पृथ्वीनारायण शाहलाई के ले विजयी बनायो ?— लुडविग स्टिलर

पृथ्वीनारायण शाह नेपाली राज्य निर्माणका अध्येताहरूबीच बहसका विषय बनिआएका छन्। उनलाई हेर्ने दुईवटा अतिवादी दृष्टिकोण छन्। एकथरीले राज्यले उनको अनावश्यक महिमामण्डन गरेको भन्छन् र उनलाई विस्तारवादी ठान्छन्। राज्य विस्तारका क्रममा उनले अनावश्यक हिंसा प्रयोग गरेको, तत्कालीन नेपालमा रहेका विभिन्न जाति, समुदायलाई दमन गरेको आदि कारणले उनको निन्दा गर्छन्। अर्काथरीले नेपाल एकीकरण गरेकाले उनलाई पूज्य ठान्छन्। पृथ्वीनारायणलाई जुन कोणबाट हेरे पनि सर्वस्वीकार्य तथ्य के हो भने आजको नेपाल नामको राजनीतिक भूगोलको निर्माण उनकै सैन्य अभियानबाट थालिएको हो। त्यसोभए के कारणले उनले त्यो अभियान थालेको थिए ? उनको अभियानका विशिष्टता के थिए ? उनको अभियान सफल हुनुका पछाडिका कारण के थिए ? उनको अभियानका परिणति कस्ता भए ? राजनीतिक र आर्थिक इतिहासका इमान्दार विद्यार्थी यस्तै प्रश्नमा घोत्लिने गर्छन्। यी प्रश्नको एउटा जवाफ लुडविग स्टिरलका खोज हुन सक्छन्।

सन् १९५६ मा नेपाल आएका लुडविग स्टिलर (सन् १९२८–२००९) यतै बसे। शुरूमा स्कुल पढाए। पछि अंगीकृत नागरिक बने। त्रिभुवन विश्वविद्यालयबाट नेपालको इतिहासमा स्नातकोत्तर र विद्यावारिधी गरे। उनको स्नातकोत्तर शोध सन् १९६८ मा ‘पृथ्वीनारायण शाह इन द लाइट अफ् दिव्य उपदेश’ (१९६८) नामको पुस्तक रुपमा प्रकाशन भयो। उनको विद्यावारिधी शोध सन् १९७३ मा  ‘द राइज अफ् द हाउस अफ गोर्खाः अ स्टडी इन द युनिफिकेसन अफ् नेपाल, १७६८–१८१६’ नामको पुस्तक रुपमा प्रकाशन भयो। त्यसपछि पनि नेपाली इतिहासबारे उनका पुस्तकहरु प्रकाशन भए। ती हुन्–  ‘द साइलेन्ट क्राईः द पिपल अफ् नेपाल, १८१६–१८३९’ (१९७६), ‘प्लानिङ फर् पिपलः अ स्टडी अफ् नेपाल्स प्लानिङ एक्सपेरियन्स’ (१९७९, रामप्रकाश यादवसँगको सहलेखन), ‘लेटर्स फ्र काठमाडौंः द कोट म्यासेकर’ (१९८१), ‘नेपालः ग्रोथ अफ् नेसन’ (१९९३)। 

यहाँ ‘नेपालः ग्रोथ अफ् नेसन’ को दोस्रो पाठ ‘द फाउन्डर’को अनुवाद प्रस्तुत छ। अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।






काठमाडौं उपत्यका विजय गर्ने गोर्खाका राजा पृथ्वीनारायण शाह हुन्। उनी सन् १७४२ मा गोर्खाका राजा बने। त्यसको दुई वर्षपछि २४ वर्षको उमेरमा उनले नेपाल एकीकरण गर्ने सैन्य अभियान शुरू गरे। उनलाई काठमाडौं उपत्यका विजय गर्ने पहिलो उद्देश्य पूरा गर्न भने २५ वर्ष लाग्यो। अर्का ६ वर्ष उनले पूर्वी नेपालको अरुण नदीसम्म विजय हासिल गरे। यी सैन्य अभियानबाट उनले आधुनिक नेपालको बलियो जग बसाले। त्यसैले नै उनलाई नेपाल निर्माताको रूपमा श्रद्धा गरिन्छ।

केही विदेशी आलोचकहरूले पृथ्वीनारायण शाहको विजयमाथि नेपालीले गर्ने गर्वमा त्रुटि देख्छन्। उनीहरू एकीकरण अभियानमा हिंसा भयो भनेर रुवाबासी गर्छन्। स–साना पहाडी राज्य गुमेकोमा पनि दुःख व्यक्त गर्छन्। उनीहरू कुरै बुझ्दैनन्। धेरै नेपाली बुझ्दछन्– शान्तिबिनाको समाज अर्थपूर्ण हुँदैन। र उनीहरूले शान्तिको आफ्नै मूल्य हुन्छ भन्ने पनि सिकेका छन्।  जसले शान्ति खोज्छ उसले केही न केही गुमाउनैपर्छ भन्ने पनि उनीहरूले जानेका छन्। पृथ्वीनारायण शाहले अठारौं शताब्दीमा भारतमा भएको हिंसाबाट नेपालको पहाडी भूभागलाई जोगाए भन्ने विश्वासमा उनीप्रति नेपालीले गौरव गर्छन्।

