लक्ष्मण श्रेष्ठ
एक व्यक्तिसँगको चिनजानले उनमा ज्ञानको भोक जगाइदियो । ती व्यक्ति थिए– लुडविग फोन वेस्टफालेन । कार्ल मार्क्सका बुवाका चिरपरिचित लुडविग मार्क्सका साथी एडगरका बुवा थिए । साथीसँग खेल्न जाने क्रममै उनको लुडविगसँग चिनजान भएको थियो । लुडविगसँगको चिनजानले मार्क्सलाई ज्ञानको खोजी गर्न प्रेरणा दियो
सन् १८३७ को शरद ऋतु । जर्मनीको बर्लिन विश्व विद्यालय । ठूलो निधार र घुँघरिएको कपाल भएको एक अठार वर्षे तन्नेरी विश्वविद्यालयका विभिन्न कक्षाहरूमा चक्कर लगाउँदै हिंड्थ्यो । दर्शनको कक्षादेखि कानुनको व्याख्यानसम्म । इतिहासको ठेलीदेखि साहित्यको रससम्म । फूल चाहर्दै हिंड्ने माहुरीजस्तै ज्ञानको हरेक क्षेत्र चाहर्दै हिंडेको यो तन्नेरी हरेक कुरा सिक्न चाहन्थ्यो । हरेक विषय जान्न चाहन्थ्यो । ज्ञानको असिम भोक भएको यो तन्नेरी निकै नै मेहनती थियो । जर्मन दर्शनदेखि ग्रिक दर्शनसम्मको अध्ययनमा उसले कैयौं रात ननिदाई बिताउँथ्यो । इतिहासको अध्ययन गर्न पुस्तकालयमा घण्टौं बिताउँथ्यो । हरेक विषयको अध्ययन पछि बनाएका नोटहरूले उसका मोटा मोटा कापी भरिएका थिए । कुनै पनि विषयबारे धारणा बनाइसकेपछि ऊ बारम्बार आफ्नो धारणाबारे कठोर भएर विश्लेषण गरिरहन्थ्यो । हृदयभरि प्रेमिकाको प्रेम र ज्ञानको नयाँ क्षितिज उघार्ने अठोट बोकेको त्यो नवयुवकले भविष्यमा गएर नयाँ दर्शनको प्रतिपादन गर्यो । ज्ञानलाई समाजको विश्लेषण गर्ने काममा मात्र सिमित राखेन । समाजमा रहेको शोषण, विभेद, अन्याय हटाउनको निम्ति नेतृत्व पनि दियो । र, सिंगो मानव समाजलाई समानता र स्वतन्त्रताको उज्यालो दियो । त्यो नवयुवकलाई सबैले कार्ल मार्क्स भनेर बोलाउने गर्दथे ।
ज्ञान र प्रेमको बीजारोपण
कार्ल मार्क्स तत्कालीन प्रशियाली साम्राज्य (हालको जर्मनी) को राइनप्रान्तको ट्रियर नामक शहरमा जन्मेका थिए । प्राकृतिक स्रोत साधनले भरिपूर्ण राइन प्रान्त औद्योगिक विकासको क्रममा थियो । फलाम, कोइला आदिको उत्पादनले राइन प्रान्तलाई औद्योगिक विकासको बाटोमा डोर्याएको थियो । मार्क्स वकिल बुवा र सामान्य आमाको सन्तानको रुपमा जन्मेका थिए । उनी भन्दा पहिला अरु सन्तान भएतापनि अरुको निधन भएकाले उनी जेठो छोरा बन्नपुगे । उनका दुई बहिनीहरू थिए । यहुदी परिवारमा जन्मेतापनि मार्क्स ६ वर्ष पुग्दा उनका बुवाले धर्म परिवर्तन गरेका थिए । मार्क्सको बाल्यकाल तत्कालीन जर्मनी समाजका आम बालबालिकाको भन्दा खासै फरक थिएन । बुवा वकिल थिए भने आमा सामान्य सुशिक्षित गृहणी । अरु बालबालिकाजस्तै उनी पनि आफ्ना साथीसंगीसँग खेल्न जान्थे । खेल्थे, रमाउँथे । उनलाई शहरकै विद्यालयमा भर्ना गरिएको थियो । विद्यालयमा पढाइ हुने विषय पढेरै उनी हुर्केका थिए । तर एक व्यक्तिसँगको चिनजानले उनमा ज्ञानको भोक जगाइदियो । ती व्यक्ति थिए– लुडविग फोन वेस्टफालेन । कार्ल मार्क्सका बुवाका चिरपरिचित लुडविग मार्क्सका साथी एडगरका बुवा थिए । साथीसँग खेल्न जाने क्रममै उनको लुडविगसँग चिनजान भएको थियो । लुडविगसँगको चिनजानले मार्क्सलाई ज्ञानको खोजी गर्न प्रेरणा दियो ।
