कार्ल मार्क्सको जीवनी २ - संघर्षले भरिएको सफल जीवन

लक्ष्मण श्रेष्ठ
शुरुमा पत्रिकाको स्तर खासै राम्रो नभएपनि सोही सालको अप्रिल १ मा मार्क्स प्रधान सम्पादक बनाइएपछि रुप नै फेरियो । तिक्ष्ण विश्लेषण र कठोर टिप्पणीका कारण पत्रिका पठनीय बन्यो । पाठक बढे । सरकार डराउन थाल्यो ।


संघर्षको पहिलो मैदान


१८४१ को बसन्तमा ब्रुनो बावेर बोन विश्वविद्यालयबाट निकालिए । यसले आफूलाई उदार भन्ने नयाँ राजा फ्रेडरिक विलियम चौथो पनि उस्तै निरंकुश भएको प्रमाणित भयो । सरकारको निरंकुश चरित्र देखेपछि विश्व विद्यालयको प्रोफेसर बन्ने मार्क्सको ईच्छा त्यत्तिकै सेलायो । विश्व विद्यालय पस्ने सोंचमा थिए । तर कडा सेन्सरशीपले रोक्यो । अर्नोल्ड रुगकै पत्रिकामा लेख लेख्न थाले । नवम्बरमा वीगेड नामक प्रकाशकले एक पुस्तिका छापे । उक्त पुस्तिकामा हेगेल नास्तिक भएका ठम्याई प्रस्तुत गरिएको थियो । आफुलाई आस्तिक जस्तै देखाउँदै बडो बँठ्याइपूर्वक हेगेल नास्तिक भएको ठम्याई प्रस्तुत गरिएको थियो । आफूलाई आस्तिक जस्तै बँठ्याईपूर्वक नास्तिक विचारहरूको प्रचार गरिएको उक्त पुस्तिकाले शुरुमा सरकारलाई झुक्याउन सफल भयो । तर गिद्धका जस्ता तिखा आँखा लिएर बसेका शासकहरूले पुस्तिकाको उद्धेश्य चाल पाईहाले । पुस्तिका प्रतिबन्धित भयो । वीगेडको प्रकाशन संस्था बन्द भयो । पुस्तिकाको लेखक अरु कोही थिएन ब्रुनो बावेर नै थिए ।

सरकारले प्रेसमाथि गरेको निरंकुश व्यवहारको आलोचना गर्दै एक लेख लेखेर मार्क्सले अर्नोल्ड रुगले प्रकाशन गर्ने पत्रिकामा पठाएका थिए । तर कडा सेन्सरशीपको कारण प्रकाशन हुन सकेन । यो लेख नै मार्क्सको पहिलो राजनीतिक लेख थियो । पछि यो लेख रुगले निकालेको संग्रहमा प्रकाशित भयो । त्यति नै बेला प्रशियाली राजतन्त्रको विरोध गर्ने राईन प्रान्तका पूँजिपतिहरूले कोलोनमा जनवरी १, १८४२ देखि ‘राइनिश जाइटुंग’ (राइन समाचारपत्र) नामक पत्रिका प्रकाशन गर्न शुरु गरे । पत्रिकाका सम्पादकहरूले शुरुदेखि नै वाम हेगेलपन्थीहरूको रचनालाई प्राथमिकता दिए । शुरुमा पत्रिकाको स्तर खासै राम्रो नभएपनि सोही सालको अप्रिल १ मा मार्क्स प्रधान सम्पादक बनाइएपछि रुप नै फेरियो । तिक्ष्ण विश्लेषण र कठोर टिप्पणीका कारण पत्रिका पठनीय बन्यो । पाठक बढे । सरकार डराउन थाल्यो ।

