लक्ष्मण श्रेष्ठ
तस्वीर स्राेतः मूल्यांकन मासिक, पूर्णांक ७० |
सुगौली सन्धि हुनुभन्दा दुई महिना अघिमात्रै बनाइएको यो नक्सा एकदमै आधिकारिक दस्तावेज हो । यसमा प्रस्टसँग लिम्पियाधुराबाट उम्रेर बगेको नदीलाई नै कालीनदी भनिएको छ । त्यस्तै सन् १८२७ मा ब्रिटिसद्धारा नै तयार पािरएको अर्को नक्साले पनि त्यहीं पुष्टि गर्दछ ।
झल्यास्स ब्युँझियो अदिब । जुरुक्क उठेर छेउको सानो पछ्यौरीले मुख पुछ्यो । असिन–पसिन भएको थियो । टेबलमा राखेको जग उठाएर घटघटी पानी पियो । बिस्तारामै बसेर सोंच्न थाल्यो । ओहो ! कस्तो अचम्मको सपना । कहिलेकाहीं देखिने यस्तै अचम्म र डरलाग्दा सपनाहरुले उसलाई निकै नराम्ररी तर्साउने गर्छन् । तर आज देखेको सपना सधैंभन्दा फरक थियो । कसरी यस्तो सपना देख्न पुगेंहुँला ? धेरैबेरसम्म सोंचिबस्यो ।
“अदिब अहिलेसम्म मुख पनि नधोई बसेको ? तँलाई खोज्दै केटाकेटीहरु आछन्” आमाले जानकारी दिनुभयो ।
ऊ केही बोलेन । चुपचाप उठ्यो । हातमुख धुन बाथरुमतिर लाग्यो । फ्रेस भएर अध्ययन कोठामा जाँदा भाइबहिनीहरु आइसकेका थिए । बल्ल पो सम्झियो, अचेल पत्रिकामा चर्चामा आइरहेको लिपु लेक र नेपालको सिमानाबारे हालै एसएलसी दिएर बसेका टोलकै भाइबहिनीहरुले बताइदिन आग्रह गरिरहेका थिए । त्यसो त ऊ सिमाविद् होइन न त भूगोलको विद्यार्थी नै । मानवशास्त्रमा स्नातकोत्तर गर्दै गरेको भए पनि आफ्नो आफ्नो पाठ्यक्रमभन्दा बाहिरका धेरै विषयमा जानकारी राख्ने भएकाले उनीहरुले अनुरोध गरेका थिए । उसले सहर्ष स्वीकार गरेको थियो । त्यसैले तोकिएकै समयमा आइपुगेका थिए उनीहरु ।
नेपालमा प्रचलित भएकाे नक्सामा भएकाे गल्ती प्रष्टाइएकाे लिप्पियाधुरा सहितकाे उत्तर–पश्चिमी क्षेत्रकाे नक्सा । तस्वीर स्राेतः गुगल |
“दाजु नमस्कार !” कोठाभित्र छिर्दैगर्दा सबैले उठेर नमस्कार गरे ।
“राती अबेरसम्म पढिबस्नु भएको थियो कि क्या हो ? हामी त डिस्टर्ब गर्न आइहाल्यौं, कुशलले कोट्यायो ।
“अँ केहीबेर पढें पनि । तर केही छैन । हामी कुराकानी गर्न सकिहाल्छौं नी ।” जवाफ दिंदै छेउको कुर्सी तानेर बस्यो ऊ पनि ।
“दाजुको अनुहार अलि बिसञ्चो देखिन्छ । त्यस्तो हो भने आराम गर्नुस दाजु पछि बसौंला नी ।” असिमले सहृृदयता प्रकट गर्याे ।
“त्यस्तो होइन भाइहरु, अनौठो सपना देखेकोले होला मेरो अनुहारमा केही बेचैनी देखिएको” अदिबले स्पष्ट पार्न खोज्यो ।
“कस्तो सपना हो दाजु, मिल्छ भने हामीलाई पनि सुनाउनोस्” सबैले जिज्ञासा देखाए ।
“सुनाउ न त किन पो नमिल्ने र हो” मुसुक्क मुस्काउँदै अदिब बोल्यो, “संयोग त कस्तो भने, सपना पनि आज हामीले छलफल गर्ने विषयमै पो छ त” ।
“त्यसो भए त सुन्नैपर्छ”, अघिदेखि चुप लागिरहेकी ज्योत्स्नाले उत्सुकता देखाइ ।
गहिरो निश्वास लिंदै अदिबले सपना सुनाउन थाल्यो । चियाका कपहरु बोकेर आउनुभएकी आमा पनि छेउको कुर्सी तानेर चिया पिउँदै सुन्न थाल्नुभयो ।
.... ..... .....