त्यतिबेला भारतको मुगल साम्राज्यको सुस्त पतनले हिंसात्मक शक्तिहरू जन्माइरहेथ्यो। सामान्य कानूनी राज कायम गर्नु पनि दैनन्दिनको संघर्ष बनिरहेको थियो। पुणेदेखि दक्षिणी घाटहरूमा बलियो जग बनाएका मराठाहरूले भारतको समथर भूमीभरी कब्जा जमाइरहेथे। उनीहरूको घोडचढी सेना पूर्वमा अर्कट र बंगालसम्म र उत्तरमा दिल्लीको सीमासम्म पुगिरहेथे। मराठाहरूले युद्धमा पराजित राजाहरूलाई फिरौती लिएर मात्र मुक्त गर्थे र पराजित राज्यका जनतालाई आम्दानीको एक चौथाई कर थोपर्थे। उनीहरूलाई रोक्ने तागत मुगलहरूमा थिएन। अर्कोतर्फ, अफगानिस्तानका नादिर शाह र अहमद शाह दिल्ली कब्जा गर्न ओर्लिए। उनीहरूले आफ्नो काम पूरा गरेपछि साम्राज्यको नाममात्रै बाँकी रह्यो। मुगल साम्राज्य मातहत रहेका हैदरावाद, बंगाल र अवध स्वायत्त बने। ती राज्यहरू षड्यन्त्र, छिमेकीको आक्रमण र मराठाहरूको निरन्तर हमलाको शिकार बने।


त्यो अशान्तिको समय थियो। क्लाइभ र इस्ट इण्डिया कम्पनी भारतको शासक बन्ने बाटोमा थिए। पृथ्वीनारायण शाह राजा बन्दा क्लाइभ १७ वर्षका ठिटा थिए र सैन्य अभियान शुरू गर्दा १९ वर्षका। पृथ्वीनारायणले एकीकरण अभियान शुरू गरेको सात वर्षपछि सन् १७५१ मा क्लाइभ चर्चामा आए। क्लाइभको कथा पृथ्वीनारायणको भन्दा फरक भए पनि यी दुई कथा एक आपसमा जोडिन्छन्। पृथ्वीनारायण शाहले आफ्नो अभियान शुरू गर्दा इष्ट इण्डिया कम्पनी भारतीय उपमहाद्वीपमा शक्तिशाली भइसकेको थिएन, हुने क्रममा थियो। यद्यपि नेपाल एकीकरणको अभियान उल्टो धारको यात्रा जस्तो देखिन्थ्यो। गोर्खालीले नेपालका पहाडी राज्यहरू एकीकरण गरिरहँदा इष्ट इण्डिया कम्पनीले उत्तरी भारतका प्रान्तहरूलाई एकपछि अर्काेगरी अधिनमा लिइरहेथ्यो। क्लाइभ नेपालका लागि चुनौती थिए, थिएनन् स्पष्ट छैन तर, नेपालीहरूले उनलाई चुनौती नै थिए भन्ने ठान्छन्। र पृथ्वीनारायण शाहले नेपाललाई इष्ट इण्डिया कम्पनीको निरन्तर अतिक्रमणबाट जोगाए भन्ने विश्वास गर्छन्।

धेरै नेपालीले पृथ्वीनारायणले आफ्नो अभियानको शुरूदेखि नै एकीकृत नेपालको सपना देखेका थिए भन्ठान्छन्। ऐतिहासिक तथ्यहरूले भने त्यस्तो थिएन भन्ने सुझाउँछन्। शुरूमा उनको ध्येय स्वार्थयुक्त थियो। गोर्खा राज्य निकै गरिब थियो र काठमाडौं उपत्यका निकै धनी। अरु पहाडी राज्यको भन्दा गोर्खाको जनसंख्या बढी थियो तर, गोर्खाको उब्जनीयोग्य जमिन कम थियो। अर्कोतर्फ गोर्खाको व्यापार पनि निकै कम थियो। त्यसको तुलनामा काठमाडौं उपत्यकासँग पर्याप्त उब्जनीयोग्य जमिन थियो। तिब्बतसँगको व्यापारले काठमाडौंका मल्ल राजाहरूको खजानामा निरन्तर तिब्बती चाँदीको बहार ल्याइरहेथ्यो। गोर्खाको तुलनामा काठमाडौं निकै धनी थियो भन्ने त उपत्यकाका वैभवले आज पनि पुष्टि गर्छन्। यही वैभवको लोभले पृथ्वीनारायणलाई त्यो बाटोमा डोर्‍यायो जसले अन्ततः नेपालको एकीकरणसम्म पुर्‍यायो।

पृथ्वीनारायणको अभियान बिस्तारै शुरू भयो। र गोर्खाली सेना लडाकु दस्ताको रूपमा विकास भएपछि यो अभियानले गति पाउन थाल्यो। काठमाडौं उपत्यका विजय अभियानका तीनवटा विशिष्ट चरण छन्।

