किताबः स्मृति अल्बमका दुई तस्विर

सन्दर्भः विश्व पुस्तक दिवस 


लक्ष्मण श्रेष्ठ

हरेक कथा र गाथाले क्लास फाइभ पढ्दै गरेको मस्तिष्कमा बनाएका चित्र कसरी बनाउँ ? के गरी बनाउँ ? कुन कुचीले बनाउँ ? अहिले त समयको कुचीले ती चित्रमा चाङका चाङ, तहका तह अनेकन् चित्रहरू पोतेर गइसकेका छन् । तर, अझै उस्तै छ एउटा चित्र । त्यो गाता नभएको किताबको । 


थाहा छैन, कहिले, कसरी, कुन दिन, कुन बाटो गरेर जिन्दगीमा आइपुगेका थिए किताबहरू ? अहँ पटक्कै सम्झना छैन, कुन थियो पहिलो किताब ?

- त्यो कुन किताब थियो जसमा पहिलोपटक मैले लेखेको थिएँ आफ्नो नाम ?
- त्यो कुन किताब थियो जुन हराउँदा पहिलोपटक रोएको थिएँ ?
- त्यो कुन किताब थियो जसलाई पुस्तक पसलबाट किनिल्याउन आमासँग रोई-रोई पैसा मागेको थिएँ ।
- त्यो कुन किताब थियो जसमा तिमीले पहिलोपटक आफ्ना अक्षरमा मेरो नाम लेखेकी थियौ ?
- त्यो कुन किताब थियो जुन फिर्ता नदिएकै कारण पहिलोपटक कुनै साथी दुश्मनमा दर्ज भएको थियो ?
- साराका सारा सम्झनाहरू ढुसी परेको अल्बमका तस्विरजस्ता भएका छन् । छन् त केवल केही धमिला सम्झनाहरू ।
- म ढुसी परेको स्मृति अल्बममा चप्किबसेका तस्विरहरू पल्टाउन खोज्छुः

पानस, आमा र जाँतो 


घरछेउको पोखरीनेर ढिस्कोमा थियो आमाले पढाउने र हामीले पढ्ने स्कुल । आकाशे सर्ट र निलो पाइन्ट के त्यतिबेला ड्रेस बनिसकेको थियो ? हेर्नुस न मेरो स्मृति तस्विरको रङ खुइलिसकेको छ ।

जे होस्, हामी स्कुले बच्चा भइसकेका थियौं । आमासँगै हात समाएर स्कुल जान्थ्यौं । एउटा हातमा दाजु, अर्कोमा म अगाडि-पछाडि लुटुरपुटुर गर्दै घरको प्रिय कुकुर - हाकु ।

तिनै दिनमा आइपुगेका थिए किताबहरू कथाका अनेक कुटुरो बोकेर । ‘साझा प्रकाशनको अधिकृत बिक्रेता’ नामको हरियो टिनपाटी टाँसिएको ‘त्रिवेणी पुस्तक भण्डार’ नामक आफ्नो पसलका लागि बुटवल गएबखत मामाको कोसेली स्वरूप आएका थिए किताबहरू । तर, सायद ती पहिला किताब थिएनन् किनकि कक्षा दुईको नेपाली किताबमा मकै र भटमासको झगडा पढेर आँगनमा मरिमरि हाँसिरहेका दुइटा बालक अनुहार हामी दाजुभाईकै थिए ।

मामासँगै आइपुगेका किताब आमासँगै गोठको ओसारीमा पुगे । आमा घरकी जेठी बुहारी । बिहान खर्यानमा पुगेर भैंसी-बाख्राको लागि घाँस ल्याउनुपर्ने । दिनभरी स्कुल पढाएर फर्केपछि बेलुकी त्यहीँ काम दोहोर्याउन पर्ने । बिजुली थिएन त्यतिबेला रात छिट्टै पर्थ्यो । रातको आँखा ननिदाउँदै आमा पानस बोकेर गोठको ओसारीमा थपक्क बसेको जाँतो घुमाउन थाल्नुहुन्थ्यो । र, हामी दाजुभाई आलोपालो किताबका कथा सुनाउन थाल्थ्यौं ।

कति कथा जिन्दगीको सडकमा विस्मृतिका धुलो मुनि पुरिए । कति कथा स्मृतिमा आइरहे गइरहे । अझै पनि जबजब किताबको प्रसंग आउँछ स्मृतिको त्यो पुरानो अल्बम पल्टिन थाल्छ । धिपधिप मधुरो बलिरहेको पानस अगाडि, बेलाबेला अगाडिका कपाल डढाउँदै पढिरहेको र वाचनमा अड्किँदा मास्टर्नी आमाको गाली खाइरहेको आफ्नै धुमिल तस्विर देखेर ओंठको एक छेउमा मुस्कान फुस्किन्छ । आँखाको एक कोश किन-किन रसाइदिन्छ ।

