कसको नारी दिवस ?

लक्ष्मण श्रेष्ठ


चारजना भएको परिवारमा एक जना महिलाले बिहानको चिया-खाजा-खाना बनाउँदा मात्रै न्यूनतम १३५ रूपैयाँको काम गरिरहेकी हुन्छिन् । त्यसमा जोडौं कोठा सफाई, लुगा धुवाई, बालबच्चा स्याहार । कति हुन्छ ?


‘श्रमिक महिला दिवसबाट श्रमिक कसरि हरायो ?’

‘पुरै नारीले पनि आआफ्नो लेबलको श्रम गर्छन् । उनीहरू सबै श्रमिक हुन् ।’

एकाबिहानै सामाजिक सञ्जामा दुई जना साथीको वार्तालाप देखेपछि लाग्यो यो पनि बहस-छलफल गर्नुपर्ने विषय हो । यद्यपि यहाँ नारीवादबारे विस्तृत व्याख्या गर्न लागेको होइन ।

नारीवादको सामान्य अर्थ हो - पितृप्रधान समाजको जगमा बनेका मान्यताका जगहरूको विनिर्माण । सामाजिक संरचनाको पुनःसंरचना । सारमा, सबैखाले लैंगिक विभेदयुक्त चिन्तनको विरोध र त्यसको ठाउँमा समानतायुक्त चिन्तनमा आधारित समाजको जग बसाउनु नारीवादको ध्येय हो । त्यसैले, नारीवाद पुरूषको विरोध होइन । पुरूलाई उपल्लो दर्जामा राख्ने र महिलालाई तल्लो दर्जामा राख्ने सत्ताको विरोध हो ।

लिंगवादी चिन्तन के हो ? एउटा उदाहरण । बालबालिकाको छलफलकोः


केटा के हो ? केटी के हो ?

श्यामः रूख चढ्ने केटा हो ।
हरिः गीता पनि त रूख चढ्छे । ऊ त केटी हो ।
गीताः पानी बोक्ने केटी हो ।
सीताः हरिले सधैँ पानी बोकेर घर पुर्याउँछ । ऊ त केटा हो ।
रामः मलाई थाहा छ साईकल चलाउने केटा हो । पछाडिको सिटमा बस्ने केटी हो ।
हरिः खुबै, रिता दिदी सधैँ भाईलाई पछाडि राखेर स्कुल जानुहुन्छ । रिता दिदी त केटी हो ।
गीताः मलाई थाहा छ । मलाई थाहा छ । जागिर खाने केटा हो । घर बस्ने केटी हो । जस्तै हाम्रो बाहरू अफिस जानुहुन्छ । आमाहरू घरमै बस्नुहुन्छ ।
श्यामः भएन भो । हाम्रो म्याम जागिर खानुहुन्छ । उहाँको बुढा घरमै बस्नुहुन्छ । लेखक हो रे !
सबैः त्यसो भए केटा के हो? केटी के हो?




अब तपाई आफै सोच्नुहोस्, कसरी बताउनुहुन्छ यी बालबालिकालाई केटा के हो, केटी के हो । यही जवाफको जगमा तपाई लिंगभेदी मान्यता अपनाउनुहुन्छ/हुन्न भन्ने प्रष्ट हुन्छ । र, मुख्य प्रश्न नै यही हो ।

पुरूषवादको मूल मर्ममा छ लिंगभेद । लिंग सामाजिक-सांस्कृतिक अवधारणा हो । र, तल्लो र उपल्लो संरचनाबारे जान्नेलाई थाहै हुन्छ - सामाजिक-सांस्कृतिक सीमाहरूको निर्माणमा आर्थिक प्रणाली जगको भूमिकामा हुन्छ ।

उत्पादनमूलक क्रियाकलापबाट सम्पति सञ्चित हुन थालेपछि; सञ्चित सम्पतिमा पुरूषले हकदाबी गर्न थालेपछि; उत्पादनको मुख्य साधनहरूमा पुरूषले स्वामित्व स्थापना गरेपछि; महिलाको उत्पादनमूलक कर्मले न्यून महत्व पाउन थालेको हो । त्यहीँबाट शुरू भएको हो लिंगभेदी समाजको निर्माण कथा । जसको केन्द्रमा छ - भोग्या चिन्तन ।

त्यसैले वन्दना ढकालले उठाएको भात-भान्साको प्रश्न एकदमै जायज छ । मध्यम वर्गका महिलाहरूको स-सानो लाग्ने, सतहमा नदेखिने तर जिन्दगी नै गोलमााल पारिदिने भात-भान्साको दुःख प्रश्नको विषय बनाइनुपर्छ । कसैलाई ‘स-सानो’ लाग्छ भने ती सबै कर्मलाई मौद्रीक रूपमा हिसाब गरे हुन्छ । कसले बढी कमाउँदोरहेछ ।

होटलहरूमा लिइने सर्भिस चार्ज १० प्रतिशतमा थप पाँच प्रतिशत जोडेर हिसाब गर्दा पनि कमै हुन्छ । तथापि, अहिलेलाई १५ प्रतिशतकै आधारमा हिसाब गरौं ।

चिया बनाएको -  रू. ३ प्रतिकप (२० रूपैयाँको दरले)
खाजा बनाएको - रू. ६ प्रतिप्लेट (४० रूपैयाँको दरले)
खाना बनाएको - रू.  १८ प्रतिप्लेट (१२० रूपैयाँको दरले)

अर्थात् - चारजना भएको परिवारमा एक जना महिलाले बिहानको चिया-खाजा-खाना बनाउँदा मात्रै न्यूनतम १३५ रूपैयाँको काम गरिरहेकी हुन्छिन् । त्यसमा जोडौं कोठा सफाई, लुगा धुवाई, बालबच्चा स्याहार । कति हुन्छ ?

