‘हामी आमूल परिवर्तनको साक्षी बन्दैछौं ’ — मार्टिन ज्याक्स



पश्चिमा जगतले अहिले तीव्र धक्का महसुस गरिरहेछ। त्यसका केही कारण यस्ता छन्ः—

१. कोभिड-१९ को विश्वव्यापी महामारीमा यो असफल भएको छ। यो उदार प्रजातन्त्रको व्यवस्थागत असफलता हो। 

२. यसको अर्थतन्त्र तीव्र मन्दीमा फसेको छ जबकि चीनको अर्थतन्त्र उकालो लागिरहेछ।

३. र, अहिले संयुक्त राज्य अमेरिकाले गृहयुद्ध (सन् १८६१-१८६५) पछिकै गम्भीर राजनीतिक संकटको सामना गरिरहेको हामीले देख्न सक्छौं।

मैले पहिले नै सन् २०२० महान् संक्रमण (Great Transition) को वर्ष हुनेछ भनेको थिएँ । यो वर्ष विश्वका बहुसंख्यक मानिसले नयाँ वैश्विक नेतृत्वको रूपमा चीनलाई देख्नेछन् भन्ने मेरो आंकलन थियो। संयुक्त राज्य अमेरिकाको राजनीतिक व्यवस्थाको क्षयीकरणले त्यो प्रक्रियाको गति बढाएको छ। 
अमेरिकाको राजनीतिक संकटको प्रकृतिलाई एकदमै बेवास्ता गर्ने गरिएको छ। तर यसले निकै गहिरा खाडलहरू सिर्जना गरेको छ। अमेरिका आशाविहीन रूपमा विभाजित भएको छ र यसको सरकारी संयन्त्र शिथिल बनेको छ। आधारभुत प्रश्न हो– यो अवस्थाका वास्तविक कारकहरू के हुन् ?

सन् १९८०देखि नै र नाटकीय रूपमा सन् २००८ देखि अमेरिका ओरालो लागिरहेछ। चार दशकदेखि अमेरिकी जनसंख्याको आधा हिस्साको जीवनस्तर या त ओरालो लागेको छ या त स्थिर छ। असमानताको स्तर बढेर सन् १९३० को दशक वा त्यो भन्दा अघिको अवस्थामा पुगेको छ। अमेरिकी सपना मिथ्या भइसकेको छ। 

वस्तुतः अमेरिकाको सिंगो इतिहास उदयको इतिहास हो। त्यो भन्दा फरक कहिल्यै देखिएको थिएन। तर त्यो युग सकिइसकेको छ। अमेरिका अब कम महत्त्वपूर्ण हुने दिशामा गइरहेछ। विश्वमञ्चमा पहिलो रहेको यसको स्थानबाट चीनले विस्थापन गर्दैछ।

पश्चिमा संयन्त्रले पश्चिमा जगतको (वर्चस्वको) अन्त्यलाई परिभाषित गर्न सकिरहेका छैनन्। उनीहरू विगतमा अड्किएका छन्, वर्तमानलाई बेवास्ता गरिरहेछन् र एकदमै फरक खालको भविष्यको त्रासमा बाँचिरहेछन्। 

हामी आमूल परिवर्तनको साक्षी बन्दैछौं।

चर्चित पुस्तक "When China Rules the World" (जब चीनले शासन गर्छ) का लेखक मार्टिन ज्याक्सले ७ जनवरी २०२१मा गरेका ट्वीटहरूलाई नेपाली अनुवादमा लेखको रूप दिइएको हो।

Comments