खस्यौलीमा नगरकोटी



रामचन्द्र श्रेष्ठ

नगरकोटी खस्यौलीमा छ । खस्यौलीमा उसलाई केही लेख्नु छ । उसलाई शब्दले हन्ट गरिहेछ वा शब्दलाई उसले हन्ट गरिरहेछ । मलाई थाहा छैन ।



‘टालो छ, टालो ?’
स्टेशनरीको पातली पातली केटी नबुझेर अलमल पर्छे । उसले बुझोस् पनि कसरी । यो भन्दा पहिला कुनै पनि ग्राहकले यसरी टालो मागेको थिएन ।
‘कुनै पुछ्ने कपडा छैन, रुमाल ?’ उसले अझै प्रष्ट पार्छ ।
कैयाैं महिना, हुनसक्छ वर्षौदेखि कसैले नकिनेर अलपत्र परेको एफोर साइजको स्पाइरल डायरीलाई उद्धार गर्ने मनस्थितिमा छ— नगरकोटी । शायद उसलाई केही लेख्नु छ । शायद केही शब्दहरुले उसलाई हन्ट गरिरहेछ । मलाई थाहा छैन, शब्दहरुले नगरकोटीलाई हन्ट गर्छ वा नगरकोटी शब्दहरुलाई हन्ट गर्छ ।
तर उसलाई चाहिएको छ एउटा गज्जबको डायरी । उसले अघि नै मलाई भनिसकेको छ ।

शायद कागज र कलममा चुज्जी छ नगरकोटी । उसका सुन्दर अक्षरहरु जस्तो तस्तो कलमले जस्तो तस्तो कागजमा सजाउन ऊ तयार छैन । मैले उसको केही लेखनी देखेको छु । एफोर साइजको सुन्दर कागजमा उसका मुलायम अक्षरहरु टलक्क टल्केका थिए ।

तर यो खस्यौली हो । यहाँ कहाँ पाउनु काठमाडौंको त्यो कागज । यहाँ कागजको अभाव छ । उसो त यहाँ शब्दहरुको पनि अभाव छ । उसो त यहाँ कलमहरुको पनि अभाव छ । उसो त यहाँ कलाको अभाव छ । यो त खडेरी हो, खडेरी । यहाँ फूलको अभाव छ ।

नगरकोटी खस्यौलीमा छ । खस्यौलीमा उसलाई केही लेख्नु छ । उसलाई शब्दले हन्ट गरिहेछ वा शब्दलाई उसले हन्ट गरिरहेछ । मलाई थाहा छैन ।

राम्रो कागजको खोजीको क्रममा नगरकोटी यो स्टेशनरीमा आइपुगेको छ । उसले रोजेको छ धेरैले नरोज्ने एफाेर साइजको स्पारल डायरी । घामले डढेर डायरीको कभरले आफ्नो स्वत्व गुमाइसकेको छ । धुलोले त्यसको मुहारलाई अलपत्र पारेको छ । नगरकोटी डायरीलाई उद्धार गर्न चाहन्छ । त्यसैले मागिरहेछ टालो । पसलकी युवती टालो माग्ने ग्राहक देखेर चित परेकी छे ।

कता–कताबाट उसले एउटा सानो रुमाल दिन्छे । नगरकोटीले मायाले पुछ्छ डायरीको कभर । डायरीको कभर मुसुक्क मुस्काउँछ । त्यसले ज्यान पाएको छ ।

...... ........ ..........

(तपाई भन्नुहोला किन म नगरकोटीलाई तँ भनिरहेछु । उसो त म उसलाई दाइ भन्छु, कुमार दाई । तपाई भन्छु । तर, यहाँ नगरकोटी एउटा क्यारेक्टर न हो । पात्र न हो । पात्रलाई जे भन्दा पनि न्याय नै हुन्छ । उसो त सम्बोधनमा के नै छ र !)
....... .........