पृथ्वीनारायण कर्मयोगी व्यक्ति थिए। उनी भविष्यको अस्पष्ट कल्पनाबाट न निर्देशित भए न हतोत्साही। उनले आफ्नो हातमा जे छ त्यसैको सहाराले एकपछि अर्को गरेर भविष्य निर्माण गरे। शुरूमा उनी युद्धमा हिँडेको एक राजामात्र थिए र काठमाडौं उपत्यका विजय मात्र उनको ध्येय थियो। आफ्नो यात्राको एक विन्दुमा पुगेर उनले पहाडी राज्यहरूको एकीकरणको महत्व बुझे। र जीवनको अन्त्यमा एकीकृत नेपाललाई ‘थुुप्रै फूलहरूको फूलबारी’ भने। यो विचार अधिराज्यजस्तै गरि हुर्केको हो। र, अधिराज्य निकै कष्टले हासिल भएको हो। 

युद्धको र विजयको बयानमा पृथ्वीनारायण शाहको अभियान सजिलै हराउन सक्छ। वास्तवमा पृथ्वीनारायण शाहले गरेका दुईवटा निर्णय उनले लडेका लडाई‌ंभन्दा महत्त्वपूर्ण छन्। ती दुई निर्णयले उनको राज्यलाई पश्चिमका मल्ल, सेन र काठमाडौंका मल्ल राज्यभन्दा दिगो बनाए।

पृथ्वीनारायणको पहिलो निर्णयले सेनालाई बलियो बनायो र उत्प्रेरणा दियो जसले अन्ततः नेपालको एकीकरणतर्फ डोर्‍यायो। उनको दोस्रो निर्णयले पहाड र तराईसम्म फैलिएको भूभागलाई शासन गर्नसक्ने लचिलो पद्दति स्थापना गर्‍यो।

पृथ्वीनारायणको पहिलो निर्णय नेपालीजनमा रहेको भूमिको मूल्यबारेको आफ्नै अनुभवमा आधारित थियो। नेपालीजनका लागि भूमि नै जीवन थियो। भूमि नै सुरक्षा थियो। भूमि नै सम्पत्ति र प्रतिष्ठा थियो। निकै पहिलादेखि नेपालमा किसानहरूले जोताहाको रूपमा खेती गर्थे। त्यसबाहेक जमिन कमाउने एउटै विकल्प राज्यद्वारा वितरीत भूमि हुन्थ्यो, जसले भूमिले दिने सम्पत्ति र प्रतिष्ठा दिलाउँथ्यो। राज्यले भूमि वितरण गर्नु भनेको त्यसमाथि नियन्त्रणको अधिकार उपलब्ध गराउनुहुन्थ्यो, त्यहाँ काम गर्न लगाउनु होइन। यसरी वितरण गरिने भूमिलाई ‘जागिर’ भनिन्थ्यो। जागिर पाउनु हरेक जोताहाको सपना हुन्थ्यो। पृथ्वीनारायण शाहले आफ्नो अभियानमा सहयोग गर्ने हरेकको यो सपना पूरा गरिदिए। जतिसुकै तल्लो तहमा भए पनि उनको सेनामा काम गर्नेलाई उनले ‘जागिर’ दिए। त्यसरी राज्यले दिएको भूमि निकै सानो आकारका थिए। तर, जतिसुकै सानो आकारको वितरण भए पनि त्यसले हैसियत प्रदान गर्थ्यो। साथै ती वितरणले सिंगो नेपाली समाजको पुनर्संगठनको ढोका पनि खोलिदियो।

पृथ्वीनारायण शाहले आफ्ना मान्छेलाई जागिर दिने वाचा त गरे तर उनीसँग वितरण नभएको भूमि थिएन। उनले केवल काठमाडौं उपत्यकाका हरिया जमिन देखाएर गोर्खाको अधिनमा ती जमिन आए जागिर दिने वाचा गर्नसक्थे। हाम्रो दृष्टिकोण निर्माण गर्न यो तथ्य सम्झनामा राखिरहन जरुरी छ, त्यो हो– अठारौं शताब्दीको हिन्दू जगतमा निश्चित जाति र हैसियतको मानिसले मात्र युद्ध लड्न र हतियार राख्न पाउँथ्यो। पृथ्वीनारायणको अभियान निश्चित सैन्य वर्गविरुद्ध थियो। र, पराजितले आफ्नो जागिर गुमाउँथे। युद्धले किसानलाई निकै कम मात्र प्रभाव पाथ्र्यो। धेरैजसो अवसरमा यी जोताहा किसानहरू आफ्ना खेत र घरमा सुरक्षित रहन्थे। उनीहरू सधैंजस्तै बाँच्थे। सेनाको गतिविधिले कहिलेकाहीं अप्ठ्यारो पाथ्र्यो। तथापी उनीहरू भूमिको हकमा सुरक्षित नै हुन्थे। पृथ्वीनारायणको विजयले पनि उनीहरूको कुतको बोझमा केही परिवर्तन ल्याएन। आफ्नो जोताहा हक कायम राखिरहन उनीहरूले सधैंजस्तै उब्जनीको आधा हिस्सा तिरोको रूपमा तिरिरहे।

