शहीद दिवसको बिहान


‘बोल्नुस न आमा किन चुप लाग्नुभएको ?
भन्नुस न, शहीद बन्नसक्छु कि नाँइ ?’


फ्रेञ्च चित्रकार पाउल डेलारोचेले ‘युवा शहीद’ शीर्षकमा सन् १८५५मा बनाएको तैल चित्र ।

लक्ष्मण श्रेष्ठ



‘आमा शहीद कस्तो हुन्छ ?’

- शहीद तिम्रो बा जस्तै हुन्छ

ऊ बतासमा देखिने भएर आउँछ
ऊ सपनामा छोइने भएर आउँछ
हरेक रात मेरो सपनीमा आएर
हत्केलाले आँसु पुछिदिन्छ
एक थुँगा गुलाफ ओंठमा पोतिदिएर
मुस्काई जान्छ
हरेक दिन म जुन बिहान बोकेर ब्युँझिन्छु नी !
त्यो उसैले डाकेको बिहान हुन्छ

बाबु शहीद तिम्रो बा जस्तै हुन्छ ।

‘आमा, शहीदको घाँटीमा किन फूलमाला हुन्छ ?

- ऊ आफैँमा फूलजस्तै हलुँगो हुन्छ
 फूल जस्तै मुस्काउँछ
फूल जस्तै सुवासिलो हुन्छ
जिन्दगीका काँडाहरूले
जबजब घोचिरहन्छन्
ऊ मेरो बिछ्यौनीमा फूल रोपेर जान्छ

यो तिमी जो सोधिरहेछौ
अनेक प्रश्नहरू
उसैले रोपेको फूल हो

यो तिमी जो भोगिरहेछौ
समयको उन्मुक्त उडान
उसैले जोडेको पंख हो

यो तिमी जो गाईरहेछौ
स्वच्छन्दताको कोरस
उसैले गाएको गीत हो

‘आमा, के म शहीद बन्नसक्छु ?’

........
......
......
.....
......
.......

‘बोल्नुस न आमा किन चुप लाग्नुभएको ?
भन्नुस न, शहीद बन्नसक्छु कि नाँइ ?’

......
......
......

- तिमी शहीद बन्न नपरोस् भनेर
तिम्रो बा उहिल्यै शहीद बनिसकेको छ छोरा ।

Comments