खस जातिको उद्गम एवं सिञ्जा साम्राज्यको इतिहास बोकेको जुम्लामा तिहार मनाइँदैनथ्यो । आगन्तुकहरूको आगमनसँगै जुम्लाले तिहार सिक्दैछ ।
हिउँदमा खुलेको जुम्ला बजार । |
महेश नेपाली
यसपालीको तिहारमा जुम्लामा फूल ओइलाई सकेका छन् । केही ढिला गरी तिहार परेकोले र जाडो शुरू भइसकेकाले जुम्लाजस्ता हिमाली जिल्लामा फूलको मौसम अन्त्य भइसकेको छ । त्यसैले बजारमा भारतबाट आएका प्लास्टिकका मालाको व्यापार बढेको छ । जाडो नलाग्दै तिहार पर्यो भने फूलको अभाव हुँदैन नभए फूलको अभाव हुन्छ । अभावको ठाउँ भारतीय बजारले पुरा गरिदिन्छ । मालामा पनि परनिर्भरता बढेको छ ।
जुम्लाको तिहार भने देशका अन्य भागको भन्दा फरक छ । पुराना सन्दर्भ हेर्ने हो भने जुम्ला तिहार नमनाइने ठाउँ हो । यहाँका पाकापुरानाहरू भन्ने गर्छन्, तिहार जुम्लीहरूको चाड होइन । तिहारको नाममा लक्ष्मीपूजा सम्म हुने गरेको बताइन्छ । अहिले पनि जुम्लाको खोप्री भन्ने गाउँमा तिहार मनाइदैन । जुम्ला बजारमा नेवारहरू व्यापारको सिलसिलामा आएपछि तिहार पनि सँगसँगै आएको भनाइ छ ।
डाँडापाखामा तिहारमा लक्ष्मी पुजाको दिन गाइको पुजा गर्ने, आटो(दाना) दिने, टिका लगाउने तथा घरमा जौंको दियो बालेर पुजा गर्ने गरिएको पाइन्छ । ‘कर्णाली लोक संस्कृति, खण्ड–पाँच’मा प्रदिप रिमालले डाँडापाखामा भाई तिहार मनाउने चलन थिएन भन्ने उल्लेख गरेका छन् । उनका अनुसार लक्ष्मी पुजालई नै तिहारको मुख्य चाडको रुपमा मान्ने गरिन्थ्यो । पछि अलिअलि गर्दै सबैले भाई तिहार मनाउने गरेको पाइन्छ । उप प्रध्यापक बासु उपाध्यायले आफ्नो पुस्तक ‘लामा–विष्णु साँस्कृतिक समन्वयका प्रतिक’मा मुगुको सोरु र खत्याडतिरका ब्राह्मण, क्षेत्र, ठकुरीहरुले तिहार मनाउन थालेको निकै कम समय भएको उल्लेख गरेका छन् ।
देशभर तिहारमा भैलो खेलिने भए पनि जुम्लामा मंसिर पूर्णीमा र त्यसको १५ दिनपछि पाँच दिन भैलो खेल्ने गरिन्छ ।
जुम्लाको भैलो पनि अन्य ठाउँको भन्दा फरक छ । देशभर तिहारमा भैलो खेलिने भए पनि जुम्लामा मंसिर पूर्णीमा र त्यसको १५ दिनपछि पाँच दिन भैलो खेल्ने गरिन्छ । मंसिर पूर्णिमाको दिन खेल्ने भैलोलाई ‘सानी भैलो’ भनिन्छ । त्यसको पन्ध्र दिनपछि खेलीनेलाई ‘ठुली भैलो ।’ ठुली भैलोको समयमा चार दिन सम्म खेलीने भैलोलाई ‘भैलो’ र पाँचौं दिनमा खेलीने भैलोलाई ‘छाडा भैलो’ भनिन्छ । छाडा भैलोमा सबै उमेर समूहका मान्छेले भाग लिन्छन् । यहाँको भैलोमा नाच गान हुँदैन । समूहमा एकजनाले भट्याउँछ अरूले भैलो भन्छन् । जुम्लाको भैलोमा यसरी भट्टाइने गरिन्छः
‘आइपुनिका बार – भैलो
दर बुधबार – भैलो
दरम्या खोली – भैलो
बाँसैन झोली – भैलो
