डा. गोविन्द केसी : चार कविता

फरक


गिरि श्रीस मगर 





प्रिय गोविन्द !
फरक छ तिमी र उनीहरूमा,
जति फरक हुन्छ-
सेवा र व्यापारमा ,
घृणा र प्यारमा !

उनीहरू त तीन दिन बस्न सक्तैनन् रे भोकै
तीन दिन बसे भने त
तिनलाई चाहिन्छ रे
प्रधानमन्त्रीकै कुर्सी !


तिमी भने
वर्षौंदेखि छौ मृत्यु शैय्यामा
तिमीलाई चाहिएको छ
मात्र -
आम मान्छेको स्वास्थ्य अधिकार,
तिनलाई चाहिएको छ-
मन्दिरमा कसाईको व्यापार !!





बलियो मान्छे


रामचन्द्र श्रेष्ठ 

"त्यो फेरि अनसन बसेछ !"
कस्तो रूखो बोली तिम्रो ।
म भन्छु-
" त्यो फेरि लडिरहेछ ।"

उसको मुटुको चाल अस्थीर छ
फोक्सो धीमा हुँदैछ
छैन केही वास्ता हामीलाई,
उसलाई छ चासो
मेरो, तिम्रो र हाम्रो स्वास्थ्यको
उ लडिरहेछ......

"कस्तो जिराहा मान्छे !"
तिम्रो तितो टिप्पणी ।
म भन्छु-
"कस्तो बलियो मान्छे ।"

म सलाम गरिरहेछु ।




आस्थाको दियो


शंकर भण्डारी 

यस्तै हुन्छ
जब माफियाहरू
सत्ताको भर्याङ उक्लन्छन्
र निर्णय गरिदिन्छन्-
अब उपरान्त जनताहरू
बाँच्नु हुँदैन लामो आयू ।
मृत्युका व्यापारीहरू
कानुन लेख्छन्-
अब उपरान्त जनताहरू
मर्नुपर्छ अकालमै।

तर दुनियाँ
निदाईरहेको छ भन्ठान्ने
आततायी शासकहरू
तर्सन्छन् नराम्ररी
जब बिउँझेको देख्छन्
डा. गोविन्द के.सीहरू

आफ्ना तमाम झिना मसिना
रहरहरू पन्छाएर एकातिर
एउटा मान्छे लडिरहेछ निरन्तर
तिम्रो, मेरो, हामी सबैको निम्ति

स्वार्थभन्दा धेरै माथि
संकिर्णताभन्दा धेरै पर
बलिरहेको एउटा
आस्थाको नाम हो गोविन्द के.सी

चुनौति दिएर
सिङ्गै व्यवस्थालाई
अथक संघर्ष गर्ने
संकल्प हो डा. के. सी।

हो, बदल्नुपर्ने कुरा
धेरै छन् यहाँ
फेर्नुपर्ने रितहरू
उत्ति नै छन् यहाँ
तर छैन त केवल
एउटै कुरा
डा. गोविन्द के.सी बन्ने हिम्मत

हामी कहिँ कतै
अल्झिएका छौँ
आफ्नै निम्छरो जिजिविषाभित्र
हामी कहिँ कतैँ
जेलिएका छौँ
आफ्नै टिठलाग्दो वर्तमानभित्र
र त साहस गर्दैनौँ हामी
चोर औला देखाउने
सत्ताका मठाधिशहरूलाई

आज समयले
आव्हान गरेको छ
अब त ब्युँझनुपर्छ
शताब्दीयौँ लामो
चिर निद्राबाट
र गर्नुपर्छ प्रण
हुर्काउने आफैभित्र
डा. गोविन्द के.सी ।



पाँच वर्षको च्यालेन्ज

लक्ष्मण श्रेष्ठ

यो बुढो पाँच वर्षदेखि
मलाई च्यालेन्ज गरिरहेछ

मेरो पाखुरी समाउँछ
र जोख्छ तागत
मेरो खु्ट्टी अँठ्याउँछ
र खोज्छ दृढता
अनेकन् प्रश्न तेर्स्याउँछ
र चाट्छ मेरो दिमाग
छाम्छ मेरो पेट
र भोकै बस्छ आफु

यो बुढो पाँच वर्षदेखि
मलाई च्यालेन्ज गरिरहेछ

तिमीले चिन्यौ त्यो बुढोलाई ?

चिनिसकेका छैनौ भने
तिमी उसलाई राजधानीका महंगा क्लिनिकमा होइन
दार्चुलाका भिराला बाटाहरूमा हिंडिरहेको भेट्ने छौ,
गधाको पिँठ्युमा औषधीको भारी बोकेर
यदि कोही हिँडिरहेको छ भने
गाउँका आरनहरूमा पुगेर
कसैले चेकजाँच गरिरहेको छ भने
कुलो कोल्सोमा छेउ लागेर
रोगी शरीरहरू उपचार गर्दै हिँडेको कोही छ भने
त्यो कुनै देवदूत हुनेछैन
त्यही बुढोमान्छे हुनेछ

यो बुढो पाँच वर्षदेखि मलाई
च्यालेन्ज गरिरहेछ

उ ओखती व्यापारलाई
सेवा बनाउन चाहन्छ
उ उपचार प्रक्रिया
बीलमा होइन अधिकारमा बाँड्न चाहन्छ

उ भन्छ -
साटिनुहुँदैन धनसँग इमान
मासिनुहुँदैन लगन र स्वाभिमान
उ चाहन्छ -
झुप्रोसम्मै पुगोस्
अत्याधुनिक सेवा
र गरिबका सन्तानले
मेहनतमै देखुन विश्वविद्यालयको ढोका

यो बुढो पाँच वर्षदेखि
मेरो जवानी तौलिरहेछ
मेरो जोश र हिम्मत जाँचिरहेछ
मेरो अठोट र दृढता परख गरिरहेछ
भोकभोकै बसेर भविष्यलाई अमृत खोजिरहेछ

र आज फेरी म
पुनर्जिवित भएको छु
र देखिरहेछु
यो मुर्कुटाहरूको शासन चलेको देशमा
केवल पैसा गन्ने हात चल्छ
सोच्ने दिल, दिमाग गायब हुन्छ ।


*यहाँ प्रकाशित फोटोहरू गुगल सर्चबाट लिइएका हुन् । कविता र विषय सम्बन्धित भएकाले मात्र पुनःप्रकाशित गरिएको हो । सबै तस्विरको सर्वाधिकार यथावत् नै छ । तस्विर उपलब्ध गराइदिनुहुने सबै फोटोग्राफरलाई धेरै धन्यवाद । 

Comments