संगीत दिवसमा गीत गाउँदै गायिका सरिता पन्थी सुनार र वाद्यवादकहरू |
बागेश्वरी नहुँदो हो त बुटवलमा संगीतप्रति चाह राख्ने तर सिक्ने मौका नपाएर रहरहरुको हत्या गर्ने सिलसिला चल्थ्यो होला
रामचन्द्र श्रेष्ठ
‘बगरमा फूल फुलाउँछु, बसन्तलाई यहीं बोलाउँछु
मेरा दुई पाउ छन् अजम्बरी, म त हिम्मत भा’की छोरी...’
रुपा रौतारको सुरिलो स्वरले वातावरण गुञ्यायमान भईरहँदा मैले नाडीको घडी हेरें । साँझको सात बजिसकेको थियो । विश्व संगीत दिवस (जुन २१)को अवसरमा बागेश्वरी संगीतालयले आयोजना गरेको ‘संगीत सप्ताह’को छैठौं दिन म संगीतालयको हलमा थिए । यहीं हलका केही दिन अघि पकेट थिएटरले ‘लक्ष्मी पूजा’ नाटक मञ्चन गरेको थियो । त्यतिबेला हल निर्माणाधिन नै थियो । गर्मीले निकै अप्ठ्यारो गरेको थियो । अहिले एसीको व्यवस्था सहित निकै समृद्ध भइसकेछ । यसले नै संगीतालयले द्रुत गतिमा भौतिक निर्माण गरेको देखिन्थ्यो ।
तर भौतिक निर्माणभन्दा अझै ठूलो उपलब्धी थियो स्टेजमा आ–आफ्नो प्रतिभा पर्फमेन्स गरिरहेका नविनतम कलाकारको संख्या । यो नै बागेश्वरीको सबैभन्दा महत्वपूर्ण उपलब्धी हो ।
कला जीवनको धुकधुकी हो । मान्छेलाई मानवीय भावनाले ओतप्रोत गराउन कलाको नै महत्वपूर्ण भूमिका हुन्छ । अर्कोतर्फ कलाले नै मान्छेलाई जीवित राख्छ । विद्युतीय दुर्घटनामा परेर दुवै हात गुमाउन विवश रुपाले ‘म त हिम्मत भा’की छोरी...’ गाईरहँदा उनको अनुहारमा देखापरेको चमकले संगीतले मानिसलाई कसरी बलियो गराउँछ र प्रतिकुल परिस्थितिलाई सामना गर्न कसरी भूमिका खेल्छ प्रष्ट देखिन्थ्यो ।
संगीतको यो विरासत बोकेर बागेश्वरी बुटवलको शान बनिरहको छ । शायद यसो भन्नु अतिशयोक्ति नहोला— बागेश्वरी छ र हामीले बुटवल पनि संगीतलाई माया गर्छ भनी गर्व गर्न पाएका छौ ।
शुरुवात
इतिहासदेखि नै व्यापारिक संगमको कारण स्थापित बटौली पछि पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको जम्काभेटस्थल बनेपछि झनै विस्तारित भयो । मुलतः व्यापारको जगमा बनेको र विस्तारित भएकोले हुनुपर्छ बुटवलको मुल चरित्र नै व्यापार र उपभोगमा छ । फरक–फरक ठाउँबाट बसाई सरीआएका र व्यापार–व्यवसायमा मात्र सीमित बस्तीमा कला र संगीतको उन्नयनमा चुनौती हुन्छ । त्यस्तो समाजको आफ्नो मूल चरित्र हुँदैन । त्यसैले पनि होला बुटवल कला, संगीत र साहित्यमा अझै पनि प्रगति गर्न सकिरहेको छैन ।
