सौन्दर्यप्रसाधन, फेसन र नारीजातिको शोषण

 एभलिन रीड

प्रसाधन तथा फेसनको संसार पूँजीवादीहरूको निम्ति असीमित संभाव्यता भएको सुनखानी साबित भयो । यस पेशाको व्यापारीले धनी बन्नको निम्ति सकेसम्म छिटो फेसन बदल्न र नयाँ तथा थुप्रै सौन्दर्य सहायकहरूको आविस्कार गरे पुग्नेभयो । यसरी आधुनिक पूँजीवादमा नारी जातिलाई वस्तु बेच्नुको साटो नारी जाति स्वयंलाई नै वस्तुसरह बेच्ने परिपाटी बस्यो ।






                                 एभिलन रीड  Evlyn Reed (1905-1979 AD)           Photo from Google


(अमेरिकि मानवशास्त्री एभलिन रीड खासगरी मार्क्सवादी कोणबाट गरिने अध्ययनका लागि प्रख्यात छिन् । मार्क्सवादका आधारभुत सिद्धान्तहरूमा टेकेर महिलाको कोणबाट समाजको अन्वेषण गर्नु उनको विशेषता हो । त्यसैले उनलाई मार्क्सवादी नारीवादि पनि भनिन्छ । जीवविज्ञानको जगमा टेकेर उनले गरेका अध्ययनले नारीलाई शारिरिक रूपमा पुरूषभन्दा कम ठान्ने मान्यताको खण्डन गरे । रीडका तीनवटा लेखहरू मुरारी अर्यालको अनुवादमा ‘महिलामुक्तिका सम्बन्धमा’नामक पुस्तिकामा नेपालीमा प्रकाशन भएको थियो । उक्त पुस्तिकाको प्रकाशन पारिजातले गर्नुभएको थियो । हाल उक्त पुस्तिका बजारमा अप्राप्य छ । उक्त पुस्तिकामा संग्रहित ‘जीवविज्ञान नारी जातिको नियति होइन’ नामक लेख भलाकुसारीमा यसअघि प्रकाशित भइसकेको छ । रीडको यो लेखले मूलतः पूँजीवादी उपभोक्तवादी संस्कृतिमा सौन्दर्य प्रसाधन साधन, फेसन शो र अनेक नामका सुन्दरी प्रतियोगिताले कसरी महिलालाई फेरि पनि भोग्या बनाउँछ र बजारको मालको रूपमा प्रस्तुत गर्छ भन्ने उजागर गर्छ ।

पछिल्लो समय पुनः एकपटक सुन्दरी प्रतियोगिताबारे सामाजिक सञ्जाल र मिडियामा बहस भएको छ । ती सबै बहसलाई स्वागत गर्दै भलाकुसारी टीमले यो सामग्रीको पुनः प्रकाशन गरेको हो । अनुवादक मुरारी अर्याल र पारिजात सँधै स्मरणीय र सम्माननीय हुनुहुन्छ ।)

यतिबेलाको महिलामुक्ति आन्दोलनमा उठिरहेका प्रसंगहरूमध्ये कतिपय सन् १९५० को दशकको शुरूमा भएका छलफलहरूले नै अपेक्षा गरी सकेका थिए । यस्ता प्रसंगहरूमध्ये श्रृंगारका साधन तथा अन्य सौन्दर्य सहायक' वस्तु तथा फेसनका प्रश्न आदि पर्दछन् । यी विषयहरूमा एउटा छलफल समाजवादी श्रमिक दलभित्र सन् १९५४ मा भएको थियो । 

सौन्दर्य प्रसाधन र फेसन स्वास्नीमानिसको बाह्य व्यक्तित्व सुधार्न आवश्यक हुन्छ र यस्ताको प्रयोगलाई स्वास्नीमानिसको 'अधिकार' मानेर त्यसलाई मान्यता दिनुपर्छ भन्ने केही महिलाहरूको राय थियो । अरूहरू भने स्वास्नीमानिसलाई मनलागे जस्तो लुगा लगाउने र इच्छा परेको प्रसाधन प्रयोग गर्ने अधिकार हुनै पर्ने भए तापनि आजको वास्तविक स्थितिमा तिनको प्रयोग इच्छाको साटो बाध्यताको रूपमा भइरहेछ भन्नेमा विश्वस्त थिए । साँच्चै भन्ने हो भने आजको निरंकुश प्रतिस्पर्धात्मक पूँजीवादी समाजमा स्वास्नीमानिसहरूलाई प्रसाधनका साधन प्रयोग गर्न र नवीनतम फेसनको उपयोग गर्न विवश तुल्याइएको छ । अर्थात् प्रसाधन उत्पादकहरू तथा फेसनका विक्रेताहरूले नारीजातिलाई यौनवस्तुको रूपमा शोषण गर्दैछन र त्यस्ता उत्पादक तथा विक्रेताहरूको मूल उद्देश्य नाफा कमाउनु छ, नारी स्वार्थको रक्षा गर्ने होइन । यस तर्कसँग सम्बन्धित प्रस्तुत लेखिकाको मान्यता तल वर्णन गरिएको छ । 

सबै स्वास्नीमानिसहरू सन्दर देखिन चाहन्छन्, त्यसैले आजभोलि सौन्दर्यको निम्ति अपरिहार्य भनी कुप्रचार गरिएका फेसन तथा प्रसाधनसामग्रीहरूमा सवै रूचि राख्दछन् भन्ने मिथक विकसित भएको छ । फेसन-सौन्दर्य आजसम्मका सम्पूर्ण ऐतिहासिक युगहरू एवं सबै सामाजिक वर्गका नारीहरूको निम्ति लागू हुने कुरा हो भन्दै यस मिथकमा नौनीको चिप्लोपना थप्ने कार्य पनि भैरहेछ । आदिम युगका नारीशरीरहरूमा बुट्टा कुदिएको तथा रंग थोपरिएको जस्ता तथ्यहरूलाई फेसनका दिग्गजहरूले प्रमाणको रूपमा तेर्स्याएका छन् । फेसन तथा सौन्दर्यप्रसाधनको इतिहासलाई छोटकरीमा केलाएर यो मिथकलाई भण्डाफोर गरौंः

