जिन्दगी ज्याकारान्डाको एक झोक्का



लक्ष्मण श्रेष्ठ

हामी एउटा अलमलमा जन्मन्छौं । आमा–बाबुको अलमलमा । अनि हुर्किन्छौं हामी– अलमलमै । बिस्तारै सजाउन थाल्छौं– सपना । त्यो पनि अलमलको । डाक्टर बनुँ कि इन्जिनियर ? कविता लेखुँ कि लभ लेटर ? विदेश जाउँ कि राजनीति गरुँ ? अनि अलमलिंदा अलमलिंदै बाँच्नुको एक छेउ लागिसकेका हुन्छौं ।
काठमाडौं  दरबार मार्ग चोकमा फुलिरहेको ज्याकारान्डा । फोटोः मिना भट्टको ट्विटर पोस्टबाट  ।

एमोनियाको पिरो गन्धले टट्टाइरहेको नाक पुछ्दै कलेज गेटबाट बाहिरिन्छु म । झट्ट सम्झिन्छु, कार्सिनोजेनिक (क्यान्सर लगाउनसक्ने) आर्सेनिक अक्साइड छोएको हात हो यो । के भर ! कुनै पनि बेला मर्न सक्छु क्यान्सर लागेर ! तर के मर्नलाई क्यान्सर नै हुनुपर्छ र ? अस्ति भर्खर अफगानिस्तानमा पहिरो खस्यो– पच्चीस सय भन्दा बढी मरे । के तिनीहरूले कहिल्यै सोंचेका थिए– मर्नेछौं यसरी । कति–कति सपना थिए होलान् ? कति–कति रहर थिए होलान् ? के थाहा ? कुनै युवक थियो होला । सखारै प्रेम प्रस्ताव पठाएर जवाफ कुरिरहेको । के थाहा ? कुनै युवती थिइहोली, पहिलो प्रेमको अनुभूतिमा जीवनको सपना बुनिरहेकी । वा केही नहुन पनि सक्छ । के थाहा ?

उफ् ! कति क्षणिक छ जीवन । मान्छे गर्भाधानको पहिलो प्रहरबाटै मृत्युको निश्चितता बोकेर हिंड्छ । अनिश्चित जीवनमा एउटै त निश्चित छ– मृत्यु । र, यो निश्चितता, र यो अनिश्चतताको पेण्डुलममा जुन समय छ– सायद त्यहीं हो जीवन । तर त्यसो पनि होइन कि ? के जीवनको पूर्णविराम मृत्यु नै हो ? त्यसोभए सोक्रेटस को हो ? बुद्ध को हो ? गंगालाल को हो ? मृत्युपछि पनि सम्झिइने तिनीहरूको जीवन के मिथक हो ? उफ् ! कस्तो अलमल ? सायद यही अलमल नै बाँच्नुको पर्याय हो । हामी एउटा अलमलमा जन्मन्छौं । आमा–बाबुको अलमलमा । अनि हुर्किन्छौं हामी– अलमलमै । बिस्तारै सजाउन थाल्छौं– सपना । त्यो पनि अलमलको । डाक्टर बनुँ कि इन्जिनियर ? कविता लेखुँ कि लभ लेटर ? विदेश जाउँ कि राजनीति गरुँ ? अनि अलमलिंदा अलमलिंदै बाँच्नुको एक छेउ लागिसकेका हुन्छौं । जसरी सडकको छउ लाग्छौं । र, हिड्छौं । जहाँ पुग्छौं त्यहीं गन्तव्य बनिदिन्छ । जहाँ रोकिन्छौं त्यहींबाट फेरी अर्को बाँच्नुको उपक्रम शुरु हुन्छ । हरेक पाईला उपसंहार भइदिन्छ । हरेक पाइला प्राक्कथन बनिदिन्छ ।

तर होइन । यदि अलमल हुँदैनथ्यो भने हामी बाँच्नुको एउटा नियति त्यागेर जीवन जिउन शुरु गथ्र्यौं । त्यस्तो जीवन– बुद्धको जस्तो । जसले आफैलाई चिन्न सिकाए । भने– ‘तत्वमसि (त्यो तिमि हौ)’ । त्यस्तो जीवन– सोक्रेटसको जस्तो । जसले भने– ‘त्यही नै ज्ञानी हो जसलाई आफूले केही जान्दैन भन्ने थाहा छ ।’ त्यस्तो जीवन– माक्र्सको जस्तो । जसले एक महान् लक्ष्यको निम्ति बाँच्नुका स–साना आवश्यकता त्यागिदिए । त्यस्तो जीवन– शहीद गंगालालको जस्तो । जसले घर छोड्ने बेलामा आफ्ना जन्मदातालाई लेखे पत्र । र भने– ‘मातृभूमिको आँसु बगेको बेला म हाँस्न सक्दिन ।’

तर पनि म मर्न डराइरहेछु । सायद म जिउन जानिन । हैनभने किन आफ्नै हातसँग सशंकित छु म ?

