लकडाउन कविता

inसेन poeट्री

शंकर भण्डारी




एकबतास वेग
सापट मागेर हावासँग
लाग्छ उडिजाउँ पर कतै
समयको अर्को पुछारमा
चोरेर पुतलीका रंगहरू
टाँसिदिउँ लाग्छ आफ्नै शरीरमा

जिन्दगी कैद भएदेखि
आफ्नै रहरका पिंजडाभित्र
लाग्छ पोखिदिऊ
एक अंगालो घाम
अध्याँरो क्यानभासभरि
र, कोरिदिऊ
एउटा रंगिन सपना

फाेटाेः गुगलबाट


हतारमा निस्किएको
बटुवा जस्तै
वा, हतासमा निस्किएको
लाहुरे जस्तै
जब जिन्दगी हिंड्न थाल्छ
दुर्घटनाको डिलैडिल
चिच्याई चिच्याई मागुँ लाग्छ एकबस्ती
यी पहाडहरूसँग हिम्मत
अनुहार लुटिएको
अनुहार बोकेर
खोजिरहँदा भीडमा
आफ्नै अनुहार
सापट मागेर
एक चिहान आगो
लाग्छ, जलाईदिऊ सबै–सबै
परिचयका दस्तावेजहरू

बाँच्नु जहाँ
गणितको रुखो
सुत्रजस्तो लाग्न थाल्छ
मृत्यु पनि एउटा मिठो सम्मोहन हुनेरहेछ...।

Comments