कालो अन्धकारबाट सपना शुरु हुन्छ ।
उसले एकजना बुढी आइमाई भेट्छ । लाग्छ उनको उमेर ढल्किसकेको छैन । तर, सन्ताप र पीडाहरुले असमयमै बुढी बनाएजस्तो देख्छ । उनी बाटो छेकेर उभिन्छिन् । लाग्छ, उनको अनुहारभरी याचना पोतिएको छ ।
“को हौ तिमी ?” अचम्भित हुँदै अदिबले सोध्छ ।
“चिनेनौ मलाई ? म तिम्रै आमा हुँ । मलाई नेपाल भन्छन् ।” उनको मसिनो सुस्केरा सुसाउँछ ।
झ्वाट्ट उसले देख्छ आमाको मुहार । तर आमाको मुहार हेर्दाहेर्दै मलिनो भइजान्छ । अनि हेर्दाहेर्दैै आमाको रुपरंग, शरीर पनि फेरिएर देश भइदिन्छ । आमाको शीर हिमाल शृंखला बनिदिन्छ । तर अचम्म आमाका आँखाहरुबाट आँसुका अविरल धारा बर्सिन थाल्छन् । ती देशका ठूला ठूला नदी बन्छन् । दक्षिण पुगेर ती नदीले निकास पाउँदैनन् । आमाका पैतालाभरी एकाएक बाँधहरु उम्रिन्छन् । सबै नदी रोकिन्छन् र सिंगो देश आँसुको समुद्रमा परिणत भइदिन्छ । देशका सारा बासिन्दा त्यो समुद्रमा डुब्न थाल्छन् । आत्तिएर उसले सोध्छ– “आमा ! तपाई किन यसरी रुनुभएको ? के भयो तपाईलाई ?”
“देखेनौ मेरा सन्तानहरु हो, मेरा शरीरभरि चोट लागेको ?”
“कस्तो चोट आमा ? खोइ कहाँ छ त्यो ?”
“आफ्नै आमाको शरीरमा लागेको चोट नदेख्ने त्यस्तो चोटले नदुख्ने सन्तान जन्माएकोमा मलाई अफसोस छ । आत्मग्लानीले मेरो छाती पोलेको छ । त्यही डहन निभाउन म रोइरहिछु ।”
“खोइ आमा ? कहाँ कस्तो चोट छ भन न हामीलाई । हामी तिम्रो हरेक चोट निको पार्छौं । तिम्लाई शान्त, सुविस्ताले राख्छौं । तिम्रो छातीभरी हामी प्रगतिको फूलबारी बनाउछौं ।” अदिब भक्कानिन्छ ।
“अझै पनि देखेनौ ? नियालेर हेर मलाई” आमाको आवाज भरिलो बन्छ । अनि एकाएक स–साना दागहरु देखिन्छन् । हरेक दाग बिस्तारै ठूला हुँदै जान्छन् । हरेक दाग बोल्न थाल्छन् ।
उत्तर–पश्चिमको दाग ठूलो भएर हिमाली भूमि बन्छ । डाँडा काँडा र भन्ज्याङ बन्छ । आवाज आउँछ– “म लिम्पियाधुरा, कालापानी र लिपुलेक हुँ ।”
पश्चिमको सम्म भाग फराकिलो हुँदै जान्छ । नारायणी नदि पारी ठूलो भूभाग देखिन्छ । आवाज आउँछ– “म सुस्ता हुँ ।”
अनि एकाएक चारैतिरबाट आवाज आउन थाल्छ ।
‘म महाकालीको बनवासा–ब्रह्मदेवमण्डी हुँ ।’
‘म कोइलाबास हुँ । कृष्णनगर हुँ । मर्चवार हुँ ।’
‘म गण्डक हुँ ।’
‘म कोसी हुँ ।’
‘म तिम्बकपोखरी, चियाबारी हुँ ।’
‘म, म......’