आदिमसमाजमा लिंगजन्य प्रतिस्पर्धा पनि थिएन र सौन्दर्यप्रसाधनले कृत्रिम सहायकको रूपमा श्रृंगारका साधन र फेसनको आवश्यकता पनि थिएन । पुरुष तथा स्त्री दुवैमा अनुहार तथा शरीरमा रंग पोतिएको हुन्थ्यो र ‘बुट्टा भरिन्थ्यो' तर सुन्दरताको निम्ति होइन । आदिमजीवन तथा श्रमसँग सम्बन्धित कतिपय आवश्यकताहरूले यस्तो चलन जन्माएको थियो ।

त्यतिबेला आफ्नो नाता सम्बन्ध, लिंग तथा उमेरजन्य भेदको आधारमा प्रत्येक व्यक्तिले यस्तो चिन्ह लगाउन आवश्यक थियो । यस्ता 'चिन्ह' भन्नाले गहना, ओठी, चुरा छाेटाे स्कर्ट आदि मात्र नबुझिएर विभिन्न खाले चोटपटकका दाग, रंगीन चिन्ह तथा रीरमा खोपिने कतिपय बुट्टाहरू पनि पर्दथे । यी चिन्हले स्त्रीपुरुषभेद मात्र नछुट्याएर सम्बन्धित व्यक्तिको उमेरमा आएको परिवर्तन र बच्चाबाट जवान हुँदै प्रौढ हुन पुग्दा आमदायमा उसको श्रमको स्तरलाई पनि इंगित गर्दथे । यस्ता चिन्हहरूलाई 'श्रृंगारवस्तुको रूपमा हेर्नकाे साटो आजभोलिको हाम्रो समाजमा अल्बममा राखिने खालका व्यक्तिगत जीवन इतिहासको क्रमको रूपमा हेरिनुपर्दछ । आदिमसमाज सामुदायिक समाज भएकोले यस्तो चिन्हहरूले पूर्ण सामाजिक समानतातर्फ पनि इंगित गर्दछ ।

Image result for evelyn reed cosmetics, fashion and the exploitation of women
एभलिन रीडले अन्य दुइ लेखकसँग मिलेर लेख्नुभएकाे चर्चित पुस्तक ।   तस्वीरः गुगल

यसपछि वर्गीय समाजको उदय भयो । आदिमसमाजमा अरू कुराको साथसाथै सामाजिक समानताको द्योतक भएका चिन्हहरू ठीक विपरीत अथमा प्रयुक्त भए । यस्ता चिन्हहरू फेसन तथा सजावट साबित भए र तिनले सामाजिक असमानतालाई इंगित गर्न थाले, समाज धनी र गरीव, शासक र शासितबीच विभाजित भएको अभिव्यक्त गर्न थाले । सौन्दर्यप्रसाधन तथा फेसन कुलीनवर्गको विशेषाधिकारको रूपमा शुरू भए ।

फ्रान्सेली क्रान्तिभन्दा पहिलाको फ्रान्सेली अदालतमा यसको एउटा राम्रो उदाहरण भेटिन्छ । राजा, राजकुमार तथा भुस्वामीहरूबीच स्त्री तथा पुरुष दुवै फेसनको चरमसीमामा हुन्थे । पाेतिएका अनुहार, धुले कपाल छरिएका फित्ता, गालिएका गहना र यस्तै अन्यले । सिंगारिएका तिनीहरूले फेसन गरेको मानिन्थ्यो । त्यतिबेलाको सामाजिक स्तरअनुसार स्त्री पुरुष दुवैथरी यसरी ‘सुन्दर' हुन्थे । तर निर्णायक रूपमा भन्दा शासकवर्गका सबैजना उनीहरूको प्रसाधन तथा फेसनका आधारमा उनीहरूको निम्ति भूमिमा पसिना बगाउने किसानहरूबाट छुट्याइन्थे र त्यस स्तरबाट हेदा किसानहरू 'सुन्दर’ हुदैनथे । त्यति बेलाको समाजमा फेसन वर्गविभेदको 'चिन्हो' थियो र यसले श्रमिक वर्गका दुवै लिंगका विरुद्ध अभिजात्य वर्गका नारी-पुरुषलाई छुट्याउँथ्यो । 

पछि जब पूँजीवादी प्रचलनले सामन्ती व्यवहारलाई उछिन्यो, कतिपय ऐतिहासिक कारणवश पुरुषजातिले फेसनको प्रश्न नारीहरूका निम्ति सरह छाडिदियो । उच्च व्यापारी वर्गले आफ्नो वर्गीय स्तरको निर्धारण आफ्ना स्वास्नीहरूको फेसनको आधारमा हुने गर्न रुचायो र सुनका सुरुवाल तथा जुत्ता फित्ता बाँध्ने चलन त्यागिदियो । स्वास्नीमानिसहरूको बीचमा भने सामान्य महिला र अभिजात्य महिलाबीचको भिन्नता को रूपमा फेसनको अस्तित्व कायम नै रह्यो । 

ठूला व्यापारको यस क्षेत्रको आवश्यकता पूर्ति गर्न लिंगअस्तित्वको आडमा वर्गीय भिन्नतामाथि ढाकछोप गरियो । भाडामा पाइने प्रचारतन्त्रका भुकाहाहरू नारा फलाक्न थाले– सबै स्वास्नीमानिस राम्रो हुन चाहन्छन्, त्यसैले श्रृंगारका सामान तथा फेसन सम्बन्धमा सबैको स्वार्थ एउटै छ । उच्चस्तरीय फेसन सौन्दर्यको पयायवाची बन्न पुग्यो र सबै स्वास्नीमानिसहरूले किन्न सकिने सौन्दर्यसहायकहरू उनीहरूको सामूहिक आवश्यकता र 'चाहना' को आडमा बेचियो । 

श्रृंगारका सामान, लुगा, कपाल, आकर्षक बनाउने सलून केशश्रगारगृह, सक्कली तथा नक्कली गहना र यस्तै यस्तै सौन्दर्य क्षेत्रका कतिपय शाखाहरूले लाखाै रूपैयाँको मुनाफा कुम्ल्याउँछन् । सौन्दर्य यो बहुतै लचिलो सूत्र हो भन्ने पत्ता लाग्यो । धनी बन्नको निम्ति कुनै पनि उद्यमीले सौन्दर्यप्रसाधनको कुनै नयाँ तत्त्व पत्ता लगाएर स्वास्नीमानिसहरूको व्यापक समुहमा यो उनीहरूले 'खोजेको र नभै नहुने' वस्तु हो भनी विश्वास पारे पुग्ने भयो । कुनै पनि यस्ता विज्ञापन हेरौं न । 