अचेल गाउँमा बिजुली गएको छ । बिजुलीसँगै टेलिभिजन गएको छ । अचेल मामा साझा पसलको अधिकृत बिक्रेता पनि हुनुहुन्न । तर पनि किताबहरू छन् । र म छु ।


अजिको १० रूप्पे, मुना र गाता हराएको किताब 


बर्बोटको ‘किड्स इंग्लिस बोर्डिङ स्कुल’प्रिन्सिपल विनोद केसी सरको बहिर्गमनसँगै बन्द भइसकेको थियो । हामी अंग्रेजी स्कुलबाट नेपाली स्कुलमा, पैसा तिर्नुपर्ने स्कुलबाट नतिर्नुपर्ने स्कुलमा र अरूले पढाउने स्कुलबाट आफ्नै आमाले पढाउने स्कुलमा फर्किसकेका थियौं । पोखरीनेरको घर अजाअजिको घर भइसकेको थियो । आमाको पछिपछि लागेर एउटा हिस्सा भत्केको घरमा हामी पुगेका थियौं । भत्केको हिस्साबाट रातभरी परिरहेको झरी, बिजुली चम्काइ र आक्कलझुक्कल देखिने ताराहरू हेर्दै र चिसो सिरेटो खाँदै एक रात बिताएपछि त्यो भत्केको घर हाम्रो नयाँ घर भएको थियो ।

बाँसको चिम्नीले बारेको एउटै छानोमुनिको अर्को भाग टरिब्वाको घर थियो । त्यहाँ भएको टेलिभिजनमा आउने बाल कार्यक्रम हेर्दै गर्दा टरिब्वाले ‘तिमीहरू पनि कविता लेख न’ भनेपछि रातभरमा हामी भित्र लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो । बिहान हुँदासम्म हाम्रा कापीका पानामा केही कविताहरू टाँसिइसकेका थिए ।

एकाएक हामी कक्षा पाँच पास गरेर सदरमुकामको बोर्डिङ स्कुलमा क्लास फाइभ पढ्न जाने भयौँ । आमाको काखबाट छुटिगएका दुई भावुक केटाहरूलाई होस्टलको नमिठो भात र वार्डेनको कर्कस आवाज पचेन । रातदिन रूने गर्न थालेपछि मामाघर बस्ने सल्लाह भयो । दाजुका दुई भाई र बहिनीका दुई भाई छोरा जम्मा भएपछि जहिल्यै जेठा-जेठा र कान्छा-कान्छाको ग्याङ बनाइ फाइट खेल्न थालेपछि एक घण्टा माथी गाउँमा मावली अजाअजीसँग बसेर हरेक दिन बोर्डिङ स्कुल धाउने नयाँ क्रम सुरू भयो ।

हो, त्यति बेलै आएको थियो मुना र त्यो गाता नभएको किताब ।

घाम नउठ्दै अजि र माइजु उठिसक्नुभएको हुन्थ्यो । सुशीला तता पनि जागिसक्नुभएको हुन्थ्यो । घ्यु हालेको भात पाकिसकेपछि र ब्वाइल अण्डा तयार भइसकेपछि आँखा मिच्दै उठेर हतारहतार स्कुल जाने तयारी गरिरहेका हाम्रा झोलामा अजिले बनाइदिएको ‘टिफिन’ पर्थ्यो । टिफिनको यो रूटिन आइतबारदेखि बिहीबारसम्म थियो । शुक्रबार हाफ छुट्टी टिफिन होइन अजिले १०, १० रूप्पे दिनुहुन्थ्यो । तर, एक भाइको १० रूप्पेले न चाउचाउ देख्यो, न चुरन देख्यो, न मिल्किवाइट देख्यो, न ल्याक्टो देख्यो । किनभने हामीलाई उमेश छापाखानामा काठमाडौंबाट आइपुग्ने ‘मुना’ बालपत्रिका पढ्ने लत बसिसकेको थियो ।




दाई साँच्ची त्यो किताब पढेपछि तैँले एउटा कथा लेखेको थिइस् नि, रेड स्काउट भएको, सामन्ती विरूद्ध लडेको, काठको बन्दुक बनाएको । त्यो कथा कहाँ छ ? त्यो कथा लेखेको कापी कहाँ छ ? रातो ताराको कथा पढेपछि हामीले किनेको पाँच रूप्पेको त्यो रातो डटपेन कहाँ छ ? 





