गिरि श्रीस मगर |
हिँड्दै जाँदा हिउँमा देखिएका पूर्व यात्रीहरूका पदचिन्हहरू क्रमशः धमिलो हुँदै हराउन थाले । केही बेरमा फुसफुसे हिउँ–वर्षा रोकियो तर धरतीमा सर्वत्र हिउँ खन्याएर । खर्सुङ र लाली गुराँसका रुखका डालीहरूमा हिउँ । खोल्साहरूमा हिउँ । पहाडका टाकुराहरूमा हिउँ । सर्वत्र हिउँको साम्राज्यजस्तो । अगाडि बढ्नलाई हिउँका थुप्राहरू मात्र थिए । बाटो थिएन ।
हिँड्दै जाँदा हिउँमा देखिएका पूर्व यात्रीहरूका पदचिन्हहरू क्रमशः धमिलो हुँदै हराउन थाले । केही बेरमा फुसफुसे हिउँ–वर्षा रोकियो तर धरतीमा सर्वत्र हिउँ खन्याएर । खर्सुङ र लाली गुराँसका रुखका डालीहरूमा हिउँ । खोल्साहरूमा हिउँ । पहाडका टाकुराहरूमा हिउँ । सर्वत्र हिउँको साम्राज्यजस्तो । अगाडि बढ्नलाई हिउँका थुप्राहरू मात्र थिए । बाटो थिएन ।
चोरा, मामाघरमा जिजु बज्यैको चौरासी पूजा हुँदैथ्यो । घर–गोठ, पाखा–बारी, कुखुरा–चल्ला र एक वर्षकी बहिनीका कारणले आमा जाने अवस्थामा हुनुहुन्थेन । म छ वर्षको थिएँ । त्यसैले भर्खर छुट्टीमा आउनुभएका बाबा मात्रै जाने सल्लाह भएको थियो । आमा, बहिनी र म नजाने !
तर, ‘म पनि मामाघर जाने’ भन्दै तीन दिन अघिबाटै रोइलो गरिरहेको थिएँ म । आमाले ‘जान परन्न’ भन्ने । म चाहिँ जाने जिद्दै गर्दै रुवावासी गर्ने !
हैरान भएर बाबाले भन्नुभयो–‘ल ! ल ! नरो । जालास् त नि, तँ पनि ।’
आमाले भन्नुभयो–‘जान परन्न । ह्याँ बैनी चाँइलाई हेर्दिए पनि कति हुन्च !’
फेरि थप्नुभयो–‘नाम्लुक गा’झै हिँ नजिकको बाटो हो र ? तिम्ले झोला बोक्चौ कि यो केटालाई बोक्चौ ? उछार दिन्न तिम्लाई यले ।’
बाबाले अन्तिम निर्णय सुनाउनु भयो–‘हुन्दे भो ! जान्चु भनिर जात्तिबित्ति गर्च । जाउस् जाने भए ।’
यसरी बाबासँगै मामाघर जान पाएको थिएँ म ।
बिहानै हिँडेका थियौं हामी ।
घरको आँगन । अनि, केही मिटरको तेर्सो बाटो । अनि गोठ । गोठपछि अलिकति तेर्सो हिँडेपछि बाँसको तगालो । तगालोबाट निस्किेपछि पाँचनेको वन शुरु ।
आमा आउनुभयो तगालोसम्म । बाबा र मलाई बिदा गर्न ।
बाबाको काँध चढेपछि बच्चाहरूलाई कुनै उकालो दुरूह लाग्दैन !
बाबाको काँध चढेपछि बच्चाहरूलाई कुनै उकालो दुरूह लाग्दैन !