चारैतिरबाट रोदनमिश्रित आवाजहरुको बाढी चल्छ । अनि एउटा विशाल नंग्राहरुको कालो छाँया देखापर्छ । त्यसले आमाको शरीर लुछ्न थाल्छ । अत्तालिंदै अदिब चिच्याउँछ– “ए रोक ! रोक ! नलुछ, नचिथर मेरी आमाको शरीरलाई । को हौ तिमी ?”
“हा–हा–हा–हा” एक्कासी अट्टहास गुन्जिन्छ आकाशभरी । त्यो कालो छाँया बोल्छ, “चिनेनौ मलाई ? म तिमीभित्रै बसेको चरित्र हुँ । आफ्नै आमाको चोट नदेख्ने उदासिनता हुँ । देखेर पनि नबोल्ने आत्महिनता हुँ । म तिमीभित्रैको कायरता हुँ । आफ्नी आमाको शरीरसँग लुछाँचँुडी गर्दा पनि चुपचाप सहने म तिमीभित्रैको पराधिनता हुँ । अब म तिमीलाई चिथोर्छु हा–हा–हा–हा ।”
अनि त्यो कालो नंग्रा अदिबको शरीरतिर लम्किन्छ । उसको मुटुमा जोडले गाड्छ ।
“नाँइ” लामो चित्कारसँगै ऊ ब्युँझिन्छ ।
.... ..... .....
सन्नाटा छाउँछ अध्ययन कक्षमा । सपना सुनेर कसैले केही पनि प्रतिक्रिया जनाउँदैनन् । गम्भिरताले सबैको अनुहार ढाक्छ ।
“रातीसम्म के–के पढेर बस्छ क्यारे अनि अनकेथरी सपना देख्छ”, चिन्ता पोख्दै चियाका कपहरु उठाएर आमा भान्सातिर लाग्नुहुन्छ ।
सबैजना गम्भिर बन्छन् ।
लिप्पियाधुरा नै महाकालीकाे उद्भगम हाे भन्ने प्रष्टाइएकाे नक्सा । तस्वीर स्रोत गुगल |
“साँच्ची दाजु हाम्रो देशको सिमाना धेरै ठाउँमा मिचिएको छ भन्ने सुनिन्छ । खास कहाँ–कहाँ कति–कति मिचिएको हो ?” ज्योत्स्नाले कोट्याउँछे ।
“ल हेर यो नक्सामा संख्या देखाइएका ठाउँहरुमा नेपालको सिमाना भारतद्धारा मिचिएको छ ।” भित्तामा टाँसिएको हातैले बनाइएको नेपालको नक्सा औंल्याउँदै अदिव बताउन थाल्छ, “यो रातो मसिले लेखिएका अंकहरुले नेपालका मिचिएका स्थान बताउँछन् । नेपाल–भारत सिमानामा रहेका जम्मा २६ नेपाली जिल्लामध्ये २३ जिल्लाको ७१ ठाउँभन्दा बढी स्थानमा नेपालको भूमि मिचिएको छ । त्यसको क्षेत्रफल जम्माजम्मी ६० हजार ६ सय ६२ हेक्टर छ । त्यो भनेको ६ सय ६ दशमलव ७२ वर्ग किलोमिटर हो ।”
“बाफ रे त्यत्रो जमिन ?”