मंगलबार साँझतिर म कसैसँग मोबाइलमा कुरा गरिरहेको हुन्छु । अर्को एउटा कल ओभरल्याप भएर आइदिन्छु । हेर्छु, घिमिरे युवराज कल गरिरहेछ । छक्क परेर कुरा गरिरहेको पात्रलाई अनुरोध गर्दै घिमिरे युवराजलाई रिसिभ गर्छु ।

घिमिरे युवराज मेरो लागि संयोग हो । उसलाई म पत्रिकामा पढेको थिएँ । शिल्पी थिएटरको निर्देशक हो ऊ तर उसको अभिनय हेर्ने संयोग मिलेको छैन । केवल लेखक हो मेरो लागि ऊ । उसँग म यस्तै कुनै संयोगले ठोक्किएको थिएँ । त्यो स्थानीय तहको निर्वाचनको गरम बेला थियो । म चुनाव प्रचारको क्रममा पुरानो बटौलीमा थिए । हिंड्दै थिएँ एक्कासी अगाडि प्रकट भयो— घिमिरे युवराज । उसले मलाई एक्कासी अंगालो  मार्यो र खुसी मनायो तर म चित खाएँ । किनभने मेरो लागि घिमिरेको सशरीर उपस्थिति अपरिचित थियो । मैले बुझें उ लक्ष्मण भनेर झुक्किरहेको छ । पत्रिकामा देखेको उसको दाह्रीवाला फोटोले मैले चिने यो उही हो । अनि भयो मुलाकात । अनि भयो यथार्थको प्रकट । अनि भयो एक लहर हाँसो ।

मंगलबार साँझ मोबाइलमा घिमिरेले सुटुक्क सुचना चुहायो ‘म तेरो बटौली आएको छु अनि भोली नगरकोटी यहाँ प्रकट हुँदैछ ।’

नगरकोटी एक्कासी बटौलीमा प्रकट हुँदैछ ।
एउटा जोगी बटौलीमा ।
एउटा मदमस्त मनुवा बटौलीमा ।
यो मेरो लागि हर्षको खबर थियो ।
...... ........ ...........

बुधबार साढे चारबजे हामी मणिग्राम चोकमा हुन्छौ । रवीन्द्र र म यहाँ केही मिनेटदेखि ‘द ट्री’ नामधारी रेष्टुरेण्टको खोजीमा छौ । यो नयाँ नयाँ रेष्टुरेण्ट एण्ड लाउन्चबारे यहाँ कसैलाई थाहा छैन । हामी अलमलिरहेका छौ । हामीलाई भेट्टाउन आउँदैछन् रमेश पाण्डे ।
जसै जसै रमेश पाण्डे आइपुग्छन्, उसै उसै एउटा बाइक हाम्रो अगाडिबाट गुज्रन्छ । त्यसको पछाडि कालो कुर्ता र कालै सुरुवालमा नगरकोटी कुदिरहेछ ।

खासमा नगरकोटी उतिविधि गफास्टिक होइन रहेछ । हामीलाई त गफ चाहिने । रमेश पाण्डे अटसमटस गर्छ । म बुझ्छु— दुनियाका अनेक घटना याद गरेर घण्टौ गफ गर्ने रमेशलाई अहिले छटपटी भएको छ । गफ चिप्लेकिराको तालमा घिसिपिटे गरिरहेछ ।



‘उ नगरकोटी’ रवीन्द्र चिच्याउँछ । हामी उसको पीछा गर्छौ । रमेशसँगसँगै कुद्छ ।
जसै जसै बाइकबाट नगरकोटी ओर्लन्छ । उत्तिनै बेला म भन्छु ‘कुमार दाइ नमस्कार तपाईलाई यहाँको गर्मीमा स्वागत छ ।’
नगरकोटी चिरपरिचित मुस्कान मुस्काउँछ । हामी नवनिर्मित रेष्टुरेण्टको बाहिरी कटेजमा बिसाउन पुग्छौ । घिमिरे युवराजको मोबाइल अचानक बन्द भइदिन्छ ।

नगरकोटीसँग धेरै गफ गर्नुछ । तर नगरकोटी बोल्दैन ।

रमेश पाण्डेले बेलाबेलामा कोट्याउँछ । उ कनिकनि केही शब्द ओकल्छ ।
म सोध्छु— ‘दाई पहिला बुटवल आउनुभएको थियो कि नाइँ ?’

