नक्सा


गिरि श्रीस मगर

सयौ वर्षदेखिको यो नाम्लो मेरो हो
यसैको पाताले थिचिर
तालुको कपालजति सप्पै झरिगाको
यो शिर मेरै हो,
मैलई भया नि शिरको टोपी नि मेरै हो ।

हजारौं वर्षदेखिको यो दुःख मेरो हो
खर्लप्पै खाइर यसैले
हारछाला भाको यो ज्यान मेरै हो
फाटेको भा नि
ज्यानको गादो र कछाड मेरै हो ।

हिन्ने भएदेखि नै हिंन्दा हिंन्दै बेसा खोज्न
कुर्कुच्चाबाटि पट्पटी फुटेको
मेरै हुन् यी खुट्टाहोरी
खिइर सक्किनै ला नि मेरै हुन्—
खुट्टाका भक्कु चप्ली !

तर ‘झोर्ले है लाङ्घाली !’ भन्दै
गोरा चारेक वर्षको फरकमा
मुख्या मुख्याकोजस्तै अनारमा
जिम्दार जिम्दारको जस्तै चालढालमा
हात जोरिर यो दुःखिया दैलोअघि
उब्बिन आइपुग्ने ए पाउना !
तपैंको घाटीमा झुन्नेको
फूलमाला कसका हुन् ?
तपैंको आँखाका चश्मा र नजर,
ज्यानको कमेच, पतलुन र कोट
खोल्तीको मोबाइल र नारीको घरी
खुट्टाको बुटजुत्ता कस्का हुन् ?

मेरो सपना र जपना त सप्पै मेरो हो
मेरो दुख्ख र लराई त सप्पै मेरो हो
मेरो नसाको रगत
र आँखाको पानी सप्पै मेरो हो
मेरो दुख्खको रामकहानी सप्पै मेरो हो
तर तपैंको बोली र वचन कसको हो ?
तपैंको बाचा र भासन कसको हो ?
मेरो हरिगतमा
तपैंले आँखाबाट झारेको आँसु के तपैंकैं हो ?
शंका लाक्च झन्पछि झन्झन्
सोर्चु एकफेरा—
उजेलो भविस्सेको भनिर
जो नक्सा देखाइर उब्बिुनभाछ मेरो अगारि
त्यो नक्सा—
के तपैंले नै बनाउनु भा हो ?


टिप्पणाी
रामचन्द्र श्रेष्ठ
‘नक्सा’ कवितामा कवि श्रीसले प्रश्न उठाएका छन् । कविता चुनावको बेलामा भोट माग्न आउने नेतालाई साधारण जनले गरेको प्रश्न हो । कविता बाग्लुङको मगर जातिको लवजमा छ । कवितामा साधारण मानिसले प्रश्न गरेको छ । उसको प्रश्न भयंकर छ । उ आफ्ना दुःख, पीर, व्यथा र संघर्ष आफ्नै ठान्छ । अरु नहोस् कम्तीमा आफ्ना दुःखमाथि उसको आफ्नै स्वामित्व छ । तर, उसले त प्रश्न गर्छ त्यो जमिन्दार जस्तै, त्यो मुखिया जस्तै देखिने नेतालाई कि उसको आँसु आफ्नै हो कि होइन ? उसको दृष्टिकोण आफ्नै हो कि होइन ? उसले चुनावमा देखाइरहेको सपना उसकै हो कि होइन ? अर्थात्, कम्तीमा दुःखमाथि आफ्नो स्वामित्व वकालत गर्ने त्यो साधारण जनले नेतालाई परनिर्भर र दलाल भएको आरोप लगाइरहेको छ । उसमाथि भयंकर प्रश्नको तरबार उठाइरहेछ ।
के साँच्चै साधारण जनले यस्तो प्रश्न खडा गर्न सक्छ ? के साधारण मानिसको मनमा यस्ता प्रश्नहरु जन्मन्छन् ? हो, प्रश्न हरेक मानिसको मनमा जन्मन्छ । मान्छेले आफुले भोगेको र देखेको संसारबारे आफ्नै तवरले सोच्छ र प्रश्न गर्दछ । प्रश्नकै कारण मानिसले नयाँ–नयाँ रहस्यहरुको गाँठो फुकाउँछ र विज्ञानको विकास गर्दछ । प्रश्नका अनेक तह होलान् र होलान् अनेक आयाम । अध्ययनले खारिएको मानिसमा आफ्नै तहको प्रश्न जन्मेला । साधारण निरक्षर मानिसमा पनि जीवनसंघर्षमा हासिल गरेको ज्ञान र अनुभवको आधारमा आफ्नै ढंगको प्रश्न जन्मन्छ । प्रश्नको जन्म मानिसको चिनारी हो । तर, मानिस प्रश्न गर्न सक्दैन । इतिहास लामो दासताका कारण, शक्ति संरचनामा पिँधमा पारिएको कारण र भाग्यवादद्वारा थोपरिएको सहनुपर्ने चिन्तनले सिर्जना गरेको मौनताका कारण साधारण मानिसले आफ्नो मनमा जागेको प्रश्न मनभित्रै दबाउँछ । आफ्नो छातीको प्रश्नलाई आफ्नै छातीमा दफ्नाउँछ । हो, प्रश्नहरु दफ्नाउँदा दफ्नाउँदै साधारण मानिसका छातीहरु प्रश्नहरुको चिहानघारी भएको छ । हाम्रा छाती हाम्रै प्रश्नहरुको मसानघाट भएको छ ।
यहींनेर कवि आइपुग्छ । कवि द्रष्टा हो । दर्शन, कला र सामयिक चेतनाले भरिपूर्ण कविको आँखा माइक्रोस्कोप हुन्छ । उसको सुक्ष्म अवलोकनले प्रश्नहरुको मसानघाट फेलापार्छ । कवि स्रष्टा हो । कविसँग सिर्जन शक्ति हुन्छ । कविले आफ्नो सिर्जन शक्तिको बलले दफ्नाइएका सपनाहरुलाई ब्युझाउँछ । कविले कवितामार्फत प्रश्नहरुको पुर्नजन्म गराउँछ । प्रश्नहरु पुर्नजीवित भएका छन् । गोर्कीको भाषामा पुर्नजीवित प्रश्नहरुको हत्या हुनसक्दैन । (गोर्कीले प्रसिद्ध आमा उपन्यासमा पुर्नजीवित आत्माहरुको हत्या हुन सक्दैन भनेका छन् ।)

Comments

  1. सोर्चु एकफेरा—
    उजेलो भविस्सेको भनिर
    जो नक्सा देखाइर उब्बिुनभाछ मेरो अगारि
    त्यो नक्सा—
    के तपैंले नै बनाउनु भा हो ? ............
    वाओ ,गिरि दाई........वाओ कविता ।
    (कविले कवितामार्फत प्रश्नहरुको पुर्नजन्म गराउँछ । प्रश्नहरु पुर्नजीवित भएका छन् ।)
    पक्कै रामचन्द्र दाजु प्रश्न पुनर्जीवित गराउने दमदार कवि, कविता पायौं ।

    ReplyDelete
  2. हो, प्रश्नहरु दफ्नाउँदा दफ्नाउँदै
    साधारण मानिसका छातीहरु प्रश्नहरुको चिहानघारी भएको छ ।
    हाम्रा छाती हाम्रै प्रश्नहरुको मसानघाट भएको छ ।
    गोर्कीको भाषामा पुर्नजीवित प्रश्नहरुको हत्या हुनसक्दैन ।
    कवि र टिप्पणीकारलाई सुभाय् !!!!

    ReplyDelete

Post a Comment