डायरी: टिप्परको अघिपछि

रामचन्द्र श्रेष्ठ


मितिः २०७६ असार २, सोमबार
समयः दिउँसो १२देखि साँझ ६ः३०सम्म
सन्दर्भः बुटवलदेखि डुम्रेबजार पाल्पासम्मको यात्रा

सिद्धबाबामा भरिएकाे  टिप्पर फर्कदै र खाली टिप्पर जाँदै । सिमेन्ट कम्पनीकाे लागि चुरेकाे ढुंगाहरू उत्खनन् भइरहेकाे छ ।

बिना अनुसन्धान दुर्घटना करार गरिएका कतिपय जघन्य घटनालाई हत्या आरोपित किन नगर्ने ? होइन भने जेब्राक्रसिङमा बाटो काटिरहेका निहत्था यात्रुलाई हिर्काउने टिप्परलाई के भन्ने ?


अगाडि र पछाडि टिप्पर, साइडमा अर्को टिप्परको ओभरटेक । टिप्पर नै टिप्परको घुँइचो र त्यसले उडाएको धुलोको हुलमा हामी निस्सासियौ, अत्तालियौ । रवीन्द्र पुरा दिल दिमाग लगाएर स्कुटी नियन्त्रणमा लिइरहेका थिए । हामी तनाव, धुलो र आवेगलाई एकैसाथ झेलिरहेका थियौं ।

बुटवलको गर्मी एकछिनलाई भए पनि छलौं भन्ने मनसायले हामी एक्कासी पाल्पा हानिदैं थियौ । गोलपार्कबाट भेटिन शुरु गरेका टिप्परहरु तल्लो सिद्धबाबाबाट उत्तर लागेपछि हामीलाई अत्ताउँदै थिए । पारी दोभान माथिको डाँडाको टुप्पोसम्म बाटो गएको देखिन्थ्यो । डाँडा यसरी चिथरीएको थियो, लाग्थ्यो कसैले त्यसमाथि सात पुस्ताको रीस एकैपटक खन्याएको हो । उसलाई सर्वांग नग्न पार्न उद्दत होस् । प्रकृतिमाथिको बलात्कारको यो जस्तो उच्चतम नमुना अन्त होला र ? तल तिनाउ नदी बहिरहेथ्यो । त्यसलाई पानीको स्रोत चुरेका डाँडाहरुमाथि हमला भईरहेथ्यो ।

‘हिजो एकजना प्रदेश सभा सदस्यले सिद्धबाबा र वरपरका चुरेका डाँडा सबै फाँडेर समथर पार्नुपर्छ । ढुंगा जति बेच्नुपर्छ भन्दैथिए ।’, रवीन्द्रले एउटा प्रसंगमा भेटभएका प्रदेश सांसदको कुरा गर्दैथिए । यसले नै थाहा हुन्छ हाम्रा नेताहरुलाई वातावरणप्रति थोरै पनि चासो छैन । यी चुरेका पहाडहरु देख्दा शायद उनीहरुको मुख रसाउँछ । लाग्दो हो, किन यी पहाड ठडिएका छन् ? किन यिनका ढुंगाहरु जमेर बसेका छन् ? किन भकाभक खसेर हाम्रा मान्छेका टिप्परमा भरिन्नन् ? सायद हिसाब गरिबस्दा हुन्, यी पहाडमा कति टन सिमेन्ट होलान् ?

डोजर र टिप्परको पहाड यात्रा, तिनले पारेका विकृत डोबहरु, ताछिएर सौन्दर्यता हरण भइरहेका डाँडाहरु, शोक र विषादले मौन मौन बगेका तिनाउ र शाखा खोल्साहरु । उदास मनस्थिति र हताश परिस्थितिमा हामी दौडिरहेका थियौ ।

‘जेमराज’— टिप्परको प्रचलित नाम हो । जब बुटवल–मणिग्राम क्षेत्रमा तीव्र वेगका हुँइकिएका यी टिप्परले जेब्राक्रसिङमै तीनवटा ‘हत्या’ गरे टिप्पर जेमराजमा प्रचलित भयो । ‘हत्या’ शायद अप्रिय र भद्दा सुनिन्छ होला तर सडकका हरेक घटना ‘दुर्घटना’ हुने गर्दैन । बिना अनुसन्धान दुर्घटना करार गरिएका कतिपय जघन्य घटनालाई हत्या आरोपित किन नगर्ने ? होइन भने जेब्राक्रसिङमा बाटो काटिरहेका निहत्था यात्रुलाई हिर्काउने टिप्परलाई के भन्ने ?