बाँसैन भित्त – भैलो
आर्या न तार्या – भैलो
पीपल डाल्या – भैलो
पीपल पाती – भैलो
रायाकी छाती – भैलो
रायो जुमाउनु – भैलो
बाखरी खानु – भैलो
भैलो गयो दाङ – भैलो
अरु क्यै नमाग – भैलो
मोहर पैसा माग – भैलो
भैलो सुवाल – भैलो
डोड्ने हैनौं, माग्न्या हैनौं – भैलो
ऋतु जनाउन्या – भैलो
ऋतुका बात – भैलो
आकाश सिला – भैलो
पातल जडा – भैलो
दूबोजुन जेलिया – भैलो
पाथाजन भरिया – भैलो’
अर्थ हो — ‘हामी दरा खोलाका मानिसहरु असल कपडाका झोला बोकी बाँस झाँगिएझै हुल बाँधेर आयौं । अरू केही मागेका छैनौं मोहोर पैसा माग्यौं । तिमी पिपलका पात र हाँगाजस्तै शुद्ध र लच्छिनका छौ । तिम्रो असल होस, भलो होस । तिमी बढेर आकाश जति हुनु । तिमीले दुबोजस्तै जेलिएको(फैलिएको) सम्बन्ध बनाउनु । अन्न भरिएको पाथीजस्तै भरिपूर्ण हुनु ।’
अहिले भैलो खेलेर ‘आहै... यस घरका जेठा छोरा...’ भन्दै दिने आशिस भन्दा कैयौं गुणा साहित्यिक, भाव बोकेको, विम्ब र प्रतिकसहितको मर्मस्पर्षी छ जुम्ली भैलोको त्र आशिर्वाद ।
यहाँ प्रस्तुत भैलो पूरा पाठको अंश मात्र हो । कम समय भएको बेला यसरी भट्याइन्छ । लामो समय लिएर भैलो खेल्न थालियो भने पूर्ण पाठ नै भट्याउने गरिन्छ । यसरी भट्याइने पूर्ण पाठमा भैलोको इतिहासदेखि सिञ्जा साम्राज्यको विरासतसम्मको गाथा गाइन्छ । मानसरोवरमा उत्पत्ति भएको भैलो हुम्ला सोरु हुँदै मुगु, सिंजा दरा, जुम्ला दरा बाट दैलेख, सुर्खेत दाङ हुँदै नेपाल (उतिबेलाको काठमाडौं उपत्यका) पुगेको पुगेको उल्लेख छ ।
जुम्ली भैलो खेल्न जम्मा भएको समूह तस्विरः सरोज शाही |
सिंजा दरा र जुम्ला दराको भैलोमा केही भिन्नता भेटिन्छ । सिंजा दराको भैलोमा त्यसबेलाको सिंजा साम्राज्यको विभिन्न स्थानहरुको महत्वलाई ‘यो खान्की पायो’ भन्दै दर्शाइएको पाइन्छ । सिंजा दरामा खेल्ने भैलो यस्तो हुन्छ ।
‘काँ र जन्म्यो भैलो ? मानसरोवर कविलास – भैलो
ऐंर दखि भैलो ताक्लाखार आयो – भैलो
ताक्लाखार भैलाले क्या को खान्की पायो ? – भैलो
ताक्लाखार भैलोले सुन खान्की पायो – भैलो’
निकै मिठो र लामो स्वरमा बान्कि मिलाएर गाउने यो भैलोको लय र उस्तै भए पनि शब्द भने फरक हुन्छन् । जुम्ला दरामा खेलिने भैलो यस प्रकारको हुन्छ ।
‘पैल्हाको भैलो काँबाट उब्ज्यो ? – भैलो
पैल्हाको भैलो मानसरोवर उब्ज्यो – भैलो
सरोवरका भैलोले क्या कै खान्की पायो ? – भैलो
सरोवरका भैलाले यै यै खान्की पायो – भैलो
हाँस खेल्न्या, पुली पाड्न्या तीर्थ खान्की पायो – भैलो’