मार्क्सकी प्रेमिका जेनी फोन वेस्टफालेन |
उमेरले मार्क्सभन्दा चार वर्ष जेठी थिइन् । तर उमेरले सम्बन्धलाई रोकेन । सायद मार्क्स र जेनीलाई थाहै भएन प्रेमको फूल मनको बगैंचामा कहिले अँकुरायो । उनीहरू आफूलाई बुझ्ने भइसक्दा एक अर्काका भइसकेका थिए ।
लुडविग राइनल्याण्डका प्रशासक थिए । फ्रान्सको सीमामा पर्ने भएकाले राइन प्रान्तमा पठाइने प्रशासक विशिष्ट योग्यता भएका हुनेगर्थे । लुडविग त्यस्तै थिए । ग्रीसेली कवि होमरका कविताका पंक्ति–पंक्ति फर्रर भन्नसक्थे । शेक्सपियरका नाटकका संवादहरू जर्मन र अंग्रेजी दुवै भाषामा कण्ठ थियो । उनको घर किताबहरूले भरिएको थियो । सुशिक्षित लुडविगले कार्ल मार्क्सका जिज्ञासाहरूको समाधान गरिदिन्थे । नयाँ–नयाँ किताब पढ्न उत्साहित गरिरहन्थे । उनीबाट मार्क्स निकै प्रभावित थिए । मार्क्स बारम्बार लुडविगकोमा जान्थे नयाँ–नयाँ जानकारी पाउँथे । नयाँ प्रेरणा पाउँथे । लुडविगसँगको संगतबाट मार्क्सले ज्ञान र प्रेम दुवै पाए ।
त्यहीं नै साथी बनेकी थिइन् लुडविगकी छोरी र एडगरकी दिदी– जेनी फोन वेस्टफोन । उमेरले मार्क्सभन्दा चार वर्ष जेठी थिइन् । तर उमेरले सम्बन्धलाई रोकेन । सायद मार्क्स र जेनीलाई थाहै भएन प्रेमको फूल मनको बगैंचामा कहिले अँकुरायो । उनीहरू आफूलाई बुझ्ने भइसक्दा एक अर्काका भइसकेका थिए ।
विद्यालयदेखि विश्व विद्यालयसम्म
मार्क्सले सत्र वर्षको उमेरमा गृह शहरकै स्कुलबाट प्रवेशिका तह उत्तीर्ण गरे । स्कुलका प्रधानाध्यापक जोहान्न वाईटेनवाख र गणित तथा विज्ञान शिक्षक जोहान्न रुटेनिङ्गले उनलाई प्रभाव पारेका थिए । वाईटेनवाखले इतिहास र दर्शनशास्त्र पढाउँथे । उनी समकालिन अवस्थाका राम्रा जानकार थिए । त्यस्तै रुटेनिङ्ग भौतिकवादी दर्शनमा विश्वास राख्दथे । लुडविग फोन वेस्टफालेन र आफ्ना शिक्षकहरूको प्रेरणाले अध्ययनको सागरमा हाम फालेका मार्क्सलाई सानैदेखि मानव जातिका लागि केही गर्ने प्रेरणा प्राप्त भएको पाईन्छ । प्रवेशिका तहको परिक्षा दिने क्रममा उनले लेखेको ‘पेशाको छनौटबारे तरुणको विचार’ शीर्षकको निबन्धमा उनमा पुनर्जागरण कालका प्रगतिशिल विचारहरूको स्पष्ट छाप महसुस गर्न सकिन्छ । निबन्धमा मार्क्सले लेखेका थिए– ‘यदि हामीले मानव जातिको हित हुने पेशा रोज्दछौं भने त्यसको बोझ अलिकति पनि रहनेछैन । किनभने, त्यो सबैको निम्ति बलिदान हुनेछ । र, हामीले पाउने सुख स्वार्थले भरिएको तुच्छ र सिमित सुख हुनेछैन । हाम्रो सुख करोडौं, करोड जनताको सुख र खुशी हुनेछ ।’