“अँ, त्यसमध्ये सबैभन्दा धेरै मिचिएको ठाउँ नेपालको उत्तर–पश्चिममा पर्ने दार्चुला जिललको व्यास गाविसको १ र २ नम्बर वडाहरुमा पर्ने कालापनी लिम्पियाधुरा क्षेत्र हो जसको क्षेत्रफल ३७ हजार हेक्टर छ । अनि त्यस्तै धेरै क्षेत्रफलमा मिचिएको अर्को भूभाग नवलपरासीको सुस्ता हो जसको क्षेत्रफल १४ हजार पाँच सय हेक्टर छ ।”
“दाजु, अनि यो अहिले चर्चा आइरहेको लिपु लेकको कुरा के हो नी ? यो कहाँ पर्छ ?” असिमले सोध्यो ।
“यो नेपालको उत्तर–पश्चिम सिमानामा पर्छ । तिमीहरुले सामाजिक विषय पढ्दा नेपालको सिमाना सुगौली सन्धिले कोरेको भनेर पढेका हौला ।” अदिवले कोट्यायो ।
“पढेका छौं दाजु । के छ त्यसमा ?” कुशलले जानकारी पोख्यो ।
“नेपाल–अंग्रेज युद्धमा पराजय बेहोर्नुपरेपछि नेपालले अंग्रेजले प्रस्ताव गरेको सिमा सन्धि स्वीकार्नुप¥यो । नेपालको मकवानपुर जिल्लाको सुगौली भन्ने स्थानमा वि.सं. १८७२ साल चैत १ गते अर्थात् सन् १८१६ मार्च ४ गते नेपालका तर्फबाट चन्द्रशेखर उपाध्याय र भारतमा शासन गरिरहेको बेलायती ईस्ट इण्डिया कम्पनी सरकारको तर्फबाट लेफ्टिनेण्ट कर्नेल पेरिस व्राडशाले हस्ताक्षर गरेको सन्धिलाई नै सुगौली सन्धि भनिन्छ । सुगौली सन्धिले कोरेको नेपालको सिमानालाई नेपालले हालसम्मको सिमाना मानिएको छ । हुन त यसपछि पनि १८१६ पुस ७ (१८१६ डिसेम्बर ११) र १९१७ कात्र्तिक १७ (१८६० नोभेम्बर १५) मा पनि दुई सन्धि गरिएपछि हालको नेपालको सिमाना तय भएको हो । तर मूल सन्धिको रुपमा सुगौली सन्धिलाई नै लिने गरिन्छ । यसर्थ सुगौली सन्धिले नेपालको सिमाना कोरेको छ ।”
“तर हामी त लिपु लेकको विवादबारे कुरा गर्दैथियौं । अहिले भारत र चिनले मिलेर नेपाली सिमाना मिचे भन्ने हल्ला के हो भनेर कुरा गरिरहेथ्यौं । यो सुगौली सन्धिको कुरा किन जोडियो ?” अदिब लामो व्याख्या गर्दैथियो ज्योत्स्नाले कुरा काटी ।
नेपाल–भारत सिमानामा रहेका जम्मा २६ नेपाली जिल्लामध्ये २३ जिल्लाको ७१ ठाउँभन्दा बढी स्थानमा नेपालको भूमि मिचिएको छ । त्यसको क्षेत्रफल जम्माजम्मी ६० हजार ६ सय ६२ हेक्टर छ । त्यो भनेको ६ सय ६ दशमलव ७२ वर्ग किलोमिटर हो ।
“किनभने ज्योत्स्ना त्यहाँको विवाद यहींबाट शुरु हुन्छ ।”
छेउको मोटो किताब पल्टाउँदै अदिवले भन्यो, “ल पढ त यहाँ के लेखिएको छ ।”
किताबमा चिनो लगाइएको भाग पढी ज्योत्स्नाले–
