सामयिक टिप्पणीः २०७४- भ्रमपथको यात्रा सुरु भएको वर्ष

अब एकखालको मध्यम वर्ग टाई, सुट, हातमा ग्याजेट, आँखामा अधुरा सपना लिएर अफिसदेखि घर, घरदेखि अफिस गरिरहन्छ तर उसको मानसिक र शारीरिक श्रम सस्तो भाउमा बिक्री भइरहन्छ । समृद्धिको रटान यो वर्षको सबैभन्दा खतरनाक भ्रम हो । 

२०७४ सालमा नेपाली राजनीति हिँडेको बाटो हेर्ने हो भने यो भ्रमपथको यात्रा सुरु भएको वर्ष ठहरिने छ ।

२०७४ चुनावी माहोलसँगै शुरु भयो । बैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भयो भने जेठमा हुने भनेको दोस्रो चरणको चुनाव असार १४ मा भयो । त्यस्तै प्रदेश नं. २मा असोज २ मा गरेर तीन चरणमा स्थानीय तहको चुनाव सम्पन्न भयो । स्थानीय तहको चुनाव हुँदै गर्दा देउवाको प्रधामन्त्रीत्वमा एमाओवादी सहितको सरकार थियो । चुनावमा एमालेले बहुमत ल्यायो । देशका धेरै स्थानीय तहको नेतृत्व एमालेले गर्यो।

मंसिरसम्म आइपुग्दा राजनीतिक समीकरणमा धेरै हलचल आयो । एमाले र एमाओवादीले गठबन्धन बनाएर प्रादेशिक र संघीय व्यवस्थापिकाको चुनावमा भाग लिए । अनुमान अनुसार नै मंसिर १० र २१ गते गरि दुई चरणमा सम्पन्न निर्वाचनमा ‘वाम गठबन्धन’ नाम दिइएको एमाले माओवादी प्यानलले बहुमत स्थान हासिल गर्यो । फलस्वरुप अहिले सरकारको नेतृत्व केपी ओलीले गरिरहेका छन् भने प्रादेशिक सरकारहरुमा पनि एमाले–एमाओवादी गठबन्धनको बहुमत छ ।

सतहमा सामान्य देखिने यी दृश्यलाई अलि गहिरिएर हेर्ने हो भने यिनैमा भ्रमको खेती भएको र देश भ्रमपथमा यात्रारत रहेको देखिन्छ ।

पहिलो, वर्षको शुरुवाततिर विपरीत ध्रुवमा रहेका एमाले र एमाओवादी वर्षको मध्यतिर हात मिलाउन आइपुगे । राजनीतिमा यस्तो समीकरणको जन्म एजेण्डा र विचार छोडेपछि शुरू हुन्छ । त्यो पनि केवल पदको लागि । सिद्धान्तका कथित आवरणले जति ढाके पनि यो एकता प्रक्रिया राजनीतिक एजेण्डाहरुको अन्त्यपछि केवल सत्ता, शक्ति र स्वार्थको जगमा अडेको छ । अवसरवादको राम्रो नमुना हो यो । गहिरिएर हेर्ने हो भने ‘समाजवाद’को रटान लगाइरहेका यी दुई दल सामाजिक जनवादको बाटोतिर लम्कँदै गरेको देखिन्छ ।  सामाजिक जनवाद भनेको नेपाली काँग्रेसको झण्डामा फहरिने बिपीले उच्चारण गर्ने प्रजातान्त्रिक समाजवाद नै हो । यो डबल ‘ए’को जोडी मार्क्स–एंगेल्स–लेनिनको वैज्ञानिक समाजवादलाई त्यागेर सामाजिक जनवादको बाटो हिंड्दैछन् । कम्युनिष्ट खोल ओडेर पूँजीवादी यात्रा यो एउटा भ्रम हो ।

