एक औसत स्त्रीलम्पट वृद्धको वेश्यालयसँगको अटुट सम्बन्धबीच प्रेम र त्यसले सिर्जना गरेको नवजीवनको कथामार्फत सायद मार्खेज साँचो मानवीय स्वभावको कथा भन्न चाहन्छन् ।
✍ नाइगिरिज
यो एउटा बुढोको कथा हो ।
यति बुढो–
अहिले उपचार गराइरहेको डाक्टरको हजुरबुबासँग उसले ४२ वर्षको उमेरमा उपचार गराएको
थियो । डाक्टर हजुरबा र डाक्टर नातीले उसलाई एउटै जवाफ दिन्छन्– तिमी आफ्नो उमेरमा
हुनसक्ने जति तन्दुरुस्त छौ (पृ. ११२) । यति बुढो– अहिले पनि उसले स्तम्भ
लेखिरहेको पत्रिकाको २५ औं स्थापना दिवसको अवसरमा खिचिएको सामुहिक तस्वीरमा भएका
४८ मध्ये जिवित चारजनामा ऊ एक हो (पृ. ४९) ।
यो एउटा स्त्रीलम्पट बुढोको कथा हो ।
१२ वर्षको उमेरदेखि उसले महिलाहरूको शरीर भोग्न थालेको हो (पृ. १०९) ।
आफैँ
स्वीकार्छ– ‘म कहिल्यै पनि कुनै महिलासँग पैसा नतिरीकन बिछ्यौनामा गएको छैन’ (पृ.
११) ।
२० वर्षदेखि उसले आफूले शारीरिक सम्बन्ध बनाएका महिलाको अभिलेख राख्न थाल्छ
र ५०औं वर्षमा ५१४ जना पुगेपछि अभिलेखिकरण छोड्छ (पृ. १२) ।
९० औं जन्मदिनमा ऊ आफैलाई एउटा उपहार
दिन चाहन्छ– एक कुमारी किशोरीको दैहिक भोग ।
तर, यो
पुस्तक त्यो फोहोरी बुढोको व्यभिचारको कथा होइन । यो त उसको आत्मिक पुनर्जन्मको
कथा हो । र, हो एक अस्वाभाविक, अनौठो र तिलस्मी खालको प्रेमको ।
यो प्रेमकथाको शीर्षक भने अनौठो छ–
‘मेमोरिज् आफ् माई मेलन्कोली होर्ज’ (मेरा उदास वेश्याहरूको स्मृतिः खासमा
अंग्रेजी होरको नेपाली रुप वेश्यालाई जनाउने त्यो शब्द हुन्छ जसलाई अश्लील रूपमा
लिइन्छ ।) । अनि लेखक हुन्,
गार्बियल गार्सिया मार्खेज । उनै
मार्खेज जो संसारभर ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ (एकान्तका सय वर्ष)मा
प्रयुक्त जादुयी यथार्थवादका कारण चर्चित छन् । खासमा यो ‘मेमोरिज्’ एक उपन्यासिका
हो ।
लेखकः गार्बियल गार्सया मार्खेज |
यो उपन्यासिकामा मार्खेजले प्रेमको
पातलो स्पर्शले एक वृद्ध व्यक्तिको मृत प्रायः अनुभूती कसरी जागृत हुन्छन् भन्ने
देखाएका छन् । जीवनभर महिलासँग रात बिताउने गरे पनि ऊ आफैँले स्वीकार्छ, ऊ प्रेम गर्न जान्दैन । उसलाई खासमा प्रेम के
हो भन्ने नै थाहा छैन (पृ. २९) । तर, जब
ऊ निरन्तर जाने वेश्यालयकी मालिक्नी ‘रोजा क्याबाकस’ले उसको चाहना पूरा गर्न एक १४
वर्षीय किशोरीसँग भेटाइदिन्छे उसको जीवनमा आमूल परिवर्तन आउँछ ।
पहिलोपटक एक नग्न
महिलासँग ऊ देहभोग नगरी रात बिताउँछ । दिनभर एउटा उद्योगमा कपडामा टाँक राख्ने काम
गरेर चरम थाकेकी त्यो किशोरीलाई जन्मजात नग्न अवस्थामा सुतिरहेको पाउँछ । रोगी आमा
र साना भाइबहिनी पाल्नुपर्ने दायित्वले थिचिएकी त्यो युवती असाध्य गरीब र कुपोषित