Image result for beauty industry
महिलाको शरीरलाई वस्तुकरण गर्न प्रयोग हुने साधनहरू ।   तस्वीरः गुगल

यस किसिमको धनवर्षा कायम राख्न र त्यसमा वृद्धि संभव तुल्याउन नाफाखोरहरूको साथमा रहेको प्रचारयन्त्रको मार्फत् अन्य कतिपय मिथकहरूको संचार आवश्यक परेर आयो । यस्ता थप मिथकहरूमध्ये केही यस्ता छन् : 
१. परापूर्वकालदेखि नै स्वास्नीमानिसहरू पुरुषको निम्ति यौनआकर्षक बन्न एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । यो एउटा जीववैज्ञानिक नियम हो र यसवाट मुक्ति सम्भव छैन । यो सधैं नै रहिरहेको र सधैं नै रहिरहने हुँदा स्वास्नीमानिसहरूले आफ्नो भाग्य समक्ष आत्मसमर्पण गर्नुपर्दछ । पूँजीवादी यौनबजारमा सधैं नै एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्दछ । 
२. आधुनिक समाजमा नारीजातिको प्राकृतिक सौन्दर्यको कुनै महत्त्व रहन्न । वास्तवमा के सन्देश प्रष्ट भसकेको छ भने प्रकृतिले सौन्दर्यको क्षेत्रमा नारीजातिलाई परित्याग गरिसकेको छ । प्रकतिले यसरी सामान्य तथा विभिन्न खोटयुक्त छोडेको उनीहरूको अनुहारलाई सपार्न नारीजातिले आफ्नो हातमा नाफाखोरहरूले उपलब्ध गराएको कृत्रिम साधनको प्रयोग गर्नैपर्दछ । यो मिथ्या प्रचारलाई केलाऔंः


लैगिंक प्रतिस्पर्धा : प्राकृतिक कि सामाजिक ? 


जीवविज्ञान तथा मानवशास्त्रका अध्ययनहरूले नारीजातिबीचको यौनप्रतिस्पर्धा प्रकृतिमा या आदिमसमाजमा थिएन भन्ने स्पष्ट पार्दछ । यो वर्गसमाजको 'खास' उत्पादन हो र वर्गसमाजको अस्तित्वभन्दा अगाडि यसको अस्तित्व थिएन । अर्थात् मानव उद्भवपछि झण्डै दश लाख वर्षसम्म यसको अस्तित्व थिएन । 

भालेजातिहरूलाई आकर्षित गर्न पोथीहरूबीच यौनप्रतिस्पर्धा कुनै पनि पशुविश्वमा विद्यमान देखिन्न । पशुविश्वमा विद्यमान रहेको एउट मात्र यौनप्रतिस्पर्धा त भालेहरूमा छ र उनीहरू पोथीको सामीप्य पाउन एकअर्कामा भिडन्त गर्दछन् । यो जातिगत निरन्तरता कायम राख्ने प्राकृतिक उपाय मात्रै हो । तर सामाजिक सहयोगमा यसले पुयाउने ध्वंसात्मक प्रभावले गर्दा, भालेहरूबीचको यौनजन्य प्रतिस्पर्धा नाश भएर त्यसको ठाउँ पहिलो सामाजिक संगठन अर्थात् 'आदिम साम्यवादी' प्रणालीको स्थापना र सुदृढीकरण भयो । 

स्वास्नीमानिसहरू आफ्नो आवश्यकताअनुसार पहिरन गर्छन् कि उनीहरूलाई आवश्यक ठहयाउन विवश तुल्याइन्छ भन्ने बारेमा एउटा राम्रो उदाहरण New York Times मा प्रकाशित एक लेखले दिएको छ । उक्त लेखअनुसार धनीहरूको प्रख्यात फेसन सहायक क्रिष्टियन डामोरले चाहेमा रातभरमै पाँच करोड अमेरिकी महिलाको स्कर्ट छोटो पार्न या लामो पार्न या लामोछोटो दुवै गर्न सक्दछिन् ।

स्त्रीजातिमा प्राकृतिक कालदेखि नै यौनजन्य प्रतिस्पर्धा नभएकोले नै प्रारम्भिक समाजव्यवस्थाको सृजना गर्न उनीहरूलाई सफलता मिल्यो । स्त्रीजातिले तात्कालीन आवश्यकता अनुसार सृजना गरेको सामाजिक व्यवस्था खास गरेर ध्वंसात्मक प्रतिस्पर्धात्मक सम्बन्धबाट मुक्तिको निम्ति नै थियो । आदिमसमाजको नारीजातिमा यौनजन्य प्रतिस्पर्धा या ईर्ष्यापनको अभावलाई कतिपय कट्टरपन्थी मानवशास्त्रीहरूले पनि स्वीकार गरेका छन् । उनीहरू यसैलाई जंगली 'विशेषता' या खास प्रचलन भनी अचम्म मानेर हेर्ने गर्दछन् ।

अनि सम्पत्ति कुम्ल्याउने र प्रतिस्पर्धा गर्ने प्रवृत्तिमाथि आधारित वर्गसमाज आयो । यो सँगसगै स्वास्नीमानिसहरू लोग्नेमान्छेमाथि आश्रित हुनुपर्ने पतन पनि आयो । लोग्नेमान्छेहरूबीच सम्पत्ति तथा धनको निम्ति आपसी प्रतिस्पर्धाको जन्म सँगसँगै स्नीमानिसहरूबीच सम्पन्न तथा शक्तिशाली पुरुषको निम्ति प्रतिस्पर्धा पनि जन्म्यो तर स्वास्नीमानिसमाथि सारिएको यस प्रकारको यौनजन्य प्रतिस्पर्धाको प्रवृत्तिसँग लिनु दिनु केही छैन । यो ठेट रूपमा 'कृत्रिम' छ र यसलाई इतिहासले उब्जाएको र अनुकूल बनाएको मात्र छ । 

नारीजातिबीच यौनजन्य प्रतिस्पर्धा विवाह या 'यौन बजार'को प्रादुर्भावले शुरू गरेको हो । यौनजन्य व्यापार पूँजीवादी वर्गसमाजको आधारस्तम्भ वस्तुबजारको एक अभिन्न अंग हो । यौनलाई वस्तुको रूपमा विस्तारित गरिएपछि नारीसौन्दर्यको स्तरीयता प्राकतिकताबाट क्रमशः कृत्रिम या ‘फेसनजन्य' सौन्दर्यमा रूपान्तरित हुँदै गयो । यो प्रक्रिया हाम्रो समकालीन समाजमा चरमविन्दुमा पुगेको छ ।