त्यसैले प्रत्येक महिला श्रमिक हुन् भन्ने साथीको भनाई मध्यम वर्गको तहसम्म ठीक र जायज छ ।

फेर पनि यो श्रमिक महिला दिवस नै हो ।

श्रमिक यस अर्थमा यो महिला दिवसको सुरूवात कम्युनिष्ट आन्दोलनसँग जोडिन्छ । समान कामको समान ज्याला पाउने आन्दोलनबाट महिला मुद्धा मजदुर आन्दोलनसँग जोडिएको हो । मार्क्सवादको झण्डा बोकेको मजदुर आन्दोलनको ध्येय समाजवादको निर्माण हो । कारण, प्रष्ट छ- सामन्तवादमा महिला दासी थिए । पूँजीवादले बजारको बिकाउ माल बनायो । महिला र पुरूष दुवै त्यतिबेलामात्र पूर्ण मानव हुनसक्छन् जतिबेला बन्धनका कुनै पनि सिक्रिहरू हुँदैनन् । समाजवाद पूर्ण मानवतातिरको यात्रा हो । समाजवादको सामान्य सर्त हो - उत्पादनका सबै साधनको राष्ट्रियकरण, बिस्तारै नीजि सम्पत्तिको उन्मूलन (व्यक्तिगत होइन), सबैलाई काम, काम अनुसारको माम, जीवनको सुनिश्चितता ।

प्रश्न उठ्न सक्छ -
समाजवाद त असफल भयो ? - पछि बहस गरौंला ।

सम्भव कसरी हुन्छ ? - पछि बहस गरौंला, लामो जान्छ ।

कम्युनिष्ट आन्दोलनमै पुरूषवाद हावी छ त ! - किनभने नेतृत्वमा सामन्ती चिन्तन बोकेका पुरूष छन् । महिला अधिकारलाई दान सम्झिन्छन् । त्यसैले नेपालका हरेक कम्युनिष्ट नाम भएका पार्टी (नाममा कम्युनिष्ट नभए पनि कम्युनिष्ट अरू पनि)मा आन्तरिक नारीवादी आन्दोलन आवश्यक छ । किनकि ती महिलालाई नेतृत्वमा ल्याउनुलाई शृंगार ठान्छन् । सहयात्रा होइन । दान ठान्छन् ।

र, श्रमिक महिला आन्दोलन !

दोहोरो विभेद तल्लो वर्गका महिलाको दुःख हो । फेरि वर्गीय रूपमा विभाजित समाजमा वर्ग मान्दिन भन्नु कुनै न कुनै वर्गको सेवा गर्नु हो । जब प्रश्न उठ्छ - तपाईं कुन महिलाको पक्षमा ? नवउदारवाद लागू गर्ने मार्गरेट थ्याचरको वा त्यही नीतिका कारण जागिर खोसिएकी कुनै म्यारीको ? अनि वर्ग त आइहाल्छ । मुकेश अब्बानीको श्रीमती जसले ४ करोडको साडी लगायो र उसकै साडी बनाउन खट्ने ३६ महिला कुन महिला ?
महिलामा पनि वर्ग हुन्छ भन्ने ओझेलमा पार्नुहुन्न ।

माओले भनेकै थिए - चिनियाँ पुरूष तीनवटा थिचोमिचोमा पर्छ - राजनीतिक, जातीय र धार्मिक तर महिला अझ अर्को थिचोमिचोमा पर्छिन् - लैंगिक ।

नेपाली समाजको सापेक्षमा विश्लेषण गरौं ।

श्रमिक महिला आन्दोलनका दुई पाटा छन् - श्रमिक आन्दोलन र महिला आन्दोलन । श्रमिक आन्दोलन मूलतः आर्थिक समानताको आन्दोलन हो । जीवनको आन्दोलन हो । महिला आन्दोलन लैंगिक आन्दोलन हो । महिला आन्दोलनसँग नजोडिएको श्रमिक आन्दोलन सामन्ती चिन्तनकै निरन्तरता बन्ने छ । श्रमिक आन्दोलनसँग नजोडिएको आन्दोलन उपल्लो वर्गको स्वार्थमा समर्पित हुनेछ । त्यसैले दुवै आन्दोलन सँगसँग जानु जरूरी छ ।

गिट्टी नकुटे पनि मध्यम वर्गीय महिला श्रमिक नै हो । श्रमिक भन्नासाथ बगरमा गिट्टीमात्र कुट्ने महिलामात्र हुन् भन्ने चिन्तन आफैँमा साँघुरो हो । बैंकमा काम गर्ने तल्ला दर्जाका कारिन्दाहरू पनि श्रमिक नै हुन् । फिल्ममा अभिनय र रूप बेचेर पैसा कमाउने नायिका पनि श्रमिक नै हुन् । पाठशालामा पढाउने शिक्षिका पनि श्रमिक नै हुन्। स्वराेजगारका क्रममा अटाे चलाउने, हाेटलमा काम गर्ने, अस्पताल वा अनकाैं अफिसमा काम गर्ने सबै सबै बाैद्धिक र शारीरिक श्रम गर्ने महिला श्रमिक महिला हुन् ।

महिला लामो दुःख हो - आहुती ठीक छन् । कामदार वा श्रमिक महिला हुनु त्यो भन्दा अझ एक भारी दुःख बेसाउनु हो । सार, यत्ति हो ।

Comments