हत्तेरी यो के सोंचिरहेछु म ? आज किन जीवन सोंचिरहेछु ? कहाँबाट मृत्युको लहरले चेतनामा गरिरहेछ हस्तक्षेप ? कलेज गेटनिर उभिएर म चिन्तन–चक्करमा पर्छु । हेर्छु, अगाडि ठिंग उभिएको छ– ‘घण्टाघर’ । हरेक पन्ध्र मिनेटमा बज्छ किन ? के यसले नापिरहेछ हाम्रो मृत्युको आगमन ? घडी बनाउने सोंचले के कहिल्यै सोंच्यो– उसले जीवनको खण्ड–खण्ड नापेर मृत्युको आगमनको गणना गरिरहेछ ? एकातिर रानीपोखरी छ । प्रताप मल्लले आफ्नो रानीको शोकमा बनाएको रे ! कसको आँशुले भरिएको यो पोखरी ? प्रताप मल्लको कि पोखरी खन्ने ज्यामिको ? किन सोंचेन प्रताप मल्लले– उसले पनि मर्नुपर्नेछ । किन सोंचेन उसले– यो पोखरी खन्ने ज्यामीका स्वास्नीहरूको पनि रुने आँखा छ ? के उसले मृत्यु बिस्र्यो ? सायद हरेक मान्छेले बिर्सन्छ मृत्यु र बाँच्नुको ढोंग गर्छ । किन मान्छेलाई मृत्युको अवश्यम्भाविताले पोल्दैन ? किन मृत्युको निश्चितताले डाम्दैन ?

जिन्दगी त्यहीं ज्याकारान्डाको फूलको निलो झुप्पा । जो फुल्छ र झर्छ । हामी त्यसको फुल्नुमा एउटा मुस्कान भेट्छौं । त्यसको झर्नुमा नयाँ मौसमको स्वागत पाउछौं । र, त्यो युवक ?

अचानक सल्बलाउँछन् पाइलाहरू । बतासिदै हिंड्छु म । आइपुगिसकेको हुन्छु त्यहीं चोकमा जहाँ मध्यसडकमा फुलिरहेछ ज्याकारान्डा । निलो ज्याकारान्डा । कुनै उदास केटीले आवेगको झोंकमा पोखिदिएको मनको पातलो त्यान्द्रो जस्तो देखिन्छ । बादल मडारिइरहेको कालो आकाशको क्यानभासमा ज्याकारान्डाको निलो झुप्पा हेर्नोस् र मनलाई बतासिन दिनोस् । अघि भर्खरको मृत्यु भय टाप कस्छ । मान्छे, सायद यस्तै स–साना क्षणहरूमा जिन्दगी झुण्ड्याएर हिंड्छ । हरेक पलहरू समयको भित्तामा ठोकिएका किलाहरू हुन् र हरेक सम्झना तिनै किलामा झुण्डिने जिन्दगी हो । अनि सिंगो जीवन तिनै किलाहरूमा झुण्डिएको लामो फेहरिस्त । अनि मृत्यु ? अचानक सोक्रेटसको सम्झना आउँछ । जसले हेमलक नामक विष पिए र मरिदिए । ए, हैनहैन कसैले भनेको छ– ‘सोक्रेटसले हेमलक पिउन जाने र जिउन जाने ।’ त्यसोभए जिन्दगी के त्यहीं ज्याकारान्डाको निलो झुप्पा हो ? झणभरमा झर्ने र त्यसको सौन्दर्यले समयको पानामा डामिछोड्ने ।

ज्याकारान्डाका झुप्पाहरूलाई फ्रेम बनाएर म प......र तिर हेर्छु । निकै पर उभिएको छ नारायणहिटी दरबारको मूल ढोका । एउटा मन्दिर जस्तो संरचना । अनि यहीं सडकनेर उभिएको छ शालिक । दरबार संग्रहालय बनिसकेको छ । र, शालिक उस्तै छ । समय टक्क अडिएको हो कि एक्लै दौडिएको ? रनभुल्लमा पर्छु ।

समयको किलामा झुण्डिएको जिन्दगी । ज्याकारान्डाको निलो झुप्पा । विगतदेखी वर्तमानसम्म अझै उस्तै शालिक  । संग्रहालय बनिसकेको दरबार । सोंचमग्न म । के रोकियो समय ?

यो त्यहीं दरबार हो । समयको लामो पानामा उसले आफूलाई चिनाइरह्यो एक शक्ति प्रतिकको रुपमा । आज जो कोही पनि जानसक्छ केही रुपैयाँको टिकट काटेर । किन जान्छ मान्छे ? किन हेर्छ शासनको पुरानो गद्दी ? किन हेर्छै इतिहास बनिसकेको राजदण्ड ? के मान्छेलाई शक्तिको भूत पनि प्रिय हुन्छ ?

