संविधान पारित हुँदाकाे परिवेश कस्ताे थियाे ?

डायरीकाे पानाबाट....

एकातर्फ शासक दलको अकर्मण्यता र अर्कोतर्फ दिशाहीन आन्दोलन । वर्गीय आँखाले हेर्दा यो शासक वर्गका दुई पक्षको झगडा जस्तै देखियो । 

रामचन्द्र श्रेष्ठ



 २०७२ भदौ ३१

१७ सेप्टेम्बर २०१५


यो डायरी लेखिरहँदा देशमा निकै उतारचढाव भइसकेको छ । 

हिजो साँझ (भदौ ३० गते) संविधान सभाले नयाँ संविधान पारित गरेको छ । पारित नयाँ संविधान असोज ३ गते आइतबार घोषणा हुँदैछ । तर, राष्ट्रपति त्यति सन्तुष्ट देखिदैनन् । हुन त राष्ट्रपतिको सन्तुष्टि वा असन्तुष्टिले कुनै फरक पर्दैन । किनभने उनी सेरेमोनियल न हुन् । त्यसैले कृष्ण सिटौलाले संविधानसभामा भने— “राष्ट्रपतिलाई यही सभाले चुनेको हो ।” यो एक धम्की थियो । 

हो, प्रक्रियागत हिसाबले राष्ट्रपतिको सन्तोष वा असन्तोषको अर्थ छैन । तर, राष्ट्रपति सेरोमोनियल नै भए पनि राष्ट्रिय एकताको प्रतीक हुनाले त्यसले भावनात्मक रुपले प्रभाव पार्दछ । सिटौलामा खस राष्ट्रिय अहंकारवादको गन्ध आउँछ । 

मस्यौदा संविधान जारी भए पश्चात नै एकखालको असन्तुष्टी देखापर्यो । ६ प्रदेशको खाकाले झनै असन्तुष्टी बढायो । बिना कुनै सैद्धान्तिक आधार, केवल भोटको अंकगणित हेरेर गरिएको उक्त प्रदेश विभाजनले कतै अखण्ड र कतै थरुहट प्रदेशको नारा चर्कायो । अखण्ड सुदुर पश्चिम, स्वायत्त कर्णाली र सुर्खेत प्रादेशिक राजधानीको तनाव बढ्दै गयो । शुरुमा सुर्खेत गोली चल्यो । पछि छ बाट सात प्रदेश बनाइयो तर १६लाख थारु जनसंख्या भएको कैलालीलाई बर्दिया र बाँकेबाट अलग्गाइयो । फलस्वरुप थरुहटको माग चर्कियो । यसले शासक दलमा रहेको मानवशास्त्रीय ज्ञानको अभाव देखाउँछ । किनभने, थारु जातिले खास मागेको थरुहट प्रदेश थिएन । उनीहरुको सांस्कृतिक सम्बन्ध रहने बर्दिया र बाँकेसँगको अविच्छिन्नता थियो । 

तर, भोटको राजनीतिमा विवेकको स्थान नै कहाँ हुन्छ र ? 

पश्चिममा थारु आन्दोलन चर्किरहँदा पूर्वी मधेश भने शान्त थियो । यसबीचमा काँग्रेस नेता अमरेश कुमार सिंह, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव कैलाली पुुगे । ‘ननिम्त्याइएका पाहुना’ उनीहरुले स्थानिय हात–हतियारसहित प्रहरी लखेट्न उक्साए । 

भदौ सात गते सोमबार, कैलालीको टीकापुरमा ठूलो जुलुस भयो । निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भयो र एसएसपी सहित प्रहरीको हत्या भयो । मृत्तक एसएसपी बिना हतियार भीडमा गएका थिए । सम्भवत गोली नचलाउने आदेश थियो । उनलाई बलिको बोको बनाइयो । त्यहि दिन रौतहटको गौरमा र वीरगञ्जमा पनि उस्तै खालको २०० जनाको जत्था देखियो । जससँग घरेलु हतियार थियो र हेल्मेटले मुख छोपेको पाइयो । हिमालले आफ्नो अनलाइनमा तीन दिन पहिले नै योजना बनेको उल्लेख गरेको छ । 

त्यसपछि देश तनावमा झनै फस्यो । एकातर्फ शासक दलको अकर्मण्यता र अर्कोतर्फ दिशाहीन आन्दोलन । वर्गीय आँखाले हेर्दा यो शासक वर्गका दुई पक्षको झगडा जस्तै देखियो । 