“सुगौली सन्धि, धारा–५ः ‘नेपालका श्री ५ महाराजाधिराज मौसूफ स्वंयका लागि, मौसूफका उत्तराधिकारीहरु वा वारिसहरुका लागि काली नदीको पश्चिममा पर्ने देशहरुसितका सम्बन्ध र सम्पूर्ण दाबीहरु परित्याग गरिबक्सन्छ र ती देशहरु वा तिनका वासिन्दाहरुसित कहिल्यै कुनै चासो मौसूफबाट राखिबक्सने छैन ।’”
“अर्थात् काली नदीको पूर्व नेपाल हो भन्ने होइन त ?” अदिवले प्रश्न गर्यो ।
“हो दाजु त्यहीं हो”, सबैले समर्थन जनाए ।
“हो्, ठ्याक्कै यहींनेर विवाद छ । नेपालको उत्तर–पश्चिममा रहेको दार्चुला जिल्लामा पर्ने व्यास गाविसबाट काली अर्थात् महाकाली नदी शुरु हुन्छ । यो नदीलाई दक्षिणमा भारत आएपछि गोग्रा वा शारदा पनि भन्ने गरिन्छ । यो नदीको मुहान कहाँ हो भन्ने विवादले नै लिम्पियाधुरा–कालापानी–लिपुलेकको विवाद सिर्जना गरेको छ ।”
“दाजु खोइ कुरा नै बुझिएन । अलि स्पष्ट पारिदिनोस् न ।” असिमले अनुनय गर्यो ।
“सुगौली सन्धि अनुसार काली नदीको पूर्व पर्ने भाग नेपालको हो । हो कि होइन ?”
“हो दाजु ।”
“अर्थात् कालीको मुहानदेखि पूर्व सबै नेपाल है ?”
“त्यहीं नै हो दाजु ।”
“काली नदीको मुहान कहाँ हो भन्नेमा विवाद छ क्या ।”
“त्यो कस्तो नी दाजु ?”
“हेर दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने गुंजी नजिक दुई नदीको संगम छ । तीमध्ये एउटा नदीको उद्गम त्यसभन्दा पूर्वमा लिपुलेक हो भने अर्कोको पश्चिममा रहेको लिम्पियाधुरा हो । गुंजीमा मिसिएर बग्ने नदी नै महाकाली हो ।” कागजमा रेखाचित्र कोर्दै अदिवले भन्यो, “लिपु लेकबाट बगेर आएको नदीलाई काली भन्ने हो भने लिपु लेक नै कालीको मुहान हुन्छ । यदि लिम्पियाधुराबाट आएको नदी काली भन्ने हो भने लिम्पियाधुरा कालीको मुहान हुन्छ । लिम्पियाधुरा कालीको मुहान भन्ने मानियो भने नेपाल मिचिएको भूभाग १९६ वर्ग किलोमिटर भूभाग फिर्ता पाउनुपर्छ नभए त्यति गुमाउनुपर्छ ।”
“अरे बाफ रे ! अनि दाजु खासमा कुन चाहिं हो काली नदीको उद्गम ?” कुशलले अचम्म जनायो ।
“धेरै समयसम्म नेपालले लिपु लेकबाट बहेर आएको नदीलाई काली र लिम्पियाधुराबाट बहेर आएको नदीलाई कुटी याङ्दी भन्ने मानिआएको थियो । सन् १८७९ मा भारतको सर्भे अफ इण्डियाबाट प्रकाशित नक्सामा यस्तै उल्लेख पनि गरिएको छ । तर यसभन्दा अघिका नक्साहरुले लिम्पियाधुरामा उद्गम भई बहने नदीलाई नै काली भन्ने पुष्टि गर्छन् । यसैले लिम्पियाधुरा पनि नेपालकै हुन्छ ।”