अनि यो शालिक ? उस्तै छ । अझै पनि श्रीपेच लगाएर मूल सडकमा ठिंग उभिइरहेछ । झट्ट सम्झिन्छु म ।  आन्दोलनको हुरीमा यो शालिक ढाल्न चढेका थिए तन्नेरीहरू । र ढले मेसिनगनले फालेको गोलीको फोहरामा । तर पनि चढिरहे । झरिरहे । तर अझै पनि उस्तै छ यो शालिक । र, कतै पनि छैनन् शालिक ढाल्ने उत्साही आवाजका स्तम्भ । केवल झरिरहेछन् ज्याकारान्डाका निला झुप्पाहरू सडकमा । त्यो युवक जो चढ्यो गोलीका फोहोराबीच पनि आन्दोलनको ढुंगाा समाएर हातमा र हिर्कायो शालिकको शिरमा । र, ढल्यो सडकमा । के त्यो मात्र ज्याकारान्डाको निलो झुप्पा थियो ? के त्यसको उत्साह केवल बसन्तको क्षणिक सौन्दर्य थियो ?

र, लोकतन्त्र.........? अर्थात्......नयाँ राजाहरूको शासन......?

रत्नपार्कका पेटीहरूमा, बागबजारको आकाशेपुलमा लखेटिंदा लखेटिंदै पनि जिन्दगी थापेर बेच्न बसेकाहरूलाई थाहा छ लोकतन्त्रको धुँवा कति पिरो छ ? त्यो शान्ति वाटिकाको छेउमा प्रहरी कार्यालयमा विदेश जाने योग्यताको सिफारिस लिन लाम लागेकाहरूलाई थाहा छ लोकतन्त्रको घाम कति चर्को छ ? जहाँ जिन्दगी केवल मरुभूमि बन्छ । राजधानीका सस्ता होटलहरूमा भिसा कुरेर दिन कटाइरहेका देशका तमाम नौजवानहरूलाई थाहा छ लोकतन्त्र कति खस्रो र रुखो छ ?

हो, टेलिभिजनका पर्दामा देखिन्छ लोकतन्त्रको चिल्लो अनुहार । नयाँ–नयाँ राजाहरूको कुटील मुस्कान । सत्ताको शकुनि जालझेल । षडयन्त्रका नयाँ–नयाँ डिनर पार्टीहरू । तिनका प्यालामा छचल्किरहेको रातो झोल । के हो त्यो ? हाम्रो रगत ?

दरबार संग्रहालय बनिसकेको छ । शालिक अझै उस्तै छ । लोकतन्त्र एउटा व्यथा बनिसकेको छ । जिन्दगी हरपल सकस बनिरहेछ । हरेक नयाँ सेकेण्ड उकालो बन्छ । हरेक नयाँ पलमा दम बढ्छ । तर पनि मृत्युको डरले डामिरहन्छ । र त लोकतन्त्रका नयाँ राजाहरूको हालीमुहाली चलिरहन्छ । शासनको वैभवले हाम्रो सपना झोल बनाएर प्याला भर्छ । र, शालिक उस्तै रहन्छ ।

सायद हामीले जानेनौं जिउन किनभने मुत्यु भयले चिमोटिरह्यो ।

हामीले बुझ्नुपर्ने, जिन्दगी त्यहीं ज्याकारान्डाको फूलको निलो झुप्पा । जो फुल्छ र झर्छ । हामी त्यसको फुल्नुमा एउटा मुस्कान भेट्छौं । त्यसको झर्नुमा नयाँ मौसमको स्वागत पाउछौं । र, त्यो युवक ? त्यो शालिक ढाल्ने युवक ? त्यो पनि ज्याकारान्डाको फूल । जो फुल्न जान्यो । र, झर्न जान्यो ।

नजान्ने त केवल हामी हौं । जो बाँचिरहेछौं र मरिरहेछौं पल–पल । र, डराइरहेछौं मृत्युदेखि पल–पल । र, शासकहरू हाम्रो मृत्युभयमा शासनको जग बनाइरहेछन् । हामीले सोक्रेटसले जस्तै मर्न जान्नुपर्ने । बुद्धजस्तै जिउन जान्नुपर्ने ।

२०७१ वैशाख २३ बिहान ९ः१६, नयाँ बानेश्वर, काठमाडौं ।


Comments

  1. कति मीठो अात्मालाप!! हो त जिन्दगी ज्याकाराण्डाको झुप्पा जति पनि महत्त्वको लाग्दैन घरिघरि । फुलेको ज्याकाराण्डा बरु सबैको नजर तान्न सफल हुन्छ एकै झलक सहि । यहाँ अनगिन्ती जीवनहरु बेखबर अाउँछन् जान्छन् ,,,,,हार्दिक अाभार ब्यक्त गर्छु यो सारगर्भित लेखको लागि पृय कलम!! लक्ष्मण भ्राता!!

    ReplyDelete

Post a Comment