‘आएको थिएँ तर बस्ने गरेर होइन ।’ खासमा नगरकोटी बुटवल हुँदै कतै गएको छ । पछि थाहा हुन्छ उ यहीं हुँदै अर्घाखाँची पुगेको छ । नेपालगञ्ज पुगेको छ तर ओर्लेको छैन । यो उसको पहिलो पटक हो ।

‘प्लेनमा कस्तो सुन्दर सुनिएको— यु आर् नाव् इन गौतमबुद्ध एयरपोर्ट । कस्तो मिठो सुनिएको ।’ नगरकोटी भर्खरैको अनुभव सेयर गर्छ । हामीलाई खासै छुदैन । के पो नयाँ हो र ! तर उसलाई यसैमा मिठास लागिरहेछ । दोहोर्याइरहन्छ । अनि भन्छ— ‘यु आर् नाव् इन गिरिजाप्रसाद कोइराला एयरपोर्ट....कस्तो सुनिन्छ ? कति सुन्दर यु आर् नाव् इन गौतमबुद्ध एयरपोर्ट ।’

अब पो हामी बुझ्छौ किन यति मिठास लागिरहेछ । आखिर तुलना त रहेछ । तुलनाले त रहेछ नि सुन्दर र असुन्दर छुट्टाउने ।

त्यसपछि कुराकानीको सिलसिला अलि अलि बामे सर्छ । खासमा नगरकोटी उतिविधि गफास्टिक होइन रहेछ । हामीलाई त गफ चाहिने । रमेश पाण्डे अटसमटस गर्छ । म बुझ्छु— दुनियाका अनेक घटना याद गरेर घण्टौ गफ गर्ने रमेशलाई अहिले छटपटी भएको छ । गफ चिप्लेकिराको तालमा घिसिपिटे गरिरहेछ ।

नगरकोटी अलमल्ल परिरहेको रहेछ । उसलाई कहाँनेर छु भन्ने थाहा रहेनछ । हामी बताउँछौ उ बुटवल र भैरहवाको बीचतिर छ । अनि ऊ यताको साहित्यिक माहोल सोधिटोपल्छ । हामी अलिकति खिन्नता र अलिकति प्रशंसा मिक्स गरेर बोल्छौ । अनि प्रसंगवश नाम आउँछ कृष्ण पाण्डे उर्फ कृस्पेण्डाेकाे ।

कृस्पेण्डो भन्दै हुन्छ नगरकोटीलाई— ‘तपाईले धेरै प्रयोग गर्नुभयो अब तपाई गुरुप्रसाद मैनाली टाइपका कथा लेख्नुस । रामे र श्यामेको कथा लेख्नुस ।’साँच्चै कस्तो हुन्छ होला ?नगरकोटीले कालो वस्त्रा फ्याकेर जिन्स र टिसर्ट लगाए कस्तो हुन्छ होला ?अचलनचल्तीको मान्छे चलनचल्तीमा आए कस्तो हुन्छ होला ?



कृस्पेण्डाेको बटौलीको टाइम एण्ड स्पेशमा नअट्ने पात्र हो । उसका अनेकन किस्सा छन् । उ खस्यौलीको माटोमा जन्मियो, खेल्यो, हुर्कियो । कालिका स्कुलमा पढ्यो । ज्ञानज्योती पुस्तकालयमा लाइब्रेरियन भयो । अंग्रेजीप्रति उसको अस्वाभाविक लगाव थियो । पुस्तकालयका सबै अंग्रेजी, हिन्दी र नेपालीका अनेकन किताब सर्लक्क पढ्यो । उही त हो बुटवलमा टाल्सटाय, दोस्तोवस्कीदेखि फ्रान्ज काफ्काबारे धाराप्रवाह कुरा गर्न सक्ने ।
शायद अंग्रेजी पढ्दा पढ्दै उसलाई मनपरेन कृष्ण पाण्डे नाम । २०६२ तिर जितगढी पत्रिकामा उसले एउटा कविता लेख्यो— बालुवा । त्यहाँ आफ्नो नाम टास्यो— कृस्पेण्डो । त्यसयता मैले उसलाई ल्याटिनीकरण गरिएको कृष्पेण्डो भन्छु । उ अहिले कृष्ण पाण्डे नै भन्न रुचाउँछ ।


कृस्पेण्डोले जतिधेरै गफ गर्न सक्छ कार्यक्रममा उभ्याउने हो भने पन्ध्र मिनेट टिक्दैन । लेख्न भनेपछि उसलाई महाभारत हुन्छ । तर एकदिन उसले लेख्छ— बेरोजगार मनोदशा । संयोग त्यो छापिएको अर्कोदिन पाउँछ जागिर । तर उ कहिल्यै जागिरमा टिकेन । धेरै स्कुलमा केही महिना कते एकाध वर्ष टिक्यो ।
कृस्पेण्डो जिद्दी छ । उसलाई आफ्नो स्वतन्त्रतामा सम्झौता गर्नुछैन । एउटा स्कुलमा उसलाई तथाकथित कोअर्डिनेटरले अह्राउन खोज्छ । उसले फिल्मी शैलीमा डाइलग मार्छ— ‘एउटा नोकर अर्को नोकरबाट शासित हुनभन्दा मालिकबाटै शासित हुन चाहन्छ ।’ अनि अर्कोदिन फेरि छोड्छ स्कुल । यस्ता कैयन किस्सा छन् कृस्पेण्डोको ।