घरि उकालो घरिे तेर्सो गोरेटोमा मेरा साना साना पैतालाले बाबाको पैतालालाई पछ्याइरहेका थिए । सिरेटो चल्थ्यो घरिघरि । वनको बाटो । ढुकुर, हलेसो, चिबे र कौवा कराएको सुनिन्थ्यो ।
मध्यान्ह लाग्ने बेलासम्म हामी दह पुगिसकेका थियौँ । दहको विशाल दहमा लेकाली हावाको स्पर्शले सुन्दर तरङ्ग उठिरहेका थिए । दहको चौतारीमा एकैछिन विश्राम गरेपछि शुरु भयो नाकै छुने थाप्ले भीरको उकाली ।
साना साना पाइला चाल्दै कहिले बाबाको अघि त कहिले पछि गर्दै उकालो चढिरहेको थिएँ म । अलिकति छोडिएँ भने बाबा रोकिनुहुन्थ्यो । र, अगाडि लाउनु हुन्थ्यो मलाई । मेरो उत्साहलाई त्यो कष्टप्रद उकालीले चुनौती दिइरहेकोे थियो ।
साना साना ढुङ्गाहरू पनि बाटो छेक्ने पहराजस्तो लाग्थे । बल लगाएर अघि बढे पनि तलबाट कसैले तानेजस्तो लाग्थ्यो मलाई । बेला बेला बाबाले मेरो हात समात्नु हुन्थ्यो । अप्ठ्यारो कटाइदिनु हुन्थ्यो ।
माघको महिना । लेकाली बाटो । हिउँ पर्ला पर्ला जस्तो मौसम । राङखानी तोरीबारीबाट १०–१२ घण्टा लाग्ने मामाघरको दूरी । त्यसैले गह्रुङ्गै झोला बोकेर पनि बाबा कतै नबिसाई हिँडिरहनु भएको थियो ।
झोलामा थियो आमाले राखिदिनुभएको कोसेलीपात । घुमाउने रोटी । ग्यालेनभरि रक्सी । केराको काइयो । झोलाको मुखबाट टाउको निकालेर पल्याकपुलुक हेरिरहेको रातो भाले ।
घण्टौं लगाएर हामीले उकालो पार गर्याैं । स्वीटरमाथि कोट लगाउनु भएकोले बाबाको शरीरबाट पसिना चुहिएको देखिएन । अनुहारबाट भने चुहिएको थियो । मैले त आधाभन्दा बढी उकालो बाबाको काँधमा चढेरै पार गरेँ ।
बाबाको काँध चढेपछि बच्चाहरूलाई कुनै उकालो दुरूह लाग्दैन !
उकालो सकिएपछि चुचुरोमा समथर भुभाग देखियो । देखिए दुई ठूला पोखरीहरू । पोखरीमा सानातिनो छाल जस्तै मनमोहक तरङ्गहरू । बाबाले चौतारीमा बसेर झोला खोल्नुभयो । टपरीमा घुमाउने रोटी, चामलको खट्टे, भुटेको आलु र भाङ्गोको छोप निकाल्नुभयो । आफूले खानुभयो । मलाई खुवाउनु भयो । खर्सुङको पातको सोली बनाएर नजिकैको मूलबाट पानी पिउनुभयो । मलाई पिलाउनु भयो ।
झोलाबाट टाउको निकालेको निकाल्यै भाले करायो । बाबाले सोलीको पानी त्यसको मुखमै पु¥याइदिनुभयो । तर त्यसले सोलीतिर हेर्दा पनि हेरेन । बाबाले हामीले खाएको टपरीमा खट्टे दिनुभयो । खट्टे भने फटाफट खायो ।
अचानक हवात्तै चिसो बढ्योे । अघि आकाशमा आक्कलझुक्कल देखिएको घाम बादलको बर्को ओढेर लुक्यो । सिर्सिर चलिरहेको लेकाली हावाको बेग बढ्यो । यो हिउँ पर्ने या कतै हिउँ परिरहेको लक्षण थियो शायद । बाबाले उत्तरतिर हेर्नुभयो जता हामीलाई जानु थियो । एउटा आशङ्का बाबाको अनुहारमा मडारिएको देखेँ मैले । मलाई डरजस्तो लाग्यो । तत्क्षण बाबा मसँगै भएको सत्यले म ढुक्क भइहालेँ ।
बाबा साथमा हुँदा छोराछोरीलाई डर लाग्दैन !
हामी अघि बढ्यौँ । तर अगाडि बाटो सजिलोे थिएन । बाटामा हिउँका थुप्राहरू देखिए । अघिल्ला यात्रीहरूले हिउँमा पारेका पैतालाको डोब हेरेर बाबा अघि लाग्नु हुन्थ्यो । म घरि बाबाको हात घरि बाबाको पिठ्यूमा झुण्डिएको झोलाको फेँद समातेर हिँडिरहेको थिएँ ।
कपासका सानासाना टुक्राजस्ता हिउँ खस्न थाल्यो हाम्रो टाउकामाथि । हाम्रा टोपी हिउँका कणहरूले सेता हुन थाले । बाबाले लाहुरबाट ल्याइदिएको छालाको जुत्ता लगाएको थिएँ मैले तर जुत्तालाई छेडेर हिउँको चिसोले मेरो पैताला पोल्न थाल्यो ।
हिँड्दै जाँदा हिउँमा देखिएका पूर्व यात्रीहरूका पदचिन्हहरू क्रमशः धमिलो हुँदै हराउन थाले । केही बेरमा फुसफुसे हिउँ–वर्षा रोकियो तर धरतीमा सर्वत्र हिउँ खन्याएर । खर्सुङ र लाली गुराँसका रुखका डालीहरूमा हिउँ । खोल्साहरूमा हिउँ । पहाडका टाकुराहरूमा हिउँ । सर्वत्र हिउँको साम्राज्यजस्तो । अगाडि बढ्नलाई हिउँका थुप्राहरू मात्र थिए । बाटो थिएन ।
अहिले अनुमान गर्छु–बाबासँग काश्मिर र लद्दाखतिर हिउँमाथि बाटो खोज्दै र बनाउँदै हिँडेको अनुभव थियो । त्यसैले बाबा रोकिनु भएन । उहाँले मलाई जुरुक्क उठाएर काँधमा राख्नुभयो । झोला मिलाउनुभयो । एक हातले मलाई आड दिँदै र अर्को हातले लौरो टेक्दै बाबा हिउँमाथि हिँडिरहनु भयो । अब मलाई जुत्ताबाट पसिरहेको चिसो र थकाईको दुःख भएन ।
बाबाको काँधमा नानीहरूलाई दुःखबोध हुँदैन !
