अस्वत्थामा
"तपाईं पनि केसीको पक्षमा ?"
"किन हुनहुन्नथ्यो र ?"
"त्यो केसी त सिआइएको एजेन्ट हो । राती राती मह खाएर अनसन बस्छ ।"
"अब तपाईंले यति धेरै बुझिसक्नु भएको रहेछ । अरू बुझाउन आवश्यक ठानिनँ । समयले कुनै दिन तपाईंको बन्द विवेकको ढोका खोलिदेला । त्यतिबेला यी वचनका लागि पछुतो त पक्कै हुनेछ तर माफ माग्ने ठाउँ रहनेछैन ।"
भनियो । हिँडियो । के बहस गर्नु ?
***
"कि केसी समर्थक, कि सरकार समर्थक, तेस्रो विकल्प छैन ?"
सामाजिक सञ्जालमा एक मित्रले अर्को बहसमा बोलाए । तेस्रो विकल्पको उनको प्रस्ताव पछाडिको उद्धेश्य र नियत बुझेपछि यसपाली पनि बहसमा गइएन । बरू मनमनमा गुनियो धेरै थोक । उत्पादनको साधनको विकासले नयाँ वर्गको जन्म दिन्छ भनेका थिए मार्क्सले । अर्थ-सामाजिक सम्बन्धहरूको परिवर्तनले नयाँ सत्ताको जन्म दिन्छ भन्न छुटाएछन् क्यार । वर्तमानमा उदाहरण उभिदियो आँखै सामु । सत्ताको शक्ति र धृतराष्ट्र नियति सम्झिइयो । भिष्मको बाध्यतालाई मुस्कानले माफ गरियो ।
विकल्पको प्रश्न त्यसो त जायज नै हो । र, छलफलयोग्य पनि । अवश्य कुनै दिन समय मिले लामै छलफल गरिनेछ । छोटोमा अहिले भनौं - शोधपत्रमा प्रस्तावित विकल्पभन्दा फरक हुन्छ राजनीतिक विकल्प । राजनीतिक विकल्पले कर्मको माग गर्छ । मूलधारको बहसमा हस्तक्षेप नगर्ने विकल्प छेउकिनारको रोदनभन्दा बढी हुँदैन । यसको अर्थ यो होइन, मूलधारमा स्थापित हुनु नै अन्तिम शर्त हो । तर, मूलधारको बहसमा कुनै न कुनै हिसाबले भाग लिइरहने । मूलधारको धारमा कुनै न कुनै हिसाबले बहिरहने तर फड्के किनारमा पुगेर आफ्नो ‘तेस्रो विकल्प’ को दुहाई दिने प्रवृत्तिलाई राजनीतिमा के भन्ने हो, राजनीतिशास्त्रीलाई जिम्मा ।
होइन भने पल्टाएर हेरे हुन्छ पछिल्लो एक दशकको इतिहास । १२ बुँदेदेखि नेपालको संविधान २०७२ सम्म । छातिमा हात राखेर सोधे हुन्छ आफैसँग । बिडम्बना त नेपाली राजनीतिको एउटै हो झोलीमा एउटा नियत र मुखमा अर्कै नियत सबैको साझा प्रवृत्ति भइदियो ।
त्यहीँ डा. गोविन्द केसीले कुनै दिन सोधिहाले भने - तिम्रो तेस्रो विकल्पले किन कहिल्यै आन्दोलनको रूप लिएन ? - जवाफ हुनेछ त के ?