हुन्छे । उसका हरेक थोक सस्ता हुन्छन् । मानिस यतिसम्म गरीब हुनसक्छ भन्ने थाहा
पाएर त्यो बुढो चकित हुन्छ । अनि त्यो किशोरी जाग्ने प्रतिक्षा गर्दै उसको छेउमा
सुत्छ, निदाउँछ । भोलीपल्ट बिहानै ऊ जाग्दा
त्यो किशोरी उसैगरी निदाइरहेकी हुन्छे । उसलाई उसकै हालतमा छोडिदिएर निस्कन्छ । तर, पहिलोपटक उसले प्रेम अनुभव गर्छ । स्वीकार्छ–
‘त्यो रात मैले सुतिरहेको युवतीको शरीरबाट कुनै पनि प्रकारको लालसा वा भोगबिना नै
आनन्दानुभूती गरेँ (पृ. २९) ।’
आफैँले ‘डेल्गाडिना’ नाम दिएकी त्यो
किशोरीसँग वास्तवमा ऊ प्रेममा पर्छ । त्यसपछिका अरु दुईपटक उसैगरी रात बिताउँछ ।
अन्धकारमा एक नग्न किशोरीको रक्तसञ्चार अनुभूत गर्दै र निदाइरहेकी उसको
श्वासप्रश्वासलाई एक लोरीको रुपमा ग्रहण गर्दै । ती हरेक रातले उसमा जीवनको नयाँ
बिहानी ल्याइदिन्छन् । ‘म अर्कै मानिस भएँ । कालजयी साहित्यहरू फेरि पढ्न थालेँ ।
रोमाञ्चकारी लेखनमा निमग्न भएँ’ – स्वीकार्छ (पृ. ६५) । उसको त्यो पुनर्जन्मको
प्रभाव लेखनीमा पनि देखापर्न थाल्छ । उसका स्तम्भहरू अब डेल्गाडिनालाई सम्बोधन
गरेर लेखिएका पत्रहरू हुन थाल्छन् ।
जीवनभर प्रेमको अनुभूती नगरेको, वासनाजन्य भोगलाई नै प्रेम भन्ठानेको एउटा
अविवाहित वृद्ध त्यो युवतीको प्रेममा पर्छ जोसँग उसको कुनै संवाद पनि भइसकेको छैन
। यो प्रेमानुभूती कति गाढा छ भन्ने त्यतिवेला थाहा हुन्छ, जतिवेला एकाएक डेल्गाडिना उसको जीवनबाट हराउँछे
। एउटा हत्याको घटनापछि वेश्यालय एकाएक बन्द हुन्छ । र, त्यो किशोरीसँग त्यो वृद्धको भेटघाट हराउँछ ।
अनि ऊ तिनको खोजीमा शहर चहार्न थाल्छ । तबमात्र उसले थाहा पाउँछ, दिनको उज्यालोमा, पुरै कपडा लगाएकी किशोरीलाई देखे पनि उसले चिन्ने छैन । उसले त रातको
अन्धकारमा नग्न अवस्थामा मात्र उसले देखेको छ, भेटेको
छ । तथापी उसको खोजी जारी रहन्छ ।
केही समयपछि वेश्यालयकी मालिक्नी रोजा
क्याबाकासले ती किशोरीसँग उसको पुनर्मिलन गराउँछिन् । तर, समयको हुरीले बदलिएकी डेल्गाडिनलाई उसले चिन्न
सक्दैन । अर्कै युवती ल्याएको भन्दै रिसाउँछ । क्रुद्ध हुन्छ । त्यही समयमा
भेटिएकी एक भूतपूर्व वेश्याले जीवनमा कोही हुनुको महत्त्वबोध गराइदिन्छे र ऊ
धरातलमा फर्किन्छ । ९१ औं जन्मदिनमा ऊ पुनः ती किशोरीसँगै रात बिताउँछ, उसैगरी । बिहानपख जब उसले थाहा पाउँछ, ती किशोरीले पनि उसलाई उसैगरी प्रेम गर्छे, ऊ उमंगको उच्च विन्दुमा हुन्छ । त्यो बिहान
वेश्यालयकी मालिक्नीले आफ्नो शेखपछि सबै त्यही किशोरीलाई दिने वाचा गर्छे । उसले पनि
त्यस्तै प्रण गर्छ । र, नौ दशक बाँचिसकेको त्यो बुढो मान्छे
पुनः जवान हुन्छ ।
आकारमा उपन्यासिका भए पनि मार्खेजका
