स्थीर सरकार आशाको सुरूवात हुनसक्छ । तर, सम्पूर्ण उपचार बन्न सक्दैन । स्थीर सरकारले ल्याउने नीतिगत खराबीको चेक एन्ड ब्यालेन्स पनि थाहा छैन ।
२०७५ सम्भावना र चुनौतीहरू बोकेर आएको छ । प्रश्नका नयाँ दैलोहरू उघारेर आएको छ ।
देशभित्रः
- नयाँ संविधान लागू भएको छ । विकास र समृद्धिको नारा बोकेको सरकार बनेको छ । सरकारको दुइ शीर छन्ः राजनीतिक दर्शन र कार्यान्वयन ।
- वाम गठबन्धनको जगमा बनेको सरकार समाजवादको नारा लगाउँदै छ । यद्यपि, क्रोनी क्यापिटलिज्मको अभ्यासमा दुवै पार्टी पोख्त भइसकेका छन् । मूलतः नीजि शैक्षिक संस्थामा लगानी, घरघडेरी प्लटिङ र ठेक्कापट्टा दुवै पार्टीका नेता-कार्यकर्ताको मुख्य आम्दानी स्रोत हो । अपारदर्शी आम्दानीले दिएका सुविधा छोडेर मेरिटोक्रेसीमा जालान् भनेर आशा गर्ने स्थानहरू न्यून छन् । अर्थ आम्दानीको अपारदर्शी भासमा फसेको पार्टीमा जगैबाट संरचनात्मक परिवर्तन नभई परिवर्तन कल्पना गर्न सकिएला तर पूरा नहुने आशा निराशामा परिणत हुने डर बढी हुन्छ । नेतृत्वको निर्माण कसरी भएको छ, त्यसका सहायक पक्षहरू कोको छन्, त्यसबाट आकांक्षी को छन्, केलाउँदा निराशाका दृश्य बढी देखिन्छन् । नदेखेजस्तो गर्दा क्षणिक राहत मिल्नु बेग्लै प्रसंग !
- विकास भनिएको छ । कस्तो विकास? कसैले परिभाषा दिएको छैन । पहाड कोपरेर जताततै खनिएका सडक बाटोको विस्तार हो, विकास होइन । कनेक्टिभिटी हाम्रोभन्दा बढी छिमेकी शक्तिहरूको चासो हो । त्यसको उपादेयता हाम्रो प्रसंगमा के हुने भन्ने निर्क्यौल भइसकेको छैन । उदारवादी अर्थतन्त्रको जञ्जालमा जेलिएका छौं । समाजवादको नारा लगाउछौँ । अभ्यासमा नवउदारवाद लागू गर्छौँ । राष्ट्रवादको नारा दिन्छौँ । राष्ट्रवादी अर्थतन्त्रले protectionism को माग गर्छ । tariff र tax मा अलमल छ । व्यापार घाटा डरलाग्दो छ । उत्पादनमूलक क्षेत्रहरू बाँझो छोडेका छौं । विगत दशकहरूमा उत्पादनमुखी अर्थतन्त्रका आधार बनेका कलकारखानाको समुल नष्ट गरिसकेका छौँ । अनि आर्थिक समृद्धिको नारा दिएका छौँ । प्रत्यक्ष वैदेशिक लगानी FDI का क्षेत्रहरू कुन कुन हुन् ? त्यसको उपलब्धी के हुन्छ ? हाम्रो स्वामित्वको रक्षा कसरी गर्छौं ? केही पनि अत्तोपत्तो छैन । केवल दुई शब्दको रटान छ - विकास र समृद्धि ।
समृद्धिका आयाम केके हुन् ? केही थाहा छैन ।
- स्थीर सरकार आशाको सुरूवात हुनसक्छ । तर, सम्पूर्ण उपचार बन्न सक्दैन । स्थीर सरकारले ल्याउने नीतिगत खराबीको चेक एन्ड ब्यालेन्स पनि थाहा छैन । विश्व राजनीतिको अध्ययन गर्दा थाहा लाग्छ, स्थीर सरकार कतिपय अवस्थामा हिटलरहरूलाई जन्माउँछ ।
विश्व परिवेशः
- उदार अर्थव्यवस्थाबाट राष्ट्रवादी अर्थतन्त्रको अभ्यासमा छ ट्रम्प नेतृत्वको अमेरिका । पाउल क्रुगम्यानहरूको टाउको यत्तिकै दुखेको होइन । अमेरिकी हेजिमोनीमा आएको खतरा यो सिफ्टको कारण हो । यद्यपि यो नीति प्रत्युत्पादक हुने खतरा पनि उत्तिकै छ ।