वस्तुविनियमको शरूको समयमा स्वास्नीमानिसलाई गाईवस्तुसँग र गाईवस्तुलाई स्वास्नीमानिससँग साटिन्थ्यो । त्यतिबेला जसरी वस्तुभाउको मूल्य जीवित प्राणीको तन्दुरूस्तीका आधारमा निर्धारित भएजस्तै स्वास्नीमानिसको मूल्य उनीहरूको प्राकृतिक सौन्दर्य र स्वास्थ्यको आधारमा तय गरिन्थ्यो । समुदायको उत्पादन तथा पुनरुत्पादनप्रक्रियामा दुवैखाले वस्तु आवश्यक र इच्छित हुन्थे र स्वस्थ एवं सुन्दर वस्तुले यी जस्ता प्रक्रिया एकदमै राम्ररी सम्पादन गर्न सक्दथे । 

राजसत्ता र वर्गसमाजको सुदृढीकरणपछि धनी मानिसहरूले विभिन्नखाले सम्पत्तिको जगेर्ना गरेजस्तै केही स्वास्नीमानिसहरू पनि जम्मा गर्न थाले । यसरी जम्मा गरिएका स्वास्नी तथा रखौटीहरूलाई दरबारहरूलाई सजावट गरिए जसरी नै गहनागुरियाले सजाउनुपर्ने परम्पराको थालनी भयो । एशियाका दरबार तथा विलाशगृहहरूमा यस प्रक्रियाले चरमसीमा पायो । कुनै पनि राजा, सुल्तानले यस्ता यौनसामग्री एव विलाशिताका वस्तुहरू जति धेर जम्मा पार्दथ्यो उसको 'सामाजिक' इज्जत उति धेरै बढेर जान्थ्यो । यस चरणमा नारीजातिबीचको यौन अन्य प्रतिस्पर्धालाई सम्पत्ति कुम्ल्याउन पुरुषप्रतिस्पर्धाले कमजोर पारिदिएको थियो । स्वास्नीमानिसहरू 'उपयोग वस्तु' या मालसामान मात्रै थिए ।

सुन्दर साबित हुन कुनै पनि स्वास्नीमान्छेको यो किसिमको आकृति हुनुपर्छ; तौल ठीक यति हुनुपर्छ, एक औस पनि कम वा बढी हुनुहुन्न, नितम्ब यस्तो हुनु पर्छ, छाती र कमरको नाप यस्तो हुनुपर्छ भन्ने प्रचार गर्छन् । यस्तो यान्त्रिक प्रणालीबाट अलिकति मात्रै तलमाथि पयो कि कुनै पनि महिला सुन्दर साबित हुन्न ।

एक विवाहले बहुविवाहलाई विस्थापित गरेपछि जब विवाहको मुल आधार सम्पत्तिको प्रश्न भएर गयो तब यौनजन्य प्रतिस्पर्धामा गरीव स्त्रीहरू भन्दा धनीहरूमाथि पर्न पुगे । सम्पत्ति कुम्ल्याउने कुनै पनि मानिसको निम्ति उत्तम स्वास्नी रूप सौन्दर्य केही नभए पनि सम्पन्न उत्तराधिकारी महिला हुने भई । छान्ने अधिकार भएमा कुनै पनि मान्छेले राम्री स्वास्नीमानिस नै छान्थ्यो तर सम्पत्तिको प्रश्न नै अगाडि तेर्सिन्थ्याे । सम्पत्तिको गठजोडसंग सम्बन्धित यस्ता विवाहहरू विवाहयोग्य जोडाको परिवारबीच व्यापारिक ढंगमा सम्पन्न गरिन्थे र सम्बन्धित व्यक्तिको इच्छा तथा आकांक्षासँग अक्सर मतलब राखिन्नथ्यो । पारिवारिक वार्ता या लमीको माध्यमबाट सम्पन्न हुने यस्तो वैवाहिक प्रक्रिया सम्पत्ति भन्नाले मुख्यत: भूमि रहेको लामो ऐतिहासिक कृषिकालसम्म नै चालु रह्यो । 

यसपछि पूँजीवाद, मौद्रिक सम्बन्ध र ‘स्वतन्त्र व्यवसाय'को युग आयो । यसले प्रतिस्पर्धात्मक स्वतन्त्र श्रम तथा व्यापारिक प्रतिस्पर्धाहरूमा मात्र होइन नारीजातिको यौनजन्य प्रतिस्पर्धामा पनि स्वतन्त्र व्यवसाय ल्याइयो । धनीहरूमा भने वैवाहिक गठजोड सम्पत्तिको गठजोड़को अर्को र अलग्याउनै नसकिने स्वरूपको रूपमा विद्यमान रहन गयो । फेरि एकाधिकार पूँजीवादको उदय सँगसँगै माथिल्ला दुवैखाले गठजोडहरूले सत्तारूढ शासक वर्गहरूलाई अमेरिकाको साठी परिवारभित्र नै सीमित पारिदियो ।

तर अमेरिका आफ्नो जन्मदेखि नै मूलभूत रूपमा पूँजीवादी थियो र यहाँ विशेष स्थितिहरू जन्मेर आयो । सामन्ती युरोपमा मानिसहरूको वर्ग विभेद जन्मले स्थापित गर्ने गर्थ्या भने अमेरिकामा पैसा छ भने वर्ग रेखा काट्न सकिने भयो । त्यसैले पूँजीवादको उन्नतकालमा यहाँ, सफलता या भाग्यवस, कुनै पनि मजदूर या निम्न मध्यमवर्गीय मानिस धनी भयो कि आफनो वर्गस्तर परिवर्तित गर्न सक्ने भयो । 

यो स्वास्नीमानिसको निम्ति पनि उत्तिकै लागू हुनेभयो । कुनै पनि घटना घटेर या सौन्दर्यकै कारणबस पनि कुनै महिलाले कुनै करोडपतिसँग विवाह गर्ने र आफ्नो वर्गस्तर बदल्न सम्भव भयो । अमेरिकी पूँजीवादी ढाँचाको सौन्दयात्मक परिकथा कोइला खानीमा काम गर्ने मजदुरकी छोरी बो बो रकफेलरको छ । उनले अमेरिकाको एक सवाधिक धनी मान्छेसँग विवाह गरिन र करोड रूपैयाँको अंश भराएर पारपाचुक पनि लिइन् । 