घण्टौँ हिउँमाथि हिँडिरहनुभयो बाबा । पश्चिम क्षितिजमा देखिएन घाम तर अब चाँडै नै धरतीमा साँझ खस्छ भन्ने निश्चित थियो । तर हामी कतिबेला मामाघर पुग्छौ भन्ने कुरा चैं निश्चित थिएन । बाबा केही छिन हिँड्नुहुन्थ्यो । रोकिनुहुन्थ्यो । केही सोँच्नु हुन्थ्यो । शायद बाटोको दिशा अनुमान गर्नुहुन्थ्यो । फेरि अगाडि बढ्नु हुन्थ्यो । कहिले निकैबेर हिँडेपछि फेरि पहिलेकै ठाउँमा फर्किनुहुन्थ्यो र अर्को कोणबाट अगाडि बढ्नुहुन्थ्यो ।
दुई घण्टामा छिचोलिने बाटोका लागि हिउँका कारण चार घण्टा खर्चिसकेका थियौँ । लेकको सिरेटो झन्झन् जोडले चल्न थाल्यो । तर खुसीको कुरा हिउँको रूपमा बाटोमा तेर्सिएको व्यवधान भने कम हुन थाल्यो । फेरि देखिन थाल्यो लेकको गोरेटो । देखिन थाल्यो सेतै फुलिरहेका लेकाली बुकीका फूलहरू । बाबाले मलाई काँधबाट झार्नुभयो । लेकाली शिरको समथर भूगोलमा म बाबाको हात समातेर हिँड्न थालेँ ।
लेखानीतिर हिँडेका दुई बटुवाहरूसँग दोबाटोमा भेट भयो । बाबाले तिनीहरूसँग अगाडिको बाटोको हाल बुझ्नुभयो । अझै कैयौं घण्टाको बाटो बाँकी थियो तर बाबाको अनुहारमा सन्तुष्टिको भाव देखियो । बटुवाहरूसँग छुट्टिएर हामी फेरि अगाडि बढ्यौँ ।
लेकको शिखरमा क्रमशः साँझ झर्यो । अनि झमक्कै रात पर्यो । बाबाले झोलाबाट लाहुरिया टर्च लाइट निकाल्नुभयो । टर्चको उज्यालोमा हिँड्न धौ भएको देखेर बाबाले मलाई फेरि जुरुक्क उचाल्नुभयो । र, आफ्नो काँधमा राख्नुभयो । लेकाली बाटो साँघुरो थियो । अप्ठ्यारो थियो । चिप्लो थियो । अँध्यारो थियो । तर टर्चको उज्यालोमा बाबा निरन्तर हिँडिरहनुभयो । लेकाली सिरेटोसँग जुध्दै निरन्तर हिँडिरहनुभयो । काँधमा राखेर मलाई निरन्तर हिँडिरहनुभयो ।
दन्त्यकथाजस्ता कथाहरूमा कतिपटक सुनेको थिएँ –लेकको जङ्गलमा हिउँ भालु र चितुवा लाग्छ रे । निधिनी, किचकन्या र भूतप्रेतले छल्छ रे । चोर लाग्छ रे । तर मलाई ती कसैको पनि कुनै डर थिएन । म त बाबाको काँधमा पो थिएँ !
बाबाको काँधमा नानीहरू सुरक्षित हुन्छन् !
गजबको सँस्मरण ! त्यो लेक, पर्वतीय जीवनको झझल्को काफि आएकोछ।
ReplyDelete