राइन समाचारपत्रमा मार्क्स सम्पादक भएकै समयमा एंगेल्स पनि जोडिन आइपुगे । १८४२ को मार्च महिनादेखि एंगेल्सले उक्त पत्रिकामा आफ्ना लेखहरू पठाउन थाले । आफ्ना लेखहरूबाट एंगेल्स कामदार वर्गको पक्षमा र निरंकुश राज्यको कर्तुतको विपक्षमा लेख्ने जोदाहा लेखकको रुपमा चिनिइसकेका थिए । नोभेम्बरमा एंगेल्स आफ्ना बुवाको साझेदारी रहेको कपडा कारखानामा काम गर्न जर्मनबाट बेलायतको म्यानचेष्टर जाँदैथिए । बाटोमा पर्ने राइन समाचारपत्रको कार्यालयमा पसे । त्यहीं नै मार्क्सको एंगेल्ससँग पहिलो भेट भयो । लेखबाट मात्र परिचित यी दुई व्यक्तित्वले पहिलोपटक हात मिलाउँदा आफूहरूको मित्रता मानव जातिकै इतिहासमा नमूना बन्छ भन्ने सोंचेका पनि थिएनन् । जबकि पहिलो भेटमा वैचारिक असहमतिका कारण त्यति खुलेर कुरा पनि भएन ।

मार्क्सको सम्पादनमा राइन समाचारपत्र झन् भन्दा झन् क्रान्तिकारी हुनथाल्यो । राइन प्रान्तमा सरकारले नक्कली संसद बनाएको थियो । उक्त संसदका सदस्यहरू जमिन्दारहरू हुने गर्दथे । पत्रिकामा उक्त संसदको कालो कर्तुत छापिन थाल्यो । सरकारको नयाँ–नयाँ जनविरोधी नीतिको कडा भन्दा कडा आलोचना छापिन थाल्यो । अन्ततः सरकारको वक्रदृष्टि राइन समाचारपत्रमाथि परिछोड्यो । लेख र समाचारका पंक्ति–पंक्ति काटिन थाले । मोजेली उपत्यकाका किसानहरूलाई राज्यले गरेको दमनको विरुद्धमा समाचार र लेख छापिएपछि सरकारले कुनै पनि हालतमा पत्रिका बन्द गर्ने निर्णय गर्यो । पत्रिका बन्द नहोस् भनेर १७ मार्च १८४२ मा मार्क्सलाई राजीनामा दिन लगाइयो । तर डरले थरथरी भइसकेको सरकारले पत्रिका चालु भएको हेर्नैसकेन । प्रकाशनको एक वर्षमै १८४५ मा पत्रिका पूर्णरुपले बन्द भयो ।

ज्ञानको नयाँ पथमा


सेन्सरको कठोर नियन्त्रणमा पनि मार्क्सको गहन अध्ययन–अनुसन्धान रोकिएन । ज्ञानको नयाँ–नयाँ क्षितिज उघार्न मार्क्सलाई कुनै संकोच लाग्दैनथ्यो । त्यसको लागि पुराना सम्बन्धहरू तोड्न पनि उनी पछि पर्थेनन् । बर्लिनका लागि वाम हेगेलपन्थी साथीहरू हेगेलको पुरानो विचारमा बाँधिइरहेथे भने मार्क्सले हेगेलका कमजोरीहरू भेट्टाउन थालेका थालिसकेथे । राईन समाचारपत्रमा काम गर्दा मार्क्सले हेगेलका कमजोरी पत्ता लगाउन थालेका थिए । त्यतिबेला राइन संसदका नीतिहरूको आलोचना गरिरहँदा मार्क्सले समाजको भौतिक नियमको अध्ययनको खाँचो महसुस गरे । जीवनका संघर्षहरूबाट मार्क्सले मेहनत गर्ने जनता र तिनीहरूको अधिकारविहिन जीवनबारे थाहा पाए । सरकारले जनताको नभई पुरोहित र कुलिनहरूको हितमा काम गर्ने निष्कर्षमा पुगे । यो शत्रुतापूर्ण वर्गीय समाजमा राज्यको भूमिका पत्ता लगाउने कामको  पहिलो पाईला थियो । त्यस्तै पत्रिकामा काम गर्दा काठहरूको चोरी सम्बन्धी कानुन र मोजेली उपत्यकाका किसानहरूको दुःखको अध्ययनबाट मार्क्सलाई राजनीतिक अर्थशास्त्रमा आफ्नो कम जानकारी भएको महसुस भयो ।