जुम्लाका सबै दरा खोलामा खेलिने भैलोले ऐतिहासिक सिञ्जा साम्राज्यको विरासत झल्काएको पाइन्छ । सिञ्जा साम्राज्यको इतिहासको बखान त्यसबेलाका देउडा, ठाडी भाका, चरन र मागलहरु लगायत मेला पर्वमा गाइने गीतमा पनि पाइन्छ । भूगोल, कला, संस्कृतिमा समेत यस्ता समानता हुने भएकोले त्यसबेलाको सिंजा राज्यको राजनीतिक परिपाटी स्थिर खालको थियो भन्ने बुझ्न सकिन्छ । एउटा स्थिर राज्य नभई कला, संस्कृति र सभ्यताको विकास हुन सक्दैन ।
पछिल्लो समय जुम्लाको भैलो अन्य ठाउँको भैलोबाट अतिक्रमित भएको छ । यहाँ पनि तिहारमा भैलो खेलिन थालेको छ । वुफरमा हिन्दी गीत बजाएर गरिने नृत्यलाई यहाँ पनि अचेल भैलो भनिन थालेको छ । तिहारमा भैलो खेल्ने प्रचलन नै नभएकाले यहाँका पाका पुरानाहरू अहिलेको भैलोलाई बिना रसको भन्ने गर्छन् । तिहारे भैलोको नाममा जुम्लाको मूल संस्कृतिमाथि ठाडो प्रहार भएको ठान्छन् सुनरगाँ मष्टका धामी पूर्णसिंह कठायत ।
आगन्तुक तिहार
जुम्लाको बजारमा अहिले स्पिकरको माग खुब बढेको छ । बिजुलीमा चार्ज गरेर घण्टौं बज्ने यी स्पिकरमा पेनड्राइभमा भरेर नाच्ने चलन आम भएको छ । जी.पी स्टेसनरीका प्रोपराइटर प्रकाश शाहीले यो वर्ष तिहार अगाडी काठमाडौंबाट ल्याएका सबै स्पिकर बेचिसकेका छन् । अर्कोतर्फ मादल, खजुरी लगायताका पुराना बाजा भने ग्राहक पर्खेर अझै पसलमै झुन्डिरहेछन् । त्यस्तै गीत डाउनलोड गरेर पेनड्राइभमा दिनेहरूको व्यापार पनि खुब बढेको छ । बिजुली वितरण प्रभावकारी नभएको र सबैतिर इन्टरनेट नहुने हुँदा जुम्लामा गीतको व्यापार पनि राम्रै चम्किरहेछ । जुम्ला बजारका सनसाइन मोवाइल सेन्टरका प्रोपराइटर गौरी कठायतले तिहारका गीतसँगै नेपाली र हिन्दी सिनेमाका गीतहरु पेनड्राइभमा सारेर मनग्गे कमाएको बताए ।
पछिल्लो समय तिहार आएसँगै जुम्लीहरु खुब खर्चिला भएका छन् । पहिला–पहिला तिहारमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई दिने मिठा परिकारहरु सेल, पुरी, अर्सा, फिनी, लाडु(कसार) आदि हुन्थे । ती सबै गहुँको पिठो र जुम्ली मार्सी चामलको पिठोबाट बन्थे । ती परिकार बनाउन तोरी, ढुटेलो, ओखार, तिलखुरो(सिलम), भाँगो लगायतको तेल र भैंसीको घ्यू प्रयोग हुन्थ्यो । आजभोली सबैलाई बजारले विस्थापन गरेको छ ।
पहिले जुम्लिहरु घरमा पालीएका कुखुरा, भेडा, बाख्रा, अन्नपात लगायत बिक्री गरेर आफूलाई आवश्यक पर्ने लत्ताकपडा किन्थे । गाउँबाट बजार आउने गाउँलेले ढोकोभरी घरमै उत्पादित वस्तु ल्याएर घरपरिवारको लागि चाडपर्वमा आवश्यक समान किन्थे । तर आजभोली विदेश, व्यापार, इन्डीया, सेवा क्षेत्र सबैतिरबाट कमाएको रकम चाडर्वको लागि लत्ताकपडा, तेल, डाल्डा, मैदा किन्दै सकिन्छ । पहिले बजारका पसलमा गाउँघरमै उत्पादित सामान हुन्थे भने आज सबै आयातित छन् । समग्रमा परनिर्भरता बढेको छ ।
Realistic
ReplyDelete