तर, कृष्पेण्डो लेख्दैन । मलाई लेखाउनु छ । एकदिन म जिद्दी गर्छु, उ तयार हुन्छ । गोल्डेन गेट इन्स्टिच्युटको अफिसमा साँझ सात बजे म कम्प्युटर अगाडि बस्छु कृष्पेण्डो बोल्न थाल्छ । ऊ कोठावरीपरी डुल्दै बोल्दै जान्छ म टाइप गर्दै जान्छु । यसरी बन्छ एउटा लेख— दोस्तोवस्कीबारे । त्यो अन्नपूर्णको फुर्सदमा छापिन्छ । नगरकोटीलाई त्यो मन पर्छ । नगरकोटीले मोबाइलन नम्बर मागेर फोन गर्छ । कृस्पेण्डो मलाई सुनाउँछ ।
आज नगरकोटीले कृस्पेण्डोको सम्झना गर्छ । म उसलाई खबर गर्छु । यत्तिकैमा घिमिरे युवराज आइपुग्छ । पछि कृस्पेण्डो र प्रमोद तिवारी आइपुग्छन् । जमघट बाक्लो हुन्छ । अनि शुरु हुन्छ गफका शृंखला । तर नगरकोटी प्रायशः मौन रहन्छ । कोट्याएर सोधेमात्र केही शब्द ओकलिदिन्छ ।

नेपथ्यमा संगीत गुञ्जन शुरु हुन्छ । आज नै यो रेष्टुरेण्ट एण्ड लाउन्चको उद्घाटन रहेछ ।
यो
क्षेत्रका वर्तमान पप म्युजिकका हस्ती बसन्त श्रेष्ठ गितारमा संगीत भर्न थाल्छ । उनीसँगै छन् सनिस खान र कविता । कविताले स्वर दिइरहेछिन् । रमेश भन्छ— बसन्त काठमाडौं युनिभर्सिटीको प्रोडक्ट हो ।
नगरकोटी चुपचाप संगीत सुनिरहेको हुन्छ । उसका औलाहरुले लय दिइरहेको देखिन्छ ।
कस्तो मदनमस्त ! वरीपरी हामीहरु गफ गरिरहेछौ । उ मौनताको दुनियाँमा मस्त छ ।

नगरकोटीः आइसोलेटेड पर्सन ।

कृस्पेण्डो भन्दै हुन्छ नगरकोटीलाई— ‘तपाईले धेरै प्रयोग गर्नुभयो अब तपाई गुरुप्रसाद मैनाली टाइपका कथा लेख्नुस । रामे र श्यामेको कथा लेख्नुस ।’

साँच्चै कस्तो हुन्छ होला ?
नगरकोटीले कालो वस्त्र फ्याकेर जिन्स र टिसर्ट लगाए कस्तो हुन्छ होला ?
अचलनचल्तीको मान्छे चलनचल्तीमा आए कस्तो हुन्छ होला ?
....... ....... ......

बिहिबार अपराह्न हामीलाई साढे चार बजे जुट्नु छ । हाम्रो योजना छ— देवदहमा भैरहेको काष्ठकला कार्यशालामा पुग्ने । कलाका पारखीहरु अर्को कलाप्रेमीलाई भेट्ने । तर, बटौलीमा अनायास मौसमले ताण्डव देखाउन थाल्छ । अनि हामी कैद हुन्छौ होटलमै । अनि हामी गफिन थाल्छौ । अनि आइसोलेटेड हुन मनपराउने नगरकोटी अलि अलि फुक्न थाल्छ ।
अनि उसले भन्न थाल्छ— मान्छेहरु आफ्ना यथार्थ स्वरुपमा आउनुपर्छ । कथित नैतिकताका बन्धनहरु च्यातिनुपर्छ ।
अनि उ एक्स्ट्रिीम कुरा गर्न थाल्छ । भन्छ— म हृषिकेशमा नांगै नुहाए । के फरक पर्छ र ? मलाई केही फरक पर्दैन । दुनियाँ त ढोंगमा बाचेको छ । मलाई ढोंग मनपर्दैन ।