अन्य उपन्यासजस्तै लेखन र कथावाचनको जादुयी गठजोड बन्न चुकेको छैन । कथाको वर्णन
सपाट छैन । मूल कथाको विस्तारसँगै मार्खेजले पाठकलाई मूलपात्रको विगत जीवनतिर
पटकपटक लैजान्छन् । उसको अधुरो विवाह, अन्योल, जीवनप्रतिको उदास दृष्टिकोणसबैको कथा एकैपटक
भन्दैनन् । बिस्तारै बिस्तारै सुनाउँछन् । थुप्रै नेपाली आख्यानकारको आख्यानमा
पात्र स्थापित नै भएको पाइँदैन । तर, एउटा
सानो उपन्यासिकामा पनि पात्र कसरी स्थापित गर्न सकिन्छ भन्ने मार्खेजले राम्रैसँग
देखाइदिएका छन् । यी मसिना र साना उपकथाहरूले मूलपात्रलाई गतिलैसँग स्थापित
गरिदिएको छ ।
यसमा गरिएको अर्को प्रयोग हो, मूल पात्रहरूको वास्तविक नाम पाठकले कहिल्यै
थाहा पाउँदैनन् । त्यो वृद्धको नाम कतै पनि उल्लेख छैन । ती किशोरीको नाम पनि
डेल्गाडिना होइन, अरु केही हो जुन त्यो वेश्यालय
मालिक्नीले सुनाउन खोज्दा पनि उसले सुनाउन मानेन । उपन्यासिकामा कथासँग सरोकार
राख्ने मूलपात्र जम्मा पाँच जना छन् । बाँकी प्रसंगले आउँछन् र हराउँछन् ।
अर्को सशक्त प्रयोग हो, वृद्ध र किशोरीको सम्बन्ध । किशोरी र वृद्धले
एक अर्कालाई कहिल्यै पनि घामको उज्यालोमा देखेका छैनन् । ती दुईबीच कुनै संवाद पनि
भएको छैन । र, पनि ती दुुईबीच प्रेम स्थापित भएको छ ।
जीवनको उत्तरार्धमा मार्खेजले लेखेको
यो उपन्यासिकाको नाम र सिंगो पाठबीच खासै बलियो सम्बन्ध छैन । सन् २००४ मा
पहिलोपटक मूल भाषा स्पेनिसमा प्रकाशित हुँदा यसको नाम थियो– ‘मेमोरिया डी मिस
पुतास त्रिस्तेस’ । त्यसमा प्रयोग भएको शब्दकै कारण कतिपय रेडियोले यस उपन्यासिकाको
नाम नभन्न कार्यक्रम प्रस्तोताहरूलाई निर्देशिका नै जारी गरेका थिए । किन यस्तो
नाम र शब्द छनोट गरे होलान् त मार्खेजले ?
एक औसत स्त्रीलम्पट वृद्धको
वेश्यालयसँगको अटुट सम्बन्धबीच प्रेम र त्यसले सिर्जना गरेको नवजीवनको कथामार्फत
सायद मार्खेज साँचो मानवीय स्वभावको कथा भन्न चाहन्छन् । किताबको नाम उदास
वेश्याहरूको स्मृति भए पनि मूल पात्रले सम्बन्ध राखेका स्त्रीहरू नभई ऊ आफै उदास र
एक्लो छ । उपन्यासिकाको अन्तिमतिर भेट भएकी पूर्व वेश्याले बरु नयाँ जीवन शुरु
गरेकी छ । र, मूल पात्रलाई नयाँ जीवन शुरु गर्न
उत्प्रेरित गरेकी छ ।
उपन्यासमा एउटा सानो घटना छ, बाल्यकालमा त्यो वृद्धमाथि भएको बलात्कारको ।
बलात्कारकै रुपमा प्रस्तुत नगरिए पनि अबोध मस्तिष्कलाई शारीरिक सम्बन्धमा प्रयोग
गरेको त्यो दृश्यमार्फत मार्खेजले उपन्यासिकाको मूलपात्रको सिंगो जीवनको दैहिक
भोगको वास्तविकता खुलाइदिन्छन् । र, त्यस्तो
भोगीको पनि पुनर्जन्म सम्भव बनाइदिएर उनले उदास वेश्याहरूको होइन प्रेमको कथा
सुनाएका छन् जुन संयोग र वियोगको वृतान्त भन्दा निकै पर छ ।
Comments
Post a Comment