जवाफ अवश्य हुनेछ तर रूमल्लिनेछ त्यो आफ्नै आवाजमा । सम्मेलनबाट पारित प्रस्ताव किन पर्चा प्रकाशनसम्म पनि पुगेन बरू आन्तरिक ‘झमेला’को व्यवस्थापन कसरी ‘आत्मभय’को निकाससँग जोडिएको थियो भनेर आफ्नै हृदयको आवाजले बोलेको सुन्न पनि विवेकको कान ढाकिएको नहोस् । शुभकामना ।
अवश्य तेस्रो विकल्प जायज छ । तर, त्यो विकल्प पनि रातभरमा स्थापित हुँदैन । ससाना आन्दोलनका अभ्यासहरूबाट ठूलो आन्दोलन जन्मिने हो । विडम्बना विकल्पवादीहरूले कहिल्यै ससाना आन्दोलनलाइ चासोमै राखेनन् । कुरा भने क्रान्तिकै चलिरह्यो । त्यसैले ‘तेस्रो विकल्प’लाई पनि मौनताले जवाफ दिइयो । हिँडियो ।
रविन्द्रनाथ ठाकुरको शब्द गुन्जिरह्यो - एकला चलो रे एकला चलो ।
***
"आफूलाइ मार्क्सवादी भन्नेहरू पूँजीवादी केसीको समर्थनमा छन् ।"
अचानक सामाजिक सञ्जालमा देखिएका यी वाक्य अचानक थिएनन् बरू घुसाइएका विचार थिए भन्ने अनुभुति भएपछि लाग्यो बोल्नुपर्छ । तथापि विश्वस्त आफैसँग भइएको छ । यो बोल्नु उनीहरूका लागि केही अर्थपूर्ण हुनेछैन किनकि ती सिद्धान्तको गहिराइ र व्यवहारको अभ्यास दुवैबाट रिक्त छन् । नारा र भनाइहरूको अन्धताले बाँधिएका छन् । सबैभन्दा सचेत मानवको निर्माण चाहने चे ग्वेभारा सम्भवतः उनीहरूको प्रश्नहिन मस्तिष्क देखेर चकित खानेछन् । आलोचनात्मक चिन्तन र स्वतन्त्र अध्ययन ज्ञान निर्माणको पूर्व शर्त हो भन्ने मार्क्सको कथन किताबका पानमा कुहेर जानेछ ।
तथापि यो लेखोट तिनका लागि हो जसले चिन्तनका ढोका बन्द गरिसकेका छैनन् ।
***
केसीको मागको सार हो - मेडिकल शिक्षालाई फुकेको बहर जस्तो छाडा नछोड । यो जनस्वास्थ्यसँग जोडिएको विषय हो । सके राज्यले आफ्नो पूर्ण निर्णयमा राख नसके कडा नियमन गर ।
"केसीले ३५ लाख भनेका छन् । हामीले त्योभन्दा कममै पढाउछौँ ।"
व्यापारीको जस्तो लाग्ने भाषा सुनेपछि प्रश्न गरियो - माथेमा कार्यदलको प्रतिवेदन पढिएको छ ?
कहाँबाट आयो ३५ लाखको प्रसंग ?
३५ लाख रूपैयाँको प्रसंग छ माथेमा कार्यदलको प्रतिवेदनमा । प्रतिवेदनको सुझाव खण्डमा एमबिबिएस तहको समग्र शुल्क ३५ लाखभन्दा बढी नगर्न भनिएको छ । अर्थात् यो उच्च विन्दु हो । कसैले ५, १० लाखमा पढाउलान् कसैले निःशुल्क त्यसमा माथेमा प्रतिवेदनले कुनै बन्देज लगाएको छैन । के उच्च विवेकयुक्त मानिसले यसरी तथ्य भ्रष्टिकरण गर्न मिल्छ ?
केसीको मागको सार हो - मेडिकल शिक्षालाई फुकेको बहर जस्तो छाडा नछोड । यो जनस्वास्थ्यसँग जोडिएको विषय हो । सके राज्यले आफ्नो पूर्ण निर्णयमा राख नसके कडा नियमन गर । उनको माग अनुसार नै कार्यदल गठन भयो । कार्यदलले सुझाव दियो । कार्यदलको सुझावका मुख्य चार पाटा छन्ः मापदण्ड, नियमन, विकेन्द्रीकरण र आर्थिक पहुँच ।
मापदण्डः मेडिकल शिक्षालय शुरू हुनुभन्दा पहिला कम्तिमा ३ वर्ष चलेको अस्पताल हुनुपर्छ । आवश्यक फ्याकल्टी (शिक्षक) र प्रविधि हुनुपर्छ ।
नियमनः मापदण्ड र गुणस्तर पूरा नभएमा सम्बन्धन खारेजसम्म हुनसक्ने । यसको अर्थ नयाँ स्थापना हुनेमामात्र होइन स्थापित भएका र सञ्चालनमा आएका मेडिकल कलेजले पनि मापदण्ड पूरा नगरेमा यसको भागीदार हुनेछन् ।
विकेन्द्रीकरणः काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्मका लागि थप एमबीबिएस, नर्सिङ र डेन्टलको स्नातक अध्ययनलाई अनुमति नदिने । एक जिल्लामा एक भन्दा बढी सम्बन्धन नदिने, हरेक प्रदेशमा एक सार्वजनिक स्वास्थ्य शिक्षण संस्था स्थापना गर्ने ।
आर्थिक पहुँचः न्यून आय भएका योग्य विद्यार्थीलाई बिना धितो ऋण । एमबिबीएस अधिकतम ३५ लाख, बिडिएस अधिकतम १८ लाख । स्नातकोत्तरको सबै कार्यक्रम निःशुल्क ।
के यी माग पूँजीवादी वा निम्न पूँजीवादी माग हुन् ? अवश्य यी निःशुल्क शिक्षाको माग होइनन् । यी भइरहेका नीजि शिक्षालाई नियन्त्रणभित्र राख्ने माग हुन् । तर, यी मागलाई पूँजीवादी माग भनेर आन्दोलनको उपेक्षा गर्नेहरूलाई प्रश्न हुनेछ, समाजवादी मागका लागि तिनले गरे के ? हिमालको टुप्पोमा पुग्नु गन्त्व्य हो तर आधारशिविरसम्म पनि जान तयार नहुनु पाखण्ड हो । चुचुरोको कुरा गर्नेहरूले आधारशिविरसम्म पुग्न खुट्टा कपाउनु को अर्थ के हो ?