घिमिरे युवराज थपथाप गर्छ । हामी गफिरहन्छौ । बाहिर पानी परिरहन्छ । पानी परिरहन्छ हामी गफिरहन्छौ । पानी रोकिन्छ हामी गफिन छोड्छौ । कस्तो मौसमी गफ ???
..... ........... ......
पानी रोकिन्छ र गफ रोकिन्छ । हामी निस्कन्छौ । हामी लाग्छौ च्या घरतिर । हामी मट्का चिया हन्ट गर्न हानिन्छौ ।

नगरकोटी फेरि गुन्गुनाउँछ— जोमसोमै बजारमा....घर हाम्रो को छ र, अझसम्म भा’छैन घरबार ।नगरकोटी सोचिरहँदो रहेछ । शब्दसँग खेलिरहँदोरहेछ ।



बाटोमा अचम्मसँग नगरकोटी मसँग गफिन्छ । उसले अर्घाखाँची गएको प्रसंग सुनाउँछ । जतिबेला म बच्चै थिएँ त्यतिबेला उ मेरो गाउँको पोखरीको छेउमा चिया पिएको रहेछ । कुरा गर्दै हिंड्दा हिंड्नै रोकिने स्वभाव भने गज्जबको रहेछ । उसँग कुरा गर्दै हिंड्ने हो भने गन्तव्य र समयको सीमा राख्नुनहुने रहेछ । उसो त नगरकोटी कहाँ समयको सीमामा चल्छ र !

मट्का चिया मन पर्छ घिमिरे युवराजलाई । नगरकोटीलाई ।

अनि फेरि कुराकानीको शृंखला शुरु हुन्छ । एक्कासी नगरकोटी गीत गाउँछ— जोमसोमै बजारमा बाह्र बजे हावा सररर, घर हाम्रो पोखरा, अझसम्म भा’छैन घरबार ।
अनि टिप्पणी गर्छ— यो गीतलाई पोखराले बिगारेको छ ।
उसको आसय हुन्छ— पोखराले गीतलाई सीमित गराएको छ । संकुचित गराएको छ ।
अनि हुनुपथ्र्यो के ?

नगरकोटी फेरि गुन्गुनाउँछ— जोमसोमै बजारमा....घर हाम्रो को छ र, अझसम्म भा’छैन घरबार ।
नगरकोटी सोचिरहँदो रहेछ । शब्दसँग खेलिरहँदोरहेछ ।

अनि हामी निस्कन्छौ हिमालय बुक हाउसका माधव गौतम कुरेर बसिरहेछन् ।
यति नै बेला हो नगरकोटी मसँग कागजको कुरा गर्छ ।

हिंड्दा हिंड्दै नाटकको कुरा हुन्छ । थियटरको कुरा हुन्छ । बागिश्वरीको कुरा हुन्छ । अनायास हामी पुग्छौ बागिश्वरी संगीतालय सुरेश सेन्चुरी चकित पर्छन् । उनी हामीलाई बन्दोक्रममा रहेको थियटर हल देखाउँछन्— मोबाइलको लाइट बालेर । घिमिरे युवराज शिल्पी थियटरको अनुभव सेयर गर्छ, सेन्चुरी टाउको हल्लाइरहन्छन् ।

आइसोलेटेड नगरकोटी अन्तरयात्रामै हुन्छ ।
बागीश्वरीलाई नेपथ्यमा पारेपछि स्टेशनरी काण्ड घटित हुन्छ ।
स्टेशनरीकी युवती चकित पर्छे, टालो माग्ने ग्राहक देखेर ।
उसको अलपत्र डायरीको उद्धार हुन्छ ।
माधवको हिमालय बुक हाउस हाम्रो प्रतिक्षामा हुन्छ ।

फेरि चियाको ‘जनमोर्चा’ गिलास आउँछ ।
फेरि साहित्य और किताबको चर्चा हुन्छ ।
पसल बन्द हुनथाल्छ ।
नगरकोटी होटल फिर्ता हुन्छ ।
म चुपचाप उसलाई हेरिरहन्छु ।

यही फकिर नगरकोटीसँग शनिबार अपराह्न चारबजे क्याजुअल गफ गर्नुछ ।
के पो गर्नेहोला ?
के पो नगर्नेहोला ?

२०७६ जेठ १८ गते शनिबार लुम्बिनी दैनिककाे शनिबारीय परिशिष्टांक ‘पाहुर’ प्रकाशित रचनाकाे  विस्तारित रूप

Comments