मुनाको लतले हामीलाइ कविता लेख्ने बनाएको थियो । जाबो मुना पत्रिका दुई दिनमा सकिन्थ्यो । तर त्यसले जगाइदिएको भोक कसले मेट्ने ? केले मेट्ने ?

भोक मेट्न हरेक शनिवार दुईभाईको काम थपियो माथिल्लो तलामा रहेको धन्सार चाहर्ने । माथिल्लो तला साँघुरो भएर हो सायद, पुराना सामग्री थुपार्ने धन्सार कम गोदाम ज्यादा थियो । प्रत्येक शनिवार त्यहाँ चाहर्दा अनेक खजाना भेटिन्थे । आमाले पढ्दा बनाएका नोटमा उहाँका स्कुले दिनहरू नाचिरहेका हुन्थे । राजा महेन्द्र हो कि विरेन्द्रको फोटो टाँसिएको किताबमा काल थुनिएको कथा थियो । त्यहीँ गोदाममा फेला परेको एउटा किताबमा बलभद्र, भक्ति थापा, अमरसिंह थापाहरूको वीरगाथा पनि थियो ।

हरेक कथा र गाथाले क्लास फाइभ पढ्दै गरेको मस्तिष्कमा बनाएका चित्र कसरी बनाउँ ? के गरी बनाउँ ? कुन कुचीले बनाउँ ? अहिले त समयको कुचीले ती चित्रमा चाङका चाङ, तहका तह अनेकन् चित्रहरू पोतेर गइसकेका छन् । तर, अझै उस्तै छ एउटा चित्र । त्यो गाता नभएको किताबको ।

सायद त्यतिबेलाको परिस्थितिको केही भूमिका छ त्यो किताबको चित्र आलै रहनुमा । भित्ताहरूमा रातारात पोतिन थालेका थिए नी राता रङमा बांगाटिंगा अक्षरहरू ।

अनि एक रात गाउँमा एकाएक राँको बालेर जिन्दावाद भनेको दृश्य चलचित्रको पर्दामा दौडिने दृश्यजस्तै भएर गएको थियो ।

अनि एकाएक देशको वातावरणमा अनौठो प्रकारको भय र उत्सुकता थपिएको थियो ।

देशमा बन्दुक पड्किन थालेको तीन-चार वर्ष भइसकेको थियो । र, त्यो किताब त्यही बन्दुकको कथा थियो ।

धन्सारमा फेला परेको साँझैपख दलानमा भएको बिस्तारामा पल्टेर ठीक बीचमा राखी दुई भाईले एकैपटक पढेको त्यो किताबको नाम के थियो ?

किताब यो देशको थिएन । किताबको भाषा यही देशको थियो कथा उत्तरी देशको । किताबमा एउटा फुच्चे केटाको कथा थियो । त्यहाँ एउटा ठूलो नेताको गाथा थियो । त्यो नेताको नाम हिजै राती हाम्रो घरको भित्तामा कसैले पोतिगएको थियो । भित्तामा नेताको अधुरो नाम थियो । किताबमा पूरा नाम थियो - माओ त्से तुङ । पढ्दा अप्ठ्यारो लागे पनि त्यो नाम कण्ठ भइहाल्यो । अनौठो मुलुकको अनौठो कथा भए पनि हामीलाई त्यसले तानिरह्यो । किताबको फुच्चे हामीजस्तै थियो । उसका बा जापानी साम्राज्यवादीहरूसँग युद्ध लड्न कतै गएका थिए । तर, उसकी आमालाई क्ववोमिन्ताङका सिपाहीहरूले जिउँदै जलाइदिएका थिए । उसँग न बा थिए, न आमा । थियो त केवल आमाले बा फर्केपछि लगाउनु भनेर ज्याकेटको भित्री तहमा लुकाइ सिलाइदिएको रातो तारा ।

किताबको कथा पराई भए पनि किनकिन आफ्नै लागिदियो । किताब पढेको केही दिन हाम्रो दिमागले काम गर्न छोड्यो । खोइ के साइनो थियो कुन्नि ? राती राती भित्तामा बाँगाटिंगा अक्षर लेखि जाने मान्छेहरूप्रति, पारी जंगलमा राँको बालेर मध्यरातमा हिँड्ने जुलुसप्रति र पत्रिकामा छापिने तिनका खबरप्रति रूची र चासोमात्र होइन नजानिदो सद्भाव बढ्न थाल्यो ।

दाई साँच्ची त्यो किताब पढेपछि तैँले एउटा कथा लेखेको थिइस् नि, रेड स्काउट भएको, सामन्ती विरूद्ध लडेको, काठको बन्दुक बनाएको । त्यो कथा कहाँ छ ? त्यो कथा लेखेको कापी कहाँ छ ?
रातो ताराको कथा पढेपछि हामीले किनेको पाँच रूप्पेको त्यो रातो डटपेन कहाँ छ ?