किसानहरूसँग यसबाहेक अरु कुनै बाटो थिएन। किसानको सुरक्षा आर्थिक जीवनसँग जोडिएको थियो। भूमी सम्पत्ति त अवश्य थियो तर बिना किसान जमिन बाँझै र निरर्थक हुन्थ्यो। हरेक पहाडी राज्यको सम्पत्ति उब्जनीमा निर्भर थियो। आम्दानीका अरु बाटा निकै कम थिए। त्यतिबेला सामान्य हतियारका लागि पनि खेतीको उब्जनी नै तिर्नुपर्थ्यो। त्यसैले सबैथोक किसानमा निर्भर थियो। किसानलाई सकेजति तिरो तिराइन्थ्यो। सकेजति श्रम गराइन्थ्यो। आवश्यक पर्दा अस्थायी काम गर्न (झारा तिर्न) बाध्य बनाइन्थ्यो। तर, यी कुनै पनि कारणले किसानलाई खेतमा काम गर्नबाट मुक्त हुन दिइन्नथ्यो।

युद्ध खेतमै पनि हुनसक्थ्यो तर, ग्रामीण किसानहरूलाई छुँदा पनि छोइन्नथ्यो। केवल सैनिकहरू मात्र लड्थे। र, पहाडी राजाका सेना निकै कम थिए। हामीले भारतीय इतिहासमा मात्रै विशाल सेनाहरू लडेको पढेका छौं। नेपालमा होइन। पहाडमा हजार जनाको सेना भनेको निकै ठूलो हुन्थ्यो। युद्धले प्रत्यक्ष प्रभाव पर्नेहरू तुलनात्मक रूपमा निकै कम हुन्थे। कुलीन र भू–मालिकहरू बढीजसो युद्धबाट प्रभावित हुन्थे। उनीहरू आफ्नो अधिनमा जे छ त्यसैका लागि लड्थे किनभने सबैथोक उनीहरूको अधिनमा थियो। पृथ्वीनारायणको अभियान बिस्तारै शुरू भयो। र गोर्खाली सेना लडाकु दस्ताको रूपमा विकास भएपछि यो अभियानले गति पाउन थाल्यो। काठमाडौं उपत्यका विजय अभियानका तीनवटा विशिष्ट चरण छन्।

पहिलो चरण सन् १७४४ देखि १७५४ सम्मको हो। यी १० वर्षमा पृथ्वीनारायणले तिब्बतसँग उपत्यकाको व्यापार सम्बन्ध बिच्छेद गरिदिए। यसबाट मल्ल राजाहरूले तिब्बतसँगको मुद्रा व्यापार र ल्हासा व्यापारबाट प्राप्त हुने भन्सार शुल्क गुमाउनुपर्‍यो।  भक्तपुर र पाटनमा खासै धेरै घाटा धेरै परेको थिएन। कोष कम भएकाले सार्वजनिक संरचनाहरू बनाउन भने रोक लगाइएको थियो। ती राज्यमा त्यतिमात्रै फरक परेको थियो।

काठमाडौं राज्यमा भने त्यसको असर निकै नै परेको थियो। यी तीन अधिराज्यमध्ये काठमाडौं निकै नै शक्तिशाली थियो। नेतृत्व राम्रो थियो र सेना बलियो। गोर्खाको तुलनामा काठमाडौं निकै अगाडि थियो। तर, काठमाडौं भाडाको सिपाहीमा निर्भर थियो। ल्हासासँगको व्यापारबाट आउने आम्दानी रोकिएपछि काठमाडौंका राजा आफ्ना सेनालाई दिन मन्दिरको भण्डारबाट पैसा निकाल्न बाध्य भए। राजाको यो कदमको जनताले तीव्र विरोध गरे। राजा अपदस्थ भए। काठमाडौं नेतृत्वविहीन भएको मौका पारेर पृथ्वीनारायणले आफ्नो सैन्य स्थिति मजबुत पारे र काठमाडौं उपत्यकाको उत्तरमा रहेको मल्लहरूको जमिनमा कब्जा जमाए। यो जमिन उनले आफ्नो निम्ति लड्नेलाई जागिर दिन र आफ्नो सेनामा नयाँ भर्तीका लागि लालच देखाउन उपयोग गरे।

 

दोस्रो चरण सन् १७५४ देखि १७६४ सम्मको हो। यो दशकमा पृथ्वीनारायणले उपत्यकामा आर्थिक नाकाबन्दी बलियो बनाए। उनको रणनीति सामान्य थियो। गोर्खाली सेनासँग पर्खाल बन्द शहरविरुद्ध लड्ने सामथ्र्य थिएन। काठमाडौंका मुख्य शहरहरू पर्खाल बन्द थिए। त्यसैले पृथ्वीनारायणले उनीहरूको शक्तिको स्रोतमाथि आक्रमण गरे। त्यो स्रोत थियो, भारतसँगको व्यापार। पहाडमा आफ्नो स्थिति मजबुत पार्न उनी काठमाडौं उपत्यका वरिपरीको दक्षिणपूर्वी र दक्षिणपश्चिमसम्म पुगे। त्यसपछि दक्षिणतर्फ रहेको मकवानपुरको सेन राज्यमा आक्रमण गरे। मकवानपुरको मुख्य किल्ला भारतसँगको व्यापार मार्गमा अवस्थित थियो। स–साना किल्ला सिन्धुली र हरिहरपुरमा थिए, जसले बाँकी मार्गलाई नियन्त्रण गर्थे। गोर्खालीहरूले सन् १७६२ को अगस्टमा मकवानपुर जिते र त्यही वर्षको अन्त्यतिर सिन्धुली र हरिहरपुर जिते।