फैलिएको क्षेत्रफल र अधिक जनसंख्याले शहरको भौतिक गुणहरु हासिल होला । गगनचुम्बी भवन, बढ्दा मार्ट र क्याफेहरुले आधुनिकताको गन्ध पनि प्रदान गर्लान् तर शहरलाई मानवीय बनाउन कला र साहित्यले पोतिनु जरुरी हुन्छ । थियटर, पुस्तकालय, संगीतालय, साहित्य र कलामाथिका अनेकन बहसहरुले शहरलाई जीवन प्रदान गर्छ । त्यो शहरमात्र जिउँदो हो जहाँ कलाले बास गरेको हुन्छ ।
नृत्य प्रस्तुत गर्दै बाल कलाकारहरू |
शायद यहीं भावनालाई महसुस गरेर हुनुपर्छ २०५५ सालतिर दुईवटा कोठा लिएर गितार सिकाउन शुरु गरे सुरेश सेन्चुरीले । जो अहिले बागेश्वरी संगीतालयको प्रिन्सिपल हुन् । पछि अन्य बाद्यवादनबारे पनि चासो बढेपछि गुरुहरुमार्फत् सिकाउने व्यवस्था गर्दै बागेश्वरी स्थापित भएको बताउँदै सुरेशले जसको मातहतमा अहिले १४ जना विभिन्न विधाका शिक्षक–शिक्षीकाले विविध वाद्य वादन, नृत्य र गायन सिकाइरहेका छन् ।
बागेश्वरीलाई साहित्य र संगीतको पारखीको आँखाबाट अवलोकन गरिरहँदा नयाँ पुस्तालाई उत्पादन गर्न र संगीतप्रति चासो विस्तार गर्न उल्लेखनीय योगदान गरेको प्रष्ट महसुस हुन्छ । बागेश्वरी नहुँदो हो त बुटवलमा संगीतप्रति चाह राख्ने तर सिक्ने मौका नपाएर रहरहरुको हत्या गर्ने सिलसिला चल्थ्यो होला । बागेश्वरी छ र त यस क्षेत्रले टेरिया फौजा मगर, आंकक्षा बस्याल, मञ्जु पौडेल, एन्जिला रेग्मी, पुस्कल शर्मा, अर्जुन कौसल, चिरञ्जीवी भण्डारी जस्ता अनेकन प्रतिभामाथि गर्व गर्न पाएको छ ।
संगीत दिवसः पर्फमेन्सको थलो
जुन २१ पृथ्वीको उत्तरी गोलाद्र्धमा सबैभन्दा लामो दिन हो । यो लामो दिनलाई मनाउन फ्रान्समा सन् १९८२बाट संगीत दिवस मनाउने चलन शुरु भएको थियो । लामो दिनलाई रातीसम्म फ्री कन्सर्ट गरेर मनाउने चलन शुरु भयो । टोल–टोल र शहर–बजारमा संगीतको रमझम शुरु भयो । अहिले विश्वका लगभग १२० देशले संगीत दिवस मनाउँछन् ।
थियटर, पुस्तकालय, संगीतालय, साहित्य र कलामाथिका अनेकन बहसहरुले शहरलाई जीवन प्रदान गर्छ । त्यो शहरमात्र जिउँदो हो जहाँ कलाले बास गरेको हुन्छ ।
बागेश्वरीले विगत दश वर्षदेखि संगीत दिवस मनाइरहेको छ । ‘पहिलो वर्ष बुटवल मण्डपमा कार्यक्रम ग¥यौ । दोस्रो वर्ष कान्ति सभागृहमा ग¥यौ । अर्को वर्ष मिलन हलमा ग¥यौ । यसरी प्रत्येक वर्ष केही नयाँ गर्ने सोचमा हुन्छौ । संगीत दिवसको अवसर पारेर संगीतको संरक्षण, प्रवद्र्धन र यसको महत्वको बारेमा चेतना फैलाउने मुख्य उद्देश्य हो ।’ संगीत दिवस मनाउनाको कारण र इतिहास यसरी प्रष्ट पारे सुरेर सेञ्चुरीले । यस वर्षको संगीत दिवस पनि बागेश्वरीले साताभरिको कार्यक्रम गरी मनायो । जसमध्ये ३ दिनको कार्यक्रम औपचारिक हो । यस सप्ताहको उद्घाटन प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरे । दोस्रो दिन भारतका प्रसिद्ध संगीत गुरु डा. शरदमणि त्रिपाठीबाट शास्त्रीय संगीतको कार्यक्रम भयो । तेस्रो दिन समाज, राजनीति र मानव जीवनमा संगीतको प्रभावबारे अन्तरक्रिया भयो । जसमा आभाष फुयाँलले अवधारणापत्र पेश गरे भने ऋषिराम भुसालले टिप्पणी गरे ।