- चीन केवल उदाउँदो छैन। उदाइसकेको छ। अर्थतन्त्रमा उसको बलियो पकड छ । विश्व व्यापारमा अग्रणी बन्ने उसको सूत्र हो - बेल्ट एन्ड रोड इनिसिएटिभ । परस्पर समृद्धिको उसको नारा व्यवहारमा कसरी लागू हुन्छ हेर्न बाँकी छ । कनेक्टिभिटीको उसको योजना दक्षिण चीन सागर, CPEC लगायतमा विवादित छ । छिमेकी देशहरूलाई आफ्नो समृद्धिसँगै लैजाने सि जिङपिङको नाराले व्यवहारमा कस्तो परिणाम ल्याउने हो अनुमानको विषय हो । यद्यपि बाह्य अर्थतन्त्रमा उदारवाद र आन्तरिक राजनीतिमा authoritarianism अपनाइरहेको चीनले विश्व शक्ति बन्दैगर्दा धेरै देखिने नदेखिने युद्धमा फस्नुपर्नेछ । कतिपय अवस्थामा उ सम्भावित युद्धका लागि तयार देखिन्छ ।
- पुटिन नेतृत्वको अर्थोडक्स रूस इतिहास ब्युँताउने प्रयासमा छ । उसको शक्ति कम आँक्न सकिँदैन । खासगरी मध्यपूर्वमा उसको भूमिका स्थापित भइरहेछ । शीतयुद्धकालीन गठबन्धनको पुनर्उत्पत्ति उसको प्रयास हो । नाटोको लागि उ चुनौती बनिसकेको छ । विश्व शक्तिका रूपमा स्थापित हुने क्रममा रूस युद्धहरूको निम्ति तयार देखिन्छ ।
- युरोप अमेरिकी गठबन्धनमै विश्वस्त छ । यद्यपि राष्ट्रवाद त्यहाँ पुनर्जन्मको क्रममा देखिन्छ ।
- भारत क्षेत्रिय रूपमा उदाउँदो छ । उसले पहिलो सामना चीनसँग गर्नुपर्नेछ । अफ्रिकामा चीन र भारतको लगानी प्रतिस्पर्धा छँदैछ । आफू शक्तिमा आउन अर्को शक्तिसँगको गठबन्धन गर्ने क्रममा भारत अमेरिकी खेमामा जानसक्छ ।
- समग्रमा, एकध्रुवीयबाट बहुध्रुवीयतर्फ गइरहेको विश्व राजनीतिमा गठबन्धनहरूको निर्माण र क्षेत्रीय युद्धहरू चलिरहेका छन् । यस्तोमा नेपालले आफ्नो पुरानो असंलग्नताको नीतिलाई कति कायम राख्ला ? कहिल्यै पूर्णतः तटस्थ नबनेको नीति कसरी बन्ला ? विश्व अर्थतन्त्रलाई कसरी उपयोग गर्ला ?
नयाँ गोरेटोः
- पेट पहिलो प्रश्न हो । जीवनको सुनिश्चितता सबैभन्दा ठूलो चिन्ता । सामान्य मानिसहरूको लागि सपनाको खेतीले मात्र पुग्दैन । तर, समृद्धि मिठो शब्द हो जहाँ मानिसहरूले जीवन भविष्य देख्छन् । विडम्बना सामान्यजनका दुःखको आवाज बोल्ने र उनीहरूको जीवनको निम्ति लड्ने शक्तिहरू परिदृश्यमा कतै देखिँदैनन् । विश्व सन्दर्भमा राष्ट्रवाद प्रमुख मुद्दा बनेको छ । राष्ट्रवाद जहिल्यै नेता र शक्तिको पछि लाग्छ । घरेलु सन्दर्भमा वाम शक्ति कि नवउदारवादको पछि लागिसके जो बाँकी छन् ति युग सुहाउँदो चिन्तनसम्म गर्न सक्षम छैनन् । खाँचो छ नयाँ गोरेटोको । तर, यो गोरेटो यस्तो अक्करे भिरमा खन्नु छ जसको कुनै नक्सा छैन ।
- परिवर्तन भएको छ । राजनीतिक स्थिरता छाएको छ । त्यो राम्रो पक्ष हो । तर, बाटो कता जाने थाहा छैन । निद्राबाट ब्युँझेको मिरमिरे बनेको छ वर्तमान । बिहानीको यात्रा त थाल्नै बाँकी छ। यात्राको दिशा निश्चित गर्नुपर्नेछ । त्यही पहिलो काम हो ।
Comments
Post a Comment