यो विन्दुमा पुगेर नेपाल र उत्तर भारतको नियति बाझिन पुग्यो। बंगालका नवाब मिर कासिम मकवानपुरका राजाका नजिकका मित्र थिए। मिर कासिमले आफ्नो उपाधि इष्ट इण्डिया कम्पनीबाट पाएका थिए। तर, बेलायतीले उनलाई निकै कम शक्ति दिएका थिए। उनले स्वतन्त्रता पाएका थिएनन्। आफ्नो स्वाधिनताको निम्ति युद्ध गर्न मिर कासिमले सेना तयार पारेका थिए। मकवानपुरले सहयोग मागेपछि उनले गोर्खालीविरुद्धको लडाई‌ंमा आफ्ना साथीलाई सहयोग गर्न र आफ्नो सेनाको परीक्षण गर्न त्यो सेना पठाइदिए। गोर्खालीले नवाबको सेनालाई छिन्नभिन्न पारे। उनीहरूलाई लखेटे र सयौं बन्दुक हात पारे।

ती बन्दुक गोर्खालीका लागि ठूलो पुरस्कार बन्न पुगे। ती बन्दुकहरू सिंगो सेनालाई पुग्नेगरी नभए पनि तिनले पहाडी राज्यमा गोर्खाली सेनालाई थप बलियो बनायो। त्यतिबेलासम्म पहाडी राज्यबीचको लडाईँ आमुन्ने–सामुन्ने हातहाते नै थियो। लामो दूरीको हतियार भनेको धनु–वाणमात्र थियो। ती बन्दुकले गोर्खालीलाई पर्खाल बन्द शहरमा प्रहार गर्नसक्ने अग्निशक्ति उपलब्ध गरायो। उनीहरूले नगर वरिपरी बनाइएका पर्खाल नष्ट पार्न त सक्दैनथे तर बन्दुकको सहारामा नाकाबन्दी बलियो बनाउन र विरोधीलाई सताउन सक्थे। उनीहरूले आफ्ना नयाँ हतियार कीर्तिपुरमा परिक्षण गरे।

काठमाडौंको दक्षिण पश्चिमको सानो डाँडामा रहेको कीर्तिपुरमा गोर्खालीहरूले सन् १७५७ मा पहिलोपटक र १७६६ मा दोस्रोपटक आक्रमण गरिसकेका थिए। सन् १७६६को शरदमा भएको तेस्रो आक्रमणमा गोर्खालीले आफ्ना नयाँ बन्दुकहरू नाकाबन्दी कडा पार्न उपयोग गरे। नाकाबन्दीलाई तबसम्म कडा पारियो जबसम्म यो प्रतिबन्ध र गोर्खालीहरूको सटिक निशानाले हैरान केही प्रतिरक्षकहरूले मध्यरातमा ढोका खोलिदिएनन्। यसरी कीर्तिपुर पराजित भयो। 

कीर्तिपुरको पराजयले उपत्यकाका मल्ल राजाहरूमा आतंक सिर्जना गरिदियो। उनीहरूले इष्ट इण्डिया कम्पनीसँग सहयोग माग्न गोप्य रूपमा सन्देश पठाए। मल्लहरू व्यापार साझेदार भएकाले र गोर्खालीहरू नभएकाले बेलायतीहरू सहयोग गर्न तयार भए। नेपालबारे लगभग पूरै अनभिज्ञ कम्पनीका अधिकारीहरूले हजार जनाजतिको सेना मल्लहरूको रक्षा गर्न पर्याप्त हुन्छ भन्ने सोचे। आश्चर्यजनक के भने, यो सेनाले सन् १७६७ को वर्षामा तराई पार गर्‍यो। उनीहरूले खाद्यान्न आपूर्ति गर्ने रेलबिना नै यात्रा गरे। उनीहरूले मल्ल राजाहरूले खाद्यान्न उपलब्ध गराइदिन्छन् भन्ने ठानेका थिए। तर, गोर्खालीहरूले उपत्यकामा लगाएको नाकाबन्दी सामना गरिरहेका मल्लहरूले केही गर्न सक्दैनथे। गोर्खालीहरूले बेलायती सेनाको बाटोमा पर्ने गाउँहरू पनि कब्जामा पारिसकेका थिए जसले गर्दा आक्रमणकारीहरूले केही पनि खान पाएनन्। खाद्यान्नको अभावमै कम्पनी सेनाले महाभारत शृंखलाका ठाडा भिरहरूमा संघर्ष गरिरह्यो। त्यहीँ गोर्खाली सेनाले उनीहरूमाथि आक्रमण गर्‍यो। गोर्खालीले यति बलियो प्रहार गर्‍यो, एक तिहाइ कम्पनी सेनामात्र भारत फर्किन सक्यो। उनीहरूले पाँच सय जति बन्दुक मैदानमै छोडेर भागे। गोर्खाली फौजलाई ती बन्दुकले थप शक्तिशाली बनायो।