हेगेल



हेगेलका द्वन्द्ववादी दार्शनिक अवधारणाहरू त ठिकै थिए । तर समाज विश्लेषणका निचोडहरू गलत थिए । उनी आदर्शवादको जगमा उभिएका थिए । मार्क्सले समाज विकासको सिद्धान्त खोज्नैपर्ने भयो । 




यतिबेला नै मार्क्स पुरानो विचारबाट नयाँ विचारतर्फ लाग्दै गरेको पाइन्छ । उनी जर्मनीका मजदुरहरूसँग सिधा सम्पर्कमा थिए । त्यतिबेलाका समाजवादी सिद्धान्तको गहिरो अध्ययन गरिरहेथे ।

पत्रिकामा रहँदासम्म मार्क्समा हेगेलको न्याय सिद्धान्त नै हावी थियो । तर त्यो सिद्धान्तको सीमा उनले बुझ्न थालिसकेका थिए । हेगेल राज्यलाई ‘सामाजिक संरचना’को जग ठान्दथे । मार्क्सले भने ‘नागरिक समाज’ नै सामाजिक संरचनाको जग भएको फेला पारे  । अब हेगेलप्रति मार्क्सको विश्वास मर्दै गयो । हेगेलका द्वन्द्ववादी दार्शनिक अवधारणाहरू त ठिकै थिए । तर समाज विश्लेषणका निचोडहरू गलत थिए । उनी आदर्शवादको जगमा उभिएका थिए । मार्क्सले समाज विकासको सिद्धान्त खोज्नैपर्ने भयो । मार्क्सले हेगेलका सिद्धान्तहरू छोडिदिएर समाज विकासको नियम खोज्न थाले । पुरानो बाटो त्यागेर नयाँ बाटो आफैले खन्दै गरेको यो मोडमा आईपुगे फायरवाख ।

फायरबाख
लुडविग फायरवाख वाम हेगेलपन्थीहरूमध्येका एक थिए । १८४२ मा उनले लेखेको ‘इसाई धर्मको सार’ नामक
पुस्तकले वाम हेगेलपन्थीहरूलाई निकै प्रभाव पारेको थियो । फायरवाख विस्तारै हेगेलबाट टाढिंदै थिए । उनी भौतिकवादमा विश्वास राख्न थालेका थिए । समाजलाई भौतिकवादी दृष्टिबाट हेर्न थालेका थिए । १८४३ को शुरुमा अर्नोल्ड रुगले दुई भागमा प्रकाशन गरेको दार्शनिक लेखहरूको संग्रहमा फायरवाखको लेख सबभन्दा अगाडि थियो । उनले हेगेलको दर्शनलाई रद्दीको टोकरीमा फालिदिएको घोषणा गरेका थिए ।



