हामीलाई बिर्सने रोग लागेको छ । सम्झनाका पातहरु विस्मृतिको रहमा कतै कुहिबस्छन् । जिन्दगी जिउने बहानामा हामी आफैलाई बिर्सेर दौडिरहेका हुन्छौं । हामीलाई सम्झन पनि बहाना चाहिन्छ ।
लक्ष्मण श्रेष्ठ
पाब्लो पिकासोको चित्र ‘ह्विपिङ वुमन विथ ह्यान्डकरचिफ’ । पिकासोले यो चित्र सन् १९३७ मा स्पेनमा बनाएका थिए । इन्टरनेटबाट |
हामी बसमा उभिएका छौं । उभिए पनि चेपाचेप छैन । काठमाडौंको भिडभाड शहरमा यत्तिको यात्रा सहज हो । बसमा चढ्नासाथ वुफरबाट निस्केको आवाज कानमा ठोक्किन्छ । हिन्दी आइटम गीत मच्चिरहेको हुन्छः
‘बेबी डोल सोने सोने डी’। सबै शब्दका आवाज नबुझे पनि हामी गीतसँगै झुम्न थाल्छौं । बसको रफ्तारसँगै गीत फेरिन्छ । सायद, कस्मोपोलिटन हो ड्राईभर । र, उसकै विशेष छनौट हुन् यी गीतहरु । आइटम गीतबाट एकाएक नेपाली लोकगीतमा हामी पुग्छौं । बसको वुफरबाट मधुरो आवाजमा पुरानो लोकगीत गुञ्जिन्छः
‘आमा रुँदै गाउँ बेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा’ ।
गीतका शब्दले मनभरी अनेक तरंगहरु सुरु हुन्छन् । मनको गाडी ब्याक गियर लगाएर विगत समयमा
फर्किन्छ । म गीतसँगै पुराना दिनहरु सम्झिन थाल्छु । मनको पर्दामा चित्र बन्छ - हजुरबाको खाट । सिराननेरै खोलभित्र झुन्डिरहेको फिलिप्स कम्पनीको दुईवटा ब्याट्री लाग्ने रेडियो । रेडियो नेपालमा साँझ ८ बजेको अंग्रेजी समाचारपछि प्रायः बज्ने लोकबहादुर क्षेत्रीको यही गीत ।
गीतले मनको पर्दामा त्यतिबेला नै बनाएको चित्र अझै मेटिएको छैन । पुरानो ध्वाँसे चोलो र थोत्रो फरिया भिरेर बर्खायाममा सुँक्कसुँक्क रुँदै मेला अर्थात् काममा गईरहेकी आमा । अनि बसको छतमा वा ट्रकको हुटमा चढेर रुमालले आँखा पुछ्दै गोरखपुरे रेल भेटाउन बटौली बजार ओर्लिरहेको छोरो ।
वर्तमानको पिंढिमा उभिएर म सोंच्न थाल्छुः कसको हो यो तस्विर ? वर्षौंदेखि मेरो मनको क्यानभासमा अड्डा जमाइ बसेको यो तस्विर कसको हो ? कतै यो कटुवाल काँइलीको त होइन ? हो, हो यो उनैको तस्विर हो । तिनै कटुवाल काँइलीको । पुरानो चोलो, थोात्रो फरिया भिरेर कोखिलामुनि नाम्लो च्यापेर एक हातले ठुटो चुरोट तान्दै हिंडिरहेकी कटुवाल काँइलीको तस्विर ।
स्मृतिको तलाउमा गीतका शब्दहरुले तरंग छरेर जान्छन् । भर्खरै खाली भएको सिटमा थेचारिंदै म सोंचमग्न हुनथाल्छु । आँखाभरी कटुवाल काँइलीको तस्विर नाच्न थाल्छ । रुँदै रुँदै मेलामा गइरहेकी काँइली र रुँदै रुँदै बटौली ओर्लिरहेको उनको छोरो । के थियो उसको नाम ?