कम्तीमा अफिस समयमा टिप्पर रोक्न किन खोजिएन ? किन टिप्परलाई टाइम कार्ड लागु गरिदैंन ? सिद्धबाबा जस्तो संवेदनशील, ढुंगा झरिरहने ठाउँ त्यसमाथि अत्याधिक सवारी चाप हुने सिद्धार्थ राजमार्गमा किन टिप्परलाई नियमन गरिन्न ?

बुटवल पाल्पा सडक खण्डबाट यस्ता पहाड ताँछिदै गएकाे धेरै दृश्य देख्न सकिन्छ । 

शानका लागि टिप्पर


साँच्चै कत्ति कमाउँछन् यी टिप्परवालाले ?

‘के कमाउने ? कत्ति नि कमाउन्नन् । सिद्धबाबाको बाटो देख्नुभएकै छ । त्यसले गाडी छिट्टै बिर्गाछ, बनाउनुप¥यो । ड्राइभरलाई दिनुपर्यो । फाइनान्स तिर्नुपर्यो । अनि आफु त घिन्ताङ ।’ डुम्रे पुल नजिकको चिया पसलमा भेटिएका मालवाहक जीप ड्राइभरले सुनाए । उनी लामो समयदेखि यातायात व्यवसायमा रहेछन् । बस, ट्रक अनि अहिले मालवाहक जीप । जीपका मालिक पनि उनी स्वयं रहेछन् ।

‘अनि किन किन्छन् त टिप्पर फाइदा नहुने भए ?’ हाम्रो जिज्ञासा ।

‘गाउँमा मेरो पनि टिप्पर छ भनेर शान दिन ।’ सँगै रहेका एकजना मोटे साहुले भने । त्यो मालवाहक जीपमा उनकै भारी आएको रहेछ ।

‘कुनै नेताको लगानी छ कि छैन ?’ मैले कतै सुनेको थिएँ स्थानीय नेताहरुको लगानी छ टिप्परमा । कसैले केही सुनाइहाल्छ कि भन्ने खोजीमा थिएँ । त्यसैले सोधिहालें ।

‘केही नेताको छ भन्ने सुनिन्छ । उता सुनवल र बुटवलतिर वडाध्यक्षकै छ रे ।’ उनीहरुसँगै उभिएको एउटा मान्छेले भन्यो । पछि चिया पसलकी दिदिबाट थाहा भयो त्यो प्रहरी रहेछ ।

‘प्रहरी देखेरै चिन्छु मैले ।’ चिया पसल्नी दिदिले भन्दै थिइन् ।

‘कसरी ?’ मैले सोधिहाँले ।

अब हेर्दै जानुस् कति मान्छे मर्छन्, कति बौलाउँछन्, कति सडकमा आउँछन् । सडकले अब सोत्तर पार्छ ।



‘उनीहरुको हेराई नै फरक हुन्छ ।’ प्रहरी गईसकेको थियो । चियापसल्नी खुलेर बोलिरहेकी थिइन् । त्यहीं मालवाहक जीपमा दुई युवती पनि सवार थिए । उनीहरुमध्ये एकजनाले राम्रै मेकअप गरेकी थिई । उनीहरु लजाउँदै चुकौनी, चिया र बटुक खाँदै थिए । त्यतिबेला त्यो पुलिस उनीहरुलाई घुरेर उभिरहेको थिए । वर्षौदेखि होटल चलाइरहेकी दिदिलाई यस्तो हेराईको अर्थ थाहा थियो ।