यो क्षेत्रमा शब्दका शिल्पी र स्वर–संगीतका शिल्पीबीचमा खाडल छ । उनीहरुको भेटघाट, अन्तरक्रिया र संवाद भइरहेको छैन ।
यसबाहेक हरेक साँझ पाँच बजेबाट भइरहेको कार्यक्रममा स्थापित र नविन कलाकारहरुले पर्फमेन्स गरिरहेका छन् । यसो गर्दा बागेश्वरीका आफ्नै विद्यार्थीहरुले सिकेको ज्ञानलाई प्रकट गर्ने मञ्च पाइरहेका छन् । भने स्थापितले नयाँ कलाकारसँग संगत गर्ने अवसर पनि । खासमा यो संगीत सप्ताह बागेश्वरीले संगीतसँग आत्मसात गर्न प्रदान गरेको सुवर्ण अवसर पनि हो ।
संगीत प्रस्तुत गर्दै नाथ ब्याण्ड |
छुटेको कडी
राम्रो गीत कस्तो हुन्छ ? शायद यो प्रश्नको ठोस जवाफ छैन र हुँदैन पनि । तर यत्ति भने स्वीकार गर्न सकिन्छ, राम्रो गीत बन्न स्वर, संगीत र शब्दको उपयुक्त मेल हुनुपर्छ । राम्रा गायक र संगीतकारले शब्द छनौटमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ । यो क्षेत्रमा हो यहींनेर ठूलो खाडल छ । यो क्षेत्रमा शब्दका शिल्पी र स्वर–संगीतका शिल्पीबीचमा खाडल छ । उनीहरुको भेटघाट, अन्तरक्रिया र संवाद भइरहेको छैन । पछिल्लो समय केही प्रयत्न भएका देखिन्छन् तर तिनमा सन्तुष्ट भइहाल्नुपर्ने स्थिति छैन । बागेश्वरी र यो क्षेत्रका साहित्यकारहरुले आ–आफ्नो ठाउँबाट गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ने देखिन्छ । कलालाई अझै उन्नत गराउन सामुहिक प्रयत्नको आवश्यकता छ ।
अर्कोतर्फ शहरलाई मानवीयपन दिने काम सबै शहरबासीको हो । त्यसैले शहरबासीले कला, संगीत र साहित्यमा लगानी गर्नुपर्छ । कागजका केही नोटहरु रक्सीको बोतलसँगै बग्छन्, केही चुरोटको धुँवासँगै उड्छन् । तर, कलाको लागि खर्च गरेको पैसा लगानी हो । पछिल्लो पटक खुलेका लाउन्च र अनेकन क्याफेहरुले संगीतलाई केही स्पेश दिइरहेका छन् जसका कारण नयाँ प्रतिभाहरु उदाइरहेका छन् तर त्यति पर्याप्त छैन । स्थानिय सरकारले पनि संस्थागत लगानी गर्नु जरुरी छ । बुटवलमा थिएटर, विशाल पुस्तकालय, आर्ट ग्यालरीको आवश्यकता भइसकेको छ ।
बागेश्वरीले आज हामीलाई संगीत सप्ताहको माध्यमबाट संगीतप्रति चासो बढाइदिएको छ तर संगीतको जिम्मा बागेश्वरीको एकल काँधमा छोड्ने भूल भने गरिनुहुँदैन ।
बागेश्वरीको हलबाट राती साढे नौ बजे निस्कदैँ गर्दा ‘नाद’ ब्याण्डका विशालको आवाज कानमा गुञ्जिरहेको थियो ।
Comments
Post a Comment