एकदिन

जिन्दगी 
चिप्लेकिराजस्तै घिस्रिरहेछ,
इमानको छातीमा 
बेइमानको घोडा कुदिरहेछ,
ज्ञानको अक्षरलाई
तस्करका चुरोटले पोलिरहेछ,
सपना देख्ने आँखालाई
व्यभिचारको तेजाब छ्यापिरहेछ,
यो घिसिपिटे जिन्दगी
के अर्थ छ र जिउनुमा ?

तस्विरः करेन क्नुत्सोन, इन्टरनेटबाट


रामचन्द्र श्रेष्ठ 


एकदिन म मर्नेछु
र, रोकिनेछ मेरो बतास
रोकिनेछ यो पानी
यो घाम, यो छाया
रोकिनेछ
मान्छेका कोलाहल र
गुम्बाका पवित्र धुनहरु,
एकदिन म मर्नेछु
र, रोकिनेछ संसार ।

एकदिन म मर्नेछु
र, रहनेछैन केही
आमाको ममता र
बाबुको उपदेश
बहिनीको घुर्की र
श्रीमतीको प्रेम
साथीसंगीको हाँसखेल र
दुस्मनको वचनवाण
सकिनेछ सबै
मर्नेछु म एकदिन ।

आजभोली
म सोचिरहन्छु-
म मर्नेछु एकदिन
यो अस्तव्यस्त जिन्दगी
यो आत्मपराजित समय
यो विसंगत युग
उफ् ! को बाँचेको छ र यहाँ ?

जिन्दगी
चिप्लेकिराजस्तै घिस्रिरहेछ,
इमानको छातीमा
बेइमानको घोडा कुदिरहेछ,
ज्ञानको अक्षरलाई
तस्करका चुरोटले पोलिरहेछ,
सपना देख्ने आँखालाई
व्यभिचारको तेजाब छ्यापिरहेछ,
यो घिसिपिटे जिन्दगी
के अर्थ छ र जिउनुमा ?

मृत्यु चिन्तनको आसनमा
म सोचिरहन्छु-
म मर्नेछु एकदिन
र, रोकिनेछ मेरो पृथ्वी,
म मर्नेछु एकदिन
र, सकिनेछ मेरो संसार,

       ०००

हेर्छु फूल फक्रेको
सोच्छु -
भरे ओइलाइ झर्नु छ र पनि  मुस्काइरहेछ
हेर्छु आकाशका तारा
फेरि सोच्छु -
बिहान खस्नुछ र पनि चम्किरहेछ

को भयो र अमर यहाँ ?
न रकफेलर न हिटलर
न अरिस्टोटल न बुद्ध
म मरेको दिन
बिर्सनेछैन पृथ्वीले घुम्न
छोड्नेछैन सूर्यले उदाउन
न विश्राम मार्नेछ छालले छचल्किन

म मरेको दिन पनि
संसार हुनेछ यस्तै अस्तव्यस्त
समय यस्तै क्रुरतम र हास्यास्पद

त किन मरूँ म ?
आक्रान्त भई समयको ज्वारले
त किन हतास हुँ म ?
आत्तिइ परिवर्तनको उद्वेगले

यो युग छ अलमल
लड्नुछ मलाई प्रतिपल
मृत्यु चिन्तनले सताउँछ छिन–छिन
एकदिन मर्नका लागि
बाँच्नु छ धेरै दिन ।

Comments