स्कुले जीवन पछि मार्क्स उच्च शिक्षाको लागि बर्लिनको बोन विश्वविद्यालयको कानुन संकायमा भर्ना भए । तर कानुनका कठोर कक्षाहरूले मार्क्सको मन तान्न सकेनन् । त्यसैले उनी साहित्य, कला र सौन्दर्यशास्त्रको कक्षामा पनि सहभागी हुनथाले । बोन विश्वविद्यालयले मार्क्सलाई थाम्न सकेन । एक वर्षमै उनले त्यो विश्वविद्यालय छोडे र लागे बर्लिन विश्वविद्यालयतर्फ । बर्लिन विश्व विद्यालय आकारले मात्र बोन विश्व विद्यालयभन्दा ठूलो थिएन । यो उच्च स्तरको प्राज्ञिक थलो पनि थियो । आफ्नो समयका प्रभावकारी दार्शनिक हेगेलको कर्मभूमि रहेको बर्लिन विश्व विद्यालयमा प्रवेश गर्नु मार्क्सको जीवनको एक महत्वपूर्ण मोड थियो । जसले मार्क्सलाई ज्ञानको गहिराईमा प्रवेश गरायो । ज्ञानको नयाँ क्षितिजसँग परिचय गरायो । अनि आफैले सत्यको अन्वेषण गर्न उत्प्रेरित गर्यो ।
बोन विश्व विद्यालय छोडेर बर्लिन विश्व विद्यालय जाँदै गर्दा मार्क्सको जीवनमा अर्को एक महत्वपूर्ण क्षण पनि आएको थियो । त्यो हो, जेनीसँगको मगनी । शहरकै सुन्दरी, सुशील स्वभावकी जेनी र कुशाग्र बुद्धिका मार्क्सले प्रेमलाई जिन्दगीको सहयात्राको रुपमा लैजाने निर्णय गरे । हुर्किंदो प्रेमलाई सफल पार्न नै मार्क्स र जेनीले कसैलाई थाहै नदिई मगनी गरे । बर्लिन विश्व विद्यालय जानु ठ्याक्कै अगाडि ।
बर्लिन विश्व विद्यालयमा
बर्लिन विश्व विद्यालयमा मार्क्सको नयाँ जीवनको शुरुवात भयो । हृदयभरि एकातिर जेनीको उर्भर प्रेम र अर्कोतिर ज्ञानको उत्कट चाहना बोकेर मार्क्स बर्लिन विश्व विद्यालय छिरेका थिए कानुन र राजनीतिशास्त्रको विद्यार्थीको रुपमा । तिनै दिनमा उनले आफ्नी प्रेमिकालाई समर्पण गरेर तीनवटा कापीभरी कविता लेखेका थिए । तर विश्व विद्यालयको वातावरणले ज्ञान पिपासु मार्क्सलाई केवल प्रेमी रहन दिएन । कानुनका विद्यार्थी मार्क्सलाई विश्व विद्यालयले तोकेको साँघुरो पाठयक्रमले बाँध्न सकेन । १९ वर्षे मार्क्स आफ्नो संकायमा केवल प्रोफेसर एडवर्ड गांजको फौजदारी कानुन र प्रशियाली देवानी कानुनको व्याख्यान सुन्न जान्थे । गांज प्रतिभाशाली थिए जसले मार्क्सको मानसिक विकासमा ठूलो प्रभाव पारे । त्यस्तै गांज पनि मार्क्सको लगनशीलताको प्रशंसा गर्दथे । बर्लिन विश्व विद्यालयको पहिलो वर्षमै मार्क्सले गहन अध्ययन शुरु गरिसकेका थिए । उनी रात रातभर पढ्थे । दिन दिनभर पढ्थे । अत्यन्त आवश्यक काममा बाहेक अरु कतै जाँदैनथे । त्यतिबेला उनी एकदमै गम्भिरताका साथ जर्मन दर्शन र ग्रीक दर्शन पढिरहेथे । सँगसँगै इतिहास त उनको रुचिको बिषय नै थियो । बर्लिन विश्व विद्यालयका शुरुका दिनका आफ्ना सफलताबारे उनले आफ्नो बुवालाई पत्रमा लेखेका थिए – ‘धेरै रात जागेरै बिते । खुब लडाईं लडियो । धेरै भित्री–बाहिरी प्रेरणा पाईयो ।’ उनी जे पढ्थे त्यसको सार संक्षेप उतार्थे । तर यो कठोर संघर्षले मार्क्सको स्वास्थ्य बिगार्यो । उनी बिरामी भए । डाक्टरले उनलाई बर्लिन नजिकै रहेको माझीहरूको गाउँ स्ट्रलउमा गएर आराम गर्ने सल्लाह दिए । त्यहाँ उनको स्वास्थ्य सुधार भयो । त्यति नै बेला मार्क्स हेगेलको दर्शन प्रति आकर्षित भए । शुरुमा त उनलाई हेगेलको दर्शन रुचिकर लागेन । तर बिरामी अवस्थामा आराम गर्दागर्दै फेरी हेगेल पढ्न थाले । र, हेगेलकै विचार पछ्याउन थाले ।