नाम त कटुवाल काँइलीको पनि थिएन । गाउँमा कटुवाल काँइलो थियो । उसको पनि नाम थिएन । नाम त स्कुलको हेडमास्टरको थियो । गाउँको अध्यक्षको थियो । अँ, किरानापसले साहुको पनि थियो । गाउँमा निकै कमको नाउँ थियो । संकेतका लागि सर्वनामहरु थिए । चित्रे, लोहार, कामी काँइलो, मडले, आरने यस्तै यस्तै । त्यहि माझमा थियो कटुवाल काँइलो । उसकी पत्नी कटुवाल काँइली । उनीहरुका सन्तान । तिनको पनि नाम थिएन । होइन, होइन उनीहरुको पनि नाम थियो । अजिबको नाम । हाम्रोभन्दा फरक नाम । मेरो लक्ष्मण, दाजुको राम, भाईको सुशील, अर्को भाइको सुमन । साथीहरु नरेन्द्र, आकाश, तेजनारायण, केशव, ईन्द्र । तर, कटुवाल काँइलोको जेठो छोरोको नाम हामी सबैको भन्दा फरक थियोः लोंडे । कटुवाल काँइलो र काँइलीको छोरोको नाम लोंडे । के उनीहरुले आफैले राखिदिएका थिए यति विचित्रको नाम ? सायद, समाजलाई थाहा छ । हुनसक्छ समाजले यो नाम पनि बिर्सिसकेको छ । किनभने लोंडे गोरखपुरे रेल समाउन बटौली ओर्लिसकेको छ । उसकी आमा कटुवाल काँइली रुँदैरुँदै मेला झरेकी छिन् । कोखिलामा नाम्लो च्यापेर । ठुटो चुरोट सल्काउँदै । ठ्याक्कै मेरै घर छेउको डोहोबाट । र हामीले, म र म बाँचेको समाजले लोंडेलाई बिर्सिसकेका छौं । हामीलाई बिर्सने रोग लागेको छ ।
***
***
कटुवाल काँइली दुब्ली थिईन् । उनीजस्तै पातलो थियो उनको जिन्दगी पनि । गाउँको सामाजिक भूगोलमा उनको अस्तित्व विन्दु बराबर पनि थिएन । बस् उनी थिइन् र थिइन् । उनको अस्तित्व मेलापातमा हुन्थ्यो, जहाँ उनी पसिना पोखिरहेकी हुन्थिन् । भोज भतेरको जुठेल्नोमा हुन्थ्यो, जहाँ उनी जुठा भाँडा माँझिरहेकी हुन्थिन् । चारचौकोस काम सकेपछि उनले पाउँथिन् एक छाक अन्न । वा एउटा पुरानो फरिया र थोत्रो चोलो । वा केही पैसा । र, भलाद्मीहरु भन्ने गर्थे– ‘कति जाती छे काँइली । बोलाएपछि सरक्क आउँछे । सिनित्त पारेर सबै काम सफा पार्छे’ । किन कसैले पनि सोधेन त्यो दिन किन रुँदै ऊ मेलामा गएकी थिई । रेडियोमा त हरेक दिन बजिरहन्थ्योः ‘आमा रुँदै गाउँबेसी मेलैमा ।’
लोंडे पनि त रुँदै गएको थियो । आमाजस्तो होइन सुस्तसुस्त रुमालमा आँसु चुहाउँदै । अघिल्लो दिन त उसले अमराई बजारमा किनेको थियो त्यो कटनको रुमाल । रातो पृष्ठभूमिमा टाइटानिकका नायक, नायिका जहाजको छेउमा उभिएर हात फैलाइरहेको तस्विर भएको रुमाल । के लोंडेले टाइटानिक हेरेको थियो ? किन उसकी आमाको तस्विर थिएन रुमालमा ? उसले आँसु पुछ्ने रुमालमा किन थिएन उसकै तस्विर ? कसलाई थाहा छ यसको जवाफ ? कसलाई सोधुँ म ? स्कुलको हेडमास्टरलाई ? गाउँको अध्यक्षलाई ? जिल्लाको नेतालाई ? पुलिसको हाकिमलाई ? सायद सरकारलाई थाहा छ यसको जवाफ । तर, सायद सरकारको जिब्रो छैन । ऊ बोल्छ, हामी बुझ्दैनौं । सायद सरकारको कान छैन । हामी बोल्छौं, ऊ सुन्दैन । सरकार र हामीबीच एउटा बाटो तेर्सिएको छ । कहिल्यै नसकिने बाटो । त्यहीं बाटो हिंडेर त हो लोंडे रुँदै–रुँदै गएको गोरखपुरे रेलसम्म ।
बसको झ्यालनेर शहरको संरचना हेर्दैं म निर्निमेष टोलाइरहेछु । मनको क्यानभासमा विगत दिनका तस्विरहरु नाचिरहेछन् । म सम्झिन खोजिरहेछु । हामीलाई बिर्सने रोग लागेको छ । सम्झिन पनि बहाना चाहिन्छ । बहानाको साँघु चढेर जसरी म सम्झिरहेछु कटुवाल काँइलीलाई । उसको छोरोलाई ।
तर, हामीले बिर्सिसकेका छौं । कटुवाल काँइलीलाई । मरेकी थिई ऊ रगत छादेर । के भयो उसलाई ? कसैलाई थाहा छैन । कसैलाई पनि । अनि कहाँ गयो उसको छोरो ? गोरखपुरे रेलमा चढेर ? कोही कसैलाई छैन खुटखबर । यसैगरी हामीले बिर्सिरहेका छौं सबै सबैलाई । सायद आफैलाई पनि ।
हो, कटुवाल काँइली अहिले छैनिन् । उनको छोरो छैन । तर परम्परा फेरिएको छैन । छोराहरु गोरखपुरे रेलको साटो अरबको, कतारको, मलेसियाको, दुबईको र अरु अरु तेस्रो मुलुकको प्लेन चढिरहेछन् । विडम्बना ! अचेल आमाहरु रुँदै मेला जाँदैनन् । विडम्बना छोराहरुले आँसु चुहाउन बिर्सिसकेका छन् । छोरोको पसिनामा उम्रिने रेमिट्यान्सको सपना देख्दादेख्दै हामीले आफैलाई पनि बिर्सिसकेका छौं । आफैलाई, आफ्नै पीडालाई, शोकलाई र सन्तापलाई बिर्सेर हामी यतिबेला अंग्रेजी गीतमा मस्त छौं । बसमा नयाँ गीत बजिरहेछ । अंग्रेजी गीतः ‘आइ वान्ट किस किस किस ।’
Comments
Post a Comment