कवि खातीलाई ८४औं जन्मदिनको शुभकामना



कवि अजम्बरध्वज खाती ८४ औं वर्ष प्रवेश गर्नुभएको छ । शुक्रबार साँझ कवि खातीलाई जन्मदिनको शुभकामना दिन बुटवलका कवि-लेखक उहाँको घरमा जम्मा भए । डा. मुरारी पराजुली, प्रा. डा. हिरण्यलाल ज्ञवाली, हरि पौडेल, गिरी श्रीस मगर, रामचन्द्र श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, अस्मिता जिसी लगायतले कवि खातीलाई जन्मदिनको शुभकामना दिए ।

उपस्थित सबैलाई धन्यवाद दिँदै कवि खातिले नयाँ पुस्तासँगको सक्रियताले आफू बाँच्नुको अर्थ बढाएको बताउनुभयो । ‘तपाईंहरूको उत्साहले सधैँ सक्रिय हुन सकेको छु र बाँच्नुको पनि अर्थबोध भएको छ । नभए त के
बाँच्नु ?’, खातीले भन्नुभयो ।

कवि खातीलाई भलाकुसारी टिमको तर्फबाट लाख लाख शुभकामना छ । कवि खातिको परिचय नै सक्रियता हो । नाकाबन्दीको विरोधमा होस् वा निर्मला हत्याकाण्डको विरोधमा, डा. गोविन्द केसीको पक्षमा होस् वा बुटवलमा आयोजना गरिने कुनै पनि जनपक्षीय आन्दोलनको पक्षमा, कानमा एयरफोन लगाएर र हातमा लौरो समातेर र अर्को हातमा कविताको डायरी बोकेर उहाँ सडकमा उभिनुभयो । तन्नेरीसँग काँधमा काँध मिलाएर आफ्नो युवा चिन्तन पुष्टि गरिरहनुभयो । उमेरले तन्नेरी कतिपयले सत्ता भाष्यसँग स्वर मिलाएर भजन गाईरहँदा उहाँले सधैं परिवर्तनको स्वरलाई साथ दिइरहनुभयो । सधैं उस्तै जोशिला, सधैं उस्तै फुर्तिला कवि खातिलाई आगामी दिनमा पनि सडकका जनपक्षीय मञ्चहरूमा सधैं उभिरहेको देख्न पाइयोस् । सुस्वास्थ्य र निरन्तर सिर्जनाको शुभकामना !













Comments