(धेरैपछि-धेरै धेरै पछि - भित्तामा बाँगाटिंगा अक्षरहरू लेख्ने मान्छेबारे राम्रैसँग जान्ने भएपछि - तिनीहरूले पड्काएको बन्दुकबाट सुरू भएको युद्धमा थुप्रै थुप्रै मान्छेहरू मारिएपछि - राजाको परिवार मारिएपछि - संकटकाल लागेर हाम्रो गाउँबाट पुलिस सदरमुकाम गएपछि र सदरमुकामबाट घोप्टिएका कराहीजस्ता हेल्मेट लगाएर आर्मी गाउँमा आएपछि - ती आर्मीले हाम्रो घर-घरमा खानतलासी गरेपछि - देशमा नयाँ राजाको हुकुम चलेपछि - हामीले संकटकालको कुन्नि कुनचाहिँ हो एपिसोडपछि एसएलसी दिएपछि - अनि हामी बुटवल ओर्लिएपछि - देवीलाल शहीद भएपछि - बुटवलका किताब पसलबाट किताबहरू उठाउन थालेपछि - बल्ल हामीले थाहा पायौं - त्यो किताबको नाम ।  चम्किलो रातो तारा । के त्यो किताब बजारमा पाइन्छ अचेल ?)


अल्बम बन्द गरेर


स्मृति अल्बममा किताबका तस्विर त कत्ति कत्ति । कुनै छन् ढुसीले डामिएका । कुनै सर्लक्क ।



किताबको बाटोमा किताबसम्मै पुगिरहँदा किताबहरू कहिल्यै पराई भएनन् । जिन्दगीका अप्ठेरा र अँध्यारा क्षणहरूमा पनि किताबहरू कहिल्यै बेइमान भएनन्  ।




कुनै किताबका कथामा लुकेको छ आँसु । कुनैमा आक्रोश ।
कुनै किताब हराइगए । तर, रोकिएको छैन किताबको यात्रा । रोकिउने पनि छैन सायद नमर्दासम्म । अब त किताब लत भएको छ । किताबको अर्थ र उपस्थिति पनि फेरिएको छ । आमाको अगाडि पानसको उजेलोमा पढ्दा किताब नदेखेको दुनियाँको कथा थियो । किताब रोचक र रमाइलो थियो । अचेल किताब देखे-भोगेको दुनियाँको अन्तर्कथा भन्छन् । समाजका जटिलता र पहेली बताउँछन् । किताब अचेल हिजोजस्तो रोचक छैनन् । यी त संसारको सुक्ष्म अध्ययन दृश्य देखाउने माइक्रोस्कोप भएका छन् । हरेक किताबको अन्तिम पाना पढिसकेपछि एकखालको मन्द ज्वरो छाउँछ । आँखा अगाडिको संसारको एउटा नयाँ पर्दा उघ्रिन्छ ।

कतिपय किताब पढेर यो शहरको भीडभाडमा एक्लै भुतभुताइ हिँडिरहेको तस्विर मेरै हुन्छ ।

किताबको बाटोमा किताबसम्मै पुगिरहँदा किताबहरू कहिल्यै पराई भएनन् । जिन्दगीका अप्ठेरा र अँध्यारा क्षणहरूमा पनि किताबहरू कहिल्यै बेइमान भएनन्  । बेइमान त ती भए जसले किताबहरू लगे र फिर्ता गर्न बिर्सिगए । फेरि पनि गुनासो छैन, किताब तिनका लागि पनि बेइमान हुनेछैनन् ।

कहिलेकाहीँ सोच्छु, किताब नभए कस्तो हुन्थ्यो जिन्दगी ? फेरि आफैले जवाफ खोज्छु - किताब नभए पनि किताबजस्तै अरू केही हुन्थ्यो । मानिसले ज्ञान र अनुभव बाँड्न कुनै न कुनै माध्यम विकास गर्थ्यो नै । सायद त्यसको नाम पनि किताब नै हुन्थ्यो ।

Comments