युवा मार्क्स |
ज्ञानको अमिट प्यास, सत्यको अथक खोज, निर्मम आत्मालोचना, जुझारु चेतना, यिनैले मार्क्सलाई नयाँ युगको संवाहक बनाउँदै थिए । विश्व विद्यालयमा मार्क्स सर्वपरिचित बनिसकेका थिए, जिज्ञासु र अथक अध्येताको रुपमा ।
त्यति नै बेला मार्क्स घर जान चाहन्थे । खासमा उनी आफ्ना विचार र सोंचबारे बुवासँग छलफल गर्न चाहन्थे । तर, जेनीसँगको निकटताले पढाई बिग्रन्छ भनेर बुवाले घर आउने अनुमति दिएनन् । अर्को वर्षको ईष्टरको विदामा मात्रै आउने अनुमति पाए उनले । ईष्टरको विदामा एक हप्ता छिटो घर आउने सहुलियत पनि दिए बुवाले । तर बुवाको पत्र पाएपछि मार्क्सले अर्को वर्षको इष्टरको विदामा पनि घर जाने सोंच त्यागिदिए । मार्क्सले आफ्नो निर्णय बताएर पत्र लेखेको तीन महिनापछि उनका बुवाको मृत्यु भयो १० मे १८२८ मा । बुवाको मृत्युपछि पनि तीन वर्षसम्म उनी बर्लिन विश्व विद्यालयमै रहे ।
ज्ञानको अमिट प्यास, सत्यको अथक खोज, निर्मम आत्मालोचना, जुझारु चेतना, यिनैले मार्क्सलाई नयाँ युगको संवाहक बनाउँदै थिए । विश्व विद्यालयमा मार्क्स सर्वपरिचित बनिसकेका थिए, जिज्ञासु र अथक अध्येताको रुपमा । उमेरले बीसको खुड्किला नटेक्दै मार्क्स विश्व विद्यालयमा रहेका प्रगतिशिल विचारकहरूको समूह ‘डाक्टर क्लब’मा आबद्ध भइसकेका थिए । ‘डाक्टर क्लब’ वाम हेगेलपन्थीहरूको समूह थियो ।
जर्मन दार्शनिक हेगेल राजनीतिक विचारका हिसाबले प्रतिक्रियावादी भए पनि दर्शनमा द्वन्द्ववादी थिए । उनले द्वन्द्ववादी दर्शनको निर्माण गरेका थिए । तत्कालिन धर्मशास्त्र बाईबललाई सामान्य पुस्तकको रुपमा व्याख्या गरेका थिए उनले । हेगेलको प्राज्ञिक क्षेत्रमा ठूलो प्रभाव थियो । तर, राज्यको निरंकुश चरित्रलाई समर्थन गर्ने हुनाले हेगेल राज्यका प्रिय दार्शनिक मानिन्थे । हेगेलको मृत्युपछि उनका अनुयायीहरू दुई भागमा विभाजित भए । राज्यको निरंकुशता र धार्मिक स्वभावलाई कायमै राख्न खोज्ने पुरातनपन्थी । र, हेगेलका शिक्षालाई उपयोग गरेर राज्यको निरंकुशताको धज्जी उडाउने वाम हेगेलपन्थी । यिनै वाम हेगेलपन्थीहरूको छलफल गर्ने चौपारी नै ‘डाक्टर क्लब’ थियो ।
डाक्टर क्लब |
‘डाक्टर क्लब’मा खासगरी शिक्षक, लेखक र विश्व विद्यालयका प्रोफेसर सदस्य हुने गर्दथे । मार्क्स भने अपवाद थिए । उनी उमेरमा सबैभन्दा कान्छा थिए भने पेशाले विद्यार्थी । आफ्नो गहन अध्ययन, अभिरुचि र प्रतिभाले उनले ‘डाक्टर क्लब’ मा आफ्नो स्थान बनाउन सफल भएका थिए ।