मार्क्सले फायरवाखको विचारहरूको गहिरोसँग अध्ययन गरे । फायरवाख भौतिकवादी थिए । तर उनी एकदमै यान्त्रिक भौतिकवादी थिए । संसारको गतिशील चरित्र बुझ्न उनी असफल थिए । यतिबेला मार्क्सको मस्तिष्कमा विचारका छालहरू एक पछि अर्को गर्दै आईरहेथे । संसारलाई हेर्ने र बुझ्ने तरिकाबारे उनी घोत्लिइरहेथे । अहिलेसम्मका दर्शनहरू एकांगी र अपूर्ण भएको महसुस भईरहेथ्यो । हेगेल समाजको परिवर्तनशील चरित्र बताउन त बताउँथे तर परिवर्तनको कारण भन्न असफल थिए । हेगेल भन्थे– समाज परिवर्तनशील छ । तर त्यस्तो कुन शक्ति हो जसले समाज परिवर्तन गर्छ ? हेगेलसँग स्पष्ट जवाफ थिएन । फायरवाख हेगेलका आदर्शवादी धारणासँग सहमत थिएनन् । उनी भन्थे– संसार भौतिक तत्वहरूले बनेको छ । भौतिक पदार्थले चेतनाको निर्माण गर्छ । मार्क्स सत्यको अन्वेषण गर्ने बाटो खोजिरहेथे । राइन समाचारपत्रमा काम गर्दाको अनुभवले उनलाई राज्य, समाज र काननुका अन्तरसम्बन्धबारे अध्ययन गर्नुपर्ने खाँचो महसुस गराइरहेथ्यो । त्यति नै बेला बेलायत र फ्रान्सका मजदुरहरूको व्यवस्थाप्रतिको आक्रोश सडकमा पोखिइरहेथ्यो । विश्व घटनाबारे निरन्तर अद्यावधिक हुने मार्क्सलाई ती आन्दोलनहरूले थप सोंच्न बाध्य गराए । विचारको भूमरीमा डुँगा चलाईरहेका मार्क्सको जीवनमा त्यति नै बेला जोडिन आइपुगिन जेनी ।

साहस दिने सम्बन्ध

मार्क्स र जेनी


१६ जुन १८४३को दिन जर्मनीको क्रेयत्स्नाख शहरमा जेनी र मार्क्सले बिहे गरे । सानैदेखिको प्रेम सम्बन्धले दाम्पत्य जीवनको रुप पायो । तर अगाडि जिन्दगीको मैदान संघर्षको निम्ति खाली थियो । त्यसो त बिहे गर्नु पनि आफैमा ठूलो संघर्ष थियो । मार्क्सको परिवार एक औसत परिवार थियो । जेनीको परिवार र कुल राजनीतिक, सामाजिक स्तरमा ठूलो स्तरको मानिन्थ्यो । राज्यका दाहिने हात बनेको कुलकी एक ‘समझदार’ केटीले राज्य विरोधी बनिसकेको युवकसँग बिहे गर्नु सहज थिएन । तर जेनीले मार्क्सलाई राम्रैसँग चिनेकी थिइन् । मार्क्सभित्र हुर्किदै गरेको नयाँ युगको विचार ठम्याइसकेकी थिइन् । किनभने उनी प्रेम गर्थिन् । त्यसैले खोक्रा मान्यता र फोस्रा आडम्बरका सारा पर्खालहरू नाघेर उनाी मार्क्सको जिन्दगीमा जोडिन आइपुगिन् । प्रेमको यो प्रभाव बुझेरै होला सायद, जेनीले जिन्दगीको एकक्षणमा भनेकी थिइन– ‘प्रेमले मानिसलाई साहस दिन्छ ।’ अनि जीवन अनुभव जोडेकी थिइन्– ‘दुःखले इस्पात बनाउँछ’ ।

चार्ल्स फ्युरिये
रोबर्ट ओवेन
सेन्ट साइमन

मार्क्स क्रेयत्स्नाखमा अक्टोबरसम्म बसे । त्यहाँ उनले राजनीतिक अर्थशास्त्र र इतिहासको गहन
अध्ययन गरे । उनी राज्य, समाज र मानव जीवनको अन्तरसम्बन्धबारे अध्ययन गर्न चाहन्थे । तर, जर्मनीको मात्रै अनुभव पर्याप्त थिएन । त्यसैले उनले बेलायत, फ्रान्स र अरु देशहरूको इतिहास पढ्न थाले । चाल्र्स फ्युरिये, सेन्ट साइमन र रोवर्ट ओवेनजस्ता काल्पनिक समाजवादीहरूको पनि आलोचनात्मक अध्ययन गरे मार्क्सले । राजनीतिक अर्थशास्त्र र इतिहासको अध्ययन गर्दा गरिएका नोटले सातवटा ठूला ठूला कापी भरिए । मार्क्सले यही समयमा हेगेलका राज्य र कानुनसम्बन्धी सिद्धान्तहरूको आलोचना गरेर पुस्तक पनि तयार गरे । तर परिस्थितिले त्यो रचना अधुरै रह्यो ।