“दाजु, हामीसँग त्यस्तो प्रमाण छन् त ?” असिमले अलि अविश्वास प्रकट गर्यो ।
“पहिला त थिएन तर अहिले छ । नेपालका एकजना नामी सीमाविद् बुद्धिनारायण श्रेष्ठले ती नक्साहरु बेलायत र संयुक्त राज्य अमेरिकाका प्रसिद्ध पुस्तकालयहरुबाट खोजेर ल्याउनुभएको छ । उहाँले ती नक्साहरुको विवरण आफ्नो पुस्तक ‘नेपालको सिमाना’मा उल्लेख गर्नुभएको छ ।”
“लौ न दाजु हामीलाई पनि ती नक्साहरुबारे बताउनोस्”, अदिव बोल्दै थियो ज्योत्स्नाले आत्तुरी देखाइ ।
“मैले त्यो किताब पढेर गरेको नोट सुनाउँछु है ? सबैभन्दा पुरानो नक्सा सन् १८१६ जनवरी २ मा ब्रिटिसहरुले बनाएको ब्रिटिस भारतको आधिकारिक नक्सा हो । सुगौली सन्धि हुनुभन्दा दुई महिना अघिमात्रै बनाइएको यो नक्सा एकदमै आधिकारिक दस्तावेज हो । यसमा प्रस्टसँग लिम्पियाधुराबाट उम्रेर बगेको नदीलाई नै कालीनदी भनिएको छ । त्यस्तै सन् १८२७ मा ब्रिटिसद्धारा नै तयार पािरएको अर्को नक्साले पनि त्यहीं पुष्टि गर्दछ । सुगौली सन्धि भएको ११ वर्ष पछि बेलायती संसदद्धारा पारित ऐन अनुसार बनाइएको यो नक्साले ब्रिटिश भारत सरकार स्वंयले वास्तविक काली नदी लिम्पियाधुराबाट उद्गम भएको पुष्टि गर्छ । त्यस्तै नेपाल सरकारले प्रमाण–आधारको रुपमा प्रस्तुत गरि आएको सन् १८५० को नक्साले पनि यहीं नै पुष्टि गर्छ । यी बाहेक सन् १८३०, १८४६, १८१९, १८३७ र १८४१ मा प्रकाशित विभिन्न नक्साले पनि लिम्पियाधुरालाई नै कालीको उद्गमको रुपमा बताएका छन् । अझ रोचक त जर्मनीबाट सन् १८३४ मा प्रकाशित नक्सा र सन् १९६७ मा रुसबाट प्रकाशित नक्सामा पनि लिम्पियाधुरालाई नै काली नदीको उद्गमको रुपमा बताइएको छ । यसरी लिम्पियाधुरा नै काली नदीको उद्गम हो भन्ने बलियो आधार छ ।”
“तर दाजु भारतले यो मान्दैन है ?”
“हो, भारतले अरु केही नक्सा देखाएर यो मान्दैन । सन् १८७९ मा सर्भे अफ इण्डियाबाट प्रकाशित नक्सामा पहिलोपटक बोली फेरिएको पाइन्छ । यो नक्साले लिम्पियाधुरामा उद्गम भएको नदीलाई कुटी याङ्दी र लिपु लेकबाट उद्गम भएको नदीलाई काली भनेर उल्लेख गरेको छ । त्यसबाहेक सन् १८८१, १९०५ , १९५४÷५५ र १९७५ मा भारतबाट प्रकाशित नक्साहरुले पनि लिपु लेकलाई महाकालीको उद्गम भएको दावा गर्छन् । तर यी साह्रै झिना र कमजोर प्रमाण हुन् । पुराना नक्साहरुले लिम्पियाधुरालाई नै काली नदीको उद्गम मान्छन् । अझ अचम्म के छ थाहा छ ?”