Image result for sally alexander feminist
सन् १९७० नोभेम्बरमा लण्डनको रोयल अल्बर्ट हलमा आयोजित सुन्दरी प्रतियोगितामा यसरी नारीवादी अभियन्ताहरूले विरोध प्रदर्शन गरेका थिए । तस्वीरः गुगल

अमेरिकी जीवनको यस्ता खास विशेषताहरूले व्यापक वस्तु विनिमय, आम यौनजन्य व्यापार नारी जातिबीच कहालीलाग्दो यौनजन्य प्रतिस्पर्धाको निम्ति सामाजिक मनोवैज्ञानिक आधार तयार पारिदियो । पुरुषहरूको बीचमा कंगालबाट धनाढ्य कसरी बन्ने भन्नेबारे होराशियो एल्गरको कहानी लोकप्रिय भएजस्तै स्वास्नीमानिसका प्रेम कहानीहरूले आफ्नो मालिकको छोरा या मालिकसँग पनि कसरी पुग्ने र उसलाई कसरी आफनो लाग्ने बनाउन भनेर सिकाउन थाले । स्वास्नीमानिसले सौन्दर्य बजारको दौड लगाएर सामान्य नारीलाई राजकुमारीमा परिवर्तित गरिदिने निश्चित सामग्रीहरू मात्र किने पुग्नेभयो । 

प्रसाधन तथा फेसनको संसार पूँजीवादीहरूको निम्ति असीमित संभाव्यता भएको सुनखानी साबित भयो । यस पेशाको व्यापारीले धनी बन्नको निम्ति सकेसम्म छिटो फेसन बदल्न र नयाँ तथा थुप्रै सौन्दर्य सहायकहरूको आविस्कार गरे पुग्नेभयो । यसरी आधुनिक पूँजीवादमा नारी जातिलाई वस्तु बेच्नुको साटो नारी जाति स्वयंलाई नै वस्तुसरह बेच्ने परिपाटी बस्यो । यसको सहायकको रूपमा सौन्दर्य फेसनमाथि भर पर्दछ र स्वास्नीमानिसको सौन्दर्य सम्वन्धी आवश्यकता उस्तै हुने भएकोले उस्तै फेसन चाहिन्छ भन्ने मिथकको प्रचार भयो । 

काँचो मासुका नाफाखोरहरू 


आफूले पासोमा पारेका या भलाएका महिला समुदायलाई सौन्दर्यको निम्ति पैसा बगाउन लगाउने नाफाखोरहरूका मुख्यतः तीन समूह छन् : 

१. नारी शरीरलाई वर्तमान समयको स्तरीय फेसन तथा ढाँचामा ढाली नाफा कुम्ल्याउन 
पल्केकाहरू 
२. यसरी ढालिएको नारीशरीरमाथि प्रसाधनका सामान, रंगरोगन तथा अत्तर आदि 
पोतेर नाफा कुम्ल्याउनेहरू; र 
३. यसरी ढालिएको र पोतिएको शरीरमा रंगीबिरंगी उच्च दर्जाका फेसनका लुगा र गर-गहना सजाएर नाफा कुम्ल्याउनेहरू । 

पहिलो कोटिका मुनाफाखोरहरू, सुन्दर साबित हुन कुनै पनि स्वास्नीमान्छेको यो किसिमको आकृति हुनुपर्छ; तौल ठीक यति हुनुपर्छ, एक औस पनि कम वा बढी हुनुहुन्न, नितम्ब यस्तो हुनु पर्छ, छाती र कमरको नाप यस्तो हुनुपर्छ भन्ने प्रचार गर्छन् । यस्तो यान्त्रिक प्रणालीबाट अलिकति मात्रै तलमाथि पयो कि कुनै पनि महिला सुन्दर साबित हुन्न । 

यस्तो किसिमको पूर्वनिर्धारित जस्तो बनोटसँग मेल नखाने शरीर भएका स्वास्नीमानिसहरूमा पीडाबोध हुन थाल्छ । टाउकोमा थामी नसक्नु भारी भएका एवं पूँजीवादअन्तर्गत जीवनमा वास्तविक कठिनाई भोग्दै गरेका श्रमिकवर्गीय नारीहरू पनि पूँजीवादको मूलस्रोतलाई पहिल्याउन नसकेर आफ्नो काल्पनिक गैरसुन्दरता नै आफ्नो द:खको मलस्रोत ठहर्याउन पुग्दछन । उनीहरू हीनताबोधका शिकार बन्दछन् । अनि यसैले उनीहरू लाख तथा करोडौंको संख्यामा तथाकथित सौन्दर्यका व्यापारी एवं नारी शरीरका शुभचिन्तकहरूको नाममा देखा पर्ने काँचो मासुका व्यापारीकहाँ पुग्दछन् र आफूले कठिन मेहनतसाथ कमाएको धन यी नाफाखोरहरूको ढुकुटीमा गएर रित्याउँदछन् । 

नारीजातिको पोशाकसम्बन्धमा पनि प्रथम विश्वयुद्धताका तथा त्यसको लगत्तै पछि उद्योग तथा कार्यालयभित्र प्रवेश गरेका असंख्य महिलाहरूको कारणवश तीव्र परिवर्तन आएको हो । आफ्नो कामसम्बन्धी आवश्यकता सुहाउँदो उपयुक्त पोशाक लगाउन त्यस्ता क्रियाशील महिलाहरूले आफनो परानो भद्दा झल्लरे भारी पोशाक परित्याग गरेका हुन् र यिनको उपज कामकाजी महिलाले गर्दा भएको हो ।

हलीउडका अभिनेताअभिनेत्रीहरू तथा सौन्दर्यप्रतियोगिताको माध्यमबाट यो काँचो मासुको स्तर कायम गरिन्छ- सम्बर्धन गरिन्छ । सिनेमा, टेलिभिजन एवं सौन्दर्यसँग सम्बन्धित पत्रपत्रिका लगायत सम्बन्धित सम्पूर्ण माध्यमहरूबाट छानिएका ‘सुन्दरीहरू’लाई आम् नारीजातिको वशीभूत आँखा सामन्ने हिंडाइन्छ । यस्ता 'सुन्दरी'हरूको एकनासे समरूपता हेर्नलायक हुन्छ । वास्तविक सौन्दर्यको मूलभूत विशेषता अर्थात् विविधताको प्रत्येक चिन्ह नामेट पारिदिएको हुन्छ । तिनीहरू एउटै पीठाको डल्लोबाट एउटै साँचोमा ढालिएका अनगिन्ती चिनीको सेता मूर्ति जस्ता मात्र देखिन्छन् । 

