । १८४७ को डिसेम्बरमा एंगेल्स पेरिस नजाँदासम्म दुवैजनाले सँगै बसेर घोषणापत्रको काम गरे ।

संसार हल्लाउने अक्षरहरू


कम्युनिष्ट घोषणापत्रको पाण्डुलिपी
१८४८ को शुरुवातमा इटालीमा मजदुर आन्दोलन उठ्दै थियो । फ्रान्समा पनि आन्दोलनको ज्वारभाटा उठ्दै
थियो । मार्क्स र एंगेल्सलाई फुर्सद थिएन । एंगेल्सले घोषणापत्र तयार गर्नका लागि २५ वटा प्रश्नका उत्तरहरू समावेश भएको खेस्रा तयार पारे । मार्क्सले पनि त्यस्तै खेस्रा तयार पारेको बताइन्छ । एंगेल्सको खेस्रा पछि ‘साम्यवादका सिद्धान्तहरू’ नामक पुस्तिकाकाको रुपमा छापिएपनि मार्क्सको खेस्रा आजसम्म फेला पर्न सकेको छैन । कामको चापाचाप थियो । त्यसमाथि मार्क्सको स्वभाव बरु ढिलो गर्ने लतरपतर नगर्ने खालको । मार्क्स वाक्य–वाक्यमा दशौं पटक सोंच्दथे । दुई साथीबीच पत्रमार्फत कुराकानी हुन थाल्यो । पत्रमै गरे छलफल । तोकिएको समयमा घोषणापत्र तयार हुनसकेन । मार्क्सले जे गर्छन् सही गर्छन्, सबैले विश्वास गर्दथे । तर, समयमा पनि हुनुपथ्र्यो । कतिसम्म भयो भने, १८४८ को जनवरी २४ मा कम्युनिष्ट लिगको केन्द्रीय समितिले घोषणापत्र तयार हुन ढिलो भएको भन्दै एक महिनाभित्र तयार नगरे मार्क्सलाई कठोर कारवाही गर्ने धम्की दियो ।


अन्ततः १८४८ को जनवरीको अन्त्यतिर यसको पाण्डुलिपी छाप्न पठाइयो । कम्युनिष्ट घोषणापत्रमा पहिलो छपाइ मिति १८ जनवरी १८४८ भनिएको छ ।  विश्वमै पहिलोपल्ट सर्वहारा वर्गले आफ्नो सिलसिलाबद्ध कार्यक्रम पायो । २२/२३ पृष्ठको पातलो किताबले संसार हल्लायो । तुरुन्तै विभिन्न भाषामा अनुवाद भयो । मजदुर वर्गको हात हातमा पुग्यो । पूँजिपति वर्गले पनि प्रतिबन्ध लगाउँदै पढ्न थाल्यो । इतिहास र वर्तमानको गहिरो विश्लेषण गरेर निकालिएको वैज्ञानिक निचोड भएकैले कम्युनिष्ट घोषणापत्रले मानव समाजकै ज्ञान मञ्चमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भएको छ । किनभने यो बौद्धिक विलास होइन । यो त अर्बौं कामदार जनताको मुक्तिको पथप्रदर्शक हो । उनीहरूको सपना हो । जीवनलक्ष्य हो । भन्ने गरिन्छ, ‘कम्युनिष्ट घोषणापत्र प्रकाशन पछिको इतिहास त्यसको समर्थन वा विरोधको इतिहास हो ।’




(मार्क्सको २०० औं जन्मजयन्तिको अवसरमा भलाकुसारीमा मार्क्सबारेका रचना प्रकाशित हुनेछन् । मार्क्सको यो जीवनी धारावाहिक रूपमा प्रकाशन हुनेछ । - भलाकुसारी टिम)

कार्ल मार्क्सको जीवनी १ - संघर्षले भरिएको सफल जीवन

कार्ल मार्क्सको जीवनी २ - संघर्षले भरिएको सफल जीवन

Comments