“भारतले चिनसँग सन् १९६२ मा लडाइँ हुँदा दार्चुला जिल्लाको व्यास गाविस वडा नं. १ मा कालापानी क्षेत्रमा सैनिक क्याम्प राखेको थियो । त्यो सैनिक क्याम्प रहेको ठाउँको खास नाम ‘तल्सी न्यूराङ’ हो । यो ठाउँभन्दा ६ किलोमिटर उत्तरमा खास कालापानी छ । यो नै लिपुलेकबाट आउने लिपुखोलाको मुहान हो । तर भारतले ‘तुल्सी न्यूराङ’लाई नै कालापानीको रुपमा चित्रण गरेर पहाडबाट रसाएको पानीलाई सानो तलाउमा जम्मा पारेर एउटा कुलो लिपुखोलामा जोडेर त्यही तलाउलाई कालीको स्रोत भनिरहेछ ।’
‘कस्तो रिस पनि उठ्ने हाँसो पनि उठ्ने तर्क हो ?’, कुशल बोल्यो ।
‘यदि भारतले भनेजस्तो स्विकार गर्ने हो भने त लिम्पियाधुरा त भारतमा पर्छ नै लिपु लेक पनि हाम्रो रहँदैन है दाजु ?’, केहीबेर सोंचेर ज्योत्स्नाले भनी ।
“हो नी, अनि उसले नेपाली सीमाभित्र राखेको अवैध सैनिक क्याम्प पनि वैध हुन्छ ।”
“अनि अहिले चीन र भारतले गरेको सम्झौता के हो नी दाजु ?”
“अस्तिमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन भ्रमणमा जाँदा १५ मेमा दुई देशबीच एउटा सम्झौता भयो । सम्झौताको एउटा बुँदामा लिपु लेक हुँदै भारत र चिनबीच सडक बिस्तार गर्ने कुरा उल्लेख छ । लिपु लेक नेपाल, भारत र चीन जोडिने नेपाली भूमि हो । अब भन त हाम्रो भूमिबारे सम्झौता गर्दा हामीसँग पनि सल्लाह गर्नुपर्छ कि पर्दैन ?”
“पर्छ नी दाजु, हामी आफ्नो घरको तला थप्दा त छिमेकीको स्वीकृति लिन्छौं भने देश–देशको कुरामा त्यो पनि हाम्रो देशका भूमिबारे कुरा हुँदा हामीलाई सोध्नैपर्छ । यो त छिमेकीले हामीलाई हेपेका हुन् ।”
“हो, हेपेका नै हुन् । यसले भारतको अवैध सैनिक क्याम्प पनि ठिकै हो भन्ने सन्देश जान्छ । नेपालले लिपु लेक पनि गुमाउनुपर्छ । त्यसैले यो सम्झौताको विरोध गरिनुपर्छ । चीन र भारतले यो सम्बन्धमा नेपालको स्वीकृतिबिना केही पनि गर्न पाउँदैनन् । तर म तिमीहरुलाई सोध्छु यी छिमेकी देशले हामीलाई किन हेपे होलान् ?”
“मेरो विचारमा त हामीमा तपाईले सपना देख्नुभएको कालो छाँया हावी भएकोले दाजु”, ज्योत्स्ना बोलिहाली, “हामीले हामीमा आत्महिनता, कायरताको भावना राखेर पराधिनता स्वीकार गरिरह्यौं भने, हामीसँग भएका बलिया प्रमाण पेश गरेर हाम्रो भूमि बचाउन बोलेनौं भने छिमेकीहरुले त हेपिहाल्छन् नी ।”
“ठिक भन्यौ ज्योत्स्ना हामीले अब यो कालो छाँयालाई हामीबाट हटाउनैपर्छ ।” कुशल र असीमले पनि समर्थन जनाए । अदिब भने नक्साहरुमा आँखा गाडिबसिरहेथ्यो ।
(याे आलेख ‘संघारबाट’ स्तम्भ अन्तर्गत दैनिकपत्रमा २०७२ असार ४ गते शनिबार प्रकाशित भएकाे थियाे ।)
Comments
Post a Comment