काँचो मासुको यस्तो समूहलाई फूलबट्टा भर्ने सौन्दर्य तथा प्रसाधनका व्यापारीहरू दोस्रो दर्जामा पर्दछन् । यस्ता उत्पादनमा लागेका मजदूरहरू बाहेक अरूलाई के थाहा हुँदैन भने एक सीसीको डेढसय पर्ने प्रशोधनसामग्री नै पाँच रूपैया पर्ने सीसीभित्र पनि भरिएको हुन्छ । सरल सोझा प्राणीहरू डेढसय पर्ने सीसीभित्रको जादुको मल्हम विशेष खालको हुनपर्छ र त्यही वस्तु पाँच रूपैयाँको सीसीमा हुनै सक्दैन भनी सोच्दछन् । विज्ञापनका भंगेराटाउके अक्षरमा यसै भनिन्छ र यही साँचो हुन्छ । यस जादुको उत्पादन प्रयोग गरेर कारिन्दाबाट उत्तराधिकारीमा रूपान्तरित हुन सकिन्छ भन्ने सोच्दै विचरा महिलाहरू आफ्नो आर्थिक सामर्थ्य रित्याउन पुग्छन् । 

अन्ततोगत्वा फेसनका मुनाफाखोरहरूले नारीजाति सामुन्ने एउटा कष्टकर चयन अगाडि सार्दछन । टिकाउ सामान किन्ने कि अल्पकालीन आकर्षण रुचाउने ? धनीहरू दुवै किन्न सक्छन उनीहरूले आफनो वरपर फेसनकै जात्रा लगाएका हुन्छन् । बिहानको फेसन, जाँड खाँदाको फेसन, साँझ, राती र सुत्ने समयको फेसन । 'प्रत्येक अवसर'का निम्ति उनीहरूको फेसन फरक फरक हुन्छ र यस्ता 'अवसर' अनगिन्ती हुन्छन् । यसको साथसाथै जे जस्तो फेसन गरे पनि प्रत्येकको सहायकको रूपमा अनगिन्ती सामग्री गएकै हुन्छ ।

अनि कुनै पनि हप्तामा फेसनको यस्तो पहाडले थिचेका महिलाहरू आउँदो हप्ता, महिना या मौसममै त्यो फेसनलाई कुनै नयाँ फेसनले बेकम्वा साबित गरेको पाउन सक्दछन् । स्वास्नीमानिसहरू आफ्नो आवश्यकताअनुसार पहिरन गर्छन् कि उनीहरूलाई आवश्यक ठहयाउन विवश तुल्याइन्छ भन्ने बारेमा एउटा राम्रो उदाहरण New York Times मा प्रकाशित एक लेखले दिएको छ । उक्त लेखअनुसार धनीहरूको प्रख्यात फेसन सहायक क्रिष्टियन डामोरले चाहेमा रातभरमै पाँच करोड अमेरिकी महिलाको स्कर्ट छोटो पार्न या लामो पार्न या लामोछोटो दुवै गर्न सक्दछिन् । डामोरका पोशाकहरूको सस्तो अनुकरण अमेरिकाका गरीब महिलाहरूमा लोकिप्रय छ । 

पोशाकको किनारामा तीन चार इन्चको भिन्नता काममा जाँदा आकर्षक देखिन चाहने महिलाका निम्ति ठूलो उत्पात हुनसक्दछ । धनीहरूलाई भने आफ्नो पुरै पोशाक फ्याँकेर नयाँ लिने सोख पनि हुनसक्छ । लुगा फेर्नु त गरीबको निम्ति खर्चिलो हुन्छ ।

Related image
‘सबै महिला सुन्दर छन् ।’ सुन्दरी प्रतियाेगिताकाे विराेधमा गरिएकाे प्रदर्शन ।     तस्वीरः गुगल

त्यसैले सौन्दर्यप्रसाधन र फेसनको प्रयोग गर्ने नारीअधिकारको पक्षमा वकालत गर्दा के कुरामा ध्यान दिनुपर्दछ भने यस्तो अधिकार र त्यस्तो शोषणको जालमा फसाउने सामाजिक बाध्यताबीचको भिन्नता खट्याउन नसक्ने अवस्थामा पूँजीवादी प्रचारयन्त्र र व्यवहारको चंगुलमा पनि पुग्न सकिन्छ । सामाजिक परिवर्तनका प्रयासहरूको नेतृत्व गर्ने अग्रणी महिलाहरूले कहिल्यै , झुक्किएरै पनि फेसनको यस मुसा दगुल्याइमा बल पुर्याउनु हुँदैन । उनीहरूको काम त नारीजातिलाई शिकार बनाउँदै नाफा कमाउने फटाहालाई नंग्याउनु हो । 

विरोध अनुकरण होइन 


के भनिन्छ भने पूँजीवाद रहुन्जेल हामी महिलाहरूले प्रसाधन तथा फेसनका निष्कर्षलाई मान्नै पर्छ । होइन भने आर्थिक तथा सामाजिक क्षेत्रमा हामी पछाडि पर्दछ । के कुराचाँहि साँचो हो भने अफिसमा जागीर खान तथा अन्य कतिपय कारणवश पनि हामीले यस कटुसत्यलाई सांकेतिक मान्यता प्रदान गर्नु परेको छ । 

तर यसको मतलब के होइन भने हामीले यस्ता एकलकाटे तथा खर्चिलो बाध्यतालाई निरपेक्ष रूपमा बिना कने प्रतिवाद स्वीकार गर्नुपर्छ । कारखानाका मजदुरहरू कतिपय अवस्थामा उत्पादन दर बढाउने, तलब घटाइने तथा आफ्नो मजदूर संगठनमाथिको आक्रमणलाई स्वीकार्न पनि बाँध्य हुन्छन् । तर लडाकाहरूले त्यसलाई विरोध गरेर मात्र स्वीकार्दछन् र त्यस्ता निर्णयको विरोध पनि जारी राख्दछन् । अर्थात् यस्ता आन्दोलनहरू संचालन गर्छन जसको उद्देश्य आफ्नो स्वार्थको पक्षमा शापकहरूको विरुद्ध जानु हुन्छ । 