जबकि शंकाहरू छन्ः
‘जुम्लामा मेडिकल कलेज खोलेर कसले पढ्छ ?’
- जुम्लामा मेडिकल कलेज केवल जुम्लाका विद्यार्थीका लागि हो ? कस्तो निम्नचिन्तन ।
‘जुम्लामा खोलिएको मेडिकल कलेजमा पनि मध्यमवर्गीय र उच्चवर्गीय नै पढ्ने हुन् । तल्लो वर्गले त प्लस टुमा साइन्स पनि पढ्न सक्दैन ।’
- डा. केसीको आन्दोलन मेडिकल शिक्षा लक्षित हो । निःशुल्क वा तल्लो तहको शिक्षााबारे तपाईंहरू नै डा. केसी बन्ने हो कि ? कि फड्के किनारमा उभिएर धारे हात लगाउनेमात्र हो ?
‘काठमाडौंमै मानिसहरूले आइसियुमा भर्ना पाएका छैनन्, किन काठमाडौंमा नखोल्ने ?’
- काठमाडौंमा अनिवार्य सेवा पनि नपाउने बिरामी कहाँबाट आउँछन् ? विर अस्पतालमा लाइन बस्न आएका कञ्चनपुर वा सिराहाका बिरामीले वा दार्चुला वा सोलुखुम्बुका बिरामीले आफ्नै जिल्ला वा प्रदेशमै सेवा पाउँदा के बिग्रन्छ, माफियाको नाफाको हिसाब बाहेक ?
‘चाहिएको थियो निःशुल्क शिक्षा । डा. केसीले गर्छन् सशुल्क शिक्षााको कुरा ।’
- डा. केसीले केवल सशुल्क शिक्षााको कुरा गरेका छैनन् । सँगसँगै उनले निःशुल्क शिक्षाको माग पनि गरेका छन् । बुझ्न के जरूरी छ भने, यो आन्दोलनको प्रस्थान विन्दु हो । नेपालको जेलिएको शिक्षा बेथितीविरूद्ध निरन्तर आन्दोलन आवश्यक छ । डा. केसीले ट्रिगर दबाइदिएका छन् । उनले शुरू गरेको आन्दोलनमा साथ दिएर आन्दोलनहरूको शृंखला सिर्जना गर्ने कि उनको आन्दोलनलाई उपेक्षा गरेर ‘बहादुरी’ गर्ने ??
केसीको आन्दोलन र सत्ता भाष्यभन्दा फरक उभिने दुईवटा विकल्प छन् - एक, आन्दोलनको उपेक्षा जुन फेरि पनि सत्ता भाष्यकै सहयोगी भूमिका हो । दुई, अर्को आन्दोलनको उठान जुन केसीको आन्दोलन भन्दा सशक्त हुन जरूरी छ । त्यो पनि दुई दशकपछि होइन अहिले । नभए केसीको आन्दोलनको समर्थन अहिलेको सामयिक विकल्प हो ।
फेरि पनि केसीको आन्दोलन अन्तिम विकल्प होइन । यो विकल्पहरूको सुरूवात हो । तर, पूर्ण निकासका लागि बुझ्न जरूरी छ यो आन्दोलन किन जन्मियो ? त्यसको लागि बुझ्नुपर्छ नेपाली सत्ताको निरन्तर विकास भइरहेको कुलीन चरित्र र क्रोनी क्यापिटलिज्म (आसेपासे पूँजीवाद)को अभ्यास । यो पाटो अर्को लेखमा । र शृंखलामा जोडिनेछ प्रजातन्त्र, सामाजिक आन्दोलन र गोविन्द केसीको अनसन आन्दोलनको स्वरूपबारे विमर्श पनि ।
देश र समय ले खोजेको तेस्रो विकल्प हो ।
ReplyDeleteआधार शिबिर पुग्न खुट्टा कमाउनु हुदैन किनकि चुचुरो गन्तव्य हो भने ....जबरजस्त लेख ।