‘अस्ती एउटाले अर्कै केटी लिएको आएको थियो । अंगालेर बसेको थियो । मैले भाइ पुलिस हो भनेको त छक्क परेर कसरी थाहा पाउनुभयो भन्दैथियो । आफ्नी बुढीलाई त्यसरी अंगालेर बस्थ्यो र ?’ चियापसल्नी दिदि अब अलि बढी नै खुल्न थालेकी थिइन् ।

‘त्यो त मान्छेको व्यक्तिगत जीवन हो । आफ्नो लाइफमा जे गरे पनि भयो नि अरुलाई असर नपारे भयो । ती केटी पनि खुसी छिन् भने अरुले के भन्न पर्यो र ?’ जीपवालाले भन्यो । भन्दैगर्दा ‘क्या भने’ भन्ने तालले केटीहरुलाई पुर्लुक्क हेर्यो । केटीहरु लज्जाएर टाउको घोप्टो पारे । हामीले उसको नियत बुझेर मुस्कायौ ।

‘के थाहा तपाई पनि जवानीमा को कोसँग मस्किनु भो ?’ जीपवालाले पसल्नी दिदिलाई ठाडै सोधिदियो ।

‘ओ ! अब लबसब गर्ने उमेर गयो ।’ प्रतिकार नगरी चियावाल्नीले वर्तमानको कुरा गरिन् । शायद ग्राहकलाई सिँधै मन नदुखाउने उनको व्यावसायिक जुक्ति थियो यो ।

विकासको डर 


‘दिदि कति वर्ष भयो यहाँ पसल गर्नुभएका ?’ उनीहरु सबै गएपछि हामीले कोट्यायौ ।

‘तीन वर्ष भयो गर्न थालेको ।’

‘अनि बाटोको छेउमा लस्करै पसलहरु रहेछन् । बाटोले फाल्ने कुरा त गरेको छैन ?’
‘हल्ला छ के रे बाबु ! अब कुन दिन फाल्ने हो ।’ सुस्केरा काड्दै उनले भनिन् । विकासको डर उनको अनुहारमा प्रस्ट देखिन्थ्यो । यस्तै विकासको डरको कथा हामीले एकछिन अघि डुम्रे बजारको रेष्टुरेण्टमा सुनिसकेका थियौ ।

डुम्रे बजारनजिकै स्कुटी रोकेर हामी एउटा रेष्टुरेण्टमा छिर्यौं । बाहिर सानो कटेज रहेछ । त्यसमै झोला राखेर हातमुख धुन गयौ । फर्कदाँ उही कटेजमा मझौला कदका एकजना मनुवा कोल्ड ड्रिक्सको साथमा चुरोट तान्दै थिए । हामीले मुस्कानको आदानप्रदान गर्यौ । ती मनुवा विचित्रका रहेछन् । कुरा गर्न माहिर । एकैछिनमा


यसरी पहाड तााछ्न साँच्चै वातावरणीय प्रभाव मुल्यांकन गरियाे हाेला ? गरिएकै भए के त्याे प्रतिवेदन दाेष र आग्रह मुक्त हाेला ?
कुराकानी शुरु भईहाल्यो । बोल्नमा माहिर रहेछन् मनुवा । आफुले सुनेको, देखेको, जानेको केही छोडेनन् । लगभग एक घण्टा उनले धाराप्रवाह बोलिरहे हामी सुनिरह्यौ । शुरु शुरुमा त रुचि जाग्यो र केही प्रतिप्रश्न पनि ग¥यौ । पछि त उनले पाल्पा, बुटवल, डुम्रेदेखि सिंगापुरसम्मका कुरा गर्न भ्याए ।

ती मनुवा रहेछन् पाल्पाका बज्राचार्य थरका टायल, मार्वलका बिक्रेता । नेवारी टोन प्रष्ट आउने भाषामा उनले तानसेनको परिवर्तनबारे बताउँदै थिए । उनका अनुसार अब तानसेनमापानीको समस्या हुनेछैन । गण्डकीबाट पानी तान्दैछ । तानसेनमा नयाँ बाटो बन्दैछ । अहिलेको बसपार्क पनि सार्दैछ । बसपार्कबाट माथि लहरेपीपलसम्म तीन लेनको बाटो बन्दैछ । त्यो बाटोले धेरैको घर फाल्दै छ ।