संविधान सभाबाट संविधान पारित हुँदै ।    स्राेतः गुगल


मधेशवादी दलहरुले माग गर्दागर्दै पनि स्थगित नभएको संविधानसभा २४ गते भारतीय राजदुत रञ्जित रेको दौडधुप पछि २ दिनका लागि स्थगित भयो । दुुई दिनमा पनि मधेसी दल वार्तामा नआएपछि संविधानसभा पुनः सुचारु भयो । संविधान सभाको प्रक्रियालाई भारतले आलोचनात्मक समर्थन जनायो । ३० गते कान्तिपुरमा देवेन्द्र भट्टराईले दिल्लीबाट ‘थिङ्क ट्याङ’को ज्योतिष चिन्तन’ शीर्षकको लेख लेखे । लेखमा उनले भारतले रिजर्भेसन राखेको प्रष्ट पारे । 

 थारु जातिले खास मागेको थरुहट प्रदेश थिएन । उनीहरुको सांस्कृतिक सम्बन्ध रहने बर्दिया र बाँकेसँगको अविच्छिन्नता थियो ।

अब, मधेशको आन्दोलन कता जाला ? अस्ति २९ गते बेथरीमा गोली चल्यो । ४ वर्षे बालक, १३ वर्षीय किशोरी सहित चार जनाको मृत्यु भयो । त्यहि दिन सर्वोच्चले आन्दोलनमा गोली नचलाउन अन्तरिम आदेश जारी गरेको थियो । 

आज डेटलाइन तराई स्तम्भमा चन्द्रकिशोरले कान्तिपुरमा लेखेका छन्ः— “संविधान घोषणाको पावन दिन कसैका लागि उत्सव त कसैका लागि उत्सर्गका दिन भइराख्ने हो भने नेपालवासीको एउटा हिस्साको मन खण्डित हुन्छ र राष्ट्र दण्डित भइरहन्छ ।” 

उनले मधेसका आन्दोलनरत दलहरुको तीन विकल्प यसरी उल्लेख गरेका छन्ः—

१) संविधान सभाबाट मधेसको मध्यमार्गी राजनीति समाप्त भएको ठहर गर्दै ‘गणतन्त्र मधेस’को परिकल्पना गर्दै काठमाडौंसँग सम्बन्ध विच्छेद गर्ने र सोही अनुसारको गतिविधि सञ्चालनमा केन्द्रित हुने, तर यो बाटो अत्यन्त लामो र जोखिमपूर्ण छ । 

२) नयाँ संविधानलाई स्वीकार नगर्ने, जसरी पञ्चायती संविधानलाई इतर राजनीतिक दलहरुले मानेनन्, अनवरत देशभित्र र बाहिर रही संघर्ष गर्दै रहे । 

३) संविधानलाई ‘आलोचनात्मक समर्थन र अहर्निश आन्दोलन’ नीति अन्तर्गत प्रयोग गर्ने । 

चन्द्रकिशोरका अनुसार विकल्प ३ उत्तम उपाय हुनसक्छ जसअन्तर्गत संसदको उपयोग वा बहिष्कार दुवै हुनसक्छ । 



संविधान सभाबाट संविधान पारित हुँदै गर्दा ५३२ उपस्थित मध्ये ५०७ पक्ष, २५ विपक्षमा मतदान भयो । ५७ जना मधेसी सभासद्ले बहिष्कार गरेका थिए । ८ जना अनुपस्थित, १ निलम्बित र ३ सीट रिक्त थिए । 

नयाँ संविधान एकदम खिचडी बनेको छ । शासकीय स्वरुप लगभग ०४७ सालको जस्तो छ । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने र दुईवर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने जस्ता प्रावधानले निरंकुशता तर्फ लाने खतरा छ । 

मधेसमा फरक भावना चलेको छ । एकप्रकारले पहाडिया र मधेसीमा साम्प्रदायिक भावना फैलेको महसुस हुन्छ । हिजो क्याम्पसमा विज्ञान संकायका ....सरले काँग्रेस छाडेर मधेसवादी दलबाट चुनाव लड्ने बताउँदै थिए । ...गाविसका उनले मधेसमा एमाले, काँग्रेस पत्तासाफ भएको र छिर्न नसक्ने बताए । हुन पनि काँग्रेस सभासद् अब्दुल रज्जाक आफ्न दाजुको निधनमा मिट्टी दिन जान सकेनन् । 

भोली भारतका विदेश सचिव आउँदैछन् । उनले राष्ट्रपतिदेखि आन्दोलनरत नेतालाई भेट्नेछन् । बीबीसीमा अशोक मेहता (पूर्व सैनिक जर्नेल)को अन्तर्वार्ता थियो । भारत असन्तुष्ट रहेको प्रष्ट छ । 

असोज ३ गते संविधान घोषणा गर्ने दिन विप्लव माओवादीले नेपाल बन्द घोषणा गरेको छ । हेरौं के हुन्छ ? बजारमा महङ्गी र कालोबजारी व्याप्त छ । 









Comments