मार्क्स अब समाजको अध्ययन गर्ने विधिको खोजीमा थिए । उनी आफ्ना विचारलाई प्रकाशनमा ल्याउन चाहन्थे । तर जर्मनीभित्रै बसेर सम्भव थिएन । त्यतिनैबेला अर्नोल्ड रुगले फ्रान्सबाट ‘जर्मन–फ्रेन्च वार्षिक पत्रिका’ निकाल्ने योजना अगाडि सारे । २५ वर्षका मार्क्स र २९ वर्षकी जेनी १८४३ को अक्टोबरको अन्त्यतिर फ्रान्सको पेरिसतिर लागे ।

नयाँ विचारको निर्माणमा


फ्रान्स मजदुर आन्दोलनहरूको केन्द्र थियो । फ्रान्सेली क्रान्तिले पूँजीवादको स्थापना गरेको भएपनि त्यहीं समयदेखि नै सर्वहारा वर्ग पनि निरन्तर संघर्षमा थियो । सन् १८३१ र १८३४ मा फ्रान्सको लियोन शहरमा भएको मजदुर विद्रोहले फ्रान्सका मजदुरहरूलाई एकगठ गराइरहेको थियो । यहीं आन्दोलनले फ्रान्सका मजदुरहरूलाई गोप्य संगठन बनाउन र आउने दिनका निम्ति तयार रहन सिकाएको थियो । अर्कोतर्फ फ्रान्स भौतिकवादी विचारको केन्द्र पनि थियो । यी सबै परिस्थितिले मार्क्सलाई प्रभाव नपार्ने कुरै भएन । उनी तुरुन्तै फ्रान्सेली क्रान्तिको इतिहास, काल्पनिक समाजवादीहरूको कार्य र बेलायती तथा फ्रान्सेली पूँजीवादी अर्थशास्त्रीहरूको अध्ययनमा दिनरात जुटे । अध्ययनसँगै मजदुर आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध पनि राख्न थाले । फ्रान्सका गोप्य संगठनहरूको प्रभावले जर्मनीबाट भागेर फ्रान्स आएका मजदुरहरूले पनि ‘न्याय संघ’ नामक संगठन बनाएका थिए । मार्क्स पनि यसमा आबद्ध भए । यो संगठनको शाखा लण्डन, स्विट्जरल्याण्ड र जर्मनीका केही शहरमा पनि थियो । तुरुन्तै फ्रान्सेली समाजवादीहरू लुई ब्लां, एत्येन काबे, पियेर लेरु, पियेर जोसेफ प्रुंधोसँग उनको चिनजान भयो । जर्मनीका महान् क्रान्तिकारी कवि हेनरिक हाइनेसँग घनिष्ठता बढ्यो । अनि पेरिसमै भेट भए रुसी राजनीतिक नेताहरू मिखाइल बाकुनिन र वसीलि बोत्किन ।

मार्क्सको निवासमा अब दिनहुँ जमघट हुन थाल्यो । बहस र छलफल हुनथाले । अध्ययनले तिव्र गति लिन थाल्यो । आफ्नो गहन अध्ययनबाट मार्क्सले फ्रान्सेली इतिहास वर्गसंघर्षको लगातार प्रवाह भएको फेलापारे । बढ्दै गरेको मजदुर आन्दोलनको अनुभवले त्यो वर्गसंघर्षको मैदानमा अब सर्वहारा वर्ग मुख्य लडाकु भएको फेलापारे । त्यति नै बेला अर्थशास्त्री एडम स्मिथ डेविड रिकार्डो लगायतको आलोचनात्मक अध्ययन गर्नथाले ।