दोस्रो, यो वर्ष सबैभन्दा धेरै उच्चारण भएको शब्द हो— समृद्धि । समृद्धिको यो सुगारटान वास्तवमा अरु केही नभई निजीकरण र उदारीकरणको वकालत हो । समृद्धिको वास्तविक परिभाषा के हो ? समृद्धिको स्रोत के हो ? कुनै पनि देशको उन्नति, प्रगति र जनताको सुख, सुरक्षित भविष्य, गुणस्तरीय जीवन त्यहीं समाजमा अन्तरनिहीत स्रोतहरुको उपज हुन्छ । तर, यहाँ समृद्धिको खोजी विदेशी पूँजी, बहुराष्ट्रिय कम्पनी, विश्व बैंक र दातृ निकायका स्वार्थप्रेरित आर्थिक सहयोगसँग निहित छ । यी पार्टीहरुका चुनावी घोषणापत्रको अध्ययनले पुष्टि गर्दछ उनीहरु नवउदारवादलाई अंगालो हालिरहेका छन् । नवउदारवादको अंगालोबाट केही माथिल्लो वर्गलाई आनन्द र सुख त प्राप्त होला तर बाँकी आम जनता केबल सस्ता ज्यामी बन्नेछन् । अब एकखालको मध्यम वर्ग टाई, सुट, हातमा ग्याजेट, आँखामा अधुरा सपना लिएर अफिसदेखि घर, घरदेखि अफिस गरिरहन्छ तर उसको मानसिक र शारीरिक श्रम सस्तो भाउमा बिक्री भइरहन्छ । समृद्धिको रटान यो वर्षको सबैभन्दा खतरनाक भ्रम हो ।

तेस्रो, राष्ट्रवादको आलोकमा एमाले र ओलीले भोट बैंकलाई आफूतर्फ ओसार्न सफल भए । हुन त प्रजातान्त्रिक प्रणालीमा आवधिक चुनावहरु शासक वर्गलाई अनुमोदन गर्ने संस्कारहरुमा फेरिन्छन्, फेरिएका छन् । राष्ट्रवादको ओली मुकुट अब पालैपालो उतारिदै जानेछ । दिल्ली भ्रमणसँगै यसको शुरुवात भयो । तर, पनि केही हनुमानहरुको ‘राम–राम’जप भने जारी रहन्छ । पानीजहाज र रेलको सपनाभित्र कोशीको उच्च बाँधरुपी ‘हाइड्रोबम’, चीनको सम्पर्कबाट रोक्ने रणनीति, थप आर्थिक परनिर्भरता लुकेका छन् । महाकाली सन्धिको पक्षपोषण गरिरहँदासम्म ओला देशभक्त सावित हुँदैनन् त्यसैले राष्ट्रवादको खेती यो वर्षको अर्को भ्रम हो ।

चौथो, फास्ट ट्रयाकको नाममा संस्कृतिमाथि धावा बोलियो । बाटो विस्तारको नाममा काठामाडौंका रैथाने नेवारलाई आक्रमण  गरियो । संस्कृति शास्वत र चिरआयु हुँदैन । तर, विकासको परिभाषा जनताका सांस्कृतिक सम्पदामाथिको अन्धाधुन्ध आक्रमण पनि होइन । बाटो जनताको लागि हो भने जनताको स्वीकृति, सहभागिता र योगदानको आवश्यकता हुन्छ । बाटो बहुराष्ट्रिय कम्पनीको व्यापार मार्गको लागि हो भने सांस्कृतिक सम्पदा र घरजग्गामाथि आक्रमण जारी नै रहन्छ । त्यसैले जनतालाई उठीबास लगाउने र संस्कृतिमाथि आक्रमण गर्ने बाटो अर्को भ्रम हो ।

कम्युनिष्टको आसनबाट समृद्धिको खोल ओडेको नवउदारवादी यात्रा के भ्रम होइन र ? २०७४देखि हामी भ्रमपथको यात्रा शुरु गरेका छौं । कहिले चिर्नेछौ हामीले भ्रमको यो साम्राज्य ?

(सामयिक घटनाबारे भलाकुसारी टिमको टिप्पणी सामयिक टिप्पणी स्तम्भमा अबदेखि निरन्तर प्रकाशन हुनेछ ।)

Comments