‘डाक्टर क्लब’ले नै मार्क्समा विद्रोही चिन्तन निर्माण गरिदिएको आकंलन गर्न सकिन्छ । ‘डाक्टर क्लब’का सदस्य थिए नै त्यस्तै । डेविड स्ट्रास, बावेर बन्धु, ब्रुनो, एडगर, अर्नोल्ड रुग, मोसेज हेसन, कोपेन लगायतका पत्रकार, विद्वान एवं बुद्धिजीविहरू यसमा आबद्ध थिए । डेविड स्ट्रासले हेगेलको दर्शन उपयोग गर्दै ‘ईसाको जीवनी’ लेखेका थिए ,। ईश्वर मानिएका ईशा मसिहलाई उनले एक ऐतिहासिक पात्रको रुपमा चर्चा गरेका थिए । यो कृतिले हलचल मच्चाइदिएको थियो ।
यस्तै यस्तै क्रान्तिकारी विचार राख्ने हेगेलपन्थीहरूको ‘डाक्टर क्लब’ थियो । यस क्लबमा हुने इतिहास, दर्शन, राजनीति आदि विषयका गम्भिर छलफलले मार्क्सलाई अझ गहन अध्ययन, अझ गहन चिन्तन तर्फ डोर्यायो । तिनैमध्येका अर्नोल्ड रुग र फ्योदोर एखटेमेयरले ‘हालिशे यारब्रुखेर’ (हाल वर्ष पत्र) नामक वार्षिक पत्रिका निकाले । दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरूमा सरकारले निकै कडा सेन्सर गर्ने भएकाले त्यतिबेला वार्षिक पत्रिका निकाल्ने चलन थियो । पुरातन हेगेलपन्थीहरूले निकालेको वार्षिक पत्रिकालाई जवाफ दिन यो पत्रिका प्रकाशन गरिएको थियो । यस पत्रिकामा मार्क्सको पनि ठूलो योगदान रह्यो । २३ वर्ष उमेरको खुड्किलो नटेक्दै मार्क्सले ‘डाक्टर क्लब’मा आफ्नो विशिष्ट स्थान बनाइसकेका थिए । त्यति नै बेला वाम हेगेलपन्थी मेसेज हेसनले आफ्ना साथी बर्थोल्ड आयरबखलाई लेखेको पत्रमा मार्क्सलाई जीवित सच्चा दार्शनिक व्यक्तिको रुपमा चिनाएका थिए । उनले मार्क्समा रुसो, भोल्टेयर, हल्बाख, लेसिङ जस्ता महान् व्यक्तित्वको संगमको रुपमा उल्लेख गरेका थिए ।
ब्रुनो बावेर |
बर्लिन विश्व विद्यालयमा मार्क्सका नजिकका दुई साथी थिए– कार्ल फ्रेडरिक कोपेन र ब्रुनो बावेर । कोपेन इतिहासका राम्रा ज्ञाता थिए । उनी गम्भिर लेखक र आफ्नो विचारमा अडिग रहने मान्छे थिए । मार्क्सको प्रारम्भिक विचार निर्माण र लेखन शैलीमा कोपेनको सहयोग थियो । त्यस्तै मार्क्ससँग एकक्षण पनि नछुट्टिने अर्का साथी थिए ब्रुनो बावेर । बावेर प्रगतिशील विचार राख्दथे । मार्क्सभन्दा नौ वर्ष जेठा बावेर पछि फ्रोफेसर हुने आकांक्षाले बर्लिन विश्व विद्यालय छोडेर बोन विश्व विद्यालय गएका थिए ।
मार्क्सले आफ्नो बुवाको निधन हुनु पहिले नै आफ्नो जीवन अध्ययन–अध्यापनमा बिताउने निश्चय गरिसकेका थिए । त्यसैले बर्लिन विश्व विद्यालयमा पढाई पुरा गरेपछि उनी पिएचडी शोध तर्फ लागे । तर मार्क्स जस्तो प्रतिभाशाली प्रगतिशील व्यक्तिले बर्लिन विश्व विद्यालयबाट डिग्री पाउनु असम्भव थियो । त्यसैले उनी बोन विश्व विद्यालयतर्फ लागे । सन् १८४१ अप्रिल १५ मा मार्क्सले पिएचडी पूरा गरे । उनको शोधपत्रको शीर्षक थियो– ‘प्रकृतिका सम्बन्धमा डेमोक्रेटस र एपिक्युरसको दर्शनबीचको फरक’ । थेसिस सकिएपछि मार्क्स विश्व विद्यालयको चार पर्खालबाट बाहिर निस्के जहाँ संघर्षको मैदान उनको प्रतिक्षामा थियो ।
(मार्क्सको २०० औं जन्मजयन्तिको अवसरमा भलाकुसारीमा मार्क्सबारेका रचना प्रकाशित हुनेछन् । मार्क्सको यो जीवनी धारावाहिक रूपमा प्रकाशन हुनेछ । - भलाकुसारी टिम)
धन्यबाद लक्षमण जी !
ReplyDelete