फ्रान्सेली मजदुरहरूको जीवन र संघर्षसँग प्रत्यक्ष सम्बन्ध र पूँजीवादी राजनीतिक अर्थशास्त्रीहरू र काल्पनिक समाजवादीहरूको आलोचनात्मक अध्ययनले मार्क्सलाई पूर्णतया क्रान्तिकारी बनाइदियो । मार्क्स अब संसारको अध्ययन गर्ने पद्धति र त्यसका निचोडहरूको सार खिच्न थाले ।  त्यो कामको शुरुवात ‘जर्मनी–फ्रान्सेली वार्षिक पत्रिका’बाट ।

बेलायतको मागपत्र आन्दोलन

अर्नोल्ड रुगको आग्रहमा उक्त पत्रिका निकाल्न भनेरै मार्क्स पेरिस आएका थिए । उक्त पत्रिकामा लेख दिनका लिाग जर्मनी र फ्रान्सका समाजवादी चिन्तकहरूलाई अनुरोध गरिएको थियो । तर फ्रान्सेली बुद्धिजीविले आफ्ना रचना दिएनन् । केवल जर्मनीका चिन्तकहरूको रचना समावेश गरेर यो पत्रिकाको दुईवटा अंक एकैपटक सन् १८४४ को फेब्रअरीमा प्रकाशित भयो । पत्रिकामा मार्क्स, एंगेल्स, फायरवाख, हेनरिक हाइने, अर्नोल्ड रुग, बाकुनिन लगायतका विद्वानहरूको रचना प्रकाशित भयो ।

उक्त पत्रिकामा मार्क्सले हेगेलको दर्शनको आलोचना गरेर एक लेख र ब्रुनो बावेरको पुस्तकको टिप्पणीमा अर्को लेख गरी दुईवटा लेख प्रकाशन गरेका थिए । ती लेखहरूमार्फत मार्क्सले वर्गसंघर्षको दार्शनिक रुपरेखा प्रस्तुत गरे । धर्म र राजनीतिको अन्तरसम्बन्धको व्याख्या गरे । र, सर्वहारा वर्गलाई नयाँ युगको निर्माताको रुपमा अगाडि सारे । उनले ऐतिहासिक भौतिकवादी द्वन्द्ववादको प्रारम्भिक नक्सा कोरे आफ्ना लेखहरूमा । लेखे– ‘दर्शनको भौतिक अस्त्र सर्वहारा वर्ग हो भने सर्वहारा वर्गको आत्मिक अस्त्र दर्शन हो ।’  माध्यमिक विद्यालयमा मार्क्सले अगाडि सारेको मानवजातीको सेवा गर्ने चाहनाले ठोस, क्रान्तिकारी रुप पायो । मानवजातीको सेवा गर्नुको अर्थ नयाँ युग निर्माण गर्ने क्रान्तिकारी सर्वहारा वर्गको सेवा गर्नु भएको मार्क्सले थाहा पाए । पुरै तनमनले त्यसैमा समर्पित हुनथाले ।