वर्गसंघर्ष एउटा विरोधको आन्दोलन हो, स्वीकारको होइन । यो मान्यता कारखानाका मजदुरहरूका निम्ति मात्र लाग्ने होइन सम्पूर्ण नारीजाति- गृहिणी हुन् या श्रमिक मजदूर सबैका निम्ति लागू हुन्छ । महिलाक्षेत्रमा केही प्रसंगहरू यौनजन्यतावश वेकम्बा साबित हन्छन भन्ने तर्क अघि सारिएकाले पनि कोही कोही अनुकरणको बल्छीमा फसेका छन् । यस सन्दर्भमा हामीले हाम्रो दिशा परिवर्तन गर्ने पर्दछ । बुद्धिजीवी महिलावर्गको एउटा छुट्टै मान्यता र एउटा अर्कै भनाइ रही आएको छ । 

उदाहरणका निम्ति हामी के देखाउन सक्छौ भने प्रसाधनका सामग्रीहरू हालसालैका विकास हुन् । बितेको शताब्दीको मात्र कुरा हो- आफ्नो श्रीमान् खोज्ने प्रक्रियामा लागेकी महिलाले प्रसाधनको प्रयोग गर्दा पाउने होइन गुमाउने डर धेरै हुन्थ्यो । त्यतिबेला प्रसाधन सामग्रीहरू वेश्याहरूका उपकरण मानिन्थे र कुनै पनि भद्रमानिसले 'रगं पोतिएकी' आइमाईसँग बिहे गर्दैनथ्यो । 

फेरि नारीजातिको पोशाकसम्बन्धमा पनि प्रथम विश्वयुद्धताका तथा त्यसको लगत्तै पछि उद्योग तथा कार्यालयभित्र प्रवेश गरेका असंख्य महिलाहरूको कारणवश तीव्र परिवर्तन आएको हो । आफ्नो कामसम्बन्धी आवश्यकता सुहाउँदो उपयुक्त पोशाक लगाउन त्यस्ता क्रियाशील महिलाहरूले आफनो परानो भद्दा झल्लरे भारी पोशाक परित्याग गरेका हुन् र यिनको उपज कामकाजी महिलाले गर्दा भएको हो । 

हालसालै सर्वहारावर्गीय पातला कारखाने सुरुवालहरू पनि सामाजिक स्तर बृद्धिमा पुगेका छन् । शायद धनी महिलाहरूले एकनासे पोशाक तथा स्वेटरमा बहुत आकर्षक देखिएको कामकाजी महिलाहरूको कारणवश आफ्नो विलक्षण तथा कल्पनातीत लोकमा हुलेका होलान् । 

फेसन व्यापारमाथिको वर्तमान आक्रमणमा मेरो तर्क आकर्षक पोशाकहरू विरुद्ध छैन र हामीले लगाउने लुगाफाटोमा आवश्यक हुने परिवर्तनलाई प्रतिरोध गर्नुपर्छ भन्ने पनि मेरो भनाइ होइन । समयको परिवर्तन र नयाँ सामाजिक एवं उत्पादक अवस्थाको उद्घाटनले प्रत्येकखाले परिवर्तन सम्भव तुल्याउँछ । मेरो विरोध त फेसनको मुसो कुदाइ र समय, सजगता र सम्पत्तिको अत्यधिक खतीसँग मात्रै छ । यस्ता सम्पूर्ण तत्त्वहरूमध्ये सबैभन्दा बहुमूल्य तत्त्व समय हो, किनभने समय भनेको जीवन हो । हामीले हाम्रो जीवन छाडा र उच्छृङ्खल तथा फेसन अनुरूप जीवन चलाएर बस्ने पागलपनामा व्यतित गर्नु छैन, किनभने हाम्रो जीवनमा हामीले धेरै राम्रा कामकुरा गर्नु छ । 

समाजवाद अन्तर्गत स्वास्नीमानिसले आफ्नो शरीरमा बुट्टा भर्ने या अनुहारमा रंग पोत्ने या नपोत्ने भन्ने प्रश्न कुनै पौराणिक नाटक या अन्य कतिपय केटौले नाटकीय अवसरको निम्ति अनुहार हाँसोलाग्दो तुल्याउने या रङ्गमंचका कलाकारहरूलाई तयार पार्ने या सर्कसको जोकर बनाउने प्रसंगभन्दा कत्ति पनि महत्त्वपूर्ण हुनेछैन । कुनै स्वास्नीमानिसले त्यसरी पोतिंदा आफूलाई बढी सुन्दर ठहयाउन सक्छन् भने कतिले त्यसको विपरीत सोच्न सक्दछन । तर जे भए पनि यो नितान्त व्यक्तिगत विचारदेखि अरू केही पनि ठहर्ने छैन । कुनै पनि स्वास्नीमानिसलाई यस्तो प्रक्रियासमक्ष आत्मसपर्मण गर्ने पर्ने बाध्यता जन्माउने सामाजिक तथा आर्थिक दवाव भने हुने छैन । त्यसैले 'सौन्दर्य'को नाउँमा नारीजातिको यस्तो व्यावसायिक उत्पीडन संचालन गर्ने यस्तो घृणित कार्यलाई हामी संरक्षण नदेऔं । 

हालसालैका वर्षहरूमा घर, घरायसी सामान, मोटर, रेफ्रिजरेटर, पारिवारिक पोशाक, मातृशिशुआवश्यकता तथा यस्तै अन्य वस्तु लगायत सबैखाले उपभोक्ता सामग्रीहरूको प्रमुख क्रेताको रूपमा नारी जनसंख्यामाथि बढी ध्यान दिन थालिएको छ । यीमध्ये कतिपय उत्पादनहरू उपयोगी तथा आवश्यक छन् र तिनको ‘बिक्री’ विज्ञापनमार्फत् गरिनु पर्दैन । विज्ञापनले यस्ता वस्तुको मूल्यमात्र बढाउँछ । तर पूँजीवादको अराजकप्रणाली अन्तर्गत उत्पादनको उपयोगहीन दोहोरोपना र यस्तो दोहोरोपनाको व्यापकताले गर्दा उही वस्तुका विभिन्न निर्माताहरू यस मुनाफाको आकर्षक बजारमा ठूला भाग पाउन प्रतिस्पधा गर्दछन् नै । त्यसैले ठूलो व्यवसायको परजीवी सहायक व्यवसाय, स्वयंमा ठूलो व्यवसाय बनेर आएको छ । 