‘अनि मान्छेहरु मान्छन् त ? बसिसकेको बस्ती फाल्नुको साटो अर्को विकल्प रहेनछ ?’ हामी कोट्याउँछौ ।

‘यो त विश्व बैंकले बनाउने हो रे नि । सरकारले त अन्तैबाट मोड्न खोजेको विश्व बैंकले मानेन रे । अब हेर्दै जानुस् कति मान्छे मर्छन्, कति बौलाउँछन्, कति सडकमा आउँछन् । सडकले अब सोत्तर पार्छ ।’ ती मनुवाको अनुहारमा विकासले ल्याउने सम्भावित परिणामको भयग्रस्त तस्वीर देखिन्थ्यो ।

सडक विकास हो । विकास सडक हो । वर्र्षाैदेखि हाम्रो विकासको भाष्य सडकसँग गाँसिएको छ । सडक विकासको पुर्वाधार त हो तर विकासको डायमेन्सन सडक मात्र हुँदैन । खासमा विकास भनेको स्थानिय मान्छेको जीवनस्तर उठाउने, उनीहरुलाई गुणस्तरीय जीवन हासिल प्राप्त गर्ने माध्यम बनाउने पो हुनुपर्ने ।
सडक भन्नासाथ ठेक्का आउँछ, स्काभेटर र टिप्पर आउँछ । अहिले अलिकति पैसा जम्मा गर्न सक्ने टाठाबाठा भनाउँदा मान्छेले स्काभेटर र टिप्परमा लगानी गरेका छन् । ती धेरैजसो लगानीकर्ता स्थानीयदेखि केन्द्र तहसम्मका नेताहरुको आसोपासे छन् । राज्यका विभिन्न तहले विभिन्न स्तरको सडकका लागि बजेट छुट्याउँछ ।
ती सडक निर्माणको ठेक्का नेताका आसेपासेलाई पारिन्छ । त्यस्तै स्काभेटर र टिप्परले बिजनेस पाउँछन् । यसरी एउटा संयन्त्र सुचारु भइरहन्छ । अर्कोतर्फ, सडक प्रष्ट देखिने भौतिक विकास हो । जसले नेतालाई मैले यो गरे भनेर जस लिन र भावी चुनावको लागि जित्ने हतियार बनाउन सघाउँ पुर्याउँछ । तुलनात्मक हिसाबले जीवनस्तर उठाउने खालका विकासका अन्य रणनीतिले यो खालको सुविधा कमै उपलब्ध गराउँछ । जस्तै, शिक्षा, स्वास्थ्य, सीप, सशक्तिकरणका कार्यक्रमहरुमा जस लिन गाह्रो हुन्छ । किनभने ती सडक जस्तै प्रष्ट देखिदैनन् । सडक निर्माणको यो अर्थराजनीतिले नेपालको प्रगतिमा ठूलो अवरोध गराइरहेको छ ।

के अहिले नेपालका गाउँ गाउँमा र शहरका प्रत्येक गल्लीमा भइरहेको पीच आवश्यक नै छ ? के ती सबैले
वातावरणीय प्रभाव मूल्यांकन गरेका छन् ? के ती सबैले स्थानिय मानिसको जीवनस्तर उठाउन मद्दत गर्छन् ?

विकासको बहुआयामिक पक्षबारे बहस गर्न किन ढिलाई भईरहेको छ ? किन हामी टिप्पर, वातावरण, सडक दुर्घटना (हत्या)बारे मौन छौ ? किन हामी चुरेको पहाडमाथि भइरहेको अचाक्ली अतिक्रमणलाई सही रहेका छौ ? तिनाउ नदीले बसालेको सभ्यतामा ज्यान बचाइरहेका हामी आज बोलेनौ भने कहिले बोल्छौ ?

धुलो, थकान र मानसिक विषादले मौन हुँदै माथिल्लो सिद्धबाबाबाट हामी सुकिसेकको प्रसिद्ध ठूलो झरना नियालिरहेका थियौ । तल सडकमा टिप्परहरु हानथाप गर्दै कुदिरहेका थिए ।

Comments

Post a Comment