मार्क्स आफ्नो अध्ययनबाट जुन निचोडमा पुगिरहेथे एंगेल्स पनि लगभग उस्तै निचोडमा पुगेका थिए । जर्मनीमा जन्मेतापनि बेलायतमा आफ्ना बुवाको कारखाना सम्हाल्दै गरेका फ्रेडरिक एंगेल्सले मजदुरहरूको स्थिति, उनीहरूको जीवनको गहिरोसँग अध्ययन गरे । बेलायतमा भएको मागपत्र आन्दोलनका नेताहरू, रोवर्ट ओवेनका अनुयायी समाजवादीहरू लगायतसँग संगत गरे । स्वतन्त्र अध्ययनबाटै एंगेल्स पनि त्यहीं निष्कर्षमा पुग्दैथिए जहाँ मार्क्स पनि पुग्दैथिए । पत्रिकामा उनको ‘राजनीतिक अर्थशास्त्रको आलोचनाको रुपरेखा’ शीर्षकको लेख प्रकाशित भयो । यो लेखले मार्क्सलाई प्रभाव पार्यो । मार्क्सको रचनामा एंगेल्सले आफूसँग मेल खाने विचार भेट्टाए । एंगेल्सको रचनामा मार्क्सले आफ्नाजस्तै विचार भेट्टाए । राइन खबरपत्रिकाको समयमा पहिलोपटक भेट्दा औपचारिक कुराकानीमा टुंगिएका यी दुई विचारकहरू अब भने एक अर्कालाई पत्र लेख्न थाले । १८४४ को अगस्टमा बेलायतबाट जर्मनी जाँदै गर्दा एंगेल्स मार्क्ससँग दश दिन बसे । यी दश दिनमा दुवैले एक अर्काका विचार र विश्लेषणलाई आत्मसात गरे । अब यी पक्का साथी भए । दुवैले उस्तै तरिकाले सोंच्न थाले । उस्तै तरिकाले संसार हेर्न थाले । र, दुवैले सर्वहारा वर्गको सेवामा सिंगो जीवन अर्पण गर्ने साझा लक्ष्य तय गरे ।

पत्रिकाको थप अंक प्रकाशन हुन सकेन । कारण थियो, अर्नोल्ड रुग र मार्क्सबीचको मतभेद । अर्नोल्ड रुग उदार पूँजीवादी नै थिए । उनी सर्वहार वर्गलाई नयाँ युगको संवाहक मान्दैनथे । पूँजीवादलाई विकल्पहीन ठान्दथे । तर मार्क्सले सर्वहारा वर्गमा अन्तरनिहित युग फेर्ने शक्ति ठम्याइसकेका थिए । १८४४ को जून महिनामा जर्मनीको सिलेसिया प्रान्तका जुलाहाहरूको विद्रोहबारे फरक धारणाहरूले मार्क्स र रुगलाई खुला बहसमै उतारिदियो ।

१८४४ को जून महिनामा सिलेसियाका मजदुर र किसानहरूले स्थानीय कारखाना मालिकको विरोधमा संघर्ष गरे । त्यो आन्दोलनलाई राज्यले को पहिलो विद्रोहको रुपमा स्वागत गरे । १८४४ को शुरु देखि केही उदार राजनीतिकहरू ‘बरवार्टस्’ (अघि बढौं) नामको अर्ध–साप्ताहिक पत्रिका निकाल्न लागेका थिए । मार्क्स र रुगले यहीं पत्रिकामा खुल्ला बहस गरे । मार्क्सले सोही पत्रिकामा काम गर्न थाले । उनको कामले प्रशियाली सरकार डरायो । उसले पत्रिका बन्द गरेर मार्क्स र अरुलाई फ्रान्सबाट निकाला गर्न फ्रान्सेली सरकारलाई अनुरोध गर्यो । अन्ततः मार्क्स फ्रान्सबाट निकालिए । १८४५ फेब्रुअरी ३ मा मार्क्स र जेनीले फ्रान्स छोडेर बेल्जियमको ब्रसेल्सतिर लागे । साथमा थिइन् भर्खर नौ महिना पुगेकी छोरी पनि । यात्राखर्च जुटाउन उनीहरूले घरको फर्निचर कौडीको भाउमा बेच्नुपरेको थियो ।

(मार्क्सको २०० औं जन्मजयन्तिको अवसरमा भलाकुसारीमा मार्क्सबारेका रचना प्रकाशित हुनेछन् । मार्क्सको यो जीवनी धारावाहिक रूपमा प्रकाशन हुनेछ । - भलाकुसारी टिम)

Comments