रेडियो, टेलिभिजन र पत्रपत्रिका लगायत जनसञ्चारका सम्पूर्ण साधनहरू र जनतालाई प्रभाव पार्न र रूपान्तरण समेत गर्न सक्ने समग्र माध्यमहरू यस्तो विज्ञापन व्यवसायको वरपर निर्मित एवं उनीहरूबाट समर्थित हुन्छन् र त्यस व्यवसायलाई भने पूँजीपति ठेकेदारहरूको सहयोग हुन्छ । ठूलो व्यवसायका विभिन्न हाँगाहरूले वस्तुविक्रयको प्रक्रियालाई मात्रै अगाडि ठेल्ने होइनन्, उनीहरू सबै त्यस विशाल पूँजीवादी प्रचारयन्त्रमा गाँसिएका हुन्छन् र त्यस प्रचारयन्त्रले पूँजीवादी व्यवस्था र त्यसको शोषण गर्ने शक्ति कायम राख्न आवश्यक सिद्धान्त तथा मनोविज्ञान छरिरहेका हुन्छन् ।

स्वास्नीमानिसहरू त्यसै पनि विभिन्न टक्कर तथा मानसिक दवावको बोझले गर्दा कमजोर हुने हुँदा यस्तो प्रचारतन्त्रको सहज शिकार बन्दछन् र आफ्नो समस्याको निराकरण निमित्त विभिन्न वस्तु किन्न सल्लाह दिने मनोवैज्ञानिक दवावमा फस्दछन् । सामान्य पत्रकारिताका साथसाथै बढ्दो मात्रामा स्वास्नीमानिसहरूप्रति निर्देशित पत्रपत्रिका निस्कन्छन् । यस्ता पत्रिका खास गरेर सौन्दर्य र फेसन सहायकसँग सम्बन्धित हुन्छन् । यस्ता पत्रपत्रिका खाइलाग्दा हुन्छन्, राम्रो तथा चिल्लो कागजमा छापिन्छन् । तर यस्ता पत्रपत्रिकाका विषयवस्तु पनि चिल्लै हुन्छन् । यस्ता पत्रिकाले  बाल्टिन भरिभरि सौन्दर्य तथा अन्य नाफा निस्कने वस्तु बेच्नका साथसाथै एकदमै क्रियाशील बिक्री प्रवर्द्धकको काम पनि गर्दछन् । यिनको भनाइमा धरै किन्ने आइमाई नै सबभन्दा सुखी र सफल गृहणी बन्दछे । 

चहकिला विज्ञापनहरूमा हामी विभिन्नखाले आकर्षण वस्तुहरूसँगै एउटी सुन्दरी स्वास्नीमान्छे पनि भएको देख्न सक्छौं । चिल्ला तथा चहकिला मोटरकारहरू, टेलिभिजन सेट र जे चाहियो त्यहीं किन्न सक्ने सन्दरी आइमाईको निम्ति महान् अमेरिकी सपना, त्यति मात्र होइन स्वप्निल यौनजीवन र आदर्श परिवार पनि उपलब्ध भएको देखिन्छ । जसले यी वस्तु प्राप्त गर्न सफलता पाउदैनन्, तिनीहरू रनभुल्ल पर्दछन्, कारण उनीहरू त्यस महिलाले जसरी महान अमेरिकी सपनाको प्राप्तिबाट वञ्चित भएका छन् । उनीहरू आफै धनी तथा सुन्दर जन्मन नसकेको कारणवश आफलाई दोषी ठहर्याउँदछन् । 

व्यक्तिगत हीनताको यस भावनालाई ठूला विज्ञापनबीचका स्थानहरूमा हालिएका कथा तथा लेखहरूले झन् बल पुर्याउँदछन् । यस्ता चिल्ला पत्रिकाहरूमा आम नारीजातिले भोग्नु परेको यस पराजयको भावनाको पूँजीवादी स्रोत खोतल्न सक्ने सक्षम लेखकहरूलाई आफ्नो विचार अभिव्यक्त गर्न निम्त्याइन्न । त्यस्ता पत्रिकामा प्रचारित 'वैज्ञानिक’ विचारहरू नारीजातिको पूँजीवादी उत्पीडनलाई कमजोर तुल्याउन होइन सुदृढ तुल्याउन मात्रै निर्देशित हुन्छन् । 

त्यसैले चिन्तित गृहिणीका निम्ति लेख लेख्ने या अझ राम्रो बालक हेरचाह, मातृत्व प्रेम र पारिवारिक स्नेहको बढ्दो आवश्यकताबारे भाषण गर्न भाडामा लिइएको विशेषज्ञहरू व्यापक तथा खर्चिलो प्रक्रियाबाट किन्न सकिने वस्तु मात्र हुन्छन् र यिनीहरूको सल्लाहमा राम्रो किनमेलबाट यस्ता सम्पूर्ण समस्या राम्ररी समाधान हुन्छन् । कहिलकाँही उनीहरू कामकाजमा संलग्न महिलाहरूको जीवन र तिनीहरूका समस्याबारे छलफल गर्छन् र के संकेत दिन्छन भने उनीहरूको सुखी परिवार र उत्तेजक जीवन बाह्य कामले गर्दा खतरामा पर्दैछ । यहाँ पनि विभिन्न वस्तु किनेमा खतरा टर्न सकिने बताइन्छ । 

छोटकरीमा सबभन्दा पहिले पूँजीवादी प्रणालीले महिलावर्गको व्यापक समुदायलाई पतित पार्छ र दमन गर्छ । त्यसपछि यसले नारीजातिमा असन्तोष र त्रास उत्पन्न गराउँछ र त्यसको माध्यमबाट असीमित बिक्री र नाफाका लहरहरू जन्माउँछ । 

त्यसैले हाम्रो काम यी सबै खराबीको स्रोत पूँजीवादी प्रणाली र निर्दोष स्वास्नीमानिसहरूलाई सफल जीवन र प्रेमको एउटै बाटो यस्ता वस्तुको खरीद गर्न मात्र हो भनेर मिथ्या प्रचार गर्ने यसको व्यापक प्रचारयन्त्र दुवैलाई नंग्याउनु हो । चाहे राजनीति होस चाहे प्रसाधन सामग्री कुनै पनि क्षेत्रमा पूँजीवादी स्तरलाई स्वीकार्नु या त्यसलाई क्षमादान गर्न यस निरंकुश नाफा प्रणाली र यसले निरन्तर कायम राख्ने नारीजातिका शिकारलाई सही ठहर्याउनु र अझ त्यसलाई बढावा दिनु हो ।

Comments