यो देशलाई म तिमीले जत्तिकै माया गर्छु

लक्ष्मण श्रेष्ठ



बिहानी किरणसँगै हाँस्ने सुनौलो हिमाललाई ढोग्छु 

ईश्वर ठानेर 

(जल अमृत हो 

अमृतदायी सबै ईश्वर हुन्

यस्तै परिभाषा छ मेरो)


देउरालीको बयेलीमा बसेर 

पंखा हम्किरहेका महाभारतलाई पुज्छु

देव सम्झेर 

(वायु प्राण हो 

प्राणदायी सबै देव हुन्

यस्तै परिभाष छ मेरो)


फराकिलो मधेस फाँटमा बसेर शरदमा 

लहलहाउँदा पहेंला बालालाई प्रणाम गर्छु

ईष्टदेव मानेर 

(अन्न जीवन हो 

जीवनदायी सबै ईष्टदेव हुन्

यस्तै परिभाषा छ मेरो)


म मेरो देशलाई तिमीले जत्तिकै माया गर्छु 


यो त्यहीं देश हो

जहाँ एक युवती भएकी थिइन् मेरी आमा

बाली रोप्दारोप्दै/घाँस काट्दाकाट्दै/दाउरा बोक्दाबोक्दै/निमेक गर्दागर्दै 

मलाई जन्माएर 


यो त्यहीं देश हो 

जहाँ एक युवा भएका थिए मेरा बा

विश्वयुद्धको मैदानमा/फोकल्यान्डको टापुमा/रबरका वनमा/खाडीको गर्मीमा

म जन्मेको खबर पाएर 


यो त्यहीं देश हो 

जहाँ म हरेक बिहान 

जवाफहिन प्रश्नहरुसँगै जाग्छु

र, जहाँ म हरेक रात अन्यौल भविष्यसँगै विक्ष्प्तितामा निदाउँछु


मेरो देश कुनै कल्पनाको नक्सामा होइन

मेरै क्षितिजभित्रै अटाउँछ

मेरो देश कुनै मिथकमा होइन

मेरै जिन्दगीको यथार्थमा रमाउँछ


म झुटो इतिहासमा होइन

साँचो वर्तमानमा देशलाई सजाउँछु

म मेरो देशलाई म जत्तिकै माया गर्छु 


म जस्तो छु त्यस्तै छ मेरो देश


सगरमाथाको मेरो देश

म जस्तै होचो छ 

बुद्धको मेरो देश

म जस्तै अशान्त छ 

जनकको मेरो देश

म जस्तै क्लान्त छ 

भृकुटीको मेरो देश

उनी र म जस्तै विवश छ 


मेरो देश मजस्तै छ


नबिर्सनु, 

मलाई दुख्दा नदुख्ने मेरो देश हुनसक्दैन

म रुँदा नरुने मेरो देश हुनसक्दैन

जिन्दगी बेचेर जिन्दगी खरिद गर्न छोड्दै गर्दा 

आँगनको डिलमा बसेर नरुने 

मेरो देश हुनसक्दैन


म मेरो देशलाई तिमी जत्तिकै माया गर्छु 

म मेरो देशलाई आफु जत्तिकै माया गर्छु 


Comments

Post a Comment