हस्तक्षेप गर्ने बेलायती प्रयास पूरै असफल भयो। अब त पृथ्वीनारायण उपत्यकामा विजय प्राप्त गर्न स्वतन्त्र भए। गोर्खालीहरूको कडा आर्थिक नाकाबन्दीले उपत्यकाका तीन शहरहरूमा बाह्य सहयोगको सम्पूर्ण आशा तुहाइदिसकेको थियो। सन् १७६८ सेप्टेम्बरमा काठमाडौं झण्डै युद्धबिना नै पराजित भयो। त्यसको केही हप्तामा पाटनले पनि नाकाबन्दी गर्‍यो। यी दुई शहरको सत्ता संगठन गर्न पृथ्वीनारायण केही समय रोकिए अनि सन् १७६९ को नोभेम्बरमा भक्तपुरतर्फ हानिए। भक्तपुरमा तीन दिनसम्म चर्को लडाई पर्‍यो। र, अन्ततः उपत्यका विजय गर्ने गोर्खाली अभियान पूरा भयो।

२५ वर्षको यो अभियानमा पृथ्वीनारायणले काठमाडौं उपत्यकाको केही सय वर्गमाइल जमिनभन्दा धेरैथोक पाए। उनको फौज पूर्ण–अनुशासित, बलियो र हतियार सुसज्जित लडाकु जत्थाको रूपमा विकसित भयो। सेनाका कमान्डरहरू क्षमतावान बने र तिनको नेतृत्व स्वीकारियो। भूमिप्रति पहाडी मानिसको भोकले उर्जावान गोर्खाली सैन्य यन्त्र अगाडि बढ्न तयार थियो र अगाडि अन्तहीन जमिन उनीहरूको प्रतीक्षामा थियो। गोर्खाली सेना निरन्तर पूर्वतिर बढ्यो। सन् १७७४ सम्ममा गोर्खाली शासन पूर्व पहाड–तराईसम्म फैलिइसकेको थियो।

गोर्खाली सेना पूर्वी नेपालको लडाईंमा लम्किरहँदा पृथ्वीनारायण विजित भूमिको शासनमा केन्द्रित भए। उनले आफ्नो शासनका चारवटा आधार सिद्धान्त तयार पारेः
१. जागिर दिने राजाको सामथ्र्य पजनी गर्ने सामथ्र्यसँग बलियो गरी जोडिएको थियो।
२. योग्यताको आधारमा मात्र जागिर प्रदान गरिन्थ्यो।
३. सबै प्रशासन सैन्य अधिकारीहरूले सञ्चालन गर्थे।
४. सम्बन्धित अधिकारीहरूलाई शासन सञ्चालनको लागि सामान्य निर्देशन दिइन्थ्यो। निर्देशन लागू गर्न उनीहरूको बुद्धिमता र सामान्य ज्ञानमा विश्वास गरिन्थ्यो। शासन सञ्चालन गर्न असफल अधिकारीलाई पजनीमार्फत् पदबाट हटाइन्थ्यो।

यो शासन प्रणालीले काम गर्‍यो। तर, यसका लागि जनताका आवश्यकताप्रति संवेदनशील र तिनलाई सुशासन प्रदान गर्न आफ्नो सक्षम बलियो राजा चाहिन्थ्यो।

पृथ्वीनारायण शाहले यिनै सिद्धान्त अनुसार कुशलतापूर्वक शासन गरे। उनको प्रशासन नेवार, थारु, शेर्पा र बाहुन जस्ता विविध संस्कृति र परम्पराका एवं पहाड र तराईका जनतालाई समेट्ने गरी लचिलो भएको पुष्टि हुन्छ। उनले बसालेको थितिले एकरूपताका लागि नभई एकताको आधार उपलब्ध गराएको थियो। यस एकताभित्र सद्भाव सुनिश्चित गर्न र त्यसलाई सम्भाव्य तुल्याउन पृथ्वीनारायणले आफ्नो न्याय प्रणालीमा निष्पक्ष न्यायको व्यवस्था गरे, नेपालको अर्थतन्त्र सुहाउँदो जीवन शैलीलाई जोड दिए, शुद्ध सिक्काहरूमा आधारित मौद्रिक प्रणाली बसाले जसमा सिक्काको मूल्य त्यसमा रहने चाँदीले निर्धारण गथ्र्यो, त्यसमा उल्लेखित विवरण र जारीकर्ताको सम्प्रभुताले होइन।

विदेशी मामिला सम्बन्धमा पृथ्वीनारायणले तत्कालीन शक्तिशाली छिमेकीहरू चीन र इष्ट इण्डिया कम्पनीसँग शान्तिपूर्ण र मित्रतापूर्ण सम्बन्ध राख्नुपर्छ भन्ने विश्वास राख्थे। यो मित्रताले खुला सिमानालाई समेट्दैनथ्यो। पृथ्वीनारायणले सबै विदेशी व्यापारीलाई नेपालमा प्रवेश गर्न रोक लगाएका थिए।

धर्मको मामिलामा उनी सबै धर्मप्रति सहिष्णु भए पनि राज्यको धर्मचाहिँ हिन्दू थियो। हिन्दू राजाको रूपमा उनले विधि र व्यवस्था कायम गर्ने आफ्नो कर्तव्य हो भन्ने बोध गरेका थिए। त्यसको अर्थ हो, अदालतमा न्याय, भूमिमा शान्ति। सबैभन्दा महत्वपूर्ण त पृथ्वीनारायणले आफ्ना गाउँले अर्थात् नेपालका किसानलाई राष्ट्रको दुई महत्वपूर्ण सहारामध्ये एक ठान्थे। अर्को सहारा सेना बराबरीको महत्व किसानलाई दिन्थे। समृद्ध किसान राजाको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने ठान्थे।

आफ्नै अनुभवबाट पृथ्वीनारायणले आफ्ना भाइभारदारप्रति विश्वास भए मात्र राजा अघि बढ्न सक्छ भन्ने सिकेका थिए। भाइभारदारले राजालाई निष्पक्ष र न्यायको प्रतिमूर्तिको रूपमा देख्न सक्नुपर्छ भन्ने उनको विश्वास थियो। साथै, भाइभारदारले राज्यप्रति राजाको दृष्टिलाई बुझ्न र विश्वास गर्नुपर्छ भन्ने उनको मान्यता थियो।

राज्यको सीमा विस्तार गरेरमात्र राष्ट्र निर्माण हुँदैन। एउटा राष्ट्रका लागि सांस्कृतिक, सामाजिक र आर्थिक वृद्धि चाहिन्छ। राज्यको सरहदभित्र बस्ने जनता सरकार र समाजसँग जोडिनुपर्छ। विजित भूभागबाट कर असुल गरेर मात्रै केही पनि हात लाग्दैन। पृथ्वीनारायणले जागिर प्रणालीभन्दा थप नयाँ केही दिन नसक्दासम्म जनता पहिले जसरी बाँचेका थिए त्यसरी नै बाँच्थे र उनीहरू उपत्यकाका राज्य हुँदाको जस्तै साँघुरो दायरामा जीवन जिउँथे। उनीहरू त्यसबाट माथि उठ्न पनि सक्दैनथे। एकता पनि हुँदैनथ्यो।

राज्य भनेको राजाको निजी सर्वेसर्वा हो र यो राजाकै ईच्छाले सञ्चालित हुन्छ भन्ने भड्किलो र स्वार्थी विश्वासको ठाउँमा राज्यबारे नयाँ धारणाको आवश्यकता थियो। यस्तो धारणा सरकारभन्दा पर जनतासम्म पुग्न जरूरी थियो। नेपालको नयाँ सीमा पनि गोर्खा स्वंय र अन्य कुनै पनि पहाडी राज्यले अनुभव गरेभन्दा निकै परसम्म पुगिसकेको थियो।

जब पृथ्वीनारायणले काठमाडौंका सडकमा पाइला राखे उनका मान्छेले उनलाई पछ्याए किनभने उनले जागिर दिने बाचा गरेका थिए। तुरुन्तै उनीहरूले पृथ्वीनारायणले आफ्नो बचन पूरा गरेको बुझे। त्यो दिनदेखि उनीहरू पृथ्वीनारायणप्रति प्रतिबद्ध भए।  

अभियानका लामा वर्षहरूमा पृथ्वीनारायणकै दृष्टिकोण भने यो जागिरको रूपमा भूमि वितरणबाट माथि उठिसकेको थियो। सन् १७४६ मा उनले राज्यलाई ढुंगोको रूपमा परिभाषित गरे जुन उनीभन्दा फरक थियो। जसलाई अझ बलियो बनाउन सकिन्थ्यो। पृथ्वीनारायणले आफ्नो दृष्टिकोण अभिव्यक्त गर्न बलियो र ठोस शब्दको रूपमा ‘ढुंगो’ भनेका थिए। उनले यसबारे बारम्बार चर्चा गरे र आफ्ना भाइभारदारसम्म पुर्‍याए। राज्यलाई ढुंगो भनेर परिभाषित गर्नुको अर्थ के थियो भन्ने सन् १९७० मा उनले आफ्ना भाइहरूलाई दिएको प्रतिक्रियाबाट मात्र स्पष्टसँग बुझ्न सकिन्छ। उनका भाइहरू भर्खरै जितेका भूभागका राज्यको शासक बन्न चाहेका थिए।

पृथ्वीनारायणभन्दा पहिलाका राजाहरूले आफ्ना छोरा र नातेदारहरूलाई त्यसरी नै राज्य बाँडेका थिए। तर, उनले पूर्ण अस्वीकार गरे। ढुंगो बाँडिएपछि ढुंगो रहँदैन भन्ने उनको मान्यता थियो। मानिसहरूले राज्यलाई बलियो बनाउन योगदान गर्ने हाे, व्यक्तिगत फाइदाका लागि यसलाई टुक्राउने होइन भन्ने उनी ठान्थे। पृथ्वीनारायणको विचार अझ उन्नत हुँदै गयो। उनले राज्यलाई ढुंगा भन्दा पनि माथि बुझ्न थाले। सन् १७७४ मा उनले नेपाललाई यहाँका सद्भाव र शान्तिले बसेका सबै जातजाति र समूहको साझा फूलबारीको रूपमा परिभाषित गरे। यो त्यो आदर्श थियो जुन हासिल गर्न उनले काम गरे।

आफ्नो शासनप्रणालीमार्फत् पृथ्वीनारायण शाहले नेपालका जनतालाई राष्ट्रमा समाहित गर्ने कामको थालनी गरे। सामान्य परिभाषामा व्याख्या गर्न मिल्ने पद्दति थिएन उनको। जतिसुकै असमान देखिए पनि धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक संगठनलाई उनले स्वीकार गरे, सम्मान गरे र तीसँग काम गरे। उनले आफूले नियुक्त गरेका जिल्ला प्रशासकहरूले चाहेबमोजिम काम गर्छन् भन्ने आशा गरे। उनीहरूले त्यस्तै नै गरे किनभने उनीहरूले पृथ्वीनारायणले पजनी गर्दा सबैसँग समान र निष्पक्ष व्यवहार गर्छन् भन्ने विश्वास गर्थे। राजा र उनले खटाएका प्रशासकबीचको यो आपसी विश्वासले केन्द्र र भर्खरै जितिएका भूभागबीच पुल निर्माण गर्‍यो, जसले एकीकृत नेपाल सम्भव तुल्यायो।

सन् १७७५ को जनवरीमा पृथ्वीनारायण शाहको निधन हुँदा उनले थिति बसालेको प्रशासनले राम्रोसँग काम गरिरहेको थियो। त्यसको ४० वर्षपछि नेपाल–अंग्रेज युद्धमा नेपालले कुमाउँको अल्मोडामा गम्भीर क्षति व्यहोर्‍यो। यो लडाइँ जित्ने बेलायती सेना केही बेलायती अधिकारी र कुमाउँमा भर्ति गरिएका केही हजार अनियमित सेनाले भरिएको थियो। कुमाउँ सेनाले त्यो भन्दा पहिला नेपाली सेनामा काम गरेका थिए। उनीहरूले नेपालीलाई साथ दिन छोडेर बेलायतीसँग गएका थिए किनभने नेपाली सैनिक प्रशासक र जागिरवालाहरू कुमाउप्रति अन्यायी भएका थिए। उनीहरूले कर तिर्न नसक्ने किसानलाई दासको रूपमा बेचिदिए। आफ्नो जागिरबाट आउने आय बढाउन ससाना गल्तिमा पनि ठूला जरिवाना तोके। पृथ्वीनारायणले राजाको खजाना भनेका किसानलाई उनीपछिका गोर्खाली शासकले यसरी नै व्यवहार गरे। त्यसपछि नेपालमा के भयो त ?

धेरैजसो जवाफ त यो घटनाक्रमले नै दिन्छः
१७७५ जनवरी १० – पृथ्वीनारायण शाहको निधन भयो। उनका जेठा छोरा प्रतापसिंह शाह गद्दीआसिन भए।
१७७५ जुलाई २२ – प्रतापसिंह शाहका जेठा छोरा रणबहादुर शाहको जन्म भयो।
१७७७ नोभेम्बर १७ – प्रतापसिंह शाहको निधन भयो। उनका १६ महिने छोरा रणबहादुर शाह राजा बने।
१७९४ अप्रिल – रणबहादुर शाहले आफ्नै नाममा शासन चलाउन थाले।
१७९७ अक्टोबर १ – रणबहादुर शाहका छोरा गिर्वाणयुद्धको जन्म भयो।
१७९९ मार्च ८ – रणबहादुर शाहले आफ्ना छोरा गिर्वाणयुद्धका लागि राज्य परित्याग गरे। १८ महिना पुगेका गिर्वाणलाई गद्दी आरोहण गराइयो।
१८१६ नोभेम्बर २० – बिफरका कारण गिर्वाणयुद्धको १९ वर्षको उमेरमा निधन भयो। उनको ठाउँमा बालक छोरा राजेन्द्रविक्रमलाई राजा बनाइयो।
एउटा बलियो र स्रोतसम्पन्न राजाबाट शक्ति ग्रहण गरेको प्रशासनिक प्रणालीमा ४० वर्षमा ३२ वर्ष त नाबालकहरूले शासन गरे। उमेर पुगेर प्रत्यक्ष शासन गर्न थालेका रणबहादुरले पनि छोराको निम्ति २३ वर्षमै शासन त्यागे।

पृथ्वीनारायणको शक्ति र सपनालाई विस्तार गर्ने बलियो राजा चाहिएको यो राज्य निर्माणका वर्षहरूमा नेपालमा नायब र मुख्तियारहरूले शासन गरे। उनीहरू आफ्नै हिसाबले सक्षम थिए तर कोही पनि राजा थिएनन्। हिन्दू राज्यको शासक हुनाले राजाले आफ्नो जनताबाट पूर्ण आदर र निष्ठाप्राप्त गर्दछ।

नेपालमा भूमि र पजनीमाथिको नियन्त्रणले राजालाई सर्वशक्तिमान बनाएको थियो। कोहीप्रति पनि अनुग्रह नराखी राजाले निष्पक्ष शासन गर्न सक्थ्यो। नायबी शासन चलाउनेहरूको त्यस्तो हैसियत थिएन। शासन चलाउन उनीहरूलाई गठबन्धनको आवश्यकता पथ्र्यो। यो निर्भरताले सिंगो शासनप्रणाली नै कमजोर बनायो। पृथ्वीनारायणले बसालेको थितिका लागि चाहिने निष्पक्षता कायम गर्न उनीहरू अक्षम थिए।

(गत वर्ष लक्ष्मण श्रेष्ठले अनुवाद गरेकाे याे सामग्री देखापढी अनलाइनबाट